लन्डनमा मेयर बने नेपाली मूलका रानाभाट

लन्डनमा मेयर बने नेपाली मूलका रानाभाट
सुन्नुहोस्

लन्डन : बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन्। एक साताअघि सम्पन्न बरोको साधारणसभामार्फत् सर्वसम्मत रुपमा मेयर निर्वाचित उनले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरे।

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए। बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए।

त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए।

शपथग्रहणपछि मन्तव्य दिंदै रानाभाटले समुदायको सेवामा झन् कटिवद्ध रहेर लाग्ने प्रण गरे। आफूलाई विश्वास गरेर मेयरको जिम्मेवारी दिने काउन्सिलरहरुप्रति पनि उनले आभार व्यक्त गरे। उनले बेलायत नेपाल र ब्रिटिश गोर्खाको सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट रोजेको जनाए। 

सामाजिक सदभाव कायम राख्दै सांस्कृतिक विविधतायुक्त बरोमा सबै समुदायसँग सम्बन्ध मजबुत बनाउने उनको प्रतिवद्दता थियो। रानाभाटको शपथग्रहण समारोहमा बेलायती राजपरिवारका प्रतिनिधिसमेत रहेका ग्रीनवीच बरोका डेपुटी लेफ्टिनेन्ट र बरोका उच्चपदस्थ अधिकारीहरुदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र यहाँको नेपाली समुदायका अगुवाहरुलगायतको उपस्थिति थियो। 

सोही अवसरमा श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरियो। सो अवसरमा डायमन्ड बुद्धिस्ट सेन्टरले ‘अष्टमंगल’ प्रार्थना र पासा पुच गुथि यूकेले धिमे बाजा र ढा प्रस्तुत गरेको थियो।

समारोहकै लागि नेपालबाट मेयर रानाभाटका वयोवृद्ध आमाबाबु समेत लन्डन आएका थिए। सन् २०२२ मा पहिलोपटक लेबर पार्टीबाट ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित भएका रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हालेका थिए।

कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन्। श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका उनी प्रपर्टी र बिल्डिङ व्यवसायमा संलग्न छन्।

डेढ दशकअघि बेलायत आएलगत्तै लेबर पार्टीसंग जोडिएका रानाभाट दुई वर्षअघि पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए। यसअघि उनले एनआरएनए यूके, यती नेपाली एशोसिएसनसहितका थुप्रै नेपाली संघसंस्थामा पनि विभिन्न नेतृत्वदायी पदमा रहेर काम गरिसकेका छन्।

बेलायतमा यसअघि पनि नेपाली मूलका केही मेयर र कयौं काउन्सिलरहरु निर्वाचित भइसकेका छन्। तर यहाँको कुनै पनि रोयल बरोमा काउन्सिलर वा मेयर निर्वाचित हुने भने रानाभाट नै पहिलो बनेका छन्।

बरोको ऐतिहासिक तथा पुरातात्विक महत्वका साथै राजदरबारसंगको विशेष सम्बन्धका आधारमा सन् २०१२ मा रोयल बरो घोषित भएको ग्रीनवीच लन्डनका जम्मा तीन रोयल बरोहरुमध्ये एक हो।

प्राइम मेरिडियन, ग्रीनवीच मिन टाइमदेखि विश्व सम्पदा सूचीकृत पर्यटकीय गन्तव्यहरु समेतको धनी ग्रीनवीच बरो दशौं हजार नेपालीहरुको समेत घर हो। लन्डनको रोयल बरोमा पहिलोपटक नेपाली मूलका रानाभाटको मेयर नियुक्तिमा स्थानीय नेपालीहरुले पनि गौरवान्वित र उत्साहित महसुश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.