जेलबाट छुटेर अपराधमा संलग्न वैद्यका कार्यकर्ता हतियारसहित पक्राउ

जेलबाट छुटेर अपराधमा संलग्न वैद्यका कार्यकर्ता हतियारसहित पक्राउ
सुन्नुहोस्

विराटनगर : आपराधिक घटनामा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता भोजपुरबाट हतियारसहित पक्राउ परेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियारलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। 

आपराधिक पृष्ठभूमि भएका परियारलाई इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले षडानन्द नगरपालिका-९ भुल्केस्थित जंगलबीचको मूल बाटोबाट राति ८ बजेतिर पक्राउ गरेको हो। 

शंकास्पद अवस्थामा हिँडिरहेका बेला पक्राउ परेका उनलाई सोमबार बिहानका राति जिल्ला प्रहरी कार्यालय भोजपुर पुर्‍याइएको छ। आपराधिक पृष्ठभूमि भएका परियार यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर छुटेका थिए। जेलबाट छुटेपछि पुनः उनी अपराधमा संलग्न बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, ९ हजार ५० रुपैयाँ नगद र सुनका गरगहना बरामद भएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेतिर षडानन्द-२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले लुटपाट गरेका थिए। 

षडानन्द-९ स्थित जुगे जंगलमा हतियार देखाउँदै शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर हतियारधारी अपरिचित पुरुष फरार भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो। लुटपाटमा संलग्नको पहिचान र खोजीका लागि डीएसपी पाठकले तत्काल इन्सपेक्टर अधिकारीको नेतृत्वमा टोली परिचालन गरेका थिए। घटनास्थल वरपर खोजी तीव्र बनाएको प्रहरी अन्ततः घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो।

हतियार र गोलीसहित महिलाबाट लुटिएको गहना एवं नगद पनि बरामद भएको डीएसपी पाठकले बताए। ‘लुटपाटमा संलग्न व्यक्तिलाई हतियार र गोली तथा लुटिएको गहना एवं नगदसहित पक्राउ गरिसकिएको छ,’ उनले भने, ‘परियारले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्।’ उनका अनुसार ३ वर्ष ६ महिना जेल बसेका परियार त्यहाँबाट छुटेपछि पुनः अपराधमै संलग्न भएको पत्ता लागेको छ। 
‘कैद सजाय भुक्तान गरी जेलबाट छुटेपछि हतियार लिएर लुटपाट एवं डकैतीमा संलग्न रहेको खुल्यो,’ डीएसपी पाठकले भने, ‘यस विषयमा थप अनुसन्धान अघि बढाइएको छ।’

परियार पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध रहेको पाइएको छ। त्यसअघि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)मा आवद्ध रहेको प्रहरीले जनाएको छ। 

परियार यसअघि २०७६ साल फागुन २१ गते पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरीले संगठित अपराध, आपराधिक उपद्रव, एनसेल टावर एवं जेसीबीमा आगजनी तथा राज्यविरुद्धको कसूरसमेतका ५ वटा मुद्दा चलाएको थियो। 

अदालतले विभिन्न मुद्दामा दोषी ठहर गर्दै उनलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो। सजाय भुक्तानका लागि कारगार चलान गरिएका परियार २०८० साल भदौमा जेलमुक्त भएको प्रहरीले जनाएको छ। लुटपाटको पछिल्लो घटनालाई जोडेर उनीविरुद्ध हातहतियार खरखजना र डाँका मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.