साँखुको साख, श्रीस्वस्थानीको साथ
काठमाडौंको पूर्वदिशामा एउटा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण प्राचीन नगर छ। त्यही साँखु नगरमा प्रत्येक वर्ष एक महिनासम्म स्वस्थानी मेला लाग्छ। जुन मेला भर्न विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू उपस्थित हुने गर्छन्। साँखुमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेलालाई नै श्रीमाधवनारायण–श्रीस्वस्थानीको मेला भनिन्छ। यस अवधिमा उक्त मेला भर्न थुप्रै भक्तजन तथा श्रद्धालु साँखु नगर पुग्छन्।
नामकरण : साँखु नगर शंखको आकार जस्तो छ र त्यही कारण यसलाई साकेतु भनिएको हो। साकेतु नै अपभ्रंश हुन गई कालान्तरमा साँखु हुन गएको किंवदन्ती पाइन्छ। त्यस्तै, प्रारम्भमा यहाँ शंखदेव भन्ने राजाले राज्य गरेका थिए र उक्त राज्यको राजधानी भएका कारण पनि यस ठाउँलाई साँखु भनिएको हो। देवमाला वंशावलीमा उल्लेख भएअनुसार शंखदेव वा शंकरदेव राजाले दाहिने शंखको आकारमा यस शहरको निर्माण गरी वज्र्रयोगिनी माईलाई चढाएका कारण यसको नाम साँखु रहन गएको हो।
मणिशैल महावदान ग्रन्थमा उल्लेख भएअनुसार कलिगत संवत् १८०१ मा वज्र्रयोगिनी देवीको जात्रा गर्न आठ दिन साँखुमा विराजमान हुने भविष्यवाणी भएकाले देवीकै आज्ञाबमोजिम जोगदेव वज्राचार्यले शंखरापुर निर्माण गरी उक्त समयमा महानगरको रूपमा स्थापना गरेका कारण यसलाई शंखरापुर भनियो। कालान्तरमा त्यो नाम नै साँखु भएको हुन सक्छ। साँखुमा पाइएको राजा वामनदेवको विक्रम संवत् ५९४ को शिलालेखका आधारमा साँखुलाई प्राचीन नगर मान्न सकिन्छ।

साँखुलाई नेवारीमा सक्व भनिन्छ। नेपाल भाषामा ‘स’को अर्थ तिब्बत र ‘क्व’ भनेको मुनि हुन्छ। तिब्बतसँगको मूलबाटोमा पर्ने भोटकै मुनि रहेको ठाउँ भन्ने अर्थमा नेवारीमा सँदेक्वय् भई अन्त्तोगत्वा सक्व नाम रहन गएको स्थान नामकोशमा कृष्णप्रकाश श्रेष्ठले उल्लेख गरेका छन्। शंखको आकार परेकाले संस्कृतमा शंखपुर भनिएको र त्यसैको अपभ्रंश भई नेपालीमा साँखु र नेवारीमा सक्व रहन गएको श्रेष्ठले स्थाननामक कोशमा उल्लेख गरेका छन्।
इतिहासमा साँखुको अस्तित्व : इतिहासमा साँखुमाथि विभिन्न राज्यले राज गरेको पनि देखिन्छ। मध्यकालमा साँखु सहरमा भक्तपुरको शासन चल्थ्यो तर मल्ल वंशअघि साँखु छुट्टै राज्य भएको पनि इतिहासमा छ। विक्रम संवत् १२९८ मा युद्ध भएको र इचिमिस पराजित भएको ठाउँको रूपमा गोपालराज वंशावलीमा साँखुलाई उल्लेख गरिएको छ।
राजा स्वर्ण मल्ल (१५६०–७५) ले साँखुलाई दुई भागमा बाँडेर आधा आफ्नै भाइलाई दिएका थिए। विक्रम संवत् १५७६–८६ मा राजा सूर्य मल्लले साँखुलाई कव्ज्रा गरे र त्यहाँ केही वर्ष शासन चलाएका थिए। राजा जयप्रकाश मल्लले पनि विक्रम संवत् १७९२ देखि १८२४ सम्म साँखुमा शासन गरेका थिए। उनको शासनको अन्त्यमा मल्ललाई काठमाडौंबाट पृथ्वीनारायण शाहले पराजित गरे। पृथ्वीनारायण शाहको प्रारम्भिक योजना काठमाडौंमा आक्रमण गर्नुअघि साँखुलाई कव्ज्रा गर्ने नै थियो। यो राज्य तिब्बतको एउटा प्रमुख व्यापारिक मार्ग पनि थियो। साँखुलाई सबैले आफ्नो अधीनमा लिन प्रयास गरेबाट यो नेपालको एउटा बलियो राज्यको रूपमा रहेको पनि प्रमाणित हुन्छ।

स्वस्थानी र शालीनदी : स्वस्थानी र शालीनदीको स्थलका रूपमा हालको साँखु अर्थात् लावण्य देशको चर्चा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमहात्म्यमा उल्लेख छ। यही लावण्य देशमा नै शालीनदी बहने गर्छिन्। शालीनादीको समीपमा नर्वदेश्वर महादेव, गणेश, हनुमान, विष्णु, भैरव, नवराज, चन्द्रावती, डोलेहरूका मन्दिर तथा अन्य स–साना मूूर्ति छन्।
यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ। पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन विशम्भर नारायणको वैदिक तवरले पूजाअर्चना र हवन गरेको भोलिपल्ट शालीनदीमा श्रीस्वस्थानीको मेला सुरु हुन्छ। जुन पौराणिक विषयलाई स्कन्द पुराणको केदारखण्ड माघमहात्म्यका रूपमा वर्णन छ। पौषशुक्ल पूर्णिमाको दिनदेखि शुद्ध भई एकचित्त रही मध्याह्नकालमा स्वस्थानीदेवी र महादेवको पूजा गरी साँझपख स्वस्थानीको महिमा सुन्ने र सुनाउने चलन छ। यो माघशुक्ल पूर्णिमासम्म चल्छ।
स्वस्थानी देवी र नारीशक्ति पूजन : सुवर्ण वर्ण भएकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा छ। स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा छन्। यस्ती देवी नै स्वस्थानी हुन् भनी पुराणमा उल्लेख छ। यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुन: मिलन हुन्छ भन्ने विश्वास छ। रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा छ।

व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथा र गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र बियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश अर्थात् हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन पाइन्छ। स्वस्थानीलाई देवीशक्ति, नारीशक्ति, मातृशक्तिसँग जोडेर विश्लेषण गर्न सकिन्छ। नारीशक्तिको सम्मान गर्नु नै स्वस्थानी व्रतसँग जोडिएको मूल विषय हो। विभिन्न उपकथाले सजिएको स्वस्थानी महात्म्यलाई हिन्दुहरू महत्त्वपूर्ण धार्मिक ग्रन्थका रूपमा लिन्छन्। आरोग्य, सुस्वास्थ्य, उन्नति, सफलता मिल्ने विश्वासका कारण हिन्दू समाजमा अझै यो व्रत व्यवहृत हुँदै आएको छ। स्वस्थानी पूजनमा नारीशक्तिको पूजाअर्चना वा आराधना नै मुख्यरूपमा हुने गर्छ।
स्वस्थानी महात्म्य : साँखुको शालीनदीमा लाग्ने एकमहिने मेलाको पहिलो दिन वा पौष शुक्लपूर्णिमाको अघिल्लो दिन विशम्भर माधवनारायणको वैदिक तवरले पूजाअर्चना हवन गरेपछि त्यसको भोलिपल्ट शालीनदीमा श्रीस्वस्थानीको मेला सुरु हुन्छ। जुन पौराणिक विषयलाई स्कन्द पुराणको केदारखण्डको माघ महात्म्यका रूपमा प्रस्तुत गरिएको छ। यस व्रतको व्रतविधि अन्य व्रतको भन्दा पृथक् छ। पौषशुक्ल पूर्णिमाको दिनदेखि हातगोडाका नङ काटी, शुद्ध भई एकचित्त भई मध्याह्नकालमा स्वस्थानी देवी र महादेवको पूजाअर्चना गरी साँझपख स्वस्थानीको महिमा सुन्ने र सुनाउने चलन छ। यो क्रम माघ शुक्लपूर्णिमासम्म चल्दछ।
स्वस्थानी महात्म्यलाई हिन्दुहरू महत्त्वपूर्ण धार्मिक ग्रन्थका रूपमा लिन्छन्। जसमा विभिन्न कथा उपकथाहरू छन्। यस व्रतका प्रभावले आरोग्य, सुस्वास्थ्य, उन्नति, सफलता मिल्ने विश्वास हिन्दु समाजमा अझै छ। खासगरी स्वस्थानी व्रतलाई देवीशक्तिको उपासना गरी मनाइने व्रतका रूपमा मनाइन्छ। मातृशक्तिको महत्त्वपूर्ण उत्सव, पर्व, व्रत आदि मनाइने हाम्रो देशका स्वस्थानी देवीको उपासना वा पूजाअर्चना गरिनुले परापूर्वकालदेखि नै यसको महत्त्व रहेको प्रस्ट हुन्छ।
स्वस्थानी र माधवनारायण मेला : एक महिनाको अवधिमा साँखुमा स्वस्थानीसँगै माधवनारायणको पनि विशेष पूजापाठ हुन्छ। त्यसो त माघ महिना विष्णु माधवनारायणको नामले पनि चिनिन्छ। स्वस्थानी व्रत बस्ने इच्छा भएकाहरूले बेलुकी नुहाएर ब्रह्मपुरमा श्रीमाधवनारायणको मूर्तिअगाडि उभिन्छन् र पुजारीबाट जलप्रसाद ग्रहण गरेपछि सर्वसाधारण मानिससमेतलाई नछोइकन छुट्टै बसेर व्रतारम्भ गरिन्छ। पुरुष व्रतालुहरू शालीनदीतिरको पाटीमा र महिला व्रतालु भने आआफ्ना छुट्ट्याइएको कोठामा समूह वा एक्लै बस्छन्। यस व्रतका आफ्नै नियम छन्। ज्यादै चोखोनीतिसँग बस्नुपर्ने यो व्रतमा देशाटन पनि गरिन्छ। नाङ्गै खुट्टाले पैदल हिँडेर विभिन्न तीर्थमा स्नान र पूजापाठ गरेपछि तीसौं दिनका दिन पूजाअर्चना, होम, सिदा दान, गौदानसहित गरेर व्रतको समप्ति हुन्छ। स्वस्थानी मेला अवधिभरि साँखुमा माधवनारायणको व्रत बस्ने चलनलाई प्राचीन मानिन्छ।
पृथक् विशेषता रहेका साँखुका द्वारहरू : सांस्कृतिक नगर साँखुमा रहेको प्रवेशद्वारहरूको पनि आफ्नै विशेषता छन्। यहाँ रहेको उत्तरपश्चिम ढोकाबाट यहाँस्थित वज्रयोगिनीलगायत अन्य देवीको रथयात्रा गराउने र पूजा गर्न जाने चलन छ भने उत्तरपूर्वी ढोकाबाट साँखु नगरका मृतकलाई जलाउन घाट लैजाने गरिन्छ। दक्षिणपूर्वी ढोकाबाट देशभित्र रहेका छोरीचेलीको विवाहपश्चात् बिदाइ गर्ने गरिन्छ भने दक्षिणपश्चिम दिशामा रहेको ढोकाबाट नवदुलहीलाई स्वागत गरी भित्त्याइन्छ। त्यस्तै, सहरको पूर्वपट्टि रहेको प्रवेशद्वारबाट पवित्र तीर्थस्थल शालीनदी र माधवनारायणको पूजापाठ गर्न जाने चलन छ। यसबाट साँखु नगरका हरेक प्रवेशद्वारहरूको आआफ्नै विशेषता झल्कन्छ। यस सहरमा पहिले आठवटा प्रवेशद्धार भएकोमा अहिले पाँचबटा मात्र बाँकी छन्। साथै, प्रत्येक ढोकाको पृथक् विशेषता रहेको कुरा स्थानीय सत्यनारायण श्रेष्ठ बताउँछन्।
प्राचीन गुम विहार : साँखुको वज्र्रयोगिनी मन्दिर वरपरको घनाजंगल क्षेत्रलाई गुमबिहार भनिन्छ। जसको निर्माण १७औं शताब्दीमा भएको अनुमान गर्न सकिन्छ। राजा मानदेवले समेत यसको जीर्णोद्धार गरेका थिए। उनले विहार क्षेत्रमा चैत्य निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ। कालान्तरमा यहाँका मानिस हिन्दु धर्मप्रति आस्थावान् भएका कारण यो विहार ओझेलमा पर्न पुगेको र उग्रतारा वज्र्रयोगिनीको आकर्षणका कारण यो स्थानको महत्त्व बढ्न पुगेको देखिन्छ। वज्र्रयोगिनीको मन्दिर शालीनदी मेलाका बेलामा तीर्थालुका लागि मुख्य आकर्षणको केन्द्र बन्दछ।
साँखुको स्वस्थानी मन्दिर : शालीनदीमा तीनतल्ले आकर्षक स्वस्थानी माताको मन्दिर छ। जुन मन्दिर विभिन्न बुट्टा र आँखीझ्यालले सजिएको देखिन्छ। पित्तलको छाना भएको यो मन्दिर विशेष शैलीमा निर्माण गरिएको छ। स्वस्थानीको शाब्दिक अर्थ स्वस्थानकी देवी वा आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजन हो। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त हुने भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिन्छ।
नेपालको सबैभन्दा पुरानो स्वस्थानी मन्दिर : नेपालमा केही ठाउँमा स्वस्थानीको मन्दिर वा मूर्ति फेला परेका छन्। त्यसमध्ये मखन तानाबहालमा रहेको स्वस्थानीको मूर्तिलाई प्राचीन मूर्ति मानिन्छ। काठमाडौंको मखनमा रहेको तानादेवी मन्दिर परिसरमा राजा प्रताप मल्लको पालाको स्वस्थानीको मन्दिर छ। जुन मूर्ति कलात्मक र आकर्षक देखिन्छ। कान्तिपुरका राजा प्रताप मल्लले आजभन्दा ३५० वर्षपहिले सो मूर्तिको स्थापना गरेका थिए भन्ने कुरा उक्त मूर्तिको पादपीठमा उल्लेख गरिएको शिलालेखबाट प्रस्ट हुन्छ। उक्त प्रस्थर मूर्तिको निर्माण राजा प्रताप मल्लले नेपाल संवत् ७९४ मा गराएका थिए। ऐश्वर्यधर शर्माको स्वस्थानी व्रतकथा पुस्तकको पृ. १३१ परिशिष्टमा उल्लेख गरिएको छ।
स्वस्ति।। श्री ३ शिवसहितन श्री ३ स्वस्थानी परमेश्वरी शस्त्रशास्त्रसंगीता—
दिसकलविद्यापारगमहाराजाधिराजधम्र्मराज—
नेपालेश्वरविदग्धचक्रचूडामणिसकलराजचक्राधीश्वरश्रीश्रीराजराजेन्द्रकवीन्द्र—
जयप्रतापमल्लपरमभट्टारकदेवन स्था—
पनयाङ विज्याङा।।संवत् ७९४ माघमासे शुक्लपक्षे श्रीपञ्चाम्यान्तिथौ
अश्विनिनक्षत्र शुभयोग आदित्यवार कुन्हु।।
उक्त मूर्तिको पादपीठमा माघशुक्ल पञ्चमीमा स्थापना गरिएको पनि उल्लेख छ। इतिहासविद् शम्भु श्रेष्ठका अनुसार मखनमा रहेको ३५० वर्ष पुरानो स्वस्थानीको मूर्ति साँखुको शालीनदीमा पनि छैन। मखनमा रहेको उक्त प्राचीन स्वस्थानीलाई हुलाक टिकटमा समेत ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
सबैभन्दा पुरानो स्वस्थानी ग्रन्थ : विक्रम संवत् १७३० तिर पाइएको ताडपत्रमा लेखिएको स्वस्थानी व्रतकथा नै नेपालमा पाइएको हालसम्मकोे सबैभन्दा पुरानो ७८ पृष्ठको स्वस्थानी ग्रन्थ हो। जसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले २०४९ सालमा प्रकाशन गरेको थियो। संस्कृतमा लेखिएको उक्त ग्रन्थलाई नेपालीमा अनुवाद गर्ने काम ऐश्वर्यधर शर्माले गर्नभएको हो। उक्त ग्रन्थमा काठमाडौंको मखनस्थित तानादेवी मन्दिर परिसरमा रहेको स्वस्थानीदेवीको तस्बिरसमेत समावेश गरिएको छ।
स्वस्थानीमा विद्यावारिधि : स्वस्थानी व्रतमा नेपालका नेवार महिला र संस्कृतिका विषयमा केन्द्रित भएर विद्यावारिधि भएको पाइन्छ। विस्कन सिन माडिसन विश्वविद्यालयकी लिन्डा लुइस इलटिसले सन् १९८५ मा विद्यावारिधि गरिन् भने त्यसको २५ वर्षपछि अमेरिकी जेस्सिका वान्थाइन बर्कन्होल्जले पनि स्वस्थानी व्रतकथामा आधारित भएर विद्यावारिधि गरिन्। उनीहरूले स्वस्थानी परम्पराबारे खोज अनुसन्धान गरी स्वस्थानी परम्पराभित्रका विविध पक्ष बाहिर ल्याउने काम गरे। नेपाल भाषामा लेखिएका हस्तलिखित प्राचीन स्वस्थानी ग्रन्थ पनि फेला परेका छन्।
साँखुको प्रमुख आकर्षण वज्र्रयोगिनी मन्दिर : साँखु नगरको प्रमुख आकर्षणका रूपमा वज्र्रयोगिनी देवीलाई पनि लिइन्छ। वज्र्रयोगिनी देवीको उत्पत्ति सत्ययुगमा मडिचुड पर्वतको मणिशिलाको कापबाट उत्पन्न पञ्चरश्मी ज्वालाबाट भएको मानिन्छ। उग्रतारा वज्र्रयोगिनीका मूर्तिको स्वरूप पनि आश्चर्य लाग्ने खालको देखिन्छ। जसमा मूल अनुहार रातोवर्ण, दायाँ अनुहार नीलवर्ण, वायाँ अनुहार सेतोवर्ण भई प्रत्येक अनुहारमा तीन तीनवटा आँखा पनि देखिन्छन्। उग्रताराको आराधाना गर्न ब्रह्मा, विष्णु, महादेव, इन्द्र, कुवेर, वायु, वरुण, अप्सरा आदि मणि पर्वतको ठाउँठाउँमा बास गरेका थिए। जसका कारण मडिचूड पर्वत नै शोभायमान भएको भन्ने पनि पौराणिक कथन पाइन्छ।
साँखुमा वज्रयोगिनीको जात्रा जोगदेव वज्राचार्यको पालामा नै चलेको देखिन्छ। वज्रयोगिनीको मन्दिरमा जुनसुकै बेलामा पनि घण्ट वज्राउन पाइँदैन। बिहान र बेलुका पूजा र आरतीको समयबाहेक अन्य बेलामा मन्दिर परिसरमा घण्ट वज्राइने गरिँदैन। पूजा र आरतीको समयबाहेक अन्य बेलामा घण्ट वज्रेमा सहरका बासिन्दाले सम्भावित खतराको महसुस गर्छन्। त्यसैले साँखु वज्रयोगिनीमा अन्य बेला घण्ट वज्राउन हुन्न भन्ने कथन पाइन्छ। वज्रयोगिनी मन्दिर तीनतल्ले छ। एकहातमा तरबार र अर्को हातमा कमलको फूल लिएकी वज्रयोगिनीको मुहार र हात रातो र शरीरमा गहना र पोसाक लगाएको देखिन्छ।
देवीको नजिकै सानो जनावरजस्तो प्रतिमा पनि देख्न सकिन्छ। यो तान्त्रिक बौद्धमार्गीहरूको मन्दिर हो। जसलाई वोधिसत्त्व मन्दिर पनि भनिन्छ। जसको निर्माण प्रताम मल्लले गरेका थिए। हिन्दु र बौद्धमार्गी दुवैको साझा तीर्थस्थल हो। तीनतल्ले वज्रयोगिनी देवीको मूर्ति रक्त वर्ण तिनेत्र आकृतिको छ। वज्रयोगिनीको जात्रा प्रत्येक वर्ष चैत्र वैशाखमा पर्छ। कलिगत संवत् १८०१ मा राजा शंखदेवले शंखरापुर नगर निर्माण गरेका थिए। राजा शंखदेवले नै १८१८ मा वज्र्रयोगिनीको जात्रा चलाएका थिए।
वज्र्रयोगिनी क्षेत्रलाई नै वज्र्राचार्यहरूको जन्मस्थलका रूपमा पनि लिन सकिन्छ। काठमाडौं जिल्लाको उत्तरी भेगमा मडिचुण पर्वतको दुई पहराको बीचमा स्थापना भएकी देवी बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तररूपमा प्रकट भएकी पार्वती नै वज्र्रयोगिनी हुन् भन्ने कथन पनि पाइन्छ। यी देवीको पूजन बौद्ध र हिन्दु दुवै परम्पराबाट हुने गर्दछ। उपत्यका र वरपरका भक्तले तान्त्रिक देवीका रूपमा वज्र्रयोगिनीको आराधाना गर्दछन्। वज्र्रयोगिनीलाई साक्षात तान्त्रिक देवीका रूपमा पुज्ने गरिन्छ। तल्ले शैलीमा निर्माण भएको यस मन्दिरको दायाँबायाँ प्रस्तरका बाघका मूर्ति, विशाल घण्ट, गुफा अन्य देवीदेवताका ससाना मूर्तिहरू रहेका छन्। यस मन्दिरलाई हिन्दु र बौद्ध दुबैको साझा तीर्थका रूपमा लिइन्छ।
प्रमुख शिवलिंग ज्योतिर्लिङ्गेश्वर र नर्मदेश्वर महादेव : साँखु नगरमा विभिन्न विशेषताले भरिएको मठमन्दिर छन्। नगरको उत्तरी भागमा शिवको ठूलो मन्दिर छ। यसलाई कलाकृति र मूर्तिकलाको विशेष स्थानका रूपमा लिइन्छ। जसलाई ज्योतिर्लिङ्गेश्वर महादेव भनिन्छ। यस मन्दिरको परिसरमा गणेश, भीमसेन, विष्णु, राधाकृष्ण, सरस्वती आदिका मूर्ति रहेका छन्। विशेष पूजापाठको शुभारम्भ यसै मन्दिरबाट हुने गर्दछ। शालीनदीको किनार अलिकति माथिपट्टि नर्मेदेश्वर महादेवको मूर्ति शिवलिंग छ। शिवजीको श्वेत रूपलाई नै नर्मदेश्वर भनिन्छ। त्यसैले, यहाँस्थित नर्मदेश्वर महादेवको पूजा अर्चना गर्न मानिसको घुँइचो नै लाग्छ।
काठमाडौं र तिब्बतको व्यापारिक मार्ग : यो सहर काठमाडौंदेखि तिब्बतसम्मको मुख्य व्यापारिक मार्ग पनि हो। साँखुको वज्र्रयोगिनी देवीको मन्दिर परिसर क्षेत्रलाई तत्कालीन नेपाल तिब्बतका राजा स्रोङचोङ गम्पोको विवाहको स्वयम्वरस्थलका रूपमा चिनिन्छ। तत्कालीन चीनतिब्बतको सन्धिअनुसार चीनले नेपाललाई वार्षिक रूपमा निश्चित रकम बुझाउनु पर्दथ्यो। छालाको थैलीमा राखेर चाँदीका टक बुझाइन्थ्यो जसलाई तोडाकु भन्न्थ्यिो। जुन रकम यहीँबाट राजधानी भित्रिने कुरा मणिचुडदेखि रत्नचुडसम्म पुस्तकमा प्रकाशमान श्रेष्ठ र प्रेमप्रसाद काफ्लेले उल्लेख गरेका छन्। त्यसैले यसको सामरिक दृष्टिले ज्यादै महत्त्व रहेको मानिन्छ। मल्लराजाको पालाभन्दा अगाडि छुट्टै अस्तित्व भएको साँखु कहिले भक्तपुरको त कहिले काठमाडौंको अधीनमा रहेको देखिन्छ।
साँखु सहर वरपरका सम्पदाहरू : साँखु सहर आफैंमा सम्पदाहरूले भरिएको सहर हो। यस वरपर मणिचुडेश्वर महादेव, योगेश्वर महादेव, इन्द्रायणी देवी, जाल्पादेवी, चाँगुनारायण, विशम्भर नारायण, काठे भैरव, शल्मुदेवी, गोमादेवी, वाराही देवी, क्षेत्रपाल भैरव आदिका मन्दिर छन्। शालीनदीको किनारामा गणेश, महादेव, हनुमान, विष्णु, वद्री, चन्द्रावती रानी, डोलेका ससाना प्रतीक र मूर्ति पनि देख्न सकिन्छ। शालीनदीको प्रवेशद्वारमा नर्मदेश्वर महादेवको मन्दिर छ। शिवजीको श्वेतरूपलाई नर्मदेश्वर भनी पुज्ने गरिन्छ। सँगै कोटीहोम यज्ञशाला पनि छ। यहाँ चौथो शताब्दीतिर निर्माण भएको प्राचीन ढुंगेधारा पनि रहेको देख्न सकिन्छ। मन्दिर परिसरमा जाने बाटो ढुंगाका छिँडीयुक्त छ। ठाउँठाउँमा ढुंगेधारा पनि देख्न सकिन्छ। वरपर पाटीपौवा पनि देख्न सकिन्छ। प्राचीन स्मारक, मठमन्दिर, पाटीपौवा, सत्तल, डबली, आकर्षक कलाकृति, टुँडाल, झ्यालढोका प्रशस्तमात्रामा रहेको साँखु साँस्कृतिक नगर हो।
सम्पदा संरक्षणको आवश्यकता : साँखु थुप्रै सम्पदाले भरिएको सुन्दर नगर हो। यसको उचित संरक्षणमा सरकारले विशेष कदम चाल्नुपर्ने देखिन्छ। विभिन्न विशेषताले भरिएको यो नगरमा विभिन्न सम्पदाहरू छन्। यहाँका जात्रा, परम्परा, संस्कृतिलाई पनि संरक्षण गर्नेतर्फ स्थानीय निकायले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। २०७२ को भूकम्पका कारण यहाँ थुप्रै सम्पदामा क्षति पुगेको थियो। साँखुको साँख जोगाउन सरोकारवाला सबैले एक भएर जुट्नुपर्ने देखिन्छ। साँखुलाई विविधताको नगरी भनिन्छ। यहाँ विभिन्न प्रकारका चाडपर्व, परम्परा र संस्कृति प्रचलनमा छन्। यहाँ प्रचलित सामाजिक संस्कार, परम्पराले संस्कृतिलाई जीवन्त राख्न मद्दत पुर्याएको देखिन्छ। यस नगरको वज्र्रयोगिनी मन्दिर परिसरमा पाइएको लिच्छविकालीन अभिलेख, नेपाल संवत् २९३ को शिलास्तम्भले पनि यस नगरको विविधता प्रस्ट गर्दछ भने यसलाई भृकुटीको पदमार्गका रूपमा पनि लिइन्छ। यो धार्मिक, सांस्कृतिक, ऐतिहासिक, जैविक आदि दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
प्रतिक्रिया दिनुहोस !