भूकम्पको सम्झनामा बृहत्त फोटो प्रदर्शनी, बझाङदेखि वारपाकसम्मका तस्बिर
काठमाडौं : भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ । विक्रम संवत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ ।
सोही भूकम्पको सम्झनामा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले खानी तथा भूगर्भ विभाग,राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था संवाहिका समाज नेपालको सह–आयोजनामा लैनचौरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।
फोटो प्रदर्शनीको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । उद्घाटनपछि मन्त्री भण्डारीले २०७२ सालको भूकम्पले मुलुकले ठूलो जनधनको क्षति बेहोरेको स्मरण गरे । उनले अहिले पनि नेपाल भूकम्पीय उच्च जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएकाले आगामी दिनमा राज्यले संरचनागत र नीतिगत विषयहरुको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने कुरा बोध गराएको भन्दै भूकम्पबाट हुने क्षति अत्यन्त न्यून होस भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए।
प्रदर्शनीमा २०७२ साल र २०७९/८० सालमा जाजरकोट,बझाङलगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिएका छन् ।
खानी तथा भूगर्भ विभाग,राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले विगतलाई बिर्सन नदिइ सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको बताए ।उनले नेपालका ग्रामिण क्षेत्रमा रहेका मानिसमा अझै पनि भूकम्पप्रतिरोधी सचेतना नभएको पाइएको उल्लेख गरे।
नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी गोरखा भूकम्प गएको थियो । सो भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प थियो ।