५ महिना बितिसक्दा पनि आएन दोस्रो किस्ता

५ महिना बितिसक्दा पनि आएन दोस्रो किस्ता
दोस्रो किस्ताको पर्खाइमा रहेका भूकम्पपीडित। तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

विपद् पोर्टलमा इन्ट्री गर्न ढिलाइ हुँदा स्थानीय तहले अहिलेसम्म जिल्ला विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिमा दोस्रो किस्ता रकम माग नै गर्न सकेका छैनन्।

जाजरकोट : बारेकोट गाउँपालिका–२ रोकायगाउँकी सुनिता विकको घर गत कात्तिक १७ गतेको शक्तिशाली भूकम्पले चिराचिरा पारिदियो। भूकम्पले घर बस्न नमिल्ने बनाएपछि तत्काल त्रिपालमा उनको परिवार सर्‍यो। 

हिउँदे कठ्याङ्ग्रिँदो जाडोमा उनको परिवारले आधा हिउँद काटे। त्यसपछि गत माघ पहिलो साता लाभग्राही कायम गरी स्थानीय सरकारले अस्थायी आवासवापतको पहिलो किस्ता २५ हजार रुपैयाँ उनको खातामा हालिदियो। त्यही २५ हजारको सहारामा उनले जस्तापाता खरिद गरिन्। ‘मैले ३० वटा जस्तापाता खरिद गरेकी थिएँ, त्यसको मूल्य ३७ हजार बढी भयो’, उनले भनिन्, ‘खरिदबापतको भाडा र जस्ताको मूल्य त्यति पर्‍यो, स्थानीय साहुलाई दोस्रो किस्ता आएपछि बाँकी दिउँला भनँे, तर अहिले पैसा आउने सुरसार छैन।’ साहुले अहिले पैसा दिनु भन्दै उनलाई हैरान पारेका छन्। ‘चामल खाने पैसा छैन, कहाँ बाट दिने ?’, पीडा पोख्दै उनले थपिन्, ‘दिनहुँँ साहु आएर पैसा दिनुहोस्, चेक काट्नुहोस् भन्दै थर्काउँछन्।’

सोही गाउँका दानबहादुर कामीको घर पनि भूकम्पले भत्कायो। लामो समय त्रिपालमा बसेको उनको परिवारलाई माघमा सरकारले पहिलो किस्ता हालिदियो। पहिलो किस्तामा बाँकी साहुसँग उधारो मागेर अस्थायी आवास निर्माण गरे। पूरै जस्ताले अस्थायी आवास बनाएका उनको आवास निर्माणमा ६० हजार खर्च लाग्यो। उनले भने, ‘हामीसँग एउटा पनि पैसा थिएन, सरकारले पठाएको २५ हजारमा ३५ हजार ऋण काढेर आवास बनायौं, साहुलाई दोस्रो किस्ता आएपछि पैसा दिउँला भनेर चेकसमेत काटिदिएको छु। तर, खातामा पैसा आएको छैन साहुले पैसा माग्दै फोन गरिरहेका छन्।’

भेरी नगरपालिका–३, पीपलडाँडाका विजयजंग शाहले साहु ऋण गरेर अस्थायी टहरा बनाए। दोस्रो किस्ता रकमको आसमा बसेका उनी महिनौं बितिसक्दा पनि पैसा नपाउँदा निराश छन्। ‘सरकारले सुरुमा २५ हजार रुपैयाँ दियो। थप २५ हजार दिने भनेको अहिलेसम्म दिएको छैन। त्यो रकम दिएको भए सानोतिनो गर्जो त टथ्र्यो’, उनले भने, ‘भूकम्पले घर भत्कियो, बस्ने बास गुम्यो। जेनतेन टहरा बनाएर बसेका छांै। स्थायी पुनर्निर्माण गर्ने बेलासम्म अझै अस्थायी आवासकै रकम पाउन सकेका छैनौं। हाम्रो अभिभावक सरकार हो। सरकारले दुःखको बेला नहेरे कसले हेरिदेला ?’

जाजरकोटमा अहिलेसम्म कसैले पनि अस्थायी आवासको दोस्रो किस्ता रकम पाउन सकेका छैनन्। स्थायी पुनर्निर्माणमा गइसक्नुपर्ने बेलासम्म पनि सरकारी ढिलासुस्तीले पीडित परिवारले रकम पाउन नसकेका हुन्।

भूकम्प गएको पाँच महिना बितिसक्दा पनि दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन्। सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ। 

भूकम्पबाट जाजरकोटमा ४२ हजार ५ सय २४ लाभग्राही कायम भए पनि हालसम्म ३८ हजार ५ सय ४२ लाभग्राहीले पहिलो किस्ता पाएका छन्। दोस्रो किस्ताको रकम जिल्ला विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिको खातामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले स्थानीय तहको विपद् पोर्टलमा विवरण इन्ट्री गर्न ढिलाइ भएकाले समस्या परेको बताए। 

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण र भत्किएको घरको फोटोसहितका विवरण विपद् पोर्टलमा इन्ट्री गरेपछि मात्र दोस्रो किस्ताको रकम निकासा गर्ने प्रावधान राखेको छ। विपद् पोर्टलमा इन्ट्री गर्न ढिलाइ हुँदा स्थानीय तहले अहिलेसम्म जिल्ला विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिमा दोस्रो किस्ता रकम माग नै गर्न सकेका छैनन्। प्रमुख जिल्ला अधिकारी आचार्यले करबि ३२ हजार लाभग्राहीको विपद् पोर्टलमा इन्ट्री भइसकेको र दोस्रो किस्ताका लागि रकम माग गर्ने कार्य सुरु हुन थालेको बताए।

‘शिवालयले माग गरेको छ। अन्य पालिकाले पनि माग गर्ने तयारीमा छन्। केही दिनमै हामी दोस्रो किस्ताका लागि रकम पालिकाको खातामा पठाउँछौं’, उनले भने। भेरी नगरपालिकाले विपद् पोर्टलमा इन्ट्रीको काम सकेर अनुगमन सुरु गरेको छ। प्राविधिक र जनप्रतिनिधिसहितको अनुगमन समितिको सिफारिसका आधारमा भुक्तानी दिइने भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए। उनले अस्थायी आवास निर्माण गरी जोखिमपूर्ण घर भत्काएपछि मात्र दोस्रो किस्ता भुक्तानी दिने बताए।

तथ्यांकअनुसार स्थानीय तहबाट अझै तीन हजार ९८२ लाभग्राहीले पहिलो किस्ताकै रकम पाउन बाँकी देखिन्छ। अहिले ३२ हजार ३४५ अस्थायी आवास बनेको र दश हजार १७९ वटा आवास बनिरहेको प्रशासनको तथ्यांकमा उल्लेख छ। ३९ हजार ८२३ जनाले पहिलो किस्ताका लागि पालिकासँग सम्झौता गरेका छन्। भेरी नगरपालिकाले पाँच हजार ५ सय ३, नलगाड नगरपालिकाले २ हजार ६ सय ८७, छेडागाड नगरपालिकाले ७ हजार ५१, बारेकोट गाउँपालिकाले पाँच हजार ९०, कुसे गाउँपालिकाले एक हजार ४४, जुनीचाँदे गाउँपालिकाले चार हजार १७४, शिवालय गाउँपालिकाले तीन हजार एक जना लाभग्राही गरी कुल २८ हजार ५ सय ५० जनाको नाम दोस्रो किस्ता पाउने लाभग्राहीका रूपमा अध्यावधिक गरिएको छ।

छिट्टै दोस्रो किस्ता पाइहाल्ने आशामा उनीहरूले जस्तापाता पसलबाट उधारो ल्याए। साहुहरूले पनि दिए। तर, अहिले भूकम्पको पाँच महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन्। दोस्रो किस्ता नआउँदा साहुको धम्कीसमेत सहनुपरेको कुशे गाउँपालिका ४ का कालीबहादुर शाहीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.