इतिहास

कसरी प्रसाईंहरू लिम्बु बस्तीमा पुगे?

कसरी प्रसाईंहरू लिम्बु बस्तीमा पुगे?
आठराई गाउँपालिकाको सदरमुकाम हाङपाङ र इन्सेटमा​​​​​​​ पाँच सुब्बा यक्सोमध्ये सुब्बा गजबीरसम्बन्धी वि.सं. १९२९ को कागज। तस्बिर स्रोत : रोशन यक्सो

सुदूरपूर्वी जिल्ला ताप्लेजुङको पश्चिमी भेग र तेह्रथुम जिल्लाको सिमानामा जोडिएको एक ऐतिहासिक स्थान छ, आठराई। लिम्बुहरूको बाहुल्यता रहेको र तत्कालीन ब्यवस्थाअनुसार उनीहरूले नै यस ठाउँको किपट सम्हालेका थिए। 

आठराई शब्द 'आठ राय' अप्रभंश भइआएको हो। पहिले यस क्षेत्रमा आठ थरका लिम्बुहरूको परम्परागत प्रशासन चल्थ्यो। ताप्लेजुङको साविकका गाविसहरू हाङपाङ, चाँगे, नेग्रादेन र फूलबारी तथा तेह्रथुमतिरको छातेढुङ्गा, हृवाकु, इवा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र खाम्लालुङ आठराई थुमअन्तरगत पर्थे। 

राजनीतिक र ऐतिहासिक दृष्टिकोणबाट आठराई थुम निक्कै ठूलो महत्त्व राख्ने क्षेत्र हो। सेनकालदेखि महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी पाएर स्थानीय शासन चलाउने अगुवा लिम्बु सुब्बाहरूलाई 'राय' पद प्रदान गरिन्थ्यो। यस क्षेत्रको रस्ती रसाउँदै बस्ती बसाउने उनै आठ जना रायको जिम्मा र जमानीमा रहेका कारण कालान्तरमा यो क्षेत्र आठराय हुँदै आठराई कहलायो। यस क्षेत्रमा सुनैवा, हाङवाङ, कन्दङ्वा, सेन्दाङ, इङ्नाम, आङ्बुहाङ, यक्सो र पोमु गरी आठ थरका लिम्बुहरूलाई राय पद दिइएकोले यो क्षेत्र आठराई कहलाएको हो। आठराईको चाँगे क्षेत्रमा आङबुहाङ लिम्बुहरूले पाएको वि.सं. १७४३ र वि.सं. १७५४ को सेनकालिन स्याहामोहरहरू पनि फेला परेकोले यो क्षेत्रको राजनीतिक महत्त्व कति रहेछ भन्ने पनि सहजै बुझ्न सकिन्छ।

परम्परागतरूपमा लिम्बु सुब्बाहरूको किपटिया शासन भए पनि लिम्बुहरूकै किपटमा आएर बसोबास गर्ने यस क्षेत्रका कुमाई ब्राह्मणहरू नेपालको राजनीतिक नेतृत्त्वमा हर्ताकर्ता भएर निस्के। केपी शर्मा ओली, कृष्णप्रसाद सिटौलाजस्ता नेपाली राजनीतिक रङ्गमञ्चका खेलाडीहरू यसै क्षेत्रको जन्मी हुर्की अगाडी बढेका हुन्। सीपी मैनाली, राधाकृष्ण मैनाली, नन्दकुमार प्रसाईँ, दीर्घराज प्रसाईँ, सुधीरकुमार सिवाकोटी, अग्नी खरेल आदि आठराईकै कुमाई ब्राह्मणहरू हुन्। 

खस आर्य वर्गमा पर्ने ब्राह्मणहरूमा 'पछाइँ' वा पश्चिमा र 'पूर्विया'का रुपमा पनि परिचित छन्। पश्चिमाहरू कुमाउतिरबाट आएका हुनाले पूर्वियाहरूले उनीहरूलाई 'पछाइँ' भन्दै पछि गएर 'कुमाइँ' भन्ने नाम दिन थालेको पाइन्छ। यी दुई ब्राह्मण (उपाध्यय) र 'पछाइँ' वा 'कुमाइँ' उपवर्गबीचमा सामाजिक सम्बन्धहरू स्थापित गर्नका लागि सामान्यतय प्रतिवन्ध रहँदै आएको थियो।

ब्राह्मणमा कुमाई उपवर्ग
ब्राह्मणहरूको नेपाल आगमनका बारेमा विभिन्न विद्वानले विविध मत राखेका छन्। उनीहरूमध्ये कसैले ब्राह्मणहरू कान्यकुञ्जबाट आएका भन्ने धारणा राखेका छन् भने कसैले काश्मीरदेखि उत्तरतर्फको हिमालय, काराकोरम तथा हिन्दूकुश क्षेत्रबाट नेपाल प्रवेश गरेको उल्लेख गरेका छन्।

इतिहासकार मोहनप्रसाद खनालले 'सेनराज्यको राजनीतिक इतिहास' (२०६१:१५)मा नेपालका क्षेत्री वा ठकुरीले आफूलाई मेवाडस्थित चित्तौडबाट पसी मध्यकालताका नेपालको पश्चिमी भूभागमा आएर कब्जा गरी बसेको दावी गरेजस्तै हरेक ब्राह्मण वर्गले आफ्ना पुर्खाहरू कन्नौज अर्थात् कान्यकुञ्जबाट धर्मरक्षाका लागि नेपाल प्रवेश गर्नुपरेको बताउने गरेको उल्लेख गरेका छन्।

अर्कोतिर इतिहास शिरोमणि बाबुराम आचार्यले 'प्राचीनकालको नेपाल' (२०६०:१८-१९)मा काश्मीरदेखि उत्तरतर्फको हिमालय, काराकोरम तथा हिन्दूकुश गरी तीन पर्वतमाला एकै ठाउँमा गाँसिएर रहेको क्षेत्र नै हालः नेपालमा रहेका खस ब्राह्मणहरूको उद्गम स्थल रहेको उल्लेख गरेका छन्। उनकाअनुसार तीनै क्षेत्रबाट दुर्गम भञ्ज्याङ पार गरी यसदेखि पूर्वतर्फ रहेका हिमाली क्षेत्रहरूमा आवाद हुन आइपुगेको एउटा शाखा नै ब्राहृमण समुदाय हुन्।

ब्राह्मणहरूमा विभिन्न उपवर्ग रहेका छन्। उनीहरूमा उपाध्यय र जैसी उपवर्ग रहेको छ भने पूर्विया र कुमाई उपवर्ग पनि रहेका छन्। ब्राहृमणले जारी गरेर ल्याएको वा विधवा विवाह गरेको अवस्थामा उनीहरूबाट जन्मेका सन्तानलाई उपाध्यय ब्राहृमण र क्षेत्री ठकुरीहरूले देवकार्य वा पितृकार्यमा नलिने हुँदा उनीहरूलाई फलित ज्योतिषीको काम दिइयो र 'ज्योतिषी' शब्दको अप्रभंश नै जैसी हुन पुग्यो (बाबुराम आचार्य, 'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी'-२०६१:५१९-२०)।

ब्राह्मणबीच पनि एकापसमा उचनिचको भेदभाव रहिआएको छ। जैसी र उपाध्यय ब्राह्मणबीच सामान्यतय विवाह चल्दैन, विवाह चलिहाले पनि उनीहरूका सन्तान भने जैसी वर्ग नै मानिन्छन् (आचार्य, २०६०:२२-२३)।

खस आर्य वर्गमा पर्ने ब्राह्मणहरूमा 'पछाइँ' वा पश्चिमा र 'पूर्विया'का रुपमा पनि परिचित छन्। पश्चिमाहरू कुमाउतिरबाट आएका हुनाले पूर्वियाहरूले उनीहरूलाई 'पछाइँ' भन्दै पछि गएर 'कुमाइँ' भन्ने नाम दिन थालेको पाइन्छ। यी दुई ब्राह्मण (उपाध्यय) र 'पछाइँ' वा 'कुमाइँ' उपवर्गबीचमा सामाजिक सम्बन्धहरू स्थापित गर्नका लागि सामान्यतय प्रतिवन्ध रहँदै आएको थियो। तैपनि आजकल भने त्यस्ता प्रतिवन्धहरू रहेका छैनन् (आचार्य, २०६०:२१)।

यस्ता प्रतिवन्ध वि.सं. २००१ मा आएर मात्रै कानुनी रुपमै हटेको पाइन्छ। यसका लागि अदालतले नै फैसला गर्नु परेको थियो। उक्त फैसलाबाट पूर्विया उपाध्यय र कुमाईबीच भातभान्सा र विहेवारीमा लाग्दै आएको प्रतिवन्ध फुकुवा हुन पुगेको देखिन्छ। वि.सं. २००१ पुस ५ गते मङ्गलबार अदालतले गरेको फैसलाको सक्कलको छायाँप्रति ऐतिहासिक सामग्रीको सङ्ग्रहकर्ता मनोज श्रेष्ठ (काठमाडौं, हाल:अमेरिका)बाट यो लेखकले प्राप्त गरेको छ।

फैसलाको ब्यहोरा यस्तो छ-
पुर्विया उपाध्याय ब्राह्मणका हातको पाका कुमाई उपाध्याय ब्राह्मणले पाका कुमाई उपाध्याय ब्राह्मणका हातको पुर्विया उपाध्याय ब्राह्मणले भात खाए खुवाए विहावरी गरे पनि अघि भैरहेको ऐनले पतिया गर्नु नपर्ने दण्ड जरिवाना पनि नहुने परेको मुद्दाबाट बुझिएको प्रमाण जिल्ला बुझिआएको कागजबाट पनि पुर्विया उपाध्याय ब्राह्मणका छोरी पाका कुमाई उपाध्याय ब्राह्मणले पाका कुमाई उपाध्याय ब्राह्मणको छोरी पुर्विया उपाध्याय ब्राह्मणले विवाह गरी ली दी भात खाने खुवाउने र ती विवाह गरी लिने दिनेलाई विहा गरी लिने दिनका र त्यसबाट जन्मेका सन्तान र तिनीहरूका भताहा नाताकुटुम्बले समेत् भात भान्सामा सरोवर गरी चलि चलाई खाई खुवाई आएको हुनाले पुर्विया उपाध्याय ब्राह्मण र पाका कुमाई उपाध्याय ब्राह्मण दुवै बरोबरि समान जात हुँदा पुर्विया उपााध्याय ब्राह्मणले पाका कुमाई उपाध्याय ब्राह्मणका हातको भाचत खान खुवाउन र विहावरी गर्न समेत हुन्छ हटक गरे हटक गर्नेलाई सजाय  गरी भात र विहावरी चलाई दिनू।
यसपछि यी दुई ब्राह्मण उपवर्गबीचको सामाजिक सम्बन्ध सहज हुन पुगेको देखिन्छ।

खडानन्दले उनीहरूलाई आश्चार्य मान्दै तिमीहरू को हौ भनी सोधे। उनीहरूले राजाले बाँधिदिएको थितिअनुसार आफूहरूले पनि सुब्बा अमालीको अधिकार पाउनुपर्नेमा अरुले बेदखल गरिदिँदा अन्यायमा परेकाले अरु १५ भाइको समेत अधिकार कायम गर्न राजासँग बिन्ती बिसाउन आएको भन्ने जानकारी दिए।

कुमाउबाट सुदूरपूर्वी नेपालमा
सुदूरपूर्वी नेपालको ताप्लेजुङ र तेह्रथुममा बसोबास गर्न आइपुगेका कुमाई ब्राह्मणमध्ये प्रसाईँहरू लिम्बुहरूले किपट थामिआएको आठराई थुममा कसरी आइपुगे? यसबारेमा केही चर्चा गरौँ।

आठराई थुमअन्तरगत हाङपाङमा लिम्बुहरूमा यक्सो, आङबुहाङ र हाङवाङहरूले किपटिया सुवांगी सम्हालेका थिए। तीमध्ये यक्सोहरूले यस क्षेत्रको मूल सुवांगी पाएका थिए। शरणध्वज यक्सो (वि.सं. १९७६-२०५३) हाङपाङका अन्तिम मूलसुब्बा हुन्। भूमीसुधार लागू भएपछि लिम्बुहरूले पाउँदै आएको किपटिया सुवांगी खोसियो।

यक्सोहरूको वंशावलीअनुसार २३औँ पुस्ताका नामी सुब्बा राजगुन्दका पाँच छोरा भए। जेठा राजबीर, माहिला जस्नबीर, साहिला मतिराज, काइँला जङ्गल र कान्छा गजबीर थिए। तीमध्ये जेठा राजबीरले मूल सुवांगी पाए ('यक्सो इत्लाम', २०७३:७४)। राजगुन्दका पाँच भाई छोराहरूमा सुवांगी बाँडिदा हाङपाङमा यो खलक 'पाँच सुब्बा' खलकका रुपमा प्रशिद्ध हुनपुग्यो। उनै राजबीरका छैटौँ पुस्ताका मूलसुब्बा हुन्, शरणध्वज यक्सो।

यहीँ पाँच सुब्बा यक्सोहरूको सम्पर्कबाट कुमाई ब्राह्मणमध्येका प्रसाईँहरू आफूलाई बसोबास र जिविकोपार्जनको सहज ठाउँको खोजीका क्रममा पहिले हाङपाङ आई आठराईका अन्य गाउँहरूमा छरिएका हुन्। यो ऐतिहासिक तथ्य स्वयम् प्रसाईँहरूको वंशावलीमा पनि उल्लेख छ।

'प्रसाईं वंश-वृक्ष' (उपमणि प्रसाईं र अरु (सम्पा.), २०७२:११) अनुसार बलियो भएकाले 'अतिबल' भनेर प्रख्याती कमाएका खडानन्द प्रसाईंले गोरखाली राजाबाट अड्डा अदालतको निरीक्षणको जिम्मेवारी दिएका थिए। उनका रामकृष्ण, जगतमणि, कुलानन्द र नन्दीकेशर गरी चार भाई छोरा थिए। एक दिन उनी कार्यालयमा बसिरहेका बेला दाह्री जुँगा नभएका, राडीपाखीका लुगा लगाएका दुई जना अनौठा मानिससँग भेट भयो। 

खडानन्दले उनीहरूलाई आश्चार्य मान्दै तिमीहरू को हौ भनी सोधे। उनीहरूले राजाले बाँधिदिएको थितिअनुसार आफूहरूले पनि सुब्बा अमालीको अधिकार पाउनुपर्नेमा अरुले बेदखल गरिदिँदा अन्यायमा परेकाले अरु १५ भाइको समेत अधिकार कायम गर्न राजासँग बिन्ती बिसाउन आएको भन्ने जानकारी दिए। त्यसपछि खडानन्दले बिन्तीपत्र लेखी राजालाई चढाइदिएपछि उनीहरूको जिम्मावाल अमालीको अधिकार कायम भयो। यस्ता जान्ने मान्छे पनि चाहिने रहेछ भन्ने सोची ती सुब्बाहरूले खडानन्दलाई तपाईंका सन्तान पूर्व आए भने आफूहरूको ठाउँमा आऊन् भनी निम्ता दिएर उनीहरू आफ्नो थातथलोमा फर्के। त्यसपछि खडानन्दका साहिला छोरा कुलानन्द आफ्नो परिवारका साथै जेठी भाउजु (रामकृष्णकी पत्नी) र उनका छोरा कर्णानन्द र हर्कदेवलाई साथमा लिएर आठराईको हाङपाङ आई पाँच सुब्बा खलकलाई भेटे। आफ्नी भाउजु र भतिजलाई हाङपाङमा छाडेर कुलानन्द भने इवा बस्न आई बस्न आए। पछि कुलानन्दका छोरा कर्णानन्दलाई हाङपाङ पाँच सुब्बा यक्सोहरूले थरी पदको जिम्मेवारी दिएका थिए।

यसरी यक्सो लिम्बुहरूले आफ्नो सुवांगीमा रहेको किपट क्षेत्रमा प्रसाईंहरूलाई बसोबासको प्रवन्ध गरेपछि पूर्वमा कुमाई ब्राह्मण प्रसाईंहरू फैलिएका हुन्। उनीहरूलाई पाँच सुब्बा यक्सोहरूले आफ्ना आराध्यदेवी युमालाई मान्न सर्तमा हाङपाङमा निम्तो दिएका थिए (भगिराज इङनाम र शेरबहादुर इङनाम, 'तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा'-२०७०:१५९)।

यसरी प्रसाईंहरू लिम्बुहरूको बस्तीमा आएको पाइन्छ। पञ्चायतकालका राष्ट्रिय पञ्चायत सदस्य दीर्घराज प्रसाईं, गणतन्त्रकालका संविधान सभा सदस्य नन्दकुमार प्रसाईंका साथै सीपी मैनालीको नेतृत्त्वमा रहेको नेकपा (माले)बाट एकपटक मन्त्री बनेका खगेन्द्र प्रसाईं र कांग्रेसी नेता तथा पूर्वमन्त्री बेनुप प्रसाईं हाङपाङका यक्सो लिम्बुहरूले आफ्नो किपट भूमीमा बसोबास गराएका पुर्खाका सन्तति हुन्। उनीहरूलाई आफ्नो ठाउँमा बसोबासका लागि आमन्त्रण गर्ने यक्सो लिम्बुहरू भने राजनीतिमा गाविस अध्यक्षबाट माथि जान सकेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.