सिन्धुलीमा आगलागीको घटना बढ्दै, नियन्त्रणमा चुनौती

सिन्धुलीमा आगलागीको घटना बढ्दै, नियन्त्रणमा चुनौती

सिन्धुली : सोमबार स्थानीय जंगलमा लागेको आगो बस्तीमा पस्दा कमलामाई नगरपालिका-१२ माथिल्लो टङ्सारका देवबहादुर कार्कीको तीन घरगोठ जलेर नष्ट भए। 

आगलागीका कारण दुई घर, एक गोठ, दुई लाख नगदसहित अन्नपात, भाँडाकुँडा तथा लत्ताकपडा जलेर नष्ट हुँदा कार्की परिवार खुला आकाशमुनि आइपुगे। भएका पशु चौपायासमेत जलेर खरानी भए। स्थानीय सामुदायिक वनमा लागेको आगो घरमा सल्किँदा कार्की परिवारको बिचल्ली भयो।

गत मंसिर ४ गते गोठमा अचानक आगलागी हुँदा निभाउने क्रममा जलेर गम्भीर घाइते भएका फिक्कल गाउँपालिका-२ डाङ्सेका रामजी बहादुर बोगटीको उपचारका क्रममा मृत्यु भयो। वर्ष ५५ का बोगटीले काठले बनेको खरको छानो भएको गोठमा लागेको आगो निभाउन जाँदा ज्यानै गुमाउनु परेको हो।

मरिण गाउँपालिका-३ बरुणका दूधराज मोक्तानको तीन वर्षका छोरा मनिष मोक्तानको घरभित्रै जलेर मृत्यु भयो। यी त जिल्लाका केही प्रतिनिधि घटना हुन्। सिन्धुलीमा हरेक वर्ष आगलागी भयावह जस्तै बन्दै गएको छ। बितेका ८ महिनामा मात्र जिल्लामा आगलागीबाट २ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। १७ घर गोठ जलेर नष्ट भएका छन्। दर्जनौं पशु चौपाएको जलेरै मृत्यु भएको छ भने त्यतिकै संख्यामा घाइते भएका छन्। लाखौं रुपैयाँको भौतिक क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक अनिल कुमार खड्काका अनुसार जिल्लामा गत आठ महिनामा मात्र ४० वटा आगलागीका घटना घटेका छन्। नाबालक सहित दुई जनाको जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। १७ वटा घरगोठ जलेर नष्ट हुँदा पीडित परिवार खुला आकाश मुनी बस्न बाध्य भएका छन्। ‘चैत महिनाको तीन सातामा मात्र जिल्लामा १० वटा आगलागीका घटना भएका छन्। यस्ता आगलागी प्राय असावधानी तथा स्थानीय जंगलहरूबाट सल्केको आगोका कारण हुने गरेको पाइएको छ,’ खड्काले भने।

जिल्लाको सबैभन्दा बढी मरिण गाउँपालिकामा आगलागीका घटना भएका छन्। मरिणमा मात्र आगलागीबाट ६ वटा घरहरू जलेका छन्। फिक्कलमा ३, घ्याङलेखमा २, कमलामाई नगरपालिकामा २, हरिहरपुरगढी, तिनपाटन गाउँपालिका, सुनकोशी र दूधौली नगरपालिकामा एक/एक घर जलेर नष्ट भएका छन्। यस्तै जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनहरू समेत आगलागीका कारण क्षति भएका छन्।

आगलागीका कारण प्राकृतिक जडिबुटी, वन्यजन्तुका साथै लाखौं रुपैयाँका काठ दाउरा जलेर नष्ट भएका छन्। सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले आगलागीका घटनाहरू वृद्धि हुँदै गएको पाइएको छ। आगालागीका कारण सुनकोशी र गोलन्जोर गाउँपालिकाका विभिन्न क्षेत्र जोखिममा रहने गरेका छन्। मानवीय त्रुटी र असावधानीका कारण हुने आगलागीका घटना नियन्त्रणमा चुनौती हुने गरेको बताइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.