विश्वास गुमाउँदै लघुवित्त

लघुवित्तको सदस्य संख्या, ऋणी, नाफादेखि प्रतिफल पनि घट्दै

लघुवित्तको सदस्य संख्या, ऋणी, नाफादेखि प्रतिफल पनि घट्दै
फाइल तस्बिर।

काठमाडौं : लघुवित्तबाट लाभ लिनेको संख्या कम हुँदै गएको छ। लघुवित्तको ब्याजदर र असुली प्रक्रियासँग आजित हुनेको संख्या बढ्दा लघुवित्तको ऋणी र सदस्य दुवैमा भारी गिरावट आएको थियो। लघुवित्त पीडितहरूले समूह नै बनाएर आन्दोलनसमेत गरिरहँदा तथ्यले पनि केन्द्रीय बैंकबाट नियमन हुुने यी संस्थाबाट लाभ लिने घट्दै गएको देखाउँछ।

चालु आर्थिक वर्षको ६ महिनामै लघुवित्तबाट ऋण लिने ऋणीको संख्या साढे २ लाखले घटेको छ। असार मसान्तसम्म लघुवित्तहरूबाट कुल २९ लाख ८४ हजार जनाले ऋण लिएकामा पुस मसान्तसम्म घटेर २७ लाख ३६ हजार कायम भएको हो।

यसो त गत वर्षको असार मसान्तदेखि नै ऋणीको संख्या घट्दो छ। २०७९ असार मसान्तसम्म लघुवित्तबाट कुल ३३ लाख ३ हजार जनाले ऋण लिएका थिए। गत वर्षको पुस मसान्तसम्म यो संख्या घटेर ३२ लाख ६० हजारमा झरेको थियो। पछिल्लो १ वर्षमा ऋणीको संख्या ५ लाखभन्दा बढीले कम भएको हो।

ऋणको संख्या कम हुनुको कारण ‘एक ऋणी, एक लघुवित्त’ नीति रहेको नेपाल राष्ट्र बैंकको दाबी छ। केन्द्रीय बैंकको व्यवस्थाअनुसार एक व्यक्तिले एउटा लघुवित्तबाट मात्र ऋण लिन पाउँछन्। सोही नीतिको प्रभावस्वरूप ६ महिनामा ऋणीको संख्या ८.३३ प्रतिशतले कम भएको केन्द्रीय बैंकको तर्क छ।

केन्द्रीय बैंकको तर्कले ऋणीको संख्या कम हुनुको कारण देखिए पनि अर्को तथ्यले लघुवित्तप्रतिको निराशा देखाउँछ, त्यो हो सदस्य संख्यामा कमी आउनु। ६ महिनामा लघुवित्तका सदस्य संख्या १३ हजारले घटेको छ। लघुवित्तको अभ्यास सुरु भएदेखि बढेको सदस्य संख्यामा अहिले भने ब्रेक लागेको हो।

गत असार मसान्तसम्म लघुवित्तहरूको कुल सदस्य संख्या ६० लाख १६ हजार थियो। यो संख्या पुस मसान्तमा घटेर ६० लाख ३ हजार कायम भएको छ।

२०७९ पुस मसान्तसम्ममा ६४ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरू रहेकोमा केही लघुवित्त वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति भएपश्चात् यस बैंकको सुपरिवेक्षकीय दायराभित्र २०८० पुस मसान्तमा ५७ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्। ५७ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन्। लघुवित्त वित्तीय संस्थाहरूको शाखा विस्तार पछिल्लो समयमा सुस्तगतिमा रहेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या ०.३४ प्रतिशतले वृद्धि भएकोमा यस आर्थिक वर्षको दोस्रो त्रैमासमा भने मात्र ०.०६ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरू लुम्बिनी प्रदेशमा सबैभन्दा बढी छ। २०८० पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत (१,१५१ शाखा) रहेको छ। पहुँचका हिसाबले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून छ। कर्णालीमा कुल शाखा संख्याको ५ प्रतिशतमात्रै शाखाहरू (२३० शाखा) रहेका छन्।

नेपाल राष्ट्र बैंकको गैरस्थलगत अध्ययन प्रतिवेदनअनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको सापटी रकममा ह्रास आएको छ। यस्ता लघुवित्त वित्तीय संस्थाहरूको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी हुन्। २०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४८ अर्ब ३६ करोड वित्तीय स्रोत संकलन गरेका छन् जुन २०८० असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले कम हो।

आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिमा वित्तीय स्रोत संकलनमा ५.५७ प्रतिशतले वृद्धि भएको थियो। लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था रहेको छ। २०८० पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पँुजीको मात्र ४.६४ गुणा छ।

  •     पछिल्लो १ वर्षमा ऋणीको संख्या ५ लाखभन्दा बढीले कम भएको छ।
  •     ६ महिनामा ऋणीको संख्या ८.३३ प्रतिशतले कमी भयो । 
  •      २०८० पुस मसान्तमा आइपुग्दा ५७ लघुवित्ता वित्ताीय संस्था सञ्चालनमा ।


अर्कातर्फ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप र सापटी रकम बढाएका छन्। २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप संकलन १ खर्ब ६७ अर्ब ६४ करोड र सापटी रु. १ खर्ब ७५ अर्ब ८३ करोड गरी जम्मा ३ खर्ब ४३ अर्ब ४७ करोड वित्तीय स्रोत संकलन गरेका छन्।

कुल वित्तीय स्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ०.३० प्रतिशतले घटेकोमा यस आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ४.५३ प्रतिशतले बढेको छ। २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पुँजीको ७.६६ गुणासम्म पुगेको छ।

निष्क्रिय कर्जा दोब्बर

२०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्धि भएको छ। थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात् २.२५ प्रतिशत छ। २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको हो। यसैगरी खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ। २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ।

यस अवधिमा कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्धि भएको छ। लघुवित्त वित्तीय संस्थाहरूले २०८० पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ। २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो। आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ।

कहाँ गर्छन् लगानी ?

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा भने व्यापक वृद्धि भएको छ। २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी १२ अर्ब ४७ करोड पुगेको छ जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल लगानी ५३.७२ प्रतिशतले बढेको थियो।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा २०८० पुस मसान्तसम्म १० अर्ब ४६ करोड राखेका छन् जुन रकम २०८० असार मसान्तको तुलनामा ४३.५४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ७०.८४ प्रतिशतले बढेको थियो। लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानीमा वृद्धि भएको देखिन्छ।

नाफासँगै प्रतिफल घट्दै

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफामा ह्रास आएको छ। २०८० पुस मसान्तसम्ममा यस्ता लघुवित्त वित्तीय संस्थाहरूको ब्याज आम्दानी ३ अर्ब ७ करोड र ब्याज खर्च १ अर्ब ८१ करोड पुगेको छ। अर्थात् उनीहरूले कुल ५९ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २४.५८ प्रतिशतले कम हो।

अर्को  खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफामा पनि ह्रास आएको छ। उक्त लघुवित्त वित्तीय संस्थाहरूको २०७९ पुस मसान्तमा खुद मुनाफा २ अर्ब ४२ करोड रहेकोमा ८७ प्रतिशतले ह्रास आएर २०८० पुस मसान्तमा मात्र ३१ करोड कायम भइको छ। यस्ता लघुवित्त वित्तीय संस्थाहरूको ब्याज आम्दानी २४ अर्ब ७४ करोड र ब्याज खर्च १५ अर्ब ५२ करोड छ। यस अवधिमा ५४ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूमध्ये २१ वटा लघुवित्त वित्तीय संस्थाहरू खुद नोक्सानीमा छन्।

लघुवित्तको नाफामा गिरावट आउँदा उनीहरूले लगानीकर्तालाई दिने प्रतिफलमा पनि ह्रास आएको छ। गत आर्थिक वर्षको नाफाबाट अधिकांश लघुवित्तले लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन्। नाफा घट्दा यी संस्थाले आगामी आवमा पनि न्यून लाभांश दिने अनुमान लगाइएको छ।

निर्देशन परिपालना कस्तो ?

केन्द्रीय बैंकले जारी गर्ने निर्देशन परिपालनामा केही लघुवित्तबाहेक सबैले अनुशासित देखिएका छन्। पुँजीकोष अनुपातमा सुपर र सिर्जनशील लघुवित्तले, अनिवार्य मौज्दात अनुपातमा सुपर र समाजले र तरल सम्पत्ति अनुपातमा सुपरले अटेरी गरेको नेपाल राष्ट्र बैंकको गैरस्थलगत अध्ययन प्रतिवेदनले देखाउँछ।

लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ। तर, २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको पुँजीकोष ८ प्रतिशतभन्दा कम छ। राष्ट्र बैैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारबाही गरेको छ। अन्य ५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोषसम्बन्धीे निर्देशनको पालना गरेको छ।

२०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत तथा बिमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेका छन्। उनीहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत छ। साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्।

लघुवित्तहरूले यस अवधिमा २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्। उक्त रकम कुल बाँकी कर्जाको ४.९८ प्रतिशत र निष्क्रिय कर्जाको ७२.७४ प्रतिशत हो। ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तमा सुपर लघुवित्त र समाज लघुवित्तबाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.