मुस्ताङ र मनाङमा दादुरा-रुवेला खोप लगाउन सुरु
जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ। हिमपात र अत्यधिक चिसोका कारण रोकिएको दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सोमबारदेखि सञ्चालन भएको हो।
दादुरा रुवेला रोगविरुद्धको राष्ट्रव्यापी खोप अभियानको स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले फागुन १३ गतेदेखि सूरु गरे पनि हिमाली जिल्ला मुस्ताङ र मनाङमा यो अभियान सञ्चालन प्रतिकुल मौसमका कारण दुई साता ढिलाइ हुन पुगेको हो। स्वास्थ्य कार्यालय मुस्ताङले चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरु जिल्ला नफर्किसकेकाले दादुरा-रुवेला खोप अभियान ढिलो हुन पुगेको बताएको छ।
मुस्ताङमा आयोजित दादुरा -रुवेला रोग विरुद्धको खोप अभियानको स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल र जिसस प्रमुख माया गुरुङले संयुक्त रुपमा उद्घाटन गरे। उनीहरुले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भ्याक्सिनेटर र किट र स्वास्थ्य उपकरण हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो।
प्रत्येक ४/४ वर्षको फेरोमा दादुरा-रुवेला खोप अभियान सञ्चालन हुने स्वास्थ्य निर्देशानालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले उल्लेख गरे। उनले हिमाली जिल्ला मुस्ताङ र मनाङमा बुधबारदेखि एकैसाथ दादुरा-रुवेला खोप अभियान सुरु भएको जानकारी दिए। नेपालमा दादुरा-रुवेला रोग विरुद्ध ८० प्रतिशत बालबालिका खोपको पहुँचमा जोडिएको भएपनि २० प्रतिशत बालबालिकाले खोपबाट बञ्चित रहेको उनले बताए। जसमध्ये ४ प्रतिशतले कुनै पनि खोप नलगाएको र १६ प्रतिशत बालबालिकाले कुनै न कुनै रुपमा खोप मात्रा पुरा नगरेको निमित्त महानिर्देशक पौडेलको भनाइ छ।
गण्डकी प्रदेशको नवलपुरमा मात्रै ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा -रुवेला खोप लगाइएको प्रदेशका १० जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुवेला खोप अभियान सञ्चालन भइरहेको निमित्त महानिर्देशक पोडेलले बताए। भारतमा दादुरा-रुवेला रोग संक्रमण बढ्दो रहेकाले सरकारले दक्षिणका सीमावर्ती क्षेत्रहरुमा १५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुवेला खोप अभियानमा समेट्नु परेको उनले जनाए।
दादुरा-रुवेला राष्ट्र व्यापी खोप अभियानमा कुनै बालबालिका वञ्चित हुन नपरोस् भन्ने हेतुले स्वास्थ्य कार्यालय मुस्ताङले जिल्ला ,पालिका र वडा तहको खोप समन्वय समितिलाई अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो। यसैगरी खोप अभियानलाई पूर्ण रुपमा सफल बनाउन स्थानीय सञ्चारकर्मीलाई समेत प्रचार-प्रसारमा सहयोग पुर्याउन कार्यक्रम गरी आह्वान गरेको थियो।
हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा ६१२ जना बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम छ। खोप अभियानका लागि जिल्लाका ५ स्थानीय तहको २९ वटा खोप केन्द्रमा दादुरा -रुवेला खोप अभियान सञ्चालन हुने बताए। अभियान अन्तर्गत जिल्लाका २९ खोप केन्द्रमा २९ जना भ्याक्सिेनेटर,४० जना स्वसेवक र ५८ जना एईएफआई टोली परिचालन हुनेछन्।
स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लाको थासाङमा फागुन २९ र ३० गते,घरपझोङमा फागुन २८ र ३० गते, वारागुङ मुक्तिक्षेत्रमा फागुन २९,३० र चैत्र १ गते,लोघेकर दामोदरकुण्डमा फागुन ३० र चैत्र १ गते र लोमान्थाङ गाउँपालिकामा चैत्र १ र २ गते गरी लगातार ५ दिनसम्म दादुरा -रुवेला खोप अभियान सञ्चालन हुने बताएको छ। राष्ट्र व्यापी खोप अभियानमा सबै बालबालिकालाई सरिक गराई नेपालबाट दादुरा-रुवेला रोग उन्मुलन तथा निवारणमा योगदान पुर्याउन सबै सरोकारवालाहरुले सहकार्य गर्न अपील गरे।