राष्ट्रियतामा सर्जक सूत्र

राष्ट्रियतामा सर्जक सूत्र

नेपाली जनताका सबै प्रकारका असन्तुष्टिहरूलाई बाह्रबुँदे मन्त्रद्वारा शान्त पारिन्छन्। विकासका नाममा शासन, प्रशासन र जमिन विभाजित छ।

पेसागत रूपमा अंग्रेजी साहित्यका प्राध्यापक केपी अर्याल (कृष्णप्रसाद)ले ‘हुरीले खसालेका पातहरू’ नामक कविता संग्रह प्रकाशित गराएका छन्। यसमा नेपाली भाषाका ३१ र अंग्रेजी भाषाका १० गरी जम्मा ४१ वटा कविता छन्। स्याङ्जा वालिङ नगरपालिका– ११ पेखुनिवासी उनकोे यस कृतिको भूमिका लेखक डा. राजेन्द्रप्रसाद चापागाईं पनि अंग्रेजी विषयकै सहप्राध्यापक हुन्। उनले ‘भूमध्यरेखामा उभिएर हेर्दा’ शीर्षक राखेर नेपाली र अंग्रेजी दुवै खण्डका कविताको विस्तृत रूपमा विश्लेषण गरेका छन्। यहाँ भने नेपालको राष्ट्रियताका सन्दर्भमा मात्र ती कविताको सार–संक्षेप उतार्न खोजिएको छ।

साहित्यकारहरू विभिन्न क्षेत्रका आन्दोलनबाट प्रभावित हुने गर्छन्। तसर्थ, अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि हुरीबतासका प्रसँग आइरहन्छन्। पौराणिक साहित्यले आधुनिक साहित्यकार जन्माइरहन्छ। अग्रज साहित्यकारहरूको प्रभावमा परेका नवसाहित्यकारहरूले नयाँ नयाँ विधाहरूको विकास गर्दै साहित्यिक क्षेत्रलाई झन्झन् गहिरो र ऊर्जाशील बनाइरहेका हुन्छन्। नवसाहित्यकारले साहित्यमा नवरंग भर्न सक्छन्।

जे होस्, साहित्य सन्दर्भले साहित्यकारहरूलाई समेत झक्झक्याइरहेको हुन्छ। जुन–जुन तŒव र परिवेशले साहित्यकारहरूको चेत र चेतनालाई प्रभाव पार्छ, त्यसलाई पनि हुरीबतासको बिम्बका रूपमा प्रस्तुत गर्न सकिन्छ। समाज, संस्कृति, शासन र राज्य–पद्धति सबैले साहित्यिक हुरीबतासको परिवेश निर्माण गर्न सक्छन्। सर्जक, कवि, कलाकारहरू कसरी प्रभावित छन् भन्ने कुरा बुझ्न सक्नुपर्छ। जसरी प्रकृतिको काखमा हुर्केको रुखबिरुवालाई प्रकृतिकै वातावरणले प्रभाव पार्छ, त्यसरी नै कवि व्यक्तित्वलाई पनि सामाजिक परिवेशले प्रभाव पारेको हुन्छ। तसर्थ, यी सबैको पृष्ठभूमिमा राखेर मात्र साहित्यकारका सिर्जनाको गहन अर्थ सरल भाषामा सम्पे्रषण गर्न सकिन्छ।

नेपालमा पौराणिक साहित्य र शास्त्रीय हुरीबतासको प्रभावभन्दा पनि राज्य र राजनीतिको हुरीबतास निकै सशक्त रूपमा चलिरहेको पाइन्छ। नेपाल एकीकरणका बखत पृथ्वीनारायण शाहको राजनीतिक हावाहुरीले निकै चहलपहल ल्याइरहेको थियो, बाइसे–चौबिसे ससाना राज्य भत्किँदै थिए। यो हावाहुरीले वीरत्व प्रदान गरिरहेको थियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एक तिहाइ मात्र एकीकरण गरेर छाडेको यस देशमा उनको पछिल्लो पुस्ताले दुई तिहाइ राज्य विस्तार ग¥यो। यस विस्तारित अभियानले बेलायती विस्तारवादीहरूलाई झस्काइरहेको थियो।

गोर्खालीहरूको प्रतिरोधी शक्ति भनेकै बेलायती साम्राज्यवादीहरू हुन पुगेका थिए। उनीहरूलाई पनि निरुत्साहित पार्न खोज्ने उदीयमान शक्ति भनेकै गोर्खाली थिए। यी बहादुर गोर्खालीहरूलाई भारतमा राज गरिरहेका बेलायती शासकहरूले सुगौली सन्धिमा हस्ताक्षर गराउन बाध्य गराए। आफ्नो मातहतमा आइसकेको दुईतिहाइ जमिनसमेत गुमाएर नेपाल राज्यलाई खुम्च्याउन बाध्य गराए। तसर्थ, यसै घटनाको स्मरणार्थ कवि अर्यालले यस प्रकार व्यक्त गर्छन् :
अनादि कालदेखि
आक्रमण र अतिक्रमणको
निशाना बन्दै आएकी
मेरी आमा,
सुगौलीको सन्धिले लुटिएकी
मेरी आमा,
कोशी, गण्डकी र महाकालीबाट ठगिएकी
मेरी आमा,
कालापानी र लिपुलेखबाट लखेटिएकी
मेरी आमा ! 
(पृ. २४, मातृभूमिप्रति : एक उद्गार)

विशाल नेपालको क्षेत्रफल सुगौली सन्धिले खुम्च्याएपछि देशको प्रशासन कमजोर बन्दै गयो। राजदरबारका दरबारियाहरूको खिचातानीका कारण राजदरबारकै प्रशासन कमजोर साबित भयो। परिणामस्वरूप जंगबहादुर राणाले १९०४ सालमा राज्यको शक्ति हत्याए र एकलौटी पारिवारिक शासनको सूत्रपात गराए। यस्तो शासनको विरुद्धमा तत्कालै एकजना लखन थापाले विद्रोह गरे र उनले ज्यान गुमाए। जसलाई नेपालको पहिलो सहिदको रूपमा गणना गरिन्छ।

यसरी पारिवारिक शासनको दमन, शोषण र उत्पीडनविरुद्ध आवाज उठाउँदा १९९७ सालमा चारजनाले ज्यान गुमाउनु प¥यो। २००७ सालको क्रान्तिपछि यी चारै जनालाई सहिद घोषणा गरियो। त्यसपछि यिनका सालिकहरू निर्माण भए। हरेक वर्ष सहिद सप्ताहमा फूलमाला लगाएर सम्मान गर्न थालियो। २०१७ सालमा बहुदलीय व्यवस्था हटाएर पञ्चायत व्यवस्था सुरु गरियो। ३० वर्षसम्म यो व्यवस्था रह्यो, तथापि यी सहिदहरूका शिर र पाउमा फूलपत्र राखेर सम्मान गरिएकै थियो।

जनताको सामूहिक संघर्षले पञ्चायती शासन हटाए, बहुदलीय व्यवस्था स्थापित गराए, जनअधिकार स्थापित गराए। तर पनि नेताहरूले २०५२ सालदेखि जनयुद्धको उद्घोष गरे, चार सहिदले रगत बगाएको पृष्ठभूमिमा १७ हजारभन्दा बढी जनताले ज्यान गुमाए। २०६३ सालपछि राजतन्त्र हटाएर गणतन्त्र स्थापित गराए। गणतन्त्र र लोकतन्त्रको छहारीमा सयौं वर्ष अगाडिदेखिका शोषण र उत्पीडनहरू घट्नुको सट्टा मसानघाटबाट ब्युँते झैं छन्, झन्झन् व्यापक बन्दै गएका छन्। नेतृत्वदायी भूमिका असफल हुँदै गएको छ भन्ने आशयलाई कविले यसरी व्यक्त गर्छन् :
हेर, ऊ त्यो नरकंकालबाट
यहाँ पनि एउटा ‘मेफिस्टो फिलिस’
अवतरित भइरहेछ
यहाँ पनि आत्माको
किनबेच भइरहेछ
यहाँका थुपै्र थुपै्र ‘फास्टस्’ र
‘मेफिस्टोफिलिस’हरू बीच
‘बार्गेनिङ्ग’ चलिरहेछ !
(पृ. ८, शब्द–श्रद्धाञ्जलि : सहिदहरूप्रति)

‘मेफिस्टोफिलिस’ ‘फास्टस्’ र ‘बार्गेनिङ’ यी तीन शब्द अंगे्रजी र अंग्रेजी साहित्यका हुन्। यस कविताको सार र गहन अर्थ सम्पे्रषणमा यी शब्द अत्यन्त महŒवपूर्ण छन्। ‘फस्टस्’ र ‘मेफिस्टोफिलिस्’ दुवै अंगे्रजी साहित्यमा नाटकका पात्र हुन्, भने ‘बार्गेनिङ’ अंगे्रजी शब्द हो जसको अर्थ ‘मोलतोल, सौदा, सम्झौता’ आदि हुन्छ।

पन्ध्रौं शताब्दीका अंगे्रजी साहित्यका नाटककार हुन्– क्रिस्टोफर मार्लो जसले ‘डाक्टर फास्टस्’ नामक नाटक लेखेका थिए। फास्टस् विद्वान् भएर पनि लोभी र लालची व्यक्ति थिए। असीमित ज्ञान प्राप्त गर्ने र सम्पूर्ण मानवको अनुभव बटुल्ने दुष्प्रयास गरेका थिए र अकुत सम्पत्तिको मालिक बन्ने सपना लिएका थिए। असीमित ज्ञान र अकुत सम्पत्ति प्राप्त गर्ने हेतुले मेफिस्टोफिलिस जस्तो शैतानसँग उनले आफ्नो आत्मा बेचबिक्री गर्न २४ वर्षका लागि सम्झौता गर्दछन्।

यस्तो सपना पूरा हुन सक्छ भन्ने कुरामा दोधारे मनस्थिति हुँदाहुँदै पनि उनले आफ्नो आत्मा धरौटीस्वरूप बेच्ने सबालमा हस्ताक्षर गर्छन्। यस्तो खालको सम्झौता गरिसकेपछि उनी साँच्चिकै बेचिन्छन्। यसैले २४ वर्षपछि ठूलो गल्ती गरेछु भन्ने पश्चाताप गरे। गरे पनि ईश्वरले समेत उनलाई संरक्षण दिँदैनन्। उनी आफ्नो पहिलेको डाक्टरको हैसियतमा वा मानिसको रूपमा फर्केर आउन सक्दैनन्। उनको मृत्यु हुन्छ र नर्क कुण्डको बाटो लाग्न बाध्य हुन्छन्।

जर्मन लेखक गेटेले फास्टस्को कथालाई आफ्नो काव्य–शास्त्रमा भिœयाएका छन्। ज्ञान र अनुभवलाई मानव भलाइमा डो¥याउनु पर्छ भन्ने आदर्श प्रस्तुत गरेका छन्। यस प्रकारको दुःखदायी घटना र दुःखान्त नाटकबाट विश्वको सार्वभौम शक्ति र सम्पत्ति भोग गर्न अगाडि बढिरहेका बेलायती शासक र समुदायले ठूलो शिक्षा प्राप्त गरे। ‘अति सर्वत्र वर्जयेत’ भन्ने पूर्वीय मुलुकको यो दर्शन पनि ठीक रहेछ भन्ने महसुस गरे। सार्वभौम ज्ञान र सार्वभौम सम्पत्तिको लालसा गरेनन्। शक्ति र सम्पन्नताका बारेमा घमण्ड गरेनन्। आफ्ना मातहतमा आएका औपनिवेशिक मुलुकहरूलाई क्रमिक रूपमा स्वतन्त्रता दिलाउन पनि कञ्जुस्याइँ गरेनन्। बुद्धिमत्तापूर्वक उनीहरूको विदेश नीतिलाई सहर्ष स्वीकार गरिदिने नेतृत्वको हातमा सत्ता हस्तान्तरण गराउँदै गए। विज्ञानको उन्नति र प्रगतिमा निरन्तर लागि रहे।

फास्टस् र मेफिस्टोफिलिस बिम्बलाई कवि अर्यालले पनि आफ्ना कवितामा उतारेका छन्। बहुदलीय आवरणमा आएका नेपालका नेताहरूलाई फास्टसकै बिम्बमा उतारेका छन्। उनले यी नेताहरूलाई राष्ट्रिय आत्माको बेचबिखनमा उद्धृत रहेको आरोप लगाएका छन्। फास्टसले शैतान मेफिस्टोफिलिससँग गरेको सम्झौता जस्तै यी नेताहरूले भारतमा पुगेर बाह्रबँुदे सम्झौता गरी त्यस सम्झौताबाट बिल्कुलै भंग नहुने गरी सम्झौताका हरेक बुँदामा बाँधिएका छन्। त्यसैले कवि अर्याल भन्छन्–
भनिन्छ–
अब आत्माको हस्तान्तरण भइसकेको छ
अब सम्झौताको सर्तअनुसार
यहाँका बहादुर फास्टस्हरू
प्रतिगमनको प्रेत जगाई
आफ्नो अभीष्ट पूरा गर्दैछन्,
तिम्रो रगतको उपहास गर्दै
त्यो बलिदानी उत्कर्षलाई
‘आत्म हत्या’मा परिणत गर्दैछन्।
(पृ ८–९ शब्द श्रद्धाञ्जलि : सहिदहरूप्रति)

देशको नेतृत्व सम्हाल्दै आएका नेताहरूले व्यक्तिगत स्वार्थहरू मात्र पूरा गर्दै जनहित र राष्ट्रहितलाई पर्गेल्दै रहेका कारण अर्यालले राष्ट्रको आत्मा र सहिदहरूको आत्मा रोइरहेको देख्छन्। राष्ट्र र सहिदहरूको आत्मरोदनको मूलभूत कारणलाई उनले ‘विसंगति’ शीर्षक कवितामा स्पष्ट रूपमा औंल्याएका छन्–
प्रजातन्त्र र समाजवादको
मन्त्र जप्दै समूहवादको
रस्साकस्सी गर्दै आएका
महामानवका चेला भनाउँदा
चिम्पाञ्जीहरू !
अनि,
माक्र्स, लेलिन र माओको
पहिचान छाप लाए पनि
सिद्धान्तका लागिभन्दा
साँढे जुधाइ गर्ने
क्रान्तिकारीहरू !
(पृ. १४, विसंगति)

यिनै पंक्तिहरूबाट बुझ्न सक्छौ कि प्रजातान्त्रिक समाजवादका पक्षधरहरू ‘चिम्पाञ्जी’ बन्दै गएका छन्। यसको अर्थ हो, अत्यन्त चलाख वनमान्छे बन्दै गएका छन्। सभ्य मानिसहरू बन्न मान्छेसँग सहयात्रा गरिरहेका छन्। यो देशमा केही समययता राष्ट्रवाद ओझेलमा पर्दै समूहवाद फस्टाइरहेछ। राजनीतिको सैद्धान्तिक पक्षलाई निष्ठापूर्वक व्यावहारिक पक्षमा उतार्नुपर्ने क्रान्तिकारी भनाउँदा नेताहरू परिवर्तनकारी बन्नुको सट्टा आफ्नै लागि पद, पैसा र प्रतिष्ठा आर्जन गर्न आपसी झगडामा फसिरहेका छन्। सैद्धान्तिक धरातलमा स्थापित राजनीतिक दलहरू आआफ्ना सैद्धान्तिक घडाहरू फुटालिरहेछन् भन्ने आशयसमेत व्यक्त गरेका छन्।

कवि अर्यालको आफ्नै दृष्टि र आत्मालाई सच्चाइको धागोले बाँधेजस्तो देखिन्छ। त्यसैले त आआफ्ना सैद्धान्तिक धरातललाई कुल्चेर दिशाविहीन भएका राजनीतिक दलहरूलाई उनले ‘फुटेको घैंटो’सँग तुलना गरेका छन्–
यो माटाको घैंटो
फुटेर तीन टुक्रा भएको
माटाको घैंटो !
सिद्धान्तले नभै लोभ
त्रास र भयको रसायनले
विधर्मी वस्तुसँग जोडेर
फेरि उस्तै बनाएको तर
हल्का ‘फु’ ले पनि ढल्न सक्ने
तासको घर जस्तो
यो कच्चा घैंटो !
(पृ. ३८, फुटेको घैंटो)

आजीवन आफूले भोगिरहेको परिवेश, राजनीतिक खिचातानी, राष्ट्र र परराष्ट्रसमेतको नीति एवं व्यवहारलाई मध्यनजरमा राख्दा अन्ततः कवि अर्याल प्रकाश सपूतको गीतबाट साभार गरिएको शीर्षक कवितामा निम्न प्रकारको निष्कर्षमा आइपुग्छन्–
‘देश भन्नु त के रैछ र 
चार किल्लाको माटो’
त्यै माटो नि बन्न गयो
विदेशीको पाटो।
नेता हाम्रा बन्न गए
विदेशीको दास
देशको रक्षा गर्लान् भन्ने
छैन केही आश।
(पृ ५२, ‘देश भन्नु त के रैछ र’)

नेपालका सहिदहरूका सपनालाई लाचार पार्ने विदेशीका सपनाका बारेमा समेत यस कविता कृतिमा उल्लेख पाइन्छ। ‘विदेशीको सपना’ शीर्षक कवितामा कवि भन्छन्– ‘एउटा विदेशीले नेपालीको नाडी छामेको छ, नेता र कार्यकर्ताको ‘सिटीस्क्यान’ गरेको छ।’ सटिक व्यंग्यशैलीमा उनी भन्छन्– नेपाली जनताका सबै प्रकारका असन्तुष्टिहरूलाई बाह्रबुँदे मन्त्रद्वारा शान्त पारिन्छन्।

विकासका नाममा शासन, प्रशासन र जमिन विभाजित छ। नेता, जनता, कर्मचारी संयन्त्र लगायत सर्वत्र विभाजनका रेखाहरू कोरिएपछि ‘पूरै देश कब्जा गरे पनि’ गठबन्धनमा बाँधिएका बहादुरहरू चुपचाप रहनेछन्। परन्तु थोरै नेपालीले प्रतिकार गर्नेछन्। राष्ट्रको स्वाभिमान थाम्न र बचाउन अग्रसर हुनेछन्। विदेशीको सपना चकनाचुर पार्नेछन् भन्ने झिनो आशामात्र व्यक्त गरेका छन्।

नेपाली जनताका सबै प्रकारका असन्तुष्टिहरूलाई बाह्रबुँदे मन्त्रद्वारा शान्त पारिन्छन्। विकासका नाममा शासन, प्रशासन र जमिन विभाजित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.