अक्षरधाममा असिनपसिन

अक्षरधाममा असिनपसिन

आनन्दबिहार आउला भनेर रेलको डिस्प्ले नियालिरहेको छु तर आनन्द बिहार नै आएन।

भारतको दिल्ली सहर हामीलाई नौलो थियो। केही पनि थाहा थिएन त्यो ठाउँ। उठ् जोगी फड्चाला जहाँ जाला त्यही खाला हुनै प¥यो। होइन त ? २०८० कात्तिक १२ गते, पाँचौं दिनको यात्रा थियो हाम्रो। रेलको टिकट काट्ने विचार गर्‍यौं। त्यसपछि दिल्लीका प्रमुख स्थानको अवलोकन गर्ने अनि रेल चढेर रक्सौलतर्फ लाग्ने। त्यसका लागि रेलको स्टेसन आनन्दबिहार जानुपर्ने रहेछ, गयौं।

हामीलाई कसैले दिल्लीको मेट्रो चढेर गए छिटो हुने कुरा बतायो। दिल्लीको मेट्रो धेरै ठाउँमा अन्डरग्राउन्ड रहेछ। झोला बोकेर भित्र पस्यौं। केही तल गएपछि टिकट काउन्टर आयो। आनन्दबिहार जाने भनेपछि २० रुपैयाँको टिकट दियो र दोस्रो स्टेसनमा उत्रिनु भन्यो। त्यो टिकटलाई स्क्यान गर्नुपर्ने रहेछ। त्यसपछि बाटो क्लियर भयो। म स्क्यान गरेर अगाडि बढें तर सरु चाहिँ उतै रहिन् किनभने मैले दुईवटै टिकट स्क्यान गरेको थिएँ। समस्या भयो। आफ्नो समस्या बताएपछि त्यहाँ भएको एउटा व्यक्तिले अर्को टिकट बनाइदियो। फेरि स्क्यान गरेपछि बाटो क्लियर भयो।

सरु आइन्। जान्नैपर्ने के कुरा रहेछ भने प्रत्येक व्यक्तिले आआफ्नो टिकट स्क्यान गर्नुपर्ने रहेछ। केहीबेर हिँडेपछि मेट्रो स्टेसन आइपुग्यो। रेल पनि आयो हामीलाई दुई नम्बरको स्टेसनको रेल चढ्न भनिएको थियो। स्टेसनमा मान्छे उभिएका छन्, सुकिलामुकिला सबैको हातमा मोबाइल, कानमा हेडफोन अनि काँधमा झोला। कसैलाई कसैको पर्वाह छैन। सबैजना आआफ्नै सुरमा छन्। सबै कुरा फटाफट चल्छ। स्टेसनको नाम डिस्प्लेमा देखिन्छ। आवाज पनि सुनिन्छ।

म चाहिँ आनन्दबिहार आउला भनेर डिस्प्ले नियालिरहेको छु। आनन्द बिहार नै आउँदैन। सबै मान्छे झरे तर म त बसिरहेको थिएँ, अब आउँछ होला भनेर। अनि सरुले अब सबै झरिसके हामी पनि झरौं भनिन्। हामी त धेरै दक्षिणपट्टिको हुँडा भन्ने ठाउँमा पो पुगेछौं। एक घण्टाको समय त्यत्तिकै खेर गयो। पछि त्यहाँको मानिसले ५० रुपैयाँको फाइन लगायो अनि फेरि टिकट काटिदियो। बेकारमा १०० रुपैयाँ चुना लाग्यो। हामी जस्तोले त त्यस्तो दुःख पायौं भने अरूले कस्तो पाउलान् खै कुन्नि ?

वास्तवमा आनन्द बिहार जान राजीव चोकमा उत्रिनुपर्ने रहेछ। अनि नोयाडा जाने रेलमा चढेर आनन्दबिहार पुगिने रहेछ। त्यो कुरा आफूलाई के थाहा ? आफू त आनन्द बिहार आउँछ र उत्रौंला भनेर दंग परेर बसेको त पुगिएछ हुँडा। सरु रिसले बमबम। अब चैं चेतियोे भनेर फेरि रेलमा चढेर अगाडि बढ्यौं। अब भने मानिसलाई सोध्न थाल्यौं। त्यसैले त बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेका रहेछन्। अब हामीले अक्षरधाम जाने योजना बनायौं। हामी राजीव चोकमा उत्रेर नोएडा जाने रेलमा चढ्यौं। म पनि अब त एक्सपर्ट भइसकेको थिएँ। मेरा आँखा डिस्प्लेमा तर कान आवाजमा।

त्यसैले अक्षरधामको स्टेसनमा हामी उत्रियौं। केहीबेर हिँडेपछि विशाल अक्षरधाम टाढैबाट नियाल्यौं। अक्षरधामका बारेमा मानिसले गरेका वर्णन याद गर्दै अगाडि बढ्यौं।  धेरै ठूलो पटांगिनी रहेछ। गाडी पार्किङ अनि मोटरसाइकल पार्किङ। हामी हिँड्दै अगाडि बढ्यौं। फोटो पनि खिच्दै गयौं। भित्र पसेपछि मीठो पानी खायौं। निरन्तर सूचनाका आवाज आइरहेको थियो। लाइनमा लागेर आफ्ना लगेज ८ नम्बर कोठामा इन्ट्री गरायौं। मोबाइल साथै अरू सामान पनि लान नपाइने भएकाले त्यही राख्यौं। टोकन लिएर अगाडि बढ्यौं। लेडिज र जेन्ट्सको फरकफरक लाइन थियो। धेरै भीड, धेरै लामो लाइन।

एक्सरे मेसिन साथै मानिसले पनि खानतलासी गर्ने, चुरोट, लाइटर, फलाम, मोबाइल आदि केही पनि लान नपाइने। चेकिङ सकिएपछि बाहिर आएँ। अनि यताउता हेरें। सरुलाई देखिनँ। ए, आउँदै होलिन् भनेर त्यहीँ बसें। महिलाको लाइनमा हेरें, देखिनँ। २० मिनेटसम्म कुरें अब पक्का पनि मन्दिरतर्फ गइन् होला भनेर अगाडितिर लागें। धेरै ठूलो भीड छ, मानिस आआफ्ना तरिकाले अगाडि बढिरहेका छन् तर आफूलाई भने जीवनसाथी नै हराइन् भन्ने पिर। अब कता गएर खोज्ने ? कसलाई के भनेर सोध्ने ? यसो पश्चिमतिर हेरें। त्यहाँ ठूलो मन्दिर थियो जुन चाहिँ स्वामी नारायणको रहेछ। पक्कै पनि त्यही होलिन् भनेर अगाडि बढें।

ठूलो क्षेत्र, मानिस अगाडि बढिरहेका छन्। जुत्ता खोलें र खुड्किला चढेर माथि गएँ। दृश्य चित्ताकर्षक छ तर मन थिर छैन। उनी कता हो कता ?? आफू त त्यहाँको दृश्य हेर्नभन्दा पनि उनी कता छिन् ? भनेर यताउति हेर्दैमा दिमाग ताती हाल्यो। आफ्नो मान्छे सँगै नभएपछि मनमोहक दृश्य पनि फिक्का लाग्दा रहेछन्।
  
अक्षरधाम, नयाँ दिल्ली

एक मनले मलाई नदेखेपछि पक्कै पनि त्यो झोला राखेको ठाउँमा गइन् भन्ठानेर बाहिर निस्कें। अघि त्यो सामान इन्ट्री गरेको ठाउँमा गएँ अनि घटना बनाएँं। तपाईं डराउनु पर्दैन, यो स्वामीनारायण भित्र जाने बाटो र आउने बाटो एउटा मात्रै छ भनेपछि ढुक्क भएँ अनि फेरि ढोकाबाट चेकिङ गराएर भित्र गएँ। चारैतिर आँखा लगाउँछु उनलाई देख्दिनँ। मुटुको धड्कन बढ्छ। अब फेरि त्यही ठूलो मन्दिरभित्र जान्छु भनेर जाँदै थिएँ, एकजना सेक्युरिटी गार्डले ‘आप ईश्वर न्यौपाने काठमाडौं से आए हो ?’ भनेर सोध्यो। अनि ‘अभि अभि सरिताजी आइथी अभि ​​​​​​​आति होगी यही बैठिए’ भन्यो।

असिनपसिन भइसकेको रहेछु। त्यही नजिकै रहेको शीतल ठाउँमा गएर बसें। १० मिनेटसम्म पनि सरु नआएपछि उत्तरतर्फ रहेको ‘एक्जिट’नेरको ठाउँमा गएर बसें। यताउति हेर्दै थिएँ सरु आएको परबाट देखें। साह्रै खुसी लाग्यो। दुवैजना भेट भएपछि एकछिन गनगन र भनाभन चल्यो। फेरि सम्हालियौं। हात समाउँदै दुवैजना मनमोहक दृश्यको रसास्वादन गर्न अघि बढ्यौं। भोक मज्जाले लागेको थियो, नजिकैको पसलबाट प्रशस्त मात्रामा खाजा किनेर ल्याएँ। 

भोक मेटिएपछि अक्षरधामको चिनोको रूपमा फोटो खिचेर ल्याउने विचार ग¥र्याैं।

​​​​​​​पाँच मिनेटमा फोटो तयार हुँदोरहेछ। समय पनि लगभग ३ बजिसकेको थियो। हतारहतार गर्दै मेट्रो स्टेसनमा पुग्यौं। फेरि टिकट लिएर आनन्द बिहारमा उत्रिएर रेलको टिकट काउन्टरतर्फ लाग्यौं। धेरै भीड थियो। दुईवटा रक्सौल जाने टिकट किनें। लगभग ५ः३० बजे रक्सौलका लागि सत्याग्रह एक्सप्रेस अगाडि बढ्यो। हामीले जनरलको टिकट लिएका थियौं। स्लिपर वा वेटिङमा पनि सम्भव भएन। सरुले अब के गर्ने भनेर भन्दै गर्दा दुईजना व्यक्ति हाम्रो नजिक आएर सिट मिलाइदिन्छौं भने। स्लिपर नम्बर १ मा गएर बस्नोस् भने।

हामीलाई पनि फुर्ति आयो। आफ्नै सिट छ भनेर धाक लगायौं। एकजना हेटौंडाको मानिससँग चिनजान भयो। उनले ल यतै बसौं न त भन्यो। सिट खाली भएकाले हामी त्यतै बस्यौं। केही बेरपछि माथिल्लो सिटमा सुत्न गएँ। लगभग बिहानको ३ बजेको समयमा एकजना मानिस (कालोकोट लगाएको) आएर टिकट देखाऊ भन्यो। हाम्रो त स्लिपरको टिकट छैन भन्यौं। ल ठीक छ। केही पैसा देऊ म तिमीलाई सिट मिलाई दिन्छु भन्यो। धन्न सिट पाइयो नत्र त फेरि पहिलाकै हाल हुने थियो। अब चाहिँ बकाइदा आफ्नै सिटमा गएर आरामले ढल्यौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.