ओखतीमुलो गर्न कर्णाली अस्पताल जानू

ओखतीमुलो गर्न कर्णाली अस्पताल जानू

सुर्खेत :  कुनै बेला कर्णालीवासीले बिरामी हुँदा उपचार पाउनै मुस्किल थियो। सामान्य रोगको उपचार गर्न पनि नेपालगन्ज, काठमाडौं र भारतको लखनउसम्म पुग्नुपथ्र्यो। प्रदेशभित्र सामान्य रोगको पनि उपचार नहुँदा यहाँका नागरिकले हैरानी मात्र भोगेनन्, कतिपयले उपचार अभावमा ज्यानै गुमाए। 

तर देशमा व्यवस्था परिवर्तनसँगै कर्णालीमा नागरिकको स्वास्थ्य अवस्था पनि बदलिएको छ। संघीयतासँगै कर्णालीमा स्वास्थ्य पूर्वाधारको विकासले फड्को मारेको छ। विशेषज्ञ उपकरणको उपलब्धता र चिकित्सकको सेवा प्राप्त हुन थालेपछि यहाँका नागरिकले कर्णालीमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका हुन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको प्रदेश अस्पतालले कर्णालीवासीलाई निको पार्न थालेको छ। पछिल्लो ६–७ वर्षयता प्रदेश अस्पतालले गुणस्तरीय र विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरू उपचारका लागि बाहिर जाने क्रम रोकिएको छ। 

प्रदेश अस्पतालको स्थापनासँगै कर्णालीवासीले मात्र होइन, सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा र डोटीका नागरिकले यो अस्पतालबाट सेवा लिइरहेका छन्। ‘पहिले सामान्य समस्या देखिए पनि नेपालगन्ज नै जान्थें’ प्रदेश अस्पतालमा उपचार गराइरहेका जुम्लाका रामलाल रोकायाले भने, ‘हाम्रो ठाउँमा ठूला डाक्टर हुँदैनन्, उपचारका लागि ऋण गरेर सुर्खेत आउँदा पनि बाहिर जानुस् भनेर पठाउँथे। अचेल त सुर्खेतमै राम्रो उपचार सुविधा मिलेको छ, कर्णालीमै रोग निको हुन थालेपछि उपचारका लागि बाहिर जानु परेको छैन।’ हिजोआज अस्पतालको उपचारमा विश्वास लाग्न थालेको उनले सुनाए। 

उपलब्ध छन् विशेषज्ञ सेवा

दक्ष जनशक्ति र उपकरणको व्यवस्थासँगै सेवा प्रभावकारी भएपछि अस्पतालले बिरामीको विश्वास जित्दै गएको छ। हाल ४५ जना विशेषज्ञसहित ८० जना चिकित्सक कार्यरत रहेको अस्पतालले जनाएको छ। कुनै बेला सिटामोल पाउन कठिन हुने कर्णालीमा हाल यही अस्पतालले जटिल मानिने मिर्गौला प्रत्यारोपण सेवा थालेको छ। त्यसैगरी अस्पतालले डायलाइसिस, आईसीयू, एनआईसीयू, म्यामोग्राफी, एमआरआई र सीटी स्क्यानजस्ता सेवा पनि दिइरहेको छ।

हाडजोर्नी, न्युरोसर्जरी, नाक, कान, घाँटी र पत्थरीलगायतका शल्यक्रिया अस्पतालमा हुने भएकोले पनि कर्णालीवासीले आँगनमै विशेषज्ञ सेवा पाइरहेका हुन्। यसले यहाँका नागरिकलाई ठूलो राहत मिलेको अस्पतालको भनाइ छ। 

त्यस्तै मुटु रोगको उपचार, आँखाको शल्यक्रिया सेवा विस्तारको काम भइरहेको छ। त्यसका लागि अस्पतालले  तला थप गर्ने कार्य सुरु गरेको छ। अस्पतालले अप्थाल्मोलोजी र स्पाइनल सर्जरी सेवा थपेको छ। अक्सिजन प्लान्टको व्यवस्था र पाइपलाइन जडान तथा सञ्चालन हुँदै आएको छ।

यस्तै अस्पतालले ब्लड बैंक, फार्मेसी र एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ।  अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भौतिक पूर्वाधारको विकास, विशेषज्ञ उपकरण र जनशक्तिको व्यवस्थापनका कारण अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए। सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा छिमेकी प्रदेश लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत बिरामी आउने गरेको अस्पतालको भनाइ छ।  

दैनिक ६ सय बिरामीको उपचार

जटिल रोगको पनि उपचार हुन थालेपछि कर्णाली प्रदेश अस्पतालमा बिरामीको संख्या बढ्दो छ। हाल दैनिक ६ सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्। बिरामीको चाप बढेपछि अस्पताललाई चाप थेग्न हम्मेहम्मे पर्न थालेको छ। अस्पतालका अनुसार पछिल्लो तीन वर्षको अवधिमा मात्र ४ लाख १६ हजार ३ सय ३७ जना बिरामीले सेवा लिएका छन्। जसमा ३ लाख ६९ हजार ६ सय १७ जनाले ओपीडी र ४६ हजार ७ सय २० जना बिरामीले आकस्मिक सेवा लिएका हुन्। 

तथ्यांकअनुसार सेवा लिने बिरामीको संख्या हरेक वर्ष दोब्बरले बढ्दै गएको छ। बिरामीको चाप बढेपछि हाल ३ सय शय्याको यो अस्पताललाई ५  सय शय्यामा स्तरवृद्धि गर्ने काम भइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। उनका अनुसार अस्पतालमा पाँच सय शय्या सञ्चालनका लागि हाल थप भवन निर्माणको काम भइरहेको छ। डा. खड्काले अब प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। बिरामीको चाप बढेको भन्दै उनले कर्णालीवासीलाई अब कर्णालीमै सबै प्रकारका विशेषज्ञ उपचार सेवा दिन पनि प्रतिष्ठान आवश्यक भएको बताए।

प्रदेशकै गौरवको आयोजना

कर्णाली प्रदेश अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रूपमा लिने गरिएको छ। प्रदेश सरकारले आफ्नो उपलब्धि र सफलताको सूचीमा यही अस्पताललाई राख्दै आएको छ। अस्पतालको भौतिक विकास र सेवा प्रवाहमा भइरहेको प्रगतिका कारण पनि यसलाई प्रदेशकै गौरवको आयोजनाको रूपमा लिइएको हो। यसकारण पनि प्रदेश सरकारले अस्पतालको भौतिक विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ।

बिरामीको चापलाई मध्यनजर गरी आगामी तीन वर्षभित्र बालबालिकाको लागि छुट्टै अस्पताल निर्माण गरी सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ। 
त्यस्तै अब छुट्टै ओपीडी भवन निर्माण, बिरामी कुरुवा घरको निर्माण र अस्पतालको तला थप गरी सञ्चालनको तयारी भइरहेको हो। यस्तै आगामी वर्षमा विशेषज्ञ चिकित्सकद्वारा क्याथ ल्याब सेवा सञ्चालन गर्नुका साथै अस्पताल विकास समितिको दिगो आर्थिक स्रोतका लागि पसल सटर निर्माण गर्नेसमेत तयारी छ। कर्णालीवासीलाई सहज रूपमा उपचार सुविधा उपलब्ध गराउन अस्पताललाई पाँच सय  शय्याको बनाउन लागिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.