सिन्धुलीमा समयमै आइपुग्यो सामुदायिक विद्यालयको पाठ्यपुस्तक

सिन्धुलीमा समयमै आइपुग्यो सामुदायिक विद्यालयको पाठ्यपुस्तक

सिन्धुली : यस वर्ष सिन्धुलीका सामुदायिक विद्यालयमा समयमै सबै पाठ्यपुस्तक आइपुगेको छ। जिल्लाका सामुदायिक विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तकहरू समयमै आइपुगेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जानकारी दिएको छ। 

 
जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा आवश्यक पर्ने सबै पाठ्यपुस्तक आइपुगेको र अधिकांश विद्यालयहरूले लगि सकेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए। ‘जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको समन्वयमा जनक शिक्षा सामाग्री केन्द्रबाट जिल्लाका सामुदायिक विद्यालयको कक्षा १ देखि कक्षा १२ सम्मकै सबै पाठ्य पुस्तक आइसकेको छ,’ घिमिरेले भने।

जिल्लाका लागि आवश्यक पर्ने झण्डै ६४ हजार सेट पाठ्यपुस्तक जिल्लास्थित पुस्तक पसलमा एक साता अघिनै आएको हो।  ति पसलबाट जिल्लाका विद्यालयहरूमा पुस्तक पठाउने काम भइरहेको र नपुगेका विद्यालयहरूले नजिकैका पुस्तक पसलहरूबाट खरिद गरी लैजान सकिने घिमिरेको भनाइ छ। सरकारले नयाँ शैक्षिक सत्रका लागि आगामी वैशाख १ गतेबाट भर्ना अभियान थाल्ने जनाएको छ। उनले भने, ‘यस वर्ष विगतका वर्षहरूमा भन्दा पहिला नै पर्याप्त मात्रामा पुस्तकहरू आएकाले भर्ना अभियान सुरु हुनु अघिनै जिल्लाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्‍याइने छ।’

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुलीका सचिव तथा तिमल्सेना बुक्स एन्ड जनरल सप्लार्यसका सञ्चालन दीपक तिमल्सेनाका अनुसार जिल्लाको दुई नगरपालिका र सातवटै गाउँपालिकामा नयाँ पाठ्यपुस्तक पठाउने काम भइरहेको छ। हालसम्म जिल्लाका झण्डै तीनसय बढी विद्यालयहरूमा नयाँ पाठ्यपुस्तक पुर्‍याइसकिएको मिल्सेनाको भनाइ छ। 

जिल्लामा प्राथमिक तहका ३ सय ६२, निम्न माध्यमिक तहको ८१ र माध्यमिक तहको १ सय २० वटा गरी कुल ५ सय ६३ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। ‘ती विद्यालयहरूमा ६४ हजार २ सय ८९ जना छात्र तथा छात्राहरू अध्ययनरत छन्। उनीहरूका लागि आवश्यक कक्षा १ देखि १२ सम्मको प्रत्येक विषयको ६४ हजार बढी पाठ्यपुस्तक आएको छ। नयाँ पाठ्य पुस्तक नपुगेको विद्यालयहरूमा पनि यसै साता भित्र पुस्तक पुर्‍याउने गरी व्यवसायीहरू लागि रहेका छौं,’ उनले भने।

व्यवसायी महासंघले विद्यालय र विद्यार्थीहरूका लागि सहज होस भन्ने उद्देश्यका साथ जिल्लाका नौं वटै पालिकामा रहेका पुस्तक पसलहरूबाट पुस्तक विक्री गरिएको छ। यस वर्ष नयाँ शैक्षिक सत्र सुरु नभई जिल्लामा सामुदायिक विद्यालयको पाठ्यपुस्तक आइपुगेकाले विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तकको तनाव नहुने तिमल्सेनाले बताए। यस अघिका वर्षहरूमा जिल्लामा पर्याप्त पुस्तकहरू समयमा नआइपुग्दा विद्यार्थी भर्ना अभियान नै प्रभावित बन्दै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.