गोर्खाली इतिहास बोकेको जहाज, जुन दुबईमा बनेको छ होटल

महारानी एलिजावेथ–२ क्रुज, जसले बोकेको छ गोर्खाली इतिहास

गोर्खाली इतिहास बोकेको जहाज, जुन दुबईमा बनेको छ होटल

यूएईको पर्यटकीय राज्य हो, दुबई । दुबईको मुटु मानिने बरदुबईको पोर्ट रसिदमा एउटा जहाज अनवरत रूपमा तैरिरहेको छ । फकल्यान्ड युद्धमा गोर्खाली सेनालाई ओसार्न प्रयोग गरिएको यो जहाजले अहिले समुद्री होटलका रूपमा रहेको छ । हरदम समुद्रमाथि तैरिरहने रानी एलिजावेथ–२ जहाजले गोर्खालीको इतिहास बोलिरहेको छ ।

दुबई : युनाइटेड अरब इमिरेट्स (यूएई) को एउटा महत्वपूर्ण एवं पर्यटकीय राज्य हो, दुबई। दुबईको मुटु मानिने बरदुबइको पोर्ट रसिदमा एउटा पानी जहाज अनवरत रुपमा तैरिरहेको देखिन्छ। त्यो जहाज यात्रुबाहक नभएर गोर्खाली सेनाको इतिहास बोकेको समुद्रमाथि तैरने होटल अर्थात रानी एलिजावेथ–२ होटल हो। 

दुबई भ्रमणमा आउने कमै नेपालीले सुनेको र थोरैले मात्र यसलाई देख्ने र भेट्ने गरेका छन्। थोरैले यसलाई अनुभव पनि बटुल्ने गरेका छन्। तिनै थोरैमध्येका एक थिए, काठमाडौं बौद्धका आङनवाङ शेर्पा र तेह्रथुम पौंठाकका फडिन्द्र ढकाल। बेलायत भ्रमणमा गएको बेला यस्तै पानी जहाजको होटलमा रात बिताएका शेर्पाले गोर्खाली सेनाको इतिहास बोकेको यो जहाजी होटलका बारेमा बेलायतमै सुनेका थिए। र, दुबई आएका बेला यो होटलमा रात बिताउने धोको पूरा गरे। 

‘महारानी एलिजावेथ–२ पानी जहाज होटल साधारण छ। तर, गोर्खालीको इतिहास बोकेको हुनाले होला आनन्दको निन्द्रा दिने खालको रहेछ’, आफ्नो अनुभव सुनाउँदै शेर्पाले भने, लबिमा राखिएको म्युजियम शैलीका तस्बिरहरूले छाती चौडा भएर आयो।’ 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्षसमेत रहेका फडिन्द्र ढकालले आफूहरूले जहाजमा रात बिताएपछि मात्रै आफ्नो इतिहास बोकेको जहाज रहेको पत्तो पाएको बताए। ‘यो कुरा थाहा पाएपछि  म अर्को पटक फेरि त्यही होटलमा गएँ र गोर्खाली सेनाहरूको स्मरण गरेँ’, उनले भने, ‘हरेकपटक बरदुबई पुग्दा मेरो आँखाले त्यही जहाज खोजिरहेको हुन्छ र देखेपछि गौरव महसुस गर्छु।’ यो त्यही जहाज हो, जुन सन् १९८२ मा भएको फकल्यान्ड युद्धमा गोर्खाली सेनालाई ओसार्न प्रयोग गरिएको थियो। अर्जेन्टिना र बेलायतबीच चलेको १० हप्ते युद्धमा बेलायतले गोर्खाली सेनालाई प्रयोग गरेर जित हासिल गरेको थियो। त्यही भएर यो जहाज नेपाली मनोभावनासँग जोडिएको जहाज हो। गोर्खालीहरूको इतिहास पनि हो। 

के हो फकल्यान्ड टापु युद्ध ?    

फकल्यान्ड युद्ध अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा दक्षिण एट्लान्टिकामा दुई ब्रिटिस आश्रित फकल्यान्ड टापु दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुमा भएको थियो। जुन युद्ध १० हप्तासम्म चलेको थियो। अर्जेन्टिनाले हार स्वीकार गरेपछि यो युद्ध अन्त्य भएको थियो। 

 युद्ध २ अप्रिल १९८२ मा सुरु भयो। सुरुमा अर्जेन्टिनाले फकल्यान्ड टापुमा आक्रमण गरी कब्जा गर्‍यो। त्यसपछि अर्को दिन दक्षिण जर्जियामा आक्रमण भयो। यो युद्ध ७४ दिनसम्म चल्यो र १४ जुनमा अर्जेन्टिनाले आत्मसमर्पण गरेर टापुहरूलाई बेलायती नियन्त्रणमा फर्काएपछि अन्त्य भयो। यो युद्धमा ६४९ अर्जेन्टिनी सैन्य कर्मचारी, २५५ ब्रिटिस सैन्य कर्मचारी र कयौं फकल्यान्डका नागरिक मारिएका थिए। कति गोर्खाली सेना मारिए भन्ने एकिन तथ्यांक भने छैन।

फकल्यान्डको टापु कहाँ पर्छ ?

फकल्यान्ड टापु दक्षिण एट्लान्टिक महासागरमा रहेको एउटा द्वीप समूह हो। प्रमुख टापुहरू दक्षिण अमेरिकाको दक्षिणी प्याटागोनियन सामुद्रिक तटबाट लगभग ३०० माइल पूर्व र अन्टार्कटिक प्रायद्वीपको उत्तरी छेउमा केप डुबोउजेटबाट लगभग ७५२ 
माइल र ५२ डिग्री सेकेन्डको अक्षांशमा छन्। ४७०० वर्ग माइलको क्षेत्रफल भएको द्वीपखसमूहमा पूर्वी फकल्यान्ड, पश्चिम फकल्यान्ड र अन्य ७७६ साना टापुहरू छन्। 

बेलायती स्वशासित क्षेत्रका रूपमा फकल्यान्डमा आन्तरिक स्वशासन छ। तर, बेलायतले उनीहरूको रक्षा र विदेशी मामिलाको जिम्मेवारी लिन्छ। यसको राजधानी र सबैभन्दा ठूलो बस्ती पूर्वी फकल्यान्डको स्टेनली हो।

यो टापु बेलायतबाट ८ हजार ६४ माइल पर पर्छ भने अर्जेन्टिनाबाट ३१० माइल। सन् १८३३ यता बेलायतको अधिनमा रहेता पनि सायद दूरी र निकै सानो भूभाग भएकाले बेलायतको प्राथमिकतामा त्यो कहिल्यै परेन। बेलायती सेनाको स्थायी क्याम्पसमेत त्यहाँ थिएन। त्यसैको फाइदा उठाएको थियो, अर्जेन्टिनाले। र, त्यहाँ आफ्ना सैनिक पठाएर युद्धका सबै व्यवस्थित पूर्वाधार तयार पारेपछि मात्र आफ्नो कब्जा घोषणा गरेको थियो। जसबाट ब्रिटिसहरू निकै चिढिएका थिए। त्यसैले युद्ध जित्न निकै बलियो आडका रुपमा गोर्खाली सैनिकलाई रोजेका थिए।

त्यो बेला गोर्खाली सेनाको महिमा संसारभर चलेको थियो। गोर्खालीहरू युद्ध मैदानमा आए भने जसरी पनि युद्ध जित्छन् भन्ने मनोविज्ञान व्याप्त थियो। गोर्खालीहरू त्यही रणनीतिअनुसार प्रयोग भएका हुन्। खासमा फकल्यान्ड युद्ध बेलायतले खडा गरेको त्यही ‘गोर्खाली त्रास’ का भरमा जितेको थियो। उक्त समयमा बीबीसीले गोर्खालीको सैन्य परिचय दिन बढाइचढाई गरी देखाएन मात्र, उसले त्यसैगरी बाहिर प्रचार गरेको थियो कि गोर्खालीहरू मान्छेकै रगत खाने स्वभावका हुन्छन् र एउटै खुकुरीको भरमा कम्तीमा एक सय मिटर व्यासमा त उनीहरूलाई छुन पनि सकिँदैन। आफ्नो कोही कसैलाई केही भएमा उनीहरूले विपक्षीलाई छाड्दैनन्। 

दुश्मनमा त्रास भर्न उसले प्रचार गरेको सबैभन्दा ठूलो झुट भने गोर्खालीको संख्या थियो। ६ सय जना जति गएकामा उनीहरूले ६ हजार गोर्खाली सेना फकल्यान्डतर्फ रवाना भए भनेका थिए। खास त्यसबेला ब्रिटिस आर्मीमै जम्माजम्मी ६ हजार गोर्खा सैनिकहरू थिए। त्यहाँ युद्ध लड्न भने सेभेन गोर्खा रेजिमेन्ट मात्र भएको थियो। जसमा जम्मा ६ सय थिए। यिनै सेनालाई लिएर महारानी एलिजावेथ–२ पानी जहाज फकल्यान्ड टापु हानिएको थियो। यो पानी जहाज अहिले होटलका रुपमा दुबईको समुद्रमा तैरिरहेको छ।

गोर्खाली आउनुअघि नै बेलायतकातर्फबाट वायु तथा जल सैन्यहरू भिडिरहेका थिए। तर, अर्जेन्टिनीहरू यति राम्रो तयारीसाथ बसेका थिए कि बेलायतीहरू जमिनमा टेक्नसमेत सकेका थिएनन्। जस कारण गोर्खा राइफल्स, स्कट गार्ड र वेल्स गार्ड गरी झन्डै ३ हजारको संख्यामा सेना पठाइएको थियो। क्याम्पदेखि बन्दरगाहसम्मको झन्डै ३ घण्टे दूरीमा बाटोमा निस्केर हजारौंले शुभकामना दिन प्लेकार्ड, बाईबाई र गुडलक भनिरहेका थिए। 

फकल्यान्ड युद्धका साक्षीसमेत रहेका इन्द्रेणी पोखरी, खोटाङका बुद्धिराज राईले केही समय अघि विभिन्न मिडियालाई उक्त जहाजको बारेमा भनेका थिए, ‘हामीलाई लैजान त्यसबेलाको विश्वकै लग्जरीयुक्त विशाल पानीजहाज ‘क्विन एलिजावेत–२’ बन्दरगाहमा तयारी अवस्थामा थियो। त्यसबेला सबैका आफन्तले भावपूर्ण बिदाइ गर्न आएका थिए। हाम्रा लागि भने त्यहाँ जम्मा भएको बेलायतीको भिडको बिदाइ थियो। युद्धकै लागि भनेर उक्त पानीजहाजलाई विशेष रुपमा मोडिफाइड पनि गरिएको थियो। ३ वटा त हेलिप्याड मात्र थिए। उक्त विशाल जहाजमा के मात्र थिएन, अलिसान सपिङ मल, रेष्टुराँ, फिल्महल। तर, हामी यात्रामा पनि युद्धकै तयारी गरिराखेका थियौं।’

‘पूर्वी फकल्यान्डमा रहेको टोलीले त्यहाँ अर्जेटिनीले हात उठायो भन्ने सन्देसहरू पठाए। त्यसले त्यत्तिकै हाम्रो मनोबल उच्च बनायो भने उनीहरूको कमजोर। त्यसैको मौका छोपेर हामी डाँडामा पुग्यौं। त्यहाँ एकैचोटी थुप्रै गोर्खालीले ‘आयो गोर्खाली’ भनेर खुकुरी तेस्र्याउँदा तलपट्टि पोर्टमा बसेकाहरू आत्मसमर्पण गर्न र भाग्न थाले। त्यहाँ सुरुङ बनाएर बसेकाले भने ढिलो पत्तो पाएछन् जसलाई हामीले पछि छोपेर युद्धबन्दी बनायौं’, बुद्धिराज राईले स्मरण गरे।

ooo

रानी एलिजावेथ–२ पानी जहाजको निर्माण सन् १९६७ मा भएको थियो। २००८ मा उसले सेवानिवृत्ति प्राप्त गर्‍यो अर्थात आफ्नो नियमित यात्रु बोक्ने कामबाट छुट्टी पायो। यस अवधिमा एलिजावेथ जहाजले साठी लाख माइलभन्दा बढी यात्रा गरेको थियो र २५ लाखभन्दा बढी यात्रुहरू बोकेको थियो। त्यो समयमा यो एक मात्र यस्तो जहाज थियो, जुन नियमित रूपमा वर्षको लगभग आठ महिनाका लागि न्युयोर्कमा ट्रान्सएट्लान्टिक क्रसिङ बनाउँदै यात्रा गर्दथ्यो। साथै विशेष चार्टरहरू लिएर समुद्रमाथि चाहरिरहन्थ्यो।

null

यसका मूल इन्जिनहरू स्टिम टर्वाइन (बाफले चल्ने) थिए। सन् १९८७ मा तिनलाई ३४ नटको उच्च गति प्रदान गर्दै ५९ हजार हर्स पावरका दुई विशाल इलेक्ट्रिक मोटरहरू चलाउने नौवटा तेलबाट चल्ने इन्जिनहरूका साथ डिजेल इलेक्ट्रिक पावरमा रूपान्तरण गरियो। रानी एलिजाबेथ–२ जहाज कुनार्ड कम्पनीले जोन ब्राउन एन्ड कम्पनी, क्लाइडब्यांक, स्कटल्यान्डद्वारा कनार्ड लाइन साउथहम्पटनका लागि निर्माण गरिएको थियो। यो जहाज २० सेप्टेम्बर १९६७ मा महारानी एलिजाबेथ द्वितीयद्वारा लन्च गरिएको थियो। महारानी एलिजाबेथ–२ जहाज, कुनार्डद्वारा निर्मित दोस्रो जहाज हो। जुन कम्पनीले राजा जर्ज छैटौंको पत्नीको नाममा राखेको हो। उनले मे १९६९ मा साउथह्याम्प्टन र न्युयोर्कबीचको यात्रा गरी आफ्नो पहिलो यात्रा पूरा गरिन्।

महारानी एलिजावेथ–२ पानी जहाज निर्माण गर्न ३० मिलियन पाउन्ड स्टर्लिङ खर्च भएको थियो र निर्माण सम्पन्न भएर नियमित काम गर्दाको समयसम्म यसको लागत ३ सय मिलियन पाउन्ड स्टर्लिङ डलर पुगेको थियो।  यसको निर्माण ५ जुलाई १९६५ मा सुरु गरेर १९६७ मा निर्माण कार्य पूरा भएको थियो।

  •     यो जहाज यात्रुबाहक नभएर गोर्खाली सेनाको इतिहास बोकेको समुद्रमाथि तैरने होटल अर्थात् रानी एलिजावेथ–२ होटल हो।
  •     यो त्यही जहाज हो, जुन सन् १९८२ मा भएको फकल्यान्ड युद्धमा गोर्खाली सेनालाई ओसार्न प्रयोग गरिएको थियो।

४४७ विशिष्ट कोठा र सुइट, व्यावसायिक यात्री र पर्यटकको सबै आवश्यकता पूरा गर्न डिजाइन गरिएको होटेलले गोर्खालीहरूको इतिहास बोकेर बसेको छ। झन्डै दुई दशक अगाडिसम्म यो पानीजहाज एउटा यात्रु बाहक जहाज थियो। ९६३ फिट लामो यो जहाजको  यात्रु बोक्ने क्षमता दुई हजार रहेको थियो भने यसको कुल बजन ६६ हजार टन थियो।     

महारानी एलिजाबेथ–२ एक ऐतिहासिक रत्न र दुबईमा एउटा मात्रै तैरने होटल हो। पोर्ट रासिदमा अवस्थित समुद्र तट, मेट्रो र दुबई डाउनटाउन नजिक, बुर्ज खलिफा र दुबई मलबाट केही मिनेट टाढा छ। दुबई अन्तर्राष्ट्रिय एयरपोर्टबाट पनि केही मात्रै टाढा छ।
सन् २००७ मा कुनार्डले यो जहाज दुबई राज्यद्वारा सञ्चालित समूह दुबई वल्र्डको एउटा शाखासँग ५० मिलियन पाउन्डमा बिक्री गरेको स्थानीय पत्रपत्रिकाहरूले उल्लेख गरेका छन्।

जहाज अर्को वर्ष दुबईको पोर्ट रासिदमा ल्याइयो। जसको नेतृत्व दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमको स्वामित्वमा रहेको मेगा–याटले गरेको थियो। महारानी एलिजाबेथ–२ लाई २७ नोभेम्बर २००८ मा सक्रिय क्युनार्ड सेवाबाट छुट्टी मिलेको थियो। दुबईको स्वामित्वमा रहेको एउटा कम्पनीले सन् २००७ मा घोषणा गर्‍यो कि उसले क्वीन एलिजाबेथ–२, एक विशाल समुद्री जहाज खरिद गरेको छ।  

सरकारी स्वामित्वको इस्टिथमारले यात्रु जहाजलाई पहिलो श्रेणीको फ्लोटिङ होटलमा परिणत गर्ने योजना बनाएको जनाएको थियो। ‘हामी खुसी छौं कि जब उनको महासागर लाइनरको रूपमा पौराणिक करियर समाप्त हुन्छ र दुबईमा उनका लागि स्थायी घर हुनेछ। जसले भावी पुस्तालाई जहाज र उनको इतिहास दुवै पूर्ण रूपमा अनुभव गर्न जारी राख्न सक्षम बनाउनेछ’, जहाज दुबईलाई बेचेपछि जहाजका मालिक कनार्डका अध्यक्ष क्यारोल मार्लोले भनेका थिए।  

दुबई वल्र्डको प्राइभेट इक्विटी आर्मद्वारा खरिद गर्‍यो, जसले जहाजलाई पाम जुमेरा दुबईमा रहेको ५ सय कोठाको तैरने होटलमा रूपान्तरण गर्ने योजना बनाएको थियो। पछि मीना रसिदमा राखिएको थियो। त्यसपछिको पटक–पटक विभिन्न योजनाहरू बनाइए तर पूरा भएनन्। संसारभर फैलिएको आर्थिक संकटले एलिजावेथ–२ का मालिकहरूलाई अर्बौं डलरको ऋणमा दुबायो। जहाज बेच्न सक्ने अफवाहहरू वर्षौंसम्म फैलियो। यस समयमा जहाजलाई दुबईको ऐतिहासिक डाउनटाउन क्रिक नजिकैको पोर्ट रसिदमा चुपचाप राखिएको थियो। बीचबीचमा यसलाई खारेज गर्ने हल्लाहरू पनि चले तर नोभेम्बर २०१५ मा क्रुज अरेबिया र अफ्रिकाले डीपी विश्व अध्यक्ष अहमद सुल्तान बिन सुलेमलाई उदृत गर्दै यो जहाज नवीकरण गरिएको र छिट्टै नै सञ्चालनमा ल्याइने घोषणा गर्‍यो। यसरी १८ अप्रिल २०१८ मा आगन्तुकहरूका लागि सफ्ट उद्धाटनका साथ यसले आफ्नो ब्यापार सुरु गर्‍यो। यसमा १००० भन्दा बढी कोठासहित एक संग्रहालय, १३ रेस्टुरेन्ट र बार र स्वीमिङ पुल छन्।

जहाजको लबिमा रहेका म्युजियम शैलीको तस्बिरहरूबाट आगन्तुकहरूले जहाजको इतिहास पढ्न सक्छन्। संग्रहालय दुर्लभ प्रदर्शनीहरूको घर पनि हो, जसले जहाजको इतिहासलाई जीवन्त बनाएको छ। जहाँ १८४० को दशकका भित्तेचित्रहरू पनि छन्।  जहाजले १,८९२ यात्रु र १,०४० चालक दललाई समायोजन गर्न सक्छ। १९८० को दशकमा स्टिमबाट डिजेलमा रूपान्तरण गरिसकेपछि ३४ नटको उच्च गतिमा पुग्न सक्छ। यो जहाज धेरै आधुनिक जहाजहरूभन्दा छिटो कुद्न सक्छ। 

आफ्नो लामो करियरमा यसले नेल्सन मण्डेला, एलिजाबेथ टेलर, रिचर्ड बर्टन र बज एल्ड्रिनजस्ता सेलिब्रेटीहरूलाई पनि आकर्षित गर्‍यो।गोर्खालीहरूको यति ठूलो गौरव बोकेको यो जहाजमा उनीहरूको इतिहासलाई शब्दचित्र र तस्बिरमा कोरिन भने बाँकी छ। यो जहाज होटलमा कति नेपाली कामदारहरू रहेका छन् भन्ने एकिन छैन। सुरक्षाकर्मीका रूपमा कार्यरत केही नेपालीहरूलाई सोध्दा आफूहरूले यस बारेमा केही सुनेको तर पूरै जानकारी थाहा नभएको बताए। गौरवकै इतिहास भनेर कोही पनि हेर्न आएको उनले बताए।

यो होटलले इतिहास बोकेकाले पनि मध्यपूर्वको सबैभन्दा धेरै भ्रमण गरिएको सहरमा दुबईको पर्यटनलाई अझ बढावा दिएको छ। सन् २०२३ मा झन्डै १ करोड ८० लाख विदेशी पर्यटकहरूले दुबई भ्रमण गरेका थिए। अघिल्लो बर्षको तुलनामा त्यो २१ प्रतिशतले धेरै हो। सन् २०२४ मा दुई करोडभन्दा बढी पर्यटकहरू दुबई भित्रिने अनुमान गरेको छ। सन् २०२३ मा १ लाख ७५ हजार नेपालीहरूले पर्यटकका रुपमा दुबईको भ्रमण गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.