अँध्यारो–उज्यालो !

जिन्दगी छ र त अनुभवहरू छन्।
जिन्दगी छ र त बुझाइहरू छन्।
जिन्दगी छ र त घामछायाँहरू छन्।
जिन्दगी छ अनि पो झ्याम्म परेको विशाल मायाको छहारी छ।
हृदयमा अथाह मायाको खानी छ। जिन्दगीबिना यो सब कहाँ पाउनु ! नत्र कल्पना बाहिरको कुरा पो हुन्छ यी सबै।
जिन्दगी भैदिन्छ – अतृप्त ! कहिले भइदिन्छ, असन्तुष्ट ! कहिलेकाहीँ जिन्दगीले असीमित लालसाको मनसुवा राख्छ। अनेकौं अपेक्षाहरूको चास्नीमा डुबुल्की मार्छ। सम्भावनाहरूको माकुरी जाल बुन्छ। मायाको अप्राप्य तृष्णा बुन्छ। सपना नै सपनाहरूको नौरंगी प्वाँख उमार्छ। चाहिने नचाहिने ढोंग रच्छ। खै यो जिन्दगी पनि कस्तो कस्तो ! हरिभक्त कटुवालको कविता जस्तो।
यो अनन्त आकाशमा कावा खाँदै मन कहाँ हो कहाँ पुग्छ। जिन्दगी छ र पो यो सबथोक सम्भव छ। यो जिन्दगी छउन्ज्याल मनको चरो कति उड्छ र उड्छ। कहिलेकाहीँ असम्भव कुरामा पिङ खेल्दा पनि रमाइलो नै हुन्छ। यद्यपि कहाँ सम्भव छ र ? यो सब पूरा गर्न।
जीवनमा जहिल्यै उज्यालो हुँदैन नि।
अँध्यारो पनि त छाउँछ। उहिलेका मानिसले उसै के गीत गाउँथे – जिन्दगी घामछाया हो...। यो त दर्शन पो रहेछ दर्शन ! कहिलेकाहीँ जिन्दगीमा अध्याँरोले धुम्म पार्छ। मसानघाट जस्तो चकमन्न एकलास र भयानक डरलाग्दो क्षणसँग पनि साक्षात्कार गर्नुपर्छ।
भयानक भयानक सन्नाटाहरू छाउँदा के हाल हुन्छ ! निस्तब्द रातहरूमा अनिँदो बस्नुको बित्याँस कस्तो हुन्छ ? त्यही हालतमा हुन्छु म कहिलेकाहीँ। थुप्रै कहालीलाग्दा पलहरूसँग पौंठेजोरी खेल्दै आजसम्म आइपुगेको छु।
जिन्दगी संघर्ष हो भन्ने बुझेको छु र मन समालिन्छ।
हृदय सँगालिन्छ।
हुन त उति साह्रो छाएको छैन जिन्दगीमा अँधेरो। छाएको छैन निराशाको नमीठो पीडा। उदासीको कहिलेकाहीँ छाउँदा भने भयले मन डराएको आभास भएको थियो। हुन पनि अँध्यारोले जीवनलाई पछ्याउनु राम्रो होइन नि। तपाईंले यस्तो अत्यासलाग्दो कालोको सामना गर्नु भएको छ ? छ भने अनुभवी हुनुहुन्छ। अनि त्यतिबेलाको डरलाई यहाँले छोप्न सक्नुभयो त ? जुध्नुपर्छ जिन्दगीका अँधेरोसँग अनि पो आउँछ उज्यालो। सधैं चूक घोप्टिएको अँध्यारो जिन्दगीका लागि हानिकारक छ। जिन्दगीको मज्जा नै यही हो।
ब्रिटिस दार्शनिक बर्टेन्ड रसेलले लेखेको कतै पढेको थिएँ :–
‘मानिसको अस्तित्व पनि नदीको पानी जस्तै हो। सुरुमा सानो हुन्छ। दुई किनारको साँघुरो भागबाट बग्छ र चट्टानहरूमा ठोक्किँदै अघि बढ्छ र झरनाबाट खस्छ। नदी क्रमश: फराकिलो हुँदै जान्छ, नदी किनार पर सर्दै जान्छ, नदी विस्तारै बग्न थाल्छ। अन्तमा, कुनै प्रस्ट सिमानाबिना समुद्रमा गएर विलीन हुन्छ र कुनै पीडाबिना नै आफ्नो अस्तित्व गुमाउँछ। जिन्दगी पानीको यात्रा जस्तै लाग्छ। आफ्नै जीवनसँग बर्टेन्ड रसेलको भनाइ मिल्न जान्छ।
अँध्यारो र उज्यालो जीवनका दुई पाटा हुन्।
कहिले अँध्यारो कहिले उज्यालो। बरु अँध्यारोमा आत्तिनु र उज्यालोमा मात्तिनु पो हुन्न। कहिले कसको पालो त कहिले कसको। आखिर पालो त सबैको आउँछ। उज्यालोको चाह राख्नुपर्छ, अपेक्षा गर्नुपर्छ। यसले जिन्दगीको सार्थकता बुझाउँछ। तर उज्यालो ल्याउन कर्मको मैदानमा डट्नुपर्छ। पसिनाको रंग चिन्नुपर्छ। श्रमको पखेटा फैलाउनुपर्छ। उसै बसेर न मुखमा माड लाग्छ। न शरीरमा त्राण ! पछि अँध्यारो छायो भनेर चुकचुकाउनुको अर्थ हुँदैन।
समय छँदै उज्यालोका लागि मरिमेटेर लाग्नुपर्छ। उज्यालो सपना हो। उज्यालो चाहना हो। उज्यालो परिवर्तन हो। उज्यालो दिव्य हो। उज्यालो जीवनको आभूषण हो।
समय हुँदै सोच्नुपर्छ, मनलाई सत्कर्ममा लगाउनु पर्छ ता कि जीवनको उज्यालो आओस्। सुखसुविधा छाओस्। शान्तिले मनमा बास गरोस्। दु:ख र कष्ट नास गरोस् भन्ने चाह सबैको हुन्छ। यस्तो चाह राख्नेले जीवनलाई उज्यालो गोरेटोमा हिँडाउँछ। अँध्यारो आफसे आफ दूर हुन्छ। दु:खले गुन्टा कस्छ।
जिन्दगीको स्वच्छ र खुला आकाशमा अँध्यारो तुवाँलो लाग्यो भने सम्झनुस् जीवनमा दु:खको प्रवेश भयो। तसर्थ, त्यस्तो कालो तुवाँलो फटाउन प्रयास जारी राखौं। कालो तुवाँलो फाटेपछि सन्तुष्टिको उज्यालोले मनमा पदार्पण गर्नेछ। मनमा मात्र हैन, जीवनमै सुख ल्याउनेछ। यसो सोच्छु, लाग्दैन प्रयास जारी राख्नेको जीवनमा अँध्यारो सदैव उभिन्छ।
जीवनबाट अँध्यारो हामीले हटाउने हो। बाल्ने हो हर्षको आलोक। फाल्ने हो दु:खको अँध्यारो !
जीवनलाई बनाउने हो – तमसोमा ज्योतिर्गमय !
अध्याँरोसँग जीवन नठोक्काउँ भन्छु म।
तर कहिलेकाहीँ ठोक्किहाल्छ। सायद आममान्छेको भोगाइ हो यो। अँध्यारोले क्वाप्लक्क जीवन निल्यो भने त सक्किगो नि जिन्दगी जिउनुको मज्जा। एकाध पल यस्तो हुनु चाहिँ स्वाभाविक नै होला। यद्यपि कालो धब्बासँग नडराउँ, त्यो हटाउने र घटाउने यत्न गरौं।
कालोको निस्सारता हटेर उज्यालो आउने आशावादी जिन्दगी बाँचौं। धर्तीमा टेकिसकेपछि आसन्न परिस्थितिसँग जुध्नुको मज्जा पनि छ। भिड्नुको आनन्द पनि छ। दु:ख छ अनि पो सुख छ। कालो छ अनि पो उज्यालो छ। चिसो छ अनि पो तातो छ।
सधैं अन्यौलमा पर्नु जरुरी छैन। अन्यौललाई छिचोल्दै अगाडि बढ्ने र खोंचहरूबाट उकालो चढ्ने हो। पृथ्वीलाई पनि ग्रहण लाग्छ, हाम्रो त एकबारको जिन्दगी ! कहिले कहिले लाग्छ नि ग्रहण। लाग्दैन छेकवार सधैं त। आउँदैन अवरोध सधैं। हरेकका जीवनमा सहज पल पनि त आउँछन्। उज्यालो पनि त छाउँछ। तथापि यी दुवै जिन्दगीका बोधगम्य कुरा रहेछन्।
हारहरू जितेर चढ्ने हो विजयको शिखर !
उज्यालो आफैंमा शब्दै राम्रो। यो हाम्रो व्यावहारिक जीवनमा आइदिँदा मन कति खुसी होला। खुसी पनि उज्यालो नै हो। उज्यालो नभै खुसी कहाँ सम्भव छ र। उज्यालो छाउनु, अनि उज्यालोकै गीत गाउनु सबैलाई छुट छ। उज्यालो आभाको स्पर्श मात्रैले पनि मन आल्हादित हुन्छ नि हैन र !
मित्र राजकुमार दिक्पालको कथाकी राजकुमारीलाई छडीले छोएर ब्युँत्याए जस्तै लरक्क लर्केको उज्यालोले जीवनलाई छोइदिए आहा कस्तो हुन्थ्यो ? यसका निम्ति कर्म गर्नुपर्छ। कर्मयोगी भइयो भने असहजतासँग जुध्न सहज हुन्छ।
अभावका बाछिटाहरू पुछ्न गाह्रो पर्दैन।
असम्भवलाई सम्भावनामा बदल्न सकिन्छ। अभावको अनुभूति गर्नु पर्दैन। केही प्रयास जारी राखौं न। अनि पछ्याउँछ उज्यालोले हामीलाई। मन र शरीरमा आलस्य पाल्यो भने उत्साहलाई मार्यो भने अँध्यारोले जीवनमा भाँजो हाल्नेछ। छेकारो हान्नेछ।
त्यसैले त्यो कालो जीवनमा छिर्न नदिन कमजोरीका छिद्रहरू टालौं। अभावका भ्वाङहरू पुरौं। तृष्णाका तर्कनाहरू बिर्सौं। जिम्मेवार बनौं। श्रम र सीपलाई अवलम्बन गरौं। अविराम, अविश्रान्त कर्ममा जुटिरहौं। सधैं डटिरहौं। निरन्तर खटिरहौं। कर्मशील बनेर निरन्तर यात्रा गरिरहौं। अनि उज्यालो नआई सुक्खै छैन !
अँध्यारो कस्तो नजाति !
अँध्यारो कस्तो अप्रिय ! अँध्यारोले जीवनमा घाउ बनेर ढाकिदियो भने हाम्रो यो बिछट्टै सुन्दर जीवन निमेषभरमै कालो हुन्छ। मन, तन, धन सब हिसाबले कमजोर बनिदिन्छ। यस्तो हुँदा न चाहना पुग्छ न रहर नै मेटिन्छ।
अप्ठ्याराहरू एकगठ भएर गाँठा पर्छन्। भोकले पेट कराउँछ। शारीरिक र मानसिक थकाइले जीवन गल्छ। टक्क रोकिन्छ सुख अनि दु:खले आफ्ना हिस्साहरू सबैतिर खोज्न थाल्छ। खुसीका पोखरीहरू दु:खका पोखरीमा रूपान्तरित भैदिन्छन्। गाह्रो छ नि जीवनलाई अँध्यारोले गम्लंग छोपिदिँदा। घर गुफा जस्तो हुन के बेर !
नीद नलागीदिँदा सुन्दर सपनाहरू अनिँदो बनिदिन्छन्। सुकिलो हृदय कालो भैदिन्छ। धर्ममा पाप आइदिन्छ। दुर्गन्धले सुवासलाई निलिदिन्छ। शान्त तलाउमा ढुंगा हान्दा निस्कने छाल जस्तो भैदिन्छ मान्छेको मन। यतिबेला उसले बिर्सन्छ विवेक, कर्तव्यच्युत हुन बेर लाग्दैन। सबैको प्यारो मान्छे उपहासको पात्रमा बदलिन्छ।
त्यसैले जीवनमा त्यो डरलाग्दो कर्कस अँध्यारोले प्रहार नगरोस् भन्नेतिर ध्यान जानुपर्ने रहेछ। बेहिसाब वर्षात्मा पहिरोले लाछेको बारीको कान्लाजस्तो। अँध्यारोले गाँजेर लाछ्न थाल्यो भने जीवनप्रतिको मोह सक्किन के बेर ?
हामी मान्छे, सृष्टिको सबैभन्दा चेतनशील प्राणी रे ! अनि यति त ज्ञान हुन परेन। त्यही ज्ञानले जीवनको गंगा तर्ने हो। ज्ञान छ त सबथोक छ। याद गरौं है– जीवनको उज्यालोको अपरिहार्यता कति छ। जीवनले उज्यालोबाट अँध्यारोमा रंग फेर्नै हुँदैन। जीवनप्रतिको आशावादिता हो उज्यालो। जीवनको भरोसा हो उज्यालो। यसलाई अँध्यारोले कप्लक्कै निल्यो भने हाम्रो अस्तित्व नामेट हुन के बेर ?
जीवनको अँध्यारोले त सबकुछ् छिन्छ नीदहराम हुन्छ। भोक हराउँछ। चाहना मर्छ। मनका इच्छा, आकांक्षा, चाहना र मुमुक्षा र जीजीविषा मर्छ। सपनामा विवशताको जब्बरे ताल्चा लाग्छ। दुर्गति पो हुन्छ बाबै। सम्झिँदा नि झसंग हुन्छु र आतिन्छु म।
शरीर फतक्कै गल्छ, अँध्यारोको सम्झना मात्रले पनि। मेरो इमान समयको ऐनामा फेरिएको देखिन सक्छ। दिनचर्यामा आउने बदलावको त कुरै गर्नु परोइन। तर होइन म कसरी भाग्छु र अँध्यारोसँग। कसरी झुक्छु र अप्ठ्यारोसँग ?
रातैरात छाउँछ जीवनमा। उज्यालोले अस्ताचलमा पुगेपछि दु:ख बोल्छ, सुखले मौनता साँध्छ। सोचमग्न हुन्छु म। जीवनको अँध्यारोको डरले पिरोल्छ मलाई। रुमल्लिइरहेछ मेरो दिमाग। उज्यालो चिप्लिएर गयो भने उफ् ! त्यसैले जीवनलाई उज्यालो लयमा हिँडाउनु छ। उज्यालोको गति समाउनु छ।
अँध्यारोलाई उज्यालोले निलाउनु छ। उज्यालोका सीमारेखा र बाँधहरूमा बलियो बाँध बाँध्नु छ। कर्मको पिलरलाई इमान्दारीको गहिरो खाडलमा श्रमका मजबुद सिमेन्ट र बालुवा मिसाएर ठड्याउनु छ।
जीवनमा रात पार्नु हुँदैन। दिन नै दिनमा राख्नु पर्छ। हारहरूलाई जितमा परिणत गर्न होमिनु छ कर्ममा। यति भएपछि अँध्यारोले झुक्किएर पनि हेप्न नसक्ला कि !
अनेक प्रपञ्चमा पार्ने उसको कोसिस असफल होला कि ?
जीवनको अँध्यारो र उज्यालोको बीचमा ठड्याइने सीमा स्तम्भलाई बलियो पारेर राख्न सक्नु या नसक्नु हाम्रै कुरा पो रहेछ। मान्छेका कर्मले त्यो चर्किएर कमजोर हुन सक्ने वा नसक्ने हुने रहेछ। शक्ति आर्जन उज्यालोले गरेमा त्यो स्तम्भको रक्षा हुने रहेछ। नत्र अँध्यारोको भय, डर र त्रासले जिन्दगी पिरोल्छ र त्यो स्तम्भ ढल्न बेर नलाग्ने रहेछ बाबै !
आइपर्ने समस्याहरू सुल्झाउन सकियो भने शान्ति र अमनचयनले जिन्दगी चलाउन जानियो भने उज्यालै उज्यालो। नत्र त दु:ख र कष्ट अनि अभावले त्यो उज्यालो लुटिदिन्छ। कति चलाख छ के यो अँध्यारो अलिकति दायाँबायाँ गर्यो कि फैलिन्छ क्यान्सर जसरी हाम्रो जीवनमा। मान्छेका निम्ति दुर्भाग्य बनेर जहिल्यै खडा हुने अँध्यारोलाई हामीले प्लेटफर्म जिन्दगीमा कहीँ कतै भुलेर पनि दिनु हुँदैन है।
दुईदिने जिन्दगीलाई सधैं उज्यालोमै व्यतीत गर्ने हो। खुसी भर्ने हो। उमंगको लहलहाउँदो बेर्ना उमार्ने हो।
अँध्यारो, खोलामा बकुल्लाले माछा कुरे जसरी बसिरहेको हुन्छ यत्र तत्र सर्वत्र। सावधानी अपनाउनु पर्छ। आफूलाई सत्मार्गमा सदा लगाउन सके, जीवनको अर्थलाई गहिराइमा डुबेर बुझ्न सके, गलत मातको लतमा जीवनलाई नभुलाउन सके, त्यो नाथे अँध्यारोले केही लछारपाटो लाउने होइन।
अँध्यारो सत्कर्मसँग डराउँछ। कर्मसँग जहिल्यै पराजित हुन्छ। सत्चरित्रसँग बाह्र हात परै रहने त्यसको चरित्र हुन्छ। सत्मार्गमा कहिल्यै आउँदैन। असल आचरणमा कहिल्यै छाउँदैन। परैबाट घुरेर हेर्छ। फैलन सक्दैन। पोषण मिल्दैन, त्यहाँ अँध्यारोलाई। तीखा दाँतहरू देखाएर विस्तारै विस्तारै ब्वाँसाजस्तो चरित्र बोकेको अँध्यारोको अस्तित्व संकटमा पर्छ। त्यो आफैं दुर्गतिको खोंचमा झर्छ।
कर्मको आँगनमा मिहेनतको बिस्कुन सुकाऔं। जीवनमा हरपल उज्यालो भित्र्याउँ। मनमा उज्यालो छाए जीवनको आलोक अझै चम्किलो हुन्छ। श्रमलाई विश्वास र माया गरौं। मनको गहिराइदेखि नैतिकता र सत्चरित्रको भावलाई अँगालौं।
मेहेनतको बलमा सुख जोडौं। भद्र र शालीन बनौं। कर्ममा जहिल्यै लागौं। समृद्धिको मार्ग कोरौं। सुखका कम्बल ओढ्न पाइनेछ। यति भयो भने अँध्यारो निकम्मा र बेकम्मा बनेर हामीबाट पर भाग्नेछ। त्यसैले मलाई लाग्यो, जीवनको उज्यालो र अँध्यारोको जन्मदाता हामी आफैं हौं। यसमा शंकाको सुविधा हामीलाई छैन है।
भावीले होइन, हामीले नै कोर्ने हो हाम्रो हातको समृद्धिका सुनौला रेखा ! कि के हो ?
प्रतिक्रिया दिनुहोस !
