स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, अनुसन्धान गर्दै प्रहरी

स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, अनुसन्धान गर्दै प्रहरी
सुन्नुहोस्

विराटनगर : विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ। यद्यपि यसको पुष्टि भइसकेको छैन। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गर्दै छ।

विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार मध्याह्न १२ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। 

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको दाहालले बताए। उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए।  

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ। मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ। उनीहरू सिरहाबाट विराटनगर आउने क्रममा रहेको डीएसपी दाहालले बताए। अहिलेसम्म शव घटनास्थलमै छ। आफन्त आइपुगेपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ। 

तर, यो घटनापछि दासका प्रेमी भनिएका युवा सम्पर्कविहीन बनेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। मृतकका साथीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार दास सिरहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन्। दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनी सिरहाको गोलबजारमा काम गर्छन्। 

दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ। तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन। प्रहरी स्रोतका अनुसार मृतक बसकै घरमा उनका अरु साथीहरू पनि डेरा बस्थे। तीमध्ये एकजना साथीको वाट्सएपमा 'मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु' भन्दै धानुकले म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो। उनले कुन नम्बरबाट वाट्सएप गरेभन्ने प्रहरीले खुलाएको छैन। तर, घटनापछि सम्पर्कविहीन भएकाले खोजीका लागि प्रहरी परिचालन गरिसकिएको एसपी कार्कीले बताए। 

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले घटपेटीलाई जानकारी गराएकी थिइन्। घरपेटीले प्रहरीलाई खबर गरे। प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटियो। एसपी कार्की घटनामा अरु नै व्यक्तिको संलग्नता पनि हुन सक्ने बताउँछन्। 'प्रेमीले नै हत्या गरे भन्ने प्रमाणित हुने मजवुत आधार भेटिइसकेको छैन। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,' उनले भने , 'पहिचान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ।'
 
घटनाको अनुसन्धानका लागि एसपी कार्की, डीएसपी दाहाल लगायत प्रहरी अधिकारी घटनास्थलमा खटिएका छन्। प्रहरीको विशेष टोलीसमेत परिचालन गरिएको छ। कार्कीमा अनुसार घटना अर्कैले गरेर प्रेमीलाई देखाउन खोजेको पनि हुनसक्छ । 'प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ। एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,' उनले भने, 'यस्तो जघन्य अपराधको गम्भीर ढंगले अनुसन्धान हुन्छ। जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौं।'
 
एसपी कार्कीले स्टाफ नर्सका प्रेमी भनिएका धानुक सम्पर्कमा आइसकेपछि घटनामा उनको संलग्नता छ कि छैन भनेर यकिन हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.