जोगिरा सरर, होली रे होली र आज जनकपुरमा होली रे, आज होली हो, खेलौं होली जस्ता थुप्रै होलीसम्बन्धी गीतहरू आज पनि सुन्न सकिन्छ जुन उत्तिाकै कर्णप्रिय छन्।
सत्य, सौन्दर्य र रंगहरूको उत्सवका रूपमा परिचित पर्व हो फागु । धार्मिक एवं सांस्कृतिक विविधतायुक्त देश नेपालमा मनाइने थुप्रै पर्वमध्येको फागु एक हो । फागुन शुक्ल अष्टमीका दिन काठमाडौं हनुमानढोका वसन्तपुर दरबारअगाडि चीर गाडेपछि यो पर्वको विधिवत रूपमा आरम्भ हुन्छ भने पूर्णिमासम्म विशेष धुमधामले मनाइन्छ । फागु पर्वलाई होली, होरी, फगुवा आदि नामले मनाइन्छ । एकआपसमा रङ छ्यापेर शुभकामना आदानप्रदान गरी उल्लासमय वातावरणमा फागु पर्व मनाउने प्रचलन धेरै पुरानो हो ।
फागु पर्वको संकेत–चीर : प्रत्येक वर्ष वसन्तपुर दरबार परिसरमा विधिपूर्वक रंगीन ध्वजापताकाबाट निर्माण भएको तीनतले चीर ठड्याएपछि विधिवत रूपमा फागु पर्वको शुभारम्भ हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको कदम (मयल) रुखको हाँगालाई सो दिन बिहानै विशेष पूजा गरी ठड्याइने गरिन्छ । चीर गाडेपछि परिक्रमा गर्दै ‘कृष्णभुवनमा जान पाऊँ’ भन्ने गीत गाएर पूजाआजा गरिन्छ । त्यसपछि एकआपसमा अबिर छ्यापेर फागु खेल्न थालिन्छ । उक्त अवसरमा स्थानीयवासी विशेष उपस्थिति रहन्छ भने नेपाली सेनाको गुर्जुको पल्टनले सलामीसमेत दिने गरिन्छ । त्यस्तै, हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीबिरंगी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गर्ने चलन छ । यसै अवसरमा मोहनकाली चोकमा काठनिर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा पनि गरिन्छ ।
शास्त्रीय दृष्टिमा फागु : फागु पर्वको प्रचलन र नामकरणका सम्बन्धमा विभिन्न कथन शास्त्रमा पाइन्छन् । कृष्णचरित्रमा उल्लेख भएअनुसार द्वापरयुगमा बालक श्रीकृष्णलाई मार्न कंसले पुतना नामकी राक्षसीलाई पठाएको थियो । पुतनाले कृष्णलाई मार्न विषयुक्त दूध खुवाउँदा पुतना सफल नभएकी र उसको मृत्यु तत्कालै भएकाले सम्पूर्ण ब्रजबासीले पुतनाको मृत्युपछि पुतनालाई जलाई फागुको उत्सव मनाएको पाइन्छ । त्यस्तै, अर्को धार्मिक कथनअनुसार प्राचीन समयमा हिरण्यकशिपु नामका दैत्यराजले छोरा प्रह्लादलाई मार्न अनेकौं प्रयास गरे । सफल नभएपछि बहिनी होलिकालाई लगाएर प्रह्लादलाई मार्न लगाएका थिए । होलिकाले आगोले नजलाउने वरदान पाएकी थिइन् । तर, होलिकाको पापवृत्तिका कारण स्वयं होलिका जलेर भष्म भइन् । तर, प्रह्लादलाई केही भएन । त्यसैले पापवृत्तिका प्रतीकस्वरूप होलिका नष्ट भएकाले त्यसदिनदेखि नै फागुको उत्सव मनाउन थालिएको हो ।
भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई होली पर्वका बारेमा बताइएको उल्लेख छ । त्रेतायुगमा भगवान् रामका जिजुबुबा रघुका राज्यकालमा ढोण्डा नामकी एउटी राक्षसी थिइन् । उसले भगवान् शिवबाट कहिल्यै नमर्ने वरदान पाएकी थिइन् । त्यसैले ऊ त्यतिबेला गाउँघरका बालबच्चालाई दु: ख दिने गर्थिन् । त्यसलाई कसैले पनि मार्न सकेका थिएनन् । एकदिन सबै मिलेर राजा रघुसामु बिन्ती गरे । तत्कालै प्रजाको दु: ख हरण गर्न उनले मूलगुरु ज्योतिषलाई भेला गरेर छलफल गरे । गुरु पुरोहितको सल्लाहअनुसार उनले सहर गाउँ सबैतिर दिनमा अबीर तथा रंग छर्ने र रातमा आगो तापेर जाग्राम बस्ने र रक्षाका लागि मन्त्र जप्ने आदेश दिए । त्यसपछि राजाको आदेशबाट सबैले त्यसै गरे । नभन्दै फागु पूर्णिमाको दिन उक्त ढोण्डा राक्षसीको निधन भयो । त्यसै दिनदेखि रंगहरू दल्ने चलन छ । उक्त दिन सर्वत्र आगो बालेर वा धुनी जलाएर होली खेल्ने परम्पराको सुरुआत भएको हो ।
अर्को पौराणिक कथनअनुसार सत्ययुगमा एकपटक राजा पृथुको समयमा बालबच्चाहरू मार्ने एक ठौठा नामको राक्षस थियो । जसले भगवान् महादेवबाट वरदान पाएको थियो । त्यसैले, उसले देशमा ठूलो महामारी वा उत्पात मच्चाएको थियो । त्यसैले सम्भावित खतरालाई टार्न गुरु वशिष्ठले राजा पृथुलाई फागु पूर्णिमाको दिन सबैलाई जम्मा गरी नाचगान ताली बजाएर मनाउने आदेश दिए । तब त्यो राक्षस डराएर भाग्यो र त्यसै दिनदेखि नाचगान गरी हर्षपूर्वक फागु मनाउन थालिएको पाइन्छ ।
श्रीहर्षको रत्नावली नाटकको प्रथम अंकको दसौं, बाह्रौं र सोह्रौं श्लोकमा पनि होलीको चित्रण र वर्णन पाइन्छ । जैमिनीसुक्त र काठक गुह्यसूत्रमा पनि यस पर्वको उल्लेख गरिएको पाइन्छ । सोअनुसार, प्राचीन कालमा वसन्त ऋतुको आगमनसँगै होलका नामको पर्व मनाइन्थ्यो । सो अवसरमा वसन्त ऋतुको स्वागत गरी आपसमा रंग दलेर रमाइलो गरिन्थ्यो । त्यसै बेलादेखि नै होलीको प्रचलन भएको हो । नारदपुराण र भविष्यपुराण जस्तो प्राचीन हस्तलिपि ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विन्ध्यक्षेत्रको रामगढ भन्ने स्थानमा प्राप्त ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ ।
रासलीलाको प्रतीक–चीर : फागुपर्वमा चीर ठड्याउने परम्परा सम्बन्धमा एउटा प्रचलित लोककथन छ । जसअनुसार एक पटक यमुना नदीमा गोपिनीहरूको समूह निवस्त्र नुहाइरहेका थिए । त्यसैबेला श्रीकृष्णले ती गोपिनीहरूका सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याइदिए । आफूचाहिँ अर्को हाँगामा बसी बाँसुरी बजाउन थाले । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गरे तर पनि कृष्णले लुगा दिएनन् । बरु उनले भने निवस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरू दिने बताए । गोपिनीहरूले श्रीकृष्णलाई अघ्र्य जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरू झारिदिएका थिए । श्रीकृष्णको त्यसै रासलीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतिकमा रूपमा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याएर चीर ठड्याउने प्रचलन सुरु भएको मानिन्छ ।
त्यस्तै, एक साता अगाडि ठड्याइएको चीरलाई फागु पूर्णिमाको रात ढलाएर टुँडिखेलमा दहन गरिन्छ । सो अवसरमा गुरुमापालाई एउटा राँगाको मासु र १० पाथी चामलको भातको विशेष भोज खुवाएपछि विधिवत रूपमा फागुपर्वको अन्त्य हुन्छ । टुँडिखेलमा चीरको दहन गर्नुभन्दा अगाडि अन्तिम दर्शन र पूजाका लागि श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घरघर लैजाने चलन छ ।
फागुमा कामदेवको पूजा : फागुपर्वको सुरुआत वसन्तका मित्र कामदेवको पूजाबाट आरम्भ गरिन्छ । वात्सायनको समयमा फागुन र चैत दुई महिनामा मदनोत्सव वा वसन्तोत्सव मनाइन्थ्यो । त्यही मदनोत्सव तथा वैदिक साहित्यमा चर्चित वसन्तोत्सवलाई आजकल फागुपर्व भनेर मनाउने गरिएको मानिन्छ ।
ऐतिहासिक दृष्टिमा फागु–मानदेवले मनाएका थिए होली : नेपालमा फागुपरम्पराको सुरुआत लिच्छबी कालदेखि नै भएको देखिन्छ तर लिच्छबीकालमा फागुन शुक्ल पूर्णिमाको सट्टा पौष शुक्ल पूर्णिमामा होली मनाइने गरिएको देखिन्छ । गोपाल वंशावलीमा २०(ख), २१(क) पत्रमा ‘श्री मानदेव... पोष्यपूर्णमी होली कृतम्’ भनेर उल्लेख छ । त्यतिबेला मानदेवले अज्ञानमा नजानेर पिलाको बध गर्दा महाघोर पातक लाग्यो र ठूलो आपत्ति आइप¥यो । त्यसको शान्ति गर्न पौष शुक्ल पूर्णिमाको दिन होली मनाए र त्यसपछि शान्ति भयो । त्यसैले होलीलाई शान्तिको कामना गरी सद्भाव वृद्धि गर्न थालनी भएको पर्वका रूपमा लिइएको पाइन्छ ।
यस्तै, मल्लकालीन शिलालेखमा फागुन महिनामा नै फागु पर्व मनाइएको उल्लेख भएको पाइन्छ तर भाषा वंशावलीका अनुसार नेपाल राज्यमा रहेका बाइसी–चौबीसी राज्यहरूले त्यतिबेला पनि फागु खेल्ने गर्दथे । त्यसबेला पर्वतका राजाले एकछत्रे चीर गाडेर होली मनाउँथे । त्यतिबेला अरू कसैले एकछत्रे चीर गाडेर होली मनाएमा उनीहरूले च्यातिदिन्थे तर गोर्खाका राजा सर्वत्र आफ्नो प्रभाव कायम गर्न चाहन्थे । यसैअनुरूप उनले पर्वतका राजालाई प्रभावित पार्न तीनछत्रे ठूलो चीर गाडेर फागु मनाए । त्यो थाहा पाएर पर्वतका राजाले त्यो चीर च्यात्ने प्रयास पनि गरेनन् ।
फलस्वरूप पृथ्वीनारायणले काठमाडौं विजयपश्चात् वसन्तपुरमा नौतले दरबार निर्माण गराएर सोही दरबारको अगाडि तीनछत्रे चीर गाडेर होलीको परम्परालाई निरन्तरता दिए । जुन हालसम्म पनि प्रचलित छ । त्यसैले चीरस्थापना गर्दा हनुमानढोका अगाडि मयल (कदम)को सानो रुख गाडिन्छ र त्यसपछि कृष्णदेवलमा कृष्ण र रुक्मिणीको मूर्तिमा पूजाअर्चना गरी फागुको शुभारम्भ हुन्छ । तीनछत्रे चीर भने गद्दी बैठक अगाडि गाडिन्छ । होली नेपालका शासकहरूका लागि उत्सवमात्र थिएन, यो उनीहरूको प्रभुता देखाउने अवसर पनि थियो ।
फागु पर्वमा हुने रथयात्रा विश्वकै सानो रथमा हुने यात्रा : फागुमा विशेष गरेर श्रीकृष्णको पूजाअर्चनाका, भजनकीर्तन र रथयात्रा हुने गर्दछ । फागुको अवसरमा हुने रथयात्रा चाँगुनारायण परिसरमा हुने गर्छ । यो रथयात्रा विश्वकै सबैभन्दा सानो रथयात्रा हो भने यो रथलाई विश्वकै सानो रथका रूपमा लिइन्छ । यो रथ कुनै पनि कीलाकाँटा प्रयोग नगरी निर्माण भएको छ । जुन रथलाई चाँगुनारायणको मन्दिर परिसरमा रहेको वंशगोपालको रथका रूपमा लिइन्छ ।
चाँगुनारायण मन्दिरको गर्भगृहमा रहेको राधासहितको वंशगोपालको मूर्तिलाई विधिपूर्वक पूजाअर्चना गरेर रथमा प्रतिस्थापना गरी पूजाअर्चनापश्चात् तानेर चाँगुनारायण मन्दिर वरपर परिक्रमा गराइन्छ र बलापुँ टोलको पाटीमा लगेर राखिन्छ । त्यहाँ पूजाअर्चनापश्चात् ती मूर्तिहरूमा सिन्दूर चढाइन्छ र त्यसपछि चाँगुनारायण क्षेत्रमा फागु पर्वको औपचारिक शुभारम्भ भएको मानिन्छ । त्यसपछि एकआपसमा रङ दलेर नाचगानसहित फागुपर्व मनाउने गरिन्छ । सायद यस प्रकारको प्रचलन र रथयात्रा देशका कुनै पनि भागमा पाइन्न भने विश्वमा पनि यस प्रकारको प्रचलन रहेको कुरा हालसम्म प्रकाशमा आएको देखिन्न । विश्वसम्पदा क्षेत्रमा रहेको यस प्रकारको प्रचलनको बारेमा विशेष खोज अनुसन्धान एवं प्रचार–प्रसार हुनु अत्यावश्यक देखिन्छ ।
भक्तपुरको फागु–यौनको प्रतीक : भक्तपुरको होली पर्वभित्र यौनको बिम्बात्मक दृश्य पनि देख्न सकिन्छ । भक्तपुरको होलीलाई यहाँको भीमसेन गुठीले परम्परादेखि नै पृथकरूपमा मनाउँदै आएको छ । यसलाई यौनपर्वका रूपमा पनि दाँज्न सकिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमासम्म भीमसेनको लिंग र द्रौपदीको योनिको प्रतीक झुन्डाएर यौन समागमका रूपमा राखिएको हुन्छ । जसको पूजाअर्चना तथा दर्शन गर्न मानिसहरूको घुइँचो लाग्छ । काठबाट निर्मित भीमसेनको लिंगलाई अष्टमीका दिन बिहान भक्तपुरको टोलटोलमा घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्डाएर राखिन्छ । यसलाई नेवारी भाषामा चिर स्वाय्गु भनिन्छ । यहाँ चिर स्वाय्गु गरेपछि विधिवत् रूपमा फागु सुरु हुन्छ । काठबाट निर्मित दुई हात लामो र करिब ३० इन्च मोटाइ भएको लिंगलाई भीमसेनको लिंग र रातो कपडाबाट बनेको योनि आकारको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ ।
होली सुरु हुनुअघि अष्टमीको दिन बिहान उक्त लिंगलाई दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरपर घुमाइन्छ । बजार परिक्रमापछि भीमसेन मन्दिरमा ल्याइएको भीमसेनको लिंग र योनि आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुन्डाइन्छ । झुन्ड्याइएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्छ । यसलाई नै भीमसेन र द्रौपदीको यौन समागमका रूपमा लिइन्छ । यसलाई फागुसँग जोडिएको यौन प्रतीकका रूपमा लिइन्छ । भीमसेन र द्रोपदीको यौन समागमका रूपामा राखिएको यस प्रतीकलाई विकृति नभएर सांस्कृतिक मूल्यमान्यताका रूपमा लिएको पाइन्छ । पूर्णिमाको दिन भीमसेनको उक्त लिंगलाई ब्रह्मायणी मन्दिर नजिकको खोलामा लगेर पखाल्ने र पुन: मन्दिरमा लगेर राखिन्छ । उक्त लिंग पखालेर भीमसेन मन्दिरमा लगेपछि फागुपर्व समाप्त हुन्छ । जसका छोरा छैनन् उसले उक्त लिंग बोक्दा छोरा हुने जनविश्वास भएकाले पनि उक्त लिंग बोक्न मानिसको तँछाडमछाड हुने गर्छ । उक्त भीमसेन मन्दिरको निर्माण जगत्प्रकाश मल्लको पालामा भएकाले उक्त परम्परा पनि त्यही समयदेखि नै चलेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसै प्रकारको लिंग पूजनोत्सव जापानमा पनि प्रचलित छ ।
सिंहसार्थ बाह र फागु : फागुपर्वको शुभारम्भ सम्बन्धमा सिंहसार्थ वाहको पनि रोचक प्रसंग पाइन्छ । ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य–चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराइने परम्परा छ । नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भन्ने गरिन्छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ । सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजाले सहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पु¥याएर मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार ल्याउने परम्परा छ । चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैंले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो ।
तर, केही वर्षयता ठ्यासफुका रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको हुनाले ती महत्त्वपूर्ण ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको हो । प्रचलित कथनानुसार व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ बाह स्वदेश फर्कने क्रममा सँगै आएका सबै व्यापारी मारिए । तर उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्किए । त्यही खुसियालीमा सिन्दुर जात्रा गरिएको र कालान्तरमा उक्त परम्परा होलीका रूपमा चलेको र चकँ द्य जात्रा चलेको भन्ने कथन पनि पाइन्छ ।
तराई र अन्य सम्प्रदायमा फागु : नेपालका पहाडी जिल्लाहरूमा मनाइने फागुभन्दा तराईका जिल्लाहरूमा मनाइने फागु अलि पृथक खालको छ । नेपालको तराई प्रदेशमा भने पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट धुमधामसँग मनाइन्छ । नेपालको पश्चिमी तराईका थारु समाजमा यसलाई विशेष धुमधामले एकआपसमा रंग अबिर दलेर नाचगान गरी हर्षपूर्वक मनाउँछन् । त्यस्तै, चितवनका थारुहरूले यसलाई नयाँवर्षको शुभारम्भका रूपमा मनाउँछन् । यसबेला यिनीहरू ढोलक बजाएर, नाचगान गरी, रक्सी माछामासु खाएर परम्परागत रूपमा फागुपर्व मनाउँछन् ।
पहाडी क्षेत्रमा मनाइने फागुभन्दा तराईमा मनाइने फागुपर्व भारतीय संस्कृतिसँग पूर्णतया मेल खान्छ । विभिन्न रंगहरू दलेर पिचकारीले रंग हानेर वा रंगीन पानी छ्यापाछ्याप गरेर तराईमा फागुपर्व मनाइन्छ । यस अवसरमा तराईमा भाङको घोट्टा पनि बनाएर पिउने चलन छ । नेवारी परम्पराअनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवक–युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीत पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।
रंगीन पर्व–फागु : रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषत: रातो, हरियो, पहेंलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा लिइन्छ ।
हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । फागुमा रातो अबिर र पहेलो केसरी दलेर खेल्ने परम्परा पनि छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग इष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । त्यस्तै, सेतो रङ पनि सबैले मनपराउँछन् । यो रङलाई शुद्धताको प्रतीक मानिन्छ । होलीमा विभिन्न प्रकारका रंगको प्रयोग गरिन्छ । कलर थेरापीमा उल्लेख भएअनुसार प्राकृतिक रंग प्रयोग गरी होली खेल्दा स्वास्थ्यमा असर पर्दैन भने छालामा कुनै पनि असर पनि गर्दैन ।
विश्वव्यापी रंगीन पर्व : हरेक मुलुकमा आआफ्नै तरिकाले होली जस्तै पर्वहरू मनाउने गरिएको पाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले र चीनमा च्वेजका नामले मनाइन्छ । त्यस्तै, अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ । होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पृथकपृथक तरिकाले मनाइने गरिन्छ । पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घरआँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । प्राय: मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।
- आफूभित्र रहेको खराब आदतलाई त्याग्ने प्रेरणा दिन खराव प्रवृत्तिामाथि विजय देखाएर मान्छेलाई सत्मार्गमा प्रेरित गराउन यस पर्वले महत्वपूर्ण भूमिका खेलेको छ। यसले सामाजिक तथा मनोवैज्ञानिक दृष्टिकोणमा वैमनस्यता त्यागी मित्रता सुदृढ गर्छ।
- फागुपर्वको सुरुआत वसन्तका मित्र कामदेवको पूजाबाट आरम्भ गरिन्छ। वात्सायनको समयमा फागुन र चैत दुई महिनामा मदनोत्सव वा वसन्तोत्सव मनाइन्थ्यो। त्यही मदनोत्सव तथा वैदिक साहित्यमा चर्चित वसन्तोत्सवलाई आजकल फागुपर्व भनेर मनाउने गरिएको मानिन्छ।
त्यस्तै, बंगलादेशका हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आआफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेषगरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ । सुरिनाममा पनि होलीका गीत गाएर एवं रङ खेलेर होली मनाउने चलन छ । त्यस्तै, अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । विश्वका अन्य देशहरूमा आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरिएको पाइन्छ ।
वैज्ञानिक, आयुर्वेदिक र कृषिसँग सम्बन्ध : वैज्ञानिक दृष्टिले फागुपर्वको आफ्नै महत्व छ । यस अवसरमा बालिएको आगोको धुँवा बादलको रूपमा परिणत हुने र सो बादलले वर्षा गराउन मद्दत पुग्दछ । त्यस्तै, यस अवसरमा बालिने आगोको धूवाँले शीतकालमा उत्पन्न हुने थुप्रै रोगका कीटाणुहरू नाश गर्न मद्दत गर्दछ भनिन्छ । त्यस्तै, आयुर्वेदका चरक, सुश्रुतजस्ता आचार्यहरूका अनुसार असल रंग तथा अबीर, केशरी, नीर मिलाई राम्रोसँग तयार पारिएको रंगले थुप्रै प्रकारका चर्मरोग निको हुन्छन् । तराई प्रदेशमा फागुपर्वलाई चना, गहुँजस्ता अन्नलाई भुट्ने वा आहुति दिएर मनाइन्छ जसलाई त्यहाँ होलिका भनिन्छ । त्यसैले तराई प्रदेशमा चना, गहुँ र जौजस्ता नवान्नहरूलाई फागुन महिनामा अग्निदेवतालाई चढाएर भित्र्याउने एवं खाने परम्परा छ ।
गीत–संगीतमा फागु : होलीपर्वका अवसरमा विभिन्न प्रकारका गीत पनि गाइन्छ । यस अवसरमा गाइने गीत वा रागलाई टप्पा भनिन्छ । टप्पा तराईतिर ज्यादै प्रचलित फागु गीत वा राग हो । होलीपर्वका अवसरमा विभिन्न प्रकारका गीत पनि गाइन्छ । टप्पा तराईतिर ज्यादै प्रचलित फागु गीत वा राग हो । त्यस्तै, नेवारी सम्प्रदायमा पनि फागुको महत्व पाइन्छ । थुप्रै नेवारी साहित्यमा पनि फागुको वर्णन भएको पाइन्छ । नेवारी गीतहरूमा सुमेरु पर्वतका शिवलाई हिमालय पर्वतकी छोरी चाहिएको वर्णन पाइन्छ ।
त्यसैले नेवारी परम्परामा फागुलाई चाडपर्वको राजा मानिन्छ । नेवारी साहित्यमा जुजुया होली तँचाया ला ल्यासे ? भनेर फागुको वर्णन भएको पाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । यस अवसरमा देशविदेशमा विभिन्न फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ ।
चलचित्रभित्र फागु विचित्र : चलचित्रमा समाजको कला र संस्कृतिको प्रतिबिम्बन पनि पाइन्छ । त्यसैले विभिन्न नेपाली चलचित्रमा फागु गीत पनि समावेश गरिएको पाइन्छ । बटरफ्लाई चलचित्रको होली रे आयो होली रे, ज्वाला चलचित्रको होली रे होली रे, चलचित्र अधिकारको होलीले मेरो रंगायो नयाँ चोली, वसन्ती चलचित्रको फागु हो फागु होलगायत थुप्रै गीतहरू नेपाली चलचित्रमा समेटिएका पाइन्छन् ।
त्यस्तै, लेखु सहयात्रीको ह्याप्पी होली, नवराज सुब्बाको जीवन खुल्छ सँगमा होलीमो सात रंगमा आदि गीतका साथै जोगिरा सरर, होली रे होली र आज जनकपुरमा होली रे, आज होली हो, खेलौं होली जस्ता थुप्रै होलीसम्बन्धी गीत पनि सुन्न सकिन्छ । त्यस्तै नेपाल भाषाका केही चर्चित होली गीतमा अबिरया होली तँचायाला ल्यासे, फागु पुन्हिया होलीलगायत होलीया मेला आदि गीतहरू पनि पाइन्छन् । विभिन्न खाले चलिचित्रमा होलीका गीत समावेश गरिनुले यो नेपाली सबैको लोकप्रिय र महत्त्वपूर्ण पर्व भएको प्रस्ट हुन्छ ।
विकृति होइन, संस्कृति बनाऔं फागु : आफूभित्र रहेको खराब आदतलाई त्याग्ने प्रेरणा दिन खराब प्रवृत्तिमाथि विजय देखाएर मान्छेलाई सत्मार्गमा प्रेरित गराउन यस पर्वले महत्वपूर्ण भूमिका खेलेको छ । सामाजिक तथा मनोवैज्ञानिक दृष्टिकोणमा वैमनस्यता त्यागी मित्रता सुदृढ गर्न यस पर्वलाई उत्प्रेरकको रूपमा लिन सकिन्छ । हिजोआज आधुनिकता र परम्पराको नाममा उच्छृंखलता थपिँदै गएकाले फागु संस्कृतिभन्दा पनि विकृतिमय बन्न पुगेको देखिन्छ ।
आधुनिकता र संस्कृति संरक्षणका निहुँमा यहाँ यस्ता परम्पराभित्र विकृतिले डेरा जमाएको छ । जसको कारण समाजको धेरै क्षेत्रमा नराम्रो असर परेको छ । शुद्ध अबीर, रंग र पानीको प्रयोग गरी फागुपर्वलाई विशिष्टरूपमा मनाउनु नै यसको सन्देश हो । असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा मनाइने होली पर्वको आफ्नै विशेषता रहेको पाइन्छ । यो विश्वव्यापी महान् पर्व हो ।
प्रतिक्रिया दिनुहोस !