राष्ट्रियताको शिखर–बिन्दु

राष्ट्रियताको शिखर–बिन्दु

क्षेत्रप्रताप अधिकारी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पुजारी थिए। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति–विसंगतिप्रति औंला ठड्याउँथे।

यकिन मिति ठ्याक्कै बिर्सिएँ, एक दिन क्षेत्रप्रताप अधिकारीको नामबाट मलाई एउटा बन्दखाम प्राप्त भयो। खोलेर हेरें, उनीद्वारा लिखित कुनै किताब थियो त्यसभित्र। म सम्झन्छु, त्यो कविता संग्रह थियो तर के नामको थियो कुन्नि ! अहिले हेक्का रहेन। खामभित्रै एउटा अर्को कागज पनि पट्याएर राखिएको रहेछ।

खोलेर हेरें, मेरो नाममा सम्बोधित एउटा छोटो चिठी थियो त्यो, जसमा यस्तो बेहोराको सानो–छोटो वाक्य लेखिएको थियो– ‘तपाईंले किताब खोलिदिनु भएपछि अब यसको विमोचन भयो।’ यसरी, मलाई जस्तै उनले धेरैलाई यसरी नै खामबन्दी किताबका साथ अनुरोधपत्र पठाएका रहेछन्। यसको अर्थ, जसको हातमा त्यो किताब पुग्थ्यो– त्यसको विमोचन भएको ठहरिन्थ्यो। कुनै तडकभडकबिना बिल्कुलै नौलो तरिकाको यो विमोचन–काइदा बडो रमाइलो लाग्यो।

नयाँबानेश्वरस्थित उनको कलेजमा भेट्न यदाकदा गइरहन्थें। भेटघाटको क्रममा त्यतिबेला उनी आफूले लेखेका नयाँ गीत वाचन गर्ने गर्थे, बडो डुबेर। अत्यन्त आकर्षक लाग्थ्यो त्यो। विशेषतः प्रकृतिसँग उनी अत्यन्त मोहित थिए। यसै कारणले होला, उनी प्रत्येक सिर्जनामा प्रायः फूलका कुरा लेख्थे। अत्यन्त सुन्दर तरिकाले फूलको वर्णन गर्ने गर्थे। गीतले त नेपाली संगीतको क्षेत्रमा यति ख्याति कमायो कि एक जमानामा प्रत्येक नेपालीका मुखमा त्यो गीत झुन्डिएको पाइन्थ्यो।

स्मरणीय छ, ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फलिदिन्छु...’ बोलको उक्त गीत स्वरसम्राट् नारायणगोपालको आवाजमा सजिएको छ। उनको दोस्रो व्यक्तित्व भनेको, उनी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पुजारी थिए। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति–विसंगतिप्रति औंला ठड्याउँथे। सुदूर क्षेत्रको गरीबीप्रति उनी सदैव चिन्तित देखिन्थे।

कर्णालीको कर्णबहादुर
कन्दमूल खाएर छाक टारिरहेछ
महाकालीको मानबहादुर
सिस्नु टिपेर भोक टारिरहेछ
यस्तो अनिकालको चपेटामा पनि
तिमीले त चुनाव जित्यौ
तर देश हारिरहेछ...!

सायद ‘हुने बिरुवाको चिल्लो पात’ भन्ने उक्ति उनकै लागि बनाइएको हुनुपर्छ। अन्यथा, पहाडी भेगबाट राजधानी पसेर साझा बसमा खलासीको जागिर सुरु गर्ने सामान्य एउटा केटो पछि गएर तत्कालीन श्री ५ को सरकारको शिक्षामन्त्रीसम्म हुन पुग्नु के चानचुने कुरो हो ? उनको जीवन पढ्ने हो भने उपन्यासको कुनै काल्पनिक पात्र झैं लाग्छन् उनी।

‘शारदा’का लागि उनको सिर्जना लिन पुगें। स्वभावअनुसार बडो हावभावपूर्ण तवरले नयाँ गीत सुनाए। पहिलो अंकमा उनको सिर्जना छापेर, पारिश्रमिकसमेत लिएर उनकोमा पुग्दा उनले त्यो लिनु त कहाँ हो कहाँ, एउटा सानो टिपोट गरिएको कागजको टुक्रा दिँदै भने– ‘यो हाम्रो कलेजको बारेमा सानो परिचय छ, शारदाको कुनै कुनामा यसो अटाइदिनु होला !’ र, उल्टो निश्चित रकम दिई पठाएका थिए।

अर्को पटक, २०६२÷६३ सालको जनआन्दोलनताका साथीको सहयोगमा तत्कालीन आन्दोलन समर्थित साहित्यिक कार्यक्रम गर्ने सोच बनाएँ। जस मुताबिक धरहराको बरण्डालाई हामीले उपयुक्त स्थान चयन ग¥यौं र मे १ तारिख मजदुर दिवसका दिन धरहराका सिँढी उक्लेका थियौं। बरण्डामै डा.डी.पी. भण्डारी, डा. तारानाथ शर्मा, रत्नशमशेर थापा, द्वारिका श्रेष्ठ, हेम हमाल, तुलसी दिवस, डा. ओमवीर बस्नेत, जलेश्वरी श्रेष्ठ, चित्रकार डा. रामकुमार भौकाजी, संगीतकार शम्भुजित बाँस्कोटा, पत्रकार युवराज गौतमलगायत स्रष्टा सहभागी ‘ऐतिहासिक–काव्योद्घोष, शान्ति, अहिंसा र सहिष्णुता ः हाम्रो प्रतिबद्धता’को नारा दिएर छोटो कार्यक्रम सम्पन्न गरियो।

अधिकांशबीच करिब १० मिनेट साहित्यिक सिर्जनाका कुरा भए। दुर्भाग्य, क्षेत्रप्रताप अधिकारी भने उकालो चढ्दा दम बढ्ने कारणले धरहरा नचढी तलै प्रांगणमै बसे। सम्झन्छु, कति प्रेम गर्थे उनी मसँग ! हामी त्यति अग्लो धरहरा चढेर, कार्यक्रम सकेर तल ओर्लंदासम्म पनि उनी तलै बसिरहेका रहेछन्। त्यहीँ नै उनले कवितावाचन गरेका थिए। अन्तमा, जलपानको सानो कार्यक्रम सकेर छुट्टियौं। अरुभन्दा ठूलो हुँ भन्ने आडम्बर उनको चरित्रले कहिल्यै देखाएन। त्यो चरित्र धरहराको कार्यक्रमको त्यो दिन पनि प्रस्तुत गरेर भावविह्वल बनाएका थिए उनले।

अर्को स्मृति। उनी साझा प्रकाशनमा अध्यक्ष थिए। एक दिन, फोन गरेर उनले विनम्र आवाजमा भने– ‘ठूलो किताब त होइन, तपाईंका बालकथाहरू पाऊँ न ! म यहाँ भएको बेला एउटा किताब निकालूँ कि !’ नाइँनास्ती गर्नु नै किन थियो र ! उनको अनुरोध स्वीकारेर बडो कृतज्ञ हुँदै बालकथा संग्रहका लागि आवश्यक कथाहरू लिई उनको कलेज गएँ। ताकेता गर्नै परेन। संयोगवशः साझा प्रकाशनको त्यो बोर्डमा कवि विनय रावल पनि थिए। केही दिनपछि रावलजीले फोनबाट सूचना दिए, ‘तपाईंको बालकथा संग्रह छापिने भएको छ है ! म केही दिनका लागि दार्जिलिङ जाँदैछु। जानकारी दिऊँ भनेर...।’

दुर्भाग्यको कुरो, टेलिफोनमा र सम्भवतः पहिलो पटक मसँग बोलेका रावलजी फेरि काठमाडौं फर्कनु भएन। साहित्यिक कार्यक्रमअन्तर्गत दार्जिलिङ–खर्साङ पुगेका उनी गाडी दुर्घनामा परेर दिवंगत भए। केही समयपछि मेरो बालकथा संग्रह ‘असिनाभूत’ प्रकाशित भयो। आज सम्झँदा कता–कता आत्मग्लानि हुन्छ, क्षेत्रप्रताप र रावलजी दुवैलाई ‘धन्यवाद’सम्म पनि भन्न पाइनँ।

रावलजीलाई त भन्ने अवसर नै सधैंका लागि गुम्यो–गुम्यो, क्षेत्रप्रताप अधिकारीलाई त धन्यवाद भन्ने समय मसँग प्रशस्तै थियो, तर पनि खोइ किन हो, भनिनछु। आज समय भड्किसकेपछि अब पश्चात्ताप गर्नुको के अर्थ ? मनमनै पिरोलिन्छु।

​​​​​​​क्षेत्रप्रताप अधिकारी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पुजारी थिए। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति–विसंगतिप्रति औंला ठड्याउँथे। सुदूर क्षेत्रको गरीबीप्रति उनी सदैव चिन्तित देखिन्थे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.