आध्यात्म र काव्यको सुन्दर समिश्रम

आध्यात्म र काव्यको सुन्दर समिश्रम

पवित्र भूमिमा तेस्रो आदित्य मोक्षधाम काव्यगोष्ठी हेर्दा लाग्थ्यो– गुरु आदित्यनाथको प्रत्येक वाणीलाई कविहरूले कुनै न कुनै रूपमा सिर्जनामा प्रयोग गरे।

आदित्यधाम जाने बाटो पिच भएछ। कुशादेवी, चिण्डु, पनौतीको वडा नं. ३ र १२ को संगमस्थलमा पर्छ आदित्यधाम। विहावर क्षेत्रको एक गाउँ हो। उतिबेलैदेखि बीस गाउँ विहाबर भनेर चर्चित थियो जिल्लाभर। यो मेरो माटो हो। र त अपनत्व छ। त्यसैले त तान्यो एक कल फोनले मलाई।

आफ्नोपनको फूल मनभरि फक्रियो। आहा ! कति सुन्दर छ मेरो ठाउँको सौन्दर्य जसको वर्णन गर्ने सामथ्र्य छैन। हिजोको यो ठाउँ र आजसँग तुलना गर्छु– विकासको फाँट बढेको पाउँछु। कति सपाट छन् वरिपरिका दृश्य ! वरपर हरियालीयुक्त साना डाडाँहरू। जति हेरे पनि बिझाएनन् आँखा।

आदित्यधाम। विश्वको उत्कृष्ट आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने ओम् आदि फाउन्डेसनको सपना। जहाँ केही समयअघि फाउन्डेसनले आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठान सम्पन्न गरेको थियो। यो कार्यले कुशादेवी क्षेत्रलाई देशव्यापी चिनाउन सघाउ पुगेको महसुस भएको थियो। 

८७ वटा त्रिकोणात्मक जलकुण्डमा हवन, जलधारा, योग, साधनासमेत गरिएको त्यो बेला पुगेको थिएँ।

उतिबेला २७ देशको जल र माटो यज्ञमा ल्याइएको आयोजकले बताएका थिए। त्यहाँ १,००८ शिवलिंगसहित पुराणवाचन र वेदपाठ भएको थियो। सोही ठाउँमा दोस्रोपटक पुगें। आदि फाउन्डेसनमा देशका चर्चित व्यक्तित्वहरू संलग्न छन् डा. उपेन्द्र महतो, क्याप्टेन रामेश्वर थापालगायत। यहाँ ३६ फिट अग्लो स्तम्भ निर्माण भएको छ। यसको मुख्य उद्देश्य नै शान्ति र प्रेमको सन्देश फैलाउनु हो। बालगुरु आदित्यकै निर्देशन अनुरूप आदित्य मोक्षधाम निर्माण भएको हो।

गजब माहोल हुने भो नि आज। राजनीतिज्ञ र कवि साहित्यकारहरूको अपूर्व जमघट। सञ्चारकर्मी नहुने कुरै भएन। प्रमुख अतिथि आइपुग्नु भएको थिएन। यसैबीच सबैसँग भलाकुसारी गर्ने अवसर मज्जैले उपयोग गरें। माइकमा भजन बज्दै थियो। केपी शर्मा ओलीको अदम्य साहस र वाकपटुताको प्रशंसक हुँ। दृढ इच्छाशक्तिका धनी लाग्छन् उनी। उनीसँगै पूर्वउपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली देखिए। यसअघि गुरुआदित्यसहित आयोजकहरूले उनीहरूलाई स्वागत गरी धाममा निर्माण हुँदै गरेको स्तम्भको अवलोकन पनि गराए। र त्यहाँको निर्माण सम्बन्धमा ओलीको चासोमा जानकारी पनि दिए।

राजनीतिज्ञहरू सहभागी काव्यगोष्ठी विरलै हुन्छ। यही विरलै कार्यक्रम भयो। कार्यक्रमले औपचारिकता पायो। कवि एवं सञ्चारकर्मी ठाकुर बेलबासेको मन्त्रमुग्ध सञ्चालनमा ब्राह्मणले मन्त्रोच्चारण गरेपछि कार्यक्रम अघि बढ्यो। पूर्वमन्त्री एवं सांसद गोकुल बाँस्कोटा, काभ्रेका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरू, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र रजिस्टार डा. अच्युत वाग्ले, प्राध्यापकहरू, काभ्रेका प्रजिअ र प्रहरी प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति बाक्लै देखियो।

मोक्षधाम निर्माण समितिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले निर्माणाधीन मोक्षधामको बारेमा संक्षिप्त जानकारीसहित उपस्थित सबैलाई स्वागत गरेपछि तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी सुरु भयो। यसको सहआयोजक बनेको थियो नेपाल साहित्यिक पत्रकार संघ। काव्यिक माहोल तात्दै थियो। कवि मञ्जिला अनिलले रिसराग नहोस् छलछाम नहोस् भन्ने कविता सुनाइन्।

कवि ममता मृदुलले मानव र यसका परिस्थिति, मान्छे किन अध्यात्म चिन्तन गर्छ भन्ने कुरा बुझाउने कविता प्रस्तुत गरिन्। कवि सुषमा आचार्यले दिन शिर्षक कवितावाचन गरिन्। यही लाइनमा खडा भए मुरारी सिग्देल अध्यात्मको छहारीबिना मान्छे सुखी नहुने कुरा ठोकुवा गरे। बीचबीचमा गुरु आदित्यको वाणी मन्त्र वाचन पनि कविहरूले गरेका थिए। यसरी वाचन गर्नेहरूमा विजयध्वज थापा, डा. बुनु दाहाल, राज रजक, गान्धरी कैन्ही, डा. गोविन्दमान सिंह कार्की, उषा केसी, प्रदीप सापकोटा, रुद्र अधिकारी, ओमकुमारी बन्जारा, नीरु श्रेष्ठ, हेम शर्मा मैनाली, निशा रिमाल, निश्चलबहादुर श्रेष्ठ आदि थिए।

माहोल हेर्दा लाग्थ्यो साहित्यिक माहोलमा आध्यात्म जोडेपछि साँच्चै बेजोड हुँदो रहेछ। स्रष्टा हुन् वा नेता, सर्वसाधारण हुन् वा पत्रकार सबै झ्याम्मिएका देखिन्थे। अतिथि र कविहरूलाई गुरु आदित्यको आत्मीयताको आँचलले सिचिएको, वाणी उल्लेख गरिएको टोपी, रुद्राक्ष र सयपत्रीको माला पहि¥याइएको थियो।

पूर्वमन्त्री साहित्यकार प्रदीप ज्ञवालीको कविता ‘काष्ठमण्डपमा एक्लो परेवा’ वाचन गर्दा माहोल भावुक बनेको थियो। उनले २०७२ सालको भूकम्प र त्यसले निम्त्याएको विनाशमा लेखेको कविता सुनाएको प्रष्टीकरण दिए। उनको भूकम्पले प्रियसी गुमाएको एक्लो परेवाको पीडादायी दैनिकीलाई उत्कृष्ट बिम्बहरू प्रयोग गरेको कविता साँच्चै उत्कृष्ट थियो। विक्रमभक्त जोशीले धुवाँको सिँढी सुनाए। उनले काव्यमा अध्यात्म मिसाएर एकदिन त मानवचोला उडेर जाने नै हो किन घमण्ड गर्ने भन्ने आशय दिए। हरि मञ्जुश्रीले ईश्वर आफैंसँग हुने भएकाले अन्त खोज्न जानु पर्दैन भन्दै छन्द कविता सुनाए। एलिसा ढुंगानाले एकैछिन पर जाउँ भन्ने कविता सुनाइन्।

२७ रोपनी क्षेत्रफलमा फैलिएको धाम, धामको वरिपरि हरियालीपूर्ण मनमोहक वातवरण, परपर सुन्दर मानव बस्ती अनि आजको काव्यिक माहोल आहा ! जगत् कल्याण हेतु आध्यात्मिक क्षेत्रबाट भरपूर योगदान गर्ने उद्देश्यले स्थापित यो फाउन्डेसनले यो स्थानलाई आध्यात्मिक रूपमा विश्वको अर्काे आश्चर्य केन्द्रको रूपमा चिनाउने यत्न गरी सोही अनुरूपका कार्यहरू भइरहेको ठाउँमा देशका चिरपरिचित कवि, साहित्यकार र जनप्रतिनिधि, राजनीतिज्ञहरूको भव्य उपस्थिति आफैंमा उल्लेख्य थियो।

कवितावाचनको क्रमको बीचमा प्रमुख व्यक्तित्व केपी शर्मा ओलीले संक्षिप्त मन्तव्य दिए। चैतन्य आदित्यको दर्शन र विचार तथा गुरुबिनाको सिकाइले विज्ञानमाथि चुनौती थपिदिएको उनको विचार थियो। गुरु आदित्यसँग अध्ययन तथा विभिन्न भाषामा ज्ञान, विचार र दृष्टिकोण, दर्शन र लेख्न सक्ने क्षमता अलौकिक रहेको ओलीको टिप्पणी थियो। गुरुका विचार शान्ति, सत्मार्ग, मानवहित र सुखका हितकारी चिन्तन र मनन्योग्य मात्र ग्रहणयोग्यसमेत देखिएकोमा उनको समर्थन थियो।

आदित्यले प्राप्त गरेका ज्ञानहरूको वैज्ञानिकहरूले अनुसन्धान गर्नुपर्नेमा पनि ओलीले जोड दिएका थिए। उनको कविहरूलाई यस मोक्षधाममा आएर पाएको नयाँ विषयवस्तुहरूमा कविता रच्न आग्रह थियो। साँच्चै यो समयको प्रिय परिहास हो। यस्तो कार्यक्रमको रसस्वादन गर्ने अवसर विरलैलाई मिल्छ। मलाई आजको यो माहोलले स्फुरित पैदा भएको छ। साहित्यिक कार्यक्रम थुप्रै हुन्छन् सायद ती सबैभन्दा भिन्न छ यो।

गुगल ब्वाईको रूपमा चर्चा कमाएका चैतन्य आदित्यमा भएको ज्ञानको भवसागर शब्दमा पोख्न कठिन रहेछ। उनको अनौठो तथा विलक्षण प्रतिभा र क्षमताको बखान गरिसाध्य भए पो। उनी एक्लो महारथि लागे मलाई। उनकै परिकल्पनाको यो स्थानमा देशभरका कवि जुटाउन सहयोग गरेको रहेछ नेपाल साहित्यिक पत्रकार संघले। वाचित अधिकांश कविता आध्यात्मिक ज्ञान र गुरुको विचारदर्शनसँग मेल खाए। कविता सिर्जनापछि आदित्यगुरुको वाणी वाचन गरेर कार्यक्रमको सञ्चालनको तारतम्यता मिलाइएको बडो सुन्दर देखिन्थ्यो। राजनीतिज्ञ र जनप्रतिनिधिहरू यसरी धैर्यसाथ काव्यश्रवण गर्ने गरेका अवस्था विरलै हुन्छन्।

संक्षिप्त र सारगर्भित मन्तव्य थियो– डा. उपेन्द्र महतोको। कार्यक्रम संयोजक सागर थापाले आदित्य गुरुको अपार र अद्वितीय ज्ञानको बारेमा प्रकाश पारे। कलाकार नरेन्द्रबहादुर श्रेष्ठले ‘कलियुगको आदित्य ज्योतिपथ’बाट आदित्य गुरुसँगको साक्षात्कारको प्रसंग पढेर सुनाए। सापसका अध्यक्ष राधेश्याम लेकालीले कविता यात्राको उद्देश्यसहित सबैलाई धन्यवाद दिए। कार्यक्रम ऊर्जाप्रद देखियो। स्थानीय बाआमा, युवा, विभिन्न संघसंस्थासँग आबद्ध महानुभावको उपस्थिति उल्लेख्य थियो।

आध्यात्मिक प्रेमले जीवन र जगत् मुस्कुराउँछ। समाजलाई सुमार्गमा लैजान दिशानिर्देश गर्छ। कटुता र मनमुटाव त्याग्न सिकाउँछ। समाजका सकारात्मक दृश्यहरूलाई फैलाउँछ। यही शक्ति छ आध्यात्ममा। विकृति र विसंगतिलाई त्याग्न बल दिन्छ। नैतिक मूल्य र मान्यताहरूलाई स्थापित गराउँछ। यही हो– जीवन र जगत्लाई निर्दिष्ट गर्ने अध्यात्मको कटुसत्य।

गोष्ठी यतिमा सीमित थिएन। यहाँ त रूखको जरामा जीवन खोज्ने कुराको चर्चा थियो। ४५ वर्षदेखि लागेका यस्ता कलाकार थिए, नरेन्द्रबहादुर श्रेष्ठ। उनको दृष्टिकोण जरामा जीवनको अर्थ खोज्दै कला प्रदर्शनी पनि गरिएको थियो। यसले कार्यक्रममा रौनकता थपेको थियो। अनौठो थियो त्यो कलाकृति। कविहरू लव खड्का, हरिश कल्पित, भानु जोशी, पूर्णबहादुर श्रेष्ठ, विकास शर्मा, डा. शान्तिमाया गिरी, रीतु कँडेल, अनुसुया ढुंगेल, गीता कार्की, सुमन वर्षा, पारु तिमल्सिनालगायतका काव्यमा अध्यात्मको बास भएका कविता सुनाए।

आडम्बरबाट कोसौं टाढा, अध्यात्म र काव्यमा यसको मिलावटले सबैमा उत्साहको सञ्चार जागृत भयो। रूपौला सौन्दर्य लिएर मुस्कुराइरहेको डाँडा र वरपरका अन्य मनोरम छटाको बीचमा भएको यो पवित्र भूमिमा तेस्रो आदित्य मोक्षधाम काव्यगोष्ठी सम्पन्न भयो। यस्तो लाग्थ्यो– गुरु आदित्यनाथको प्रत्येक वाणीलाई कविहरूले कुनै न कुनै रूपमा आफ्ना सिर्जनाहरूमा प्रयोग गरे। वाचित कविताका कुनै न कुनै प्लटमा गुरुवाणी परेका थिए। यो आधुनिक युगमा विज्ञानलाई चुनौती दिने योगी चैतन्यको जति नै गुण गाए पनि कम हुन्छ। जीवनको अस्तित्व आध्यात्मसँग कुनै न कुनै रूपमा जोडिएको हुँदोरहेछ। मेरोमा परेको थियो– ‘मलाई ठग्ने काम नगर्नू। 

सबै काम हतार नगरी गर्नू। बरु ईश्वरलाई ठग, मलाई नढाँट, नठग’– योगी चैतन्य आदित्यनाथ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.