७० वर्षमा बल्ल नेपाली नागरिकता !

७० वर्षमा बल्ल नेपाली नागरिकता !
नागरिकताको प्रमाणपत्र बनाउन आएका च्यामुने दमाई ।
सुन्नुहोस्

नागरिकता नहुँदा च्यामुने १० वर्षदेखि सामाजिक सुरक्षा भत्तााबाट समेत बञ्चित थिए।

सिन्धुली : नेपालको संविधानअनुसार नेपाली नागरिकले जन्मेको १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था छ। तर, तीनपाटन गाउँपालिका–९ सिन्धुलीका च्यामुने दमाईले ७० वर्षमा बल्ल नागरिकताको प्रमाणपत्र पाएका छन्।

शारीरिक रूपमा अशक्त (बोली नआउने) उनले जन्मेको ७० वर्ष २ महिना १५ दिनपछि बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन्। २०१० साल माघ १० गते जन्मिएका उनले सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट वंशजको आधारमा नेपाली नागरिकता पाए। अर्काको घरमा काम गरेर जीविका चलाउँदै आएका वृद्ध च्यामुनेले वडाध्यक्ष मोहनबहादुर गौतमको विशेष पहलमा नागरिकता पाएका हुन्।

बखतबहादुर दमाईका चारभाइ छोरामध्ये उनी कान्छा हुन्। हालसम्म घरजम नगरेका उनी बोल्न सक्दैनन्। पढाइलेखाइ छैन। उनलाई नागरिकता बनाइ दिन परिवारका अन्य सदस्यहरूले बेलैमा पहल नगरिदिँदा ढिलाइ भएको वडाध्यक्ष गौतमले बताए। ‘च्यामुनेका परिवार र वडाका अघिल्ला जनप्रतिनिधिहरूले नागरिकता बनाउन पहल नगरिदिँदा समस्या भएको हो। मेरै पहलमा पनि तिन महिनाको लगातार प्रयासपछि मात्रै आइतबार नागरिकता बनेको हो,’ गौतमले भने।

च्यामुने आफ्ना तीन दाजुहरूमध्ये साहिँला दाजुको साथमा बस्दै आएका थिए। तर, उनको पनि मृत्यु भएपछि सामान्य खान लाउनसमेत थप समस्या भएको र हालसम्म नागरिकतासमेत नभएको थाहा पाएपछि उनको नागरिकता बनाउन वडाले पहल गरेको हो। ७० वर्षका च्यामुनेले हालसम्म गाडी चढेका थिएनन्। उनी गाडी चढ्न पनि नमान्ने र फोटो खिच्न पनि नमान्ने भएपछि कर्मचारीहरूसमेत आजित थिए। तर, सोमबार वडाध्यक्ष गौमत र उनका माइला दाजु धनबहादुरले जिल्ला प्रशासन कार्यालयमा ल्याएर नागरिकता बनाउन सफल भएका हुन्। 

उनको नागरिकतामा उनको माइला दाजु धनबहादुरले सनाखत गरेका छन्। उनको राष्ट्रिय परिचयपत्रसमेत बनाइएको छ। नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन फोटो खिच्न नमानेर उनले क्यामेरा नै फुटाउन खोजेको समेत वडाध्यक्ष गौतमले स्मरण गरे। 

उनले भने, ‘अत्यन्त सोझो, पढाइलेखाइ नभएको कहिलै गाडी नचढेको च्यामुनेको नागरिकता बनेको छ। नागरिकता बनेसँगै सोमबार नै हामीले वडाबाट सामाजिक सुरक्षा भत्ताका लागिसमेत सिफारिस गरेका छौं। उनलाई अब केही राहत पुग्ने छ।’

नागरिकता नहुँदा च्यामुने १० वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित थिए। दलित समुदायले ६० वर्ष उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्।उनले अब मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने छन्। उता प्रमुख जिल्ला अधिकारी भरत खनालले जिल्लाका दुर्गम क्षेत्रका कतिपय नागरिकहरूले अझै नेपाली नागरिकता पाउन नसक्नु दुःखद पक्ष भएको बताए। 

‘समयमा नेपाली नागरिकता, राष्ट्रिय परिचय–पत्र, सामाजिक सुरक्षाभत्ता नपाउनु दुःखको कुरा हो। हामीले त्यस्ता व्यक्तिहरू, अपांग, अशक्तहरूलाई लक्षित गर्दै गाउँगाउँमै पुगेर सुविधा दिने गरी छिट्टै घुम्ती टोली खटाउने तयारीसमेत गरेका छौं,’ उनले भने। समाजमा नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ताका विषयमा जनचेतना कमी हुँदा र स्थानीय जनप्रतिनिधिहरूमा आफ्ना वडाका नागरिकको अवस्थाका बारेमा जानकारी नहुँदा पनि यस्तो समस्या रहिरहने गरेको खनालको भनाइ छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.