समसामयिक सन्दर्भका स्वरहरू

अक्षरका पत्रपत्र केलाएर तीन दशकको मेहनत संवेदनाको समायोगमा समावेश भएको छ।
साहित्य लेखन र समालोचनामा धेरै सर्जकले लेखिरहेका छन् तर नारी समालोचकको उपस्थिति भने न्यून नै देखिन्छ। साहित्य सिर्जना तथा समालोचनामा ज्ञानु अधिकारी अगाडि देखिन्छिन्। समालोचनाका थुप्रै चुनौतीका बाबजुद पनि तीन दशकदेखि निरन्तर लेखिरहेकी उनका मौलिक कृति पनि आएका छन्। साहित्य र समालोचनाका दर्जनौं पुस्तक लेखिसकेकी ज्ञानुको निबन्ध संग्रह प्रकाशन भएको छ, ‘संवेदनाको समायोग।’
धेरै सर्जकलाई समालोचकको मौलिक कृति पढ्ने रहर पक्कै हुन्छ, अब त्यो रहर संवेदनाको समायोगले पूरा गरेको छ। ‘निबन्ध लेख्नु आफैंलाई नियाल्नु हो। आफूलाई पोख्नु हो, टक्टक्याउनु हो र आफ्नै सौन्दर्यलाई पस्किनु हो। निबन्ध केही होइन र सबथोक हो जस्तो।’ निबन्धकार श्रीबाबु कार्कीको यो भनाइ सत्य छ। आत्मालोचना गर्नसक्नु निबन्धको विशेषता हो। सन्दर्भ संवेदनाको समायोगकै हो। जीवन भोगाईका क्रममा आइपरेका समयका कतिपय पदचापलाई सुन्दर शिल्पशैलीमा खिप्ने काम ज्ञानुले यसमा गरेकी छन्।
ज्ञानुका निबन्धमा विषयवस्तुको विविधता भेटिन्छ, सात खण्डमा विभाजित यी निबन्ध सप्तरंगी स्वादमा रम्न सकिन्छ। यस कृतिमा समीक्षात्मक टिप्पणी लेख्न चुनौती मान्छु तर पनि सामना गर्ने हिम्मत जुटाएरै लेख्ने जर्मको गरेको छु। त्यसो त आत्मरतिमा रमाउने सर्जकको कमी छैन यहाँ। समाज र समुदायको भन्दा पनि आफ्नै कुण्ठा पोख्ने लेखकको कोटरीबाट टाढा रहेर भोगाइसँगै बितेका पलहरू निबन्धहरूमा छन्।
संवेदनाको समायोगभित्र पहिलो खण्डमा ‘असम्यक् स्पर्श’मा ६ ओटा निबन्ध छन्। एउटा नारी हृदयबाट निस्किएको झङ्कार यहाँ पढ्न सकिन्छ। के म सफल आमा बन्न सकें ?, शृंगार, सौन्दर्य र नारी, तिम्रो अनुपस्थिति, मानव सभ्यताको यात्रामा नारी, नारीलेखनका चुनौती, के नारीवादीले पुरुषको ईष्र्या गर्छन् ? आदि शीर्षकका निबन्धले हाम्रो समाजका नारी हृदयका आवाजलाई एकीकृत गरेका छन्। हुन त निबन्ध लेख्नु आफ्नै जीवनका घटनाक्रमलाई नियाल्नु हो। तर, आफ्नो उमेरसँगै करोडौं मान्छे हुर्किरहेको त्यो समयको कथा पक्कै सबैको साझा कथा बन्न सक्छ। त्यो समयमा ग्रामीण परिवेशका प्रत्येक मान्छेको जीवन भोगाइमा प्रायः एकरूपता भेटिन्छ, त्यसलाई लेखकले सुन्दर ढंगमा यसरी प्रस्तुत गर्छन् र समाजलाई पढाउँछन्। यो कृति त्यो समाजको भोगाइको सुन्दर तथा कुरूप पक्षको साझेदारका रूपमा पुस्तकमार्फत साक्षी बनेको छ समय।
समयको रफ्तारमा हिँड्नुपर्ने हाम्रो बाध्यता छ, त्यही रफ्तारमा समयले कहिले कता, कहिले कता पु¥याउँछ। तैपनि निरीह बनेर सहनुको विकल्प हुँदैन। समयले दिएका आक्रोश र वेदना पक्कै पनि राम्रो पक्ष होइनन्। त्यो समयको यादलाई ताजगीका साथ प्रस्ततु गर्ने क्षमता र शालीन प्रस्तुतिले निबन्धकारको धैर्य तथा लेखन क्षमता उच्च देखिन्छ। निबन्ध भनेकै जीवनका प्रत्येक घटना तथा भोगाइलाई लेखाजोखा गर्नु हो, बसेर तौलनु हो। सुखले भोगेका दिनभन्दा दुःखका प्रत्येक पल अहिले प्रिय लाग्छन्, किनकि अब हाम्रा सन्ततीले त्यो दुःखका पहाड नभोग्न सक्छन्, भोगे पनि त्यसको प्रवृत्ति अलग्गै हुन सक्छ। त्यसकारण पनि ज्ञानुले दुःखका क्षणलाई सुखका साथ प्रस्तुत गरेकी छन्, संवेदनाको समायोगमा।
कृतिका निबन्धले निबन्धकार ज्ञानुको मन हल्का भयो होला तर पाठकका मन भने त्यो समयको यादले भारी बनाउँछ। लेखकको सामथ्र्य भनेकै यही हो। शालीन प्रस्तुति तथा सुन्दर शब्दशिल्पले भरिएको यो कृति नेपाली निबन्धका क्षेत्रमा अब्बल छ।
विषयगत विविधताले भरिपूर्ण यी निबन्धमार्फत एउटै पुस्तक पढेर विविध स्वाद लिन सकिन्छ। कैयौं मान्छे कीर्तिपुरमा बसोबास गरेका छन्, लेखक स्वयं अहिले पनि त्यहीँ बस्छिन्। तर कीर्तिपुरका बारेमा लेखन भने कम छ। कीर्तिपुर डायरीमार्फत देशभित्रको डायस्पोरा, विश्वविद्यालय : सेरोगेट मदर, देवढोकाको अन्तिम खुड्किलोमा उभिएर र अविदित यात्रा शीर्षकमा लेखिएका निबन्धले त्यहाँको फरक पाटोलाई चिनाउँछ।
ज्ञानु निबन्धभित्र जीवनका सौन्दर्यबोध खोजिरहेकी छन्। निबन्धमा आफैंलाई भेटेपछि, कहिले जीवन स्वतन्त्र भएको, कहिले मन दुखेको अनुभव गर्छिन्। अनि जे जस्तो परिस्थितिमा पनि हृदयको दीप बालेर मनलाई सान्त्वना दिन्छिन्। यसरी हेर्दा उनका निबन्धमा दुःखैमात्र जीवन होइन, दुःखले सुख बोकेर ल्याउँछ, अँध्यारोले उज्यालो बोकेको हुन्छ भन्ने सन्देश उनका निबन्धहरूले भनिरहेका छन्। लेखकले प्रवाह गर्ने तरंगले समाज परिवर्तन गर्न ठूलो भूमिका हुन्छ, निबन्धको क्षेत्रमा एउटा मीठो तरंगसँगै आशाका किरणहरू पनि संवेदनाको समायोगले लिएर आएको छ।
केही व्यक्तिचित्रमा, केही बितेका पलका साक्षीका रूपमा, केही सीमाभन्दा परको यात्राका भोगाइहरू तथा अक्षरका क्षेत्रमा भोगेका तथा भइरहेका प्रतिनिधि घटनाक्रम कृतिमा छन्। ‘अलिकति समयले सिकायो। अलिकति सम्बन्धहरूले सिकाए। केही परिवेशले सिकायो र मभित्र किसिमकिसिमका संवेदना उमारिदियो। जिन्दगीका विभिन्न मोडमा उभिँदै गर्दा जेजस्तो विचार र संवेदना मभित्र जागृत हुन पुगे, तिनै संवेदनाको समायोग हो यो कृति।’
ज्ञानुको यो आत्मस्वीकृतिसँगै प्रस्तुत भएको नेपाली निबन्धमा निकै महत्त्वका रूपमा आएको पक्कै छ।
जिन्दगी भोगाइले खारिएर, अक्षरका पत्रपत्र केलाएर, समाजप्रति उत्तरदायी भएर तीन दशकको मेहनत संवेदनाको समायोगमा समावेश भएको छ, त्यसैले पनि यो कृतिको महत्व बढ्नेमा विश्वस्त हुन सकिन्छ। ज्ञानु आफैं अक्षरहरूको शल्यक्रिया गर्ने समालोचक भएकाले पनि लेखनमा जिम्मेवारका साथै परिपक्वता आएको छ। पछिल्लो समयमा प्रकाशनमा आइरहेका यस्ता कृतिहरूले निबन्ध क्षेत्रमा पक्कै पनि आशाको सञ्चार गरेको छ। शिखा बुक्सद्वारा प्रकाशन गरिएको यस कृतिले निबन्धका पारखीको समय र पैसाको राम्रो सदुपयोग हुनुका साथै, ओहो म पनि अब निबन्ध लेख्नु भनेर घच्चघच्याउने पक्कै छ।
प्रतिक्रिया दिनुहोस !
