भन्ने सामाजिक संस्था,पूरा गर्ने पारिवारिक स्वार्थ

भन्ने सामाजिक संस्था,पूरा गर्ने पारिवारिक स्वार्थ

वीरेन्द्रनगर : सुर्खेतको गाघ्रेतालकी ललिताकुमारी रानाले कोपिला भ्याली बालगृहमा २०८१ साल जेठबाट काम गर्दै आएकी थिइन्। तर राम्रो काम गर्दागर्दै पनि एक्कासि उनलाई मंसिरमा जागिरबाट निकालियो। कोपिला भ्याली बालगृहबाट निकालिएकी ललिताले भनिन्, ‘त्यहाँ मिलेसम्म आफन्तलाई जागिर दिन्छन्। कोही आफन्त नभेटेपछि मात्र बाहिरकाले अवसर पाउँछन्। कोही आफन्त राख्नकै लागि मलाई पनि निकाले। मलाई मानसिक रूपमा टर्चर गरेर निकालियो। मलाई नियुक्ति गर्दा एक वर्षको थियो तर ६ महिना नपुग्दै तपाईंको समय सकियो भनियो।’ 

सोही पदका लागि गत माघ अन्तिमतिर विज्ञापन गरियो। धेरैले फारम भरे। संस्थाले सर्टलिस्ट निकाल्दा धेरैलाई फाल्यो। लिखित परीक्षामा वीरेन्द्रनगर १ की पवनकुमारी विक र कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थाका सहसंस्थापक टोपबहादुर मल्लकी भतिजी नाता पर्ने चन्द्रिका सिंहको नाम निस्कियो। मौखिकमा जाँदा पवनलाई वैकल्पिक राखेर आफ्नै भतिजी चन्द्रिकालाई पास गरियो। अन्तर्वार्तासम्म पुगेर वैकल्पिक परेकी पवनकुमारी विकले भनिन्, ‘मेरो लिखित र मौखिक परीक्षा सबै राम्रै भएको थियो। लिखित राम्रै भएर नाम पनि निस्केको हो। तर मौखिकमा जाँदा मभन्दा बढी प्राथमिकतामा संस्थाकै प्रबन्ध निर्देशककी भतिजी परिन्। त्यो संस्थामा मेरो कोही पनि थिएन। तर त्यो जागिर उनकी भतिजीभन्दा मलाई जरुरी थियो। यसमा सरासर विभेद गरियो।’ 

कोपिला भ्याली सेवा समाज गरिब, असहाय र कोही नहुनेहरूको संरक्षण गर्ने संस्था हो भन्ने उनले बुझेकी थिइन्। तर त्यसो नरहेको उनको अनुभव छ। ‘त्यहाँ रोजगारी पाउन त संस्थाकै मान्छेको आफन्त हुनुपर्ने रहेछ। यसले मलाई निकै मन दुःखेको छ। जहाँ समावेशिता र सुशासनको कुनै ख्याल गरिएन। न त क्षमताको नै’, उनले भनिन्। कोपिलामा धेरै अध्यक्षका नातागोताहरू काम गरिरहेका र उनले आफ्नो भतिजीलाई जागिर दिँदा आफू माथि अन्याय भएको उनले बताइन्। विदेशीले कर्णालीका असहाय, गरिब र पछाडि परेका समुदायका नाममा गरेको सहयोग यहाँ केही व्यक्तिहरूको परिवारका लागि उपयोग भइरहेको उनको आरोप छ।

कुल १५० कर्मचारीमा ४४ आफ्नै

कोपिला भ्याली सेवा समाजअन्तर्गत रहेका संस्था, विद्यालयलगायतका निकायमा करिब १ सय ५० जना कर्मचारीहरू छन्। त्यसमा झन्डै ३० प्रतिशत अर्थात् ४४ जना कर्मचारी संस्थाको नेतृत्व टोपबहादुर मल्लकै आसेपासे छन्। कोपिला भ्याली सेवा समाजको कर्मचारी विवरणअनुसार उक्त संस्थाका संस्थापक कालीकोटको महावै गाउँपालिका—२ ओदाका टोपबहादुर मल्ल आफैं प्रबन्ध निर्देशक हुन्। जसले मासिक रूपमा उक्त संस्थाबाट करिब ५ लाखबराबर सुविधा लिन्छन्। उनका दाजु पृथीबहादुर मल्ल उक्त संस्थाको खरिद तथा साइट सुपरभाइजर पदमा कार्यरत छन्। उनकी भाउजू उब्जिकला मल्ल किचेन सपोर्ट सहायक पदमा कार्यरत छिन्। 

यतिमात्र होइन, प्रबन्ध निर्देशक टोपबहादुरकै भाइ प्रेमबहादुर मल्ल सवारी चालक छन्। भाइबुहारी शोभा मल्ल किचेन सपोर्ट सहायक पदमा कार्यरत छिन्। अर्का भाइ जनकबहादुर मल्ल सेक्युरिटी गार्ड छन्। भतिजा कृष्ण मल्ल र टोपकी बहिनी गौरी मल्ल जनरल सपोर्ट सहायक पदमा कार्यरत छन्। आफ्नै भतिजा गोगनबहादुर मल्ल कोपिला भ्याली सेवा समाजका अध्यक्ष छन्। उनकी पत्नी सरिता पुन (मल्ल) कोपिला सहकारीकी अध्यक्ष छिन्। साथै उनी कोपिला भ्याली सेवा समाजमा जनरल सपोर्ट सहायक पदमा जागिर पनि गर्छिन्। टोपकै छोरा नवीन मल्ल इन्टर्न र कोपिला भ्याली अल्मुनाईका अध्यक्ष छन्। उनका भतिजा दानबहादुर सिंह स्टोर प्रमुख छन्। 

यस्तै प्रबन्ध निर्देशक मल्लकै दाइ धनबहादुर सिंह सेक्युरिटी गार्ड छन्। अर्की बहिनी दूधकला सिंह जनरल सपोर्ट सहायक पदमा कार्यरत छिन्। भतिजी धनसरा सिंह पनि जनरल सपोर्ट सहायक पदमै छिन्। भान्जी कर्माकुमारी सिंह वरिष्ठ अहेब पदमा काम गर्छिन्। भान्जी बेलु काफ्ले उपाध्याय किचेन सपोर्ट सहायक पदमा छिन्। भान्जीज्वाईं दीपेन्द्र काफ्ले उपाध्याय वरिष्ठ जनरल सपोर्ट सहायक पदमा छन्। अर्की बहिनी भागरथी सिंह किचेन सपोर्ट सहायक पदमा छिन्। भतिजी करुणा सिंह रिसेप्सन सहायक पदमा छिन्। भाइ बमबहादुर सिंह किचेन सपोर्ट सहायक पदमा छन्। नाति अभिभेक सिंह इन्टर्न छन्। अर्का नाति वीरेन्द्र सिंह सहायक इन्टर्न छन्। बहिनी कृष्णा सिंह जनरल सपोर्ट सहायक पदमा छिन्। भदै गोरीकला सिंह जनरल सपोर्ट सहायक पदमा छिन्। भतिजी खिमा शाही स्टोर सहायक पदमा छिन्।

यस्तै प्रबन्ध निर्देशकका भाइ कृष्णबहादुर शाही, नातिहरू विपीन शाही, पदम शाही, महेन्द्र शाही र नातिनी सुनीताकुमारी शाही जनरल सपोर्ट सहायक छन्। अन्य आफन्तहरू तारादेवी शाही, बिस्नाकुमारी शाही, लंके शाही, दीर्घबहादुर शाही, बसुन्धरा सिंह, जयसरा सिंह जनरल सपोर्ट सहायक पदमा छन्। यस्तै मीनबहादुर शाही प्रशासन प्रबन्धक, अमरबहादुर शाही सहायक लेखा प्रबन्धक, केशव शाही वित्त सहायक, कविता शाही लेखा सहायक, हिमानी शाही शिक्षक, सीताकुमारी शाही शिक्षक, चन्द्रिका सिंह केयर गिभर सबै उनै टोपबहादुर मल्लका आसेपासे हुन्। उनीहरू सबै कालीकोटको महावै गाउँपालिका निवासी हुन्। 

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले कोपिला भ्याली सेवा समाजमा कालीकोटको महावै गाउँपालिकाका मल्ल, सिंह र शाही परिवारभन्दा बाहिरका नागरिकले कुनै सहयोग नपाउने गरेको बताए। उनले भने, ‘म वीरेन्द्रनगर नगरपालिका—१ कै बासिन्दा हुँ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यही वडाको वडाध्यक्ष थिएँ। त्यतिबेला केही स–साना कामहरू परेमा समन्वय गर्थें। सबै उनीहरूले ठिक्क पारेको निर्णयमा हस्ताक्षर गराउँथे। आफूलाई अन्याय लाग्दालाग्दै पनि जज बस्ने काम भयो। तर अहिले त्यसै वडाबाट प्रतिनिधित्व गरेर जिल्ला समन्वय समितिको प्रमुख छु। हामीले भनेको केही सुनिँदैन। उनीहरूले जे चाह्यो त्यही गर्दै आएका छन्।’ असहाय होस् या विपन्न, कोपिला भ्याली सेवा समाजका नेतृत्व गरिरहेका मल्लले आफ्नै परिवारलाई समावेश गर्ने गरी मापदण्ड बनाउने र कार्यान्वयन गर्ने गरेको समन्वय प्रमुख सुनारले बताए। उनले भने, ‘उनीहरूले सुरुवातमै आफ्नो मान्छेलाई केन्द्रमा राखेर मापदण्ड बनाउँछन्। त्यसैअनुसार छनोट गर्दा आफन्त आउने नै भए। गाउँमा उनीहरूको खानदानमा जो बेरोजगार हुन्छ। उसैको योग्यताअनुसार मापदण्ड तयार पारेर संस्थामा पद सिर्जना गरिन्छ। त्यसैअनुसार छनोट गरिन्छ। यो निकै अन्याय भएको छ। अब कोपिला सेवा समाजको हरेक काम कारबाही र विदेशी सहयोगको दुरुपयोगका विषयमा छानबिन गरिनुपर्छ।’

चुनाव पनि लड्ने, जागिर पनि खाने

कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्लका दाइ पृथीबहादुर मल्ल उक्त संस्थाको खरिद तथा साइट सुपरभाइजर पदमा कार्यरत थिए। २०७९ सालको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कालीकोटको महावै गाउँपालिका—२ ओदामा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्ष पदमा चुनाव लडे। तर चुनाव जित्न सकेनन्। महावै गाउँपालिका—२ मा नेकपा एमालेका उम्मेदवार हर्कबहादुर सिंहले २ सय ३६ मत ल्याएर निर्वाचन जिते। जहाँ नेकपा एमाले र माओवादी केन्द्रको पालिका अध्यक्षदेखि सबै वडामा गठबन्धन थियो। पृथीबहादुर मल्ल २ सय २५ मत ल्याएर पराजित भए। जुन वडामा स्वतन्त्र वडाध्यक्ष जिरबहादुर सिंहले १ सय ४१ मत, नेपाली कांग्रेसका बखतबहादुर सिंहले ६६ मत र स्वतन्त्र धनबहादुर सिंहले ३ मत पाएका थिए। 

पृथीबहादुर मल्ल कालीकोटको ओदामा गएर वडाध्यक्षको चुनाव लड्दा अफिसमा बिदा लिए। तर निर्वाचन हारेपछि तत्काल सुर्खेत फर्किएर फेरि कोपिला भ्याली सेवा समाजमा जागिर सुरु गरे। अहिले पनि उनी त्यसै पदमा काम गरिरहेका छन्। एक जना कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘पृथीबहादुर मल्ल कोपिला भ्याली सेवा समाजको सानो हाकिम हुन्। किनभने उनका भाइ टोपबहादुर मल्लले उक्त संस्था दर्ता गरी हाल पनि मूल रूपमा नेतृत्व गरिरहेका छन्। उनले चुनाव जितेको भए जागिर छाड्थे। हारेपछि बेरोजगार हुने भएकाले फेरी पुरानै जागिरमा फकिए। उनलाई जागिर खानबाट त कसले रोक्ने ? भाइ संस्थाको प्रमुख भएपछि।’

विद्यार्थी पनि ३० प्रतिशत आफन्तै

कोपिला भ्याली सेवा समाजमा कालीकोटको महावै गाउँपालिकाका मल्ल, सिंह र शाही परिवारभन्दा बाहिरका नागरिकले कुनै सहयोग पाउँदैनन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा म यही वडाको वडाध्यक्ष थिएँ। त्यतिबेला केही स–साना कामहरू परेमा समन्वय गर्थें। सबै उनीहरूले ठिक्क पारेको निर्णयमा हस्ताक्षर गराउँथे। गंगाराम सुनार प्रमुख, जिल्ला समन्वय समिति, सुर्खेत

कोपिला भ्याली सेवा समाज दर्ता गर्दा बालमजदुर, टुहुरा तथा सडक बालबालिका, अति पिछडिएका समुदायका बालबालिकाका लागि कार्यक्रम सञ्चालन गरी उनीहरूको संरक्षण गर्ने उद्देश्य राखियो। एकल तथा पिछडिएका महिलाका लागि कार्यक्रम सञ्चालन गर्ने, पिछडिएको समुदायलाई आत्मनिर्भर र सम्मानित रूपले बाँच्न सीपमूलक, रोजगारमूलक एवं व्यवसायमूलक कार्यक्रम सञ्चालन गर्ने भनियो। तर उक्त संस्था सञ्चालनका क्रममा ठीक त्यसको विपरीत भएको छ। अनाथ, विपन्न बालबालिका भर्ना गर्ने गरी अनुदान प्राप्त विद्यालयमा आफन्तका बच्चा भर्ना गर्ने गरिएको छ। वार्षिक रूपमा नर्सरीका साथै अन्य कक्षामा विद्यार्थी भर्ना गर्दा सेटिङको भरमा पहिले नै कागजात मिलाउने र नाम टिपाउनुका साथै विद्यार्थी छनोट समिति पनि आफ्नो अनुकूल बनाउने गरिएको छ। 

हरेक वर्ष विद्यार्थी छनोट गर्दा संस्थाका प्रबन्ध निर्देशक मल्लकै नेतृत्वमा छनोटका आधार तय गरिन्छ। त्यसै मापदण्डका आधारमा मार्किङ गर्ने गरी तयारी गरिन्छ। रोचक कुरा के छ भने कोपिलामा भर्ना हुने मल्ल परिवारका बालबालिकाका लागि चाइने मापदण्ड राखिन्छ। अनि भर्ना सूचना निकालिन्छ। उनीहरूले बनाएका मापदण्डका आधारमा जोकोहीले छनोट गर्दा पनि उनीहरूका आफन्त छुट्दैनन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर— १ का वडाध्यक्ष गंगाराम सुनारले भने, ‘कोपिलाको विद्यार्थी भर्ना गर्दा नगरको वडा नं. १ र ४ का वडाध्यक्ष, नगरपालिका, प्रशासनको प्रतिनिधिसहितको समिति छ। तर उनीहरूलाई छनोट गर्ने मापदण्ड आफन्त अनुकूल बनाएर दिइएको हुन्छ। त्यसै मापदण्डको आधारमा छनोट गर्दा मल्ल परिवारको चाहनाअनुसार नै हुन्छ। जुन प्रक्रिया समावेशिता र सुशासनको विरुद्ध छ।’

दैलेख आठबिसकोट नगरपालिकाकी पूर्वउपप्रमूख एवं सामाजिक अभियन्ता दीपा बोहोराले भनिन्, ‘आठबिसकोट नगरपालिकाको राकमका अभिभावकविहीन विपन्न परिवारका बालक चिरञ्जीवी बोहोराको गत आर्थिक वर्षमा कोपिला भ्याली सेवा समाजद्वारा सञ्चालित स्कुलमा भर्नाका लागि फारम भरियो। तर पछि उनी छनोटमा परेनन्। त्यहाँ त सञ्चालकका आसेपासेलाई प्राथमिकता दिइने रहेछ। त्यो कुरा थाहा भएन। हामीले त निष्पक्ष रूपमा जसलाई आवश्यकता छ, जसलाई समस्या छ तिनै बालबालिका छनोट हुन्छन् भन्ने ठानेका थियौं। तर त्यसो भएन। कोपिला भ्याली सेवा समाजले टुहुरा, विपन्न, सडक बालबालिकाको नाममा पहुँचवाला हुने खानेलाई नै प्राथमिकता दिने रहेछ।’

कोपिला भ्याली सेवा समाजले सञ्चालन गरेको कोपिला भ्याली स्कुल प्रालिमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा ४ सय २५ जना बालबालिका अध्ययन गर्दै आएका छन्। जसमा १ सय २० जनाभन्दा बढी मल्लकै आफन्तका छोराछोरी छन्। कोपिला भ्याली सेवा समाजका अध्यक्ष गगनबहादुर मल्लका दुई छोरा त्यहीँ पढ्दै आएका छन्। उनी जिल्ला अस्पताल विकास समिति कालीकोटको अध्यक्ष पनि हुन्। कोपिला भ्याली सेवा समाजबाट छात्रवृत्तिमा १४ जना बालबालिका युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता मुलुकमा अध्ययनमा पठाइएका छन्। जसमा पनि संस्थाका प्रबन्ध निर्देशक मल्लका भतिजाभतिजी र भान्जाभान्जी मात्र ७ जना छन्। कोपिला बालगृहमा जम्मा ४८ जना बालबालिका छन्। जसमा पनि २७ जना आफन्तै छन्। आमाबुवा भएर पनि डकुमेन्ट मिलाएर विवेक, दीपक, शिवु, वीरेन्द्रलगायतका टोपबहादुर मल्लका आफन्तका बालबालिका बालगृहमा राखिएको छ।

बालगृहमा हिंसा, प्रश्न गर्नेको रहस्यमय आत्महत्या

कालीकोटको महावै गाउँपालिका—२ ओदाकी कर्मा सिंह बुवाआमा बिरामी परेर तीन वर्षमै अभिभावकविहीन बनिन्। उनका एक जना दाइ कृष्ण सिंह ५ वर्षका थिए। उनी अहिले मलेसियामा छन्। कर्मा कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्लकी भदै हुन्। उनी अभिभावकविहीन भएपछि उनै टोपबहादुरले उनलाई कोपिलामा ल्याएर पढाए। उनले कोपिलाबाटै स्टाफ नर्स पढिन्। पढाइ पूरा भएपछि उनी आफू हुर्किएको कोपिला बालगृहमा रोजगारी गर्ने भनेर फर्किइन्। 

तर उनी फर्किंदा कोपिला बालगृहमा हरेक दिनजसो बालबालिकामाथि विभिन्न प्रकारका हिंसा हुने थाहा पाइन्। बन्द कोठामा हुलेर बालबालिकामाथि कुटपिट गर्ने, गाली गर्ने कार्यहरूले उनलाई तनाव बनायो। कर्माले सन् २०२४ अप्रिल ३० तारिख अर्थात् २०८० वैशाख १८ गते दिउँसो २ बजे एउटा मेल गरिन्। प्रबन्ध निर्देशक मल्ललगायतका उच्च तहका व्यक्तिहरूलाई गरेको मेलमा उनले लेखेकी छन्, ‘बच्चाहरूलाई रुमभित्र लगेर कुट्नुहुन्छ। एउटा बच्चाले त्यसबारे आफूलाई भन्दा कस्तो दुःख लाग्यो। एउटा भाइलाई पहिले रुमभित्र लक गरेर धेरै पटक खुट्टैखुट्टाले कुट्नु भएको थियो। मुख छाडेर गाली पनि गर्नुभयो। युवक, नमराज र विशाल भाइलाई पनि घाँटी थिचेर भित्तामा टाँसेर कुट्नु भयो। शान्ति, विशाल भाइलाई टाइलेट भित्र लगेर पनि कुट्नुभयो। हाम्रो किचेन स्टाफको छोरालाई टाइलेट भित्र लक गरेर सातो जाने गरी ठूलो स्वरले थर्काउनुभयो। त्यो बच्चालाई पछिसम्म मेन्टल्ली असर परेको थियो।’

उनका मेलमा बालगृहमा काम गर्ने कर्मचारीहरूले बालबालिकामाथि गर्ने दुव्र्यवहारका विषयमा धेरै कुरा लेखिएको थियो। उनले लेखेकी छन्, ‘सुक्मा अन्टीको धेरै विषयमा कम्प्लेन छ। त्यसको विषयमा कम्प्लेन गर्दा मुखमा साबुन हाल्दिनु हुन्छ। बे्रकफास्ट खाँदा कति धेरै खाको भनेर आँखा तरेर भन्नुहुन्छ। यहाँ राम्रो खाना र फलफूल खान पाइँदैन। यहाँ होस्टेलमा बस्ने धेरै विद्यार्थीलाई जति टर्चर भए पनि भन्न सक्दैनन्। बालगृहमा गाली गरेको कम्प्लेन गर्दा एक जनालाई जागिरबाट निकालियो। बाहिरभन्दा परिवारको समस्याले जागिर छाडेको भनियो।’

उक्त मेल प्राप्त भएपछि कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्लले उल्टै कर्मा सिंहलाई गाली गरे। त्यसको दुई दिनपछि २०८१ साल वैशाख २० गते कर्माको कोपिला बालगृहमै रहस्यमय मृत्यु भयो। त्यसका विषयमा कसैले छानबिन गरिदिएन। 

आठबिसकोट नगरपालिकाको राकमका अभिभावकविहीन विपन्न परिवारका बालक चिरञ्जीवी बोहोराको गत आर्थिक वर्षमा कोपिला भ्याली सेवा समाजद्वारा सञ्चालित स्कुलमा भर्नाका लागिफारम भरियो। उनी छनोटमा परेनन्  त्यहाँ त सञ्चालकका आसेपासेलाई प्राथमिकता दिइने रहेछ। दीपा बोहोरा पूर्वउपप्रमुख, दैलेख आठबिसकोट नगरपालिका

यस्तै संस्थाका प्रबन्ध निर्देशक मल्लकै आवास क्षेत्रमा महिला कर्मचारीलाई मट्टीतेल खन्याई जलाउने प्रयास भई उत्पन्न भएको विवादबढ्दै गएपछि कोपिला भ्याली सेवाका गार्ड मानबहादुर सिंहले पनि २०८० असार १८ गते आत्महत्या गरे। उनको यो घटनाको विषयमा पनि छानबिन नगरी गोपचुपमै राखिएको छ। जहाँ मानबहादुर सिंहले आत्महत्या गरेका थिए। प्रबन्ध निर्देशक मल्ल पनि त्यहीँ नै थिए।

बालगृहमा अस्वाभाविक खर्च

कोपिला बालगृहमा बालबालिकालाई राम्रो खानपान र हेरचाह नभए पनि खर्च भने अस्वाभाविक रूपमा हुँदै आएको छ। कोपिला सेवा समाज अन्तर्गत सबै कार्यक्रमहरूमा हरेक वर्ष १० देखि १२ करोडका दरले खर्च हुँदै आएको छ। त्यसभित्र बालगृहको खर्च भने निकै धेरै छ। गत वर्ष बालगृहमा वार्षिक खर्च २ करोड प्रस्ताव गरिएको भए पनि पछि २ करोड ४१ लाखबराबर खर्च भएको छ। 

बालगृहमा गत वर्षसम्म ४०, ४१ जना बालबालिका हुन्थे। तर चालु आर्थिक वर्षमा ४८ जना छन्। बालगृहमा भएको विद्यार्थी संख्या हेर्दा खर्च निकै धेरै देखिन्छ। एक जना कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘कोपिलाको बालगृहमा यति धेरै खर्च हुनुमा कोपिला भ्याली सेवा समाजलाई सहयोग गर्ने आईएनजीओ ब्लिंक नाउ फाउन्डेसनकी सीईयो अमेरिकन नागरिक म्यागी डोयन पनि जिम्मेवार रहेकी छन्। उनी, उनका श्रीमान् जेर्मीका साथै उनीहरूका दुई छोराछोरी पनि त्यतै बस्दै आएका छन्। जुन विषय राष्ट्रिय बालअधिकार परिषद्को पोलिसीविरुद्ध हो।’ सीईयो डोयन सन् २०१५ मा सीएनएन हिरोबाट सम्मानित भएकी थिइन्। 

बालगृह निर्माण गरिएको तीनतले भवन मल्लको निजी घर हो। उक्त निजी घरमा विदेशी सहयोग प्राप्त कोपिला भ्याली सेवा समाजको बजेट लगानी गरिएको छ। उक्त घर निर्माण गर्दा लागेको लागतदेखि अन्य आर्थिक विवरणहरू गोप्य राखिएको छ। हाल वीरेन्द्रनगर नगरपालिका—१ धारापानीमा संस्थाकै नाममा ७ कट्टा जग्गा खरिद गरिएको छ। उक्त जग्गामा २५ करोडको लगानीमा नयाँ भवन निर्माणको काम भइरहेको छ।

हामीले ब्लिंक नाउ फाउन्डेसनको सहयोगमा कर्णालीमा असहाय, गरिब, सडक बालबालिकालाई संरक्षण र शिक्षा दिँदै आएका छौं। एकल महिला तथा विपन्न परिवारका महिलालाई पनि जीविकोपार्जनका साथै अन्य सामाजिक कार्यहरू गर्दै आएका छौं। हामीले बालबालिकाको छनोट, आर्थिक गतिविधिहरू तथा सेवा प्रवाहलाई पारदर्शी बनाउँदै गएका छौं। टोपबहादुर मल्ल, प्रबन्ध निर्देशक, कोपिला भ्याली सेवा समाज

यस्तै, कोपिला भ्याली सेवा समाजमा एउटै व्यक्तिले दोहोरो जिम्मेवारी लिएका छन्। कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्ल कोपिला भ्याली स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। संस्थाको सहसंस्थापक पनि हुन्। ब्लिंक नाउ फाउन्डेसनकी सिईयो डोयन पनि उक्त आईएनजीओको सहसंस्थापक, कोपिला भ्याली स्कुल र कोपिला भ्याली बालगृहको सीईयो पनि छिन्। उनले बालगृहमा आफ्नो शिक्षक पाठ्यक्रम विशेषज्ञ भनेर एक जना अमेरिकन नागरिक ब्यारीलाई राखेकी छन्। उनी पर्यटन भिसामा आएर विगत ९ महिनादेखि कोपिलाको बालगृहमा जागिर गर्दै आएका थिए। केही दिन अगाडि मात्र जिल्ला प्रशासनले प्रश्न उठाएपछि उनी अहिले काठमाडौंमा ‘वर्किङ भिसा’ बनाउन गएका छन्। कोपिला भ्याली सेवा समाजबाट हुने अन्य सेवाहरूमा पनि मल्ल परिवारका आफन्तहरूलाई नै लाभ पुग्ने गरी हुँदै आएको छ। हरेक वर्ष म्यागी र टोपको डिजाइनमा आफू अनुकूल मापदण्ड तयार गरेर ब्लिंक नाउ फाउन्डेसन नामको आईएनजीओबाट स्थानीय गैरसरकारी संस्था छनोट गर्दा कोपिला भ्याली सेवा समाजलाई नै छनोट गरी कार्यक्रम दिँदै आएका छन्। 

कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्ल भने आफूहरूले ब्लिंक नाउ फाउन्डेसनको सहयोगमा कर्णालीमा असहाय, गरिब, सडक बालबालिकालाई संरक्षण र शिक्षा दिँदै आएको दाबी गर्छन्। उनले एकल महिला तथा विपन्न परिवारका महिलालाई पनि जीविकोपार्जनका साथै अन्य सामाजिक कार्यहरू गर्दै आएको बताए। उनले आफूहरूले बालबालिकाको छनोट, आर्थिक गतिविधिहरू तथा सेवा प्रवाहलाई पारदर्शी बनाउँदै गएको बताए। उनले भने, ‘हामीले संस्था सुरुवात गर्दा आफन्त हालेका हौं। अरू मानिस नै पाइएन। तर अहिले त्यसो गर्दैनौं। अहिले प्रतिस्पर्धाबाटै छनोट गर्ने गरेका छौं।’ कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्लले कोपिला भ्याली सेवा समाजबाट विद्यालय, बालगृह, महिला सीप विकास कार्यक्रम, छात्रवृत्तिलगायतका सबै कार्यक्रमहरू पादर्शिताका साथ गरिरहेको बताए।

विद्यार्थी छनोटको मापदण्ड

अनाथ, विपन्न, दलित, जनजाति, उमेर समूह विद्यार्थी छनोटको मापदण्डमा पर्छ। तर उमेर राख्दा आफ्नो बच्चाको उमेर अनुकूल बनाउने, कागजपत्र नै सुधार गरेर भर्ने गर्छन्। यो उपाय सर्वसाधारणलाई थाहा नै हुँदैन। 

बालबालिकाको अवस्थाका बारेमा होम भिजिट गर्ने भन्छन् तर आफ्नो अनुकूलको बालबालिका छनोट गर्दा फोनमा कुरा गरेर बच्चा राख्छन्। 

धेरैजसो कालीकोटको महावैका विद्यार्थी छनोट हुने भएकाले उनीहरूको सुर्खेत ठेगाना राखेर भर्ना गर्ने र पछि ठेगाना सच्याउने गर्छन्।

लगानी कहाँबाट ? 

ब्लिंक नाउ नामक आईएनजीओले बर्षनी १० करोड रुपैयाँ कोपिला भ्याली सेवा समाजलाई दिँदै आएको छ। यो वर्ष बालगृहको भवन निर्माण पनि भएकाले २९ करोड ७८ लाख रुपैयाँ बजेट छ। 

खासमा कोपिला भ्याली स्कुलमा कक्षा १० सम्म निःशुल्क पढाइन्छ। कक्षा ११ र १२ मा एक वर्षको ६५ हजार शुल्क लिन्छन्। तर आफ्ना मान्छेलाई उक्त शुल्कमा पनि छुट हुन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.