गाउँको उपज, गाउँकै विद्यालयमा खपत

गाउँको उपज, गाउँकै विद्यालयमा खपत
साँफेबगरमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थामा तरकारी बेच्न पुगेका महिला कृषक।
सुन्नुहोस्

अछाम : साँफेबगर नगरपालिका– १२ खप्तडका धनबहादुर कडायत व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध छन्। उनी तरकारी खेतीसँगसँगै बाख्रापालन व्यवसाय पनि गर्छन्। उनको घरपरिवारको सबै खर्च यही व्यवसायबाट चलेको छ।

उनले सिजनमा ३० देखि ४० क्विन्टल आलु फलाउँछन्। अदुवा १५ देखि २० क्विन्टल फल्छ। अन्य तरकारीको उत्पादन पनि उस्तै छ। कृषि उपजले बजार नपाउने चिन्ता पनि उस्तै थियो कडायतलाई। खप्तड साँफेबगर नगरपालिकाको विकट वडा हो। खप्तडमा आलु र अदुवाका पकेट क्षेत्र मानिन्छ। गएको वर्ष २५ क्विन्टल अदुवाले बजार नपाउँदा त्यसै खेर गएको उनी सम्झिन्छन्। मेहनती र अगुवा कृषकको रूपमा परिचित कडायतलाई आजभोलि कृषि उपजले बजार पाउँदैन कि भन्ने चिन्ता छैन। कडायतले उत्पादन गरेका तरकारी अन्य कृषि उपज आजभोलि गाउँकै विद्यालयहरूमा खपत हुन्छ। 

साँफेबगर नगरपालिका– ३ की लक्ष्मी कडायतलाई तरकारीको डोको बोकेर बजार बजार डुल्नुपर्ने बाध्यताको अन्त्य भएको छ। लक्ष्मीले कहिले लागतभन्दा कम मूल्यमा बिक्री गरिन् त कहिले मूल्य नै नपाउँदा तरकारीको डोको नै घर फर्काउनुपर्ने बाध्यता हटेको छ। उनले चार रोपनीमा मौसमी बेमौसमी तरकारी खेती गर्छिन्। उनले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको आठ वर्ष भयो। लक्ष्मीलगायत अन्य कृषकहरूले फलाएको तरकारी आजभोलि घरबाटै बिक्री हुन्छ। उनले भनिन्, ‘तरकारीले बजार पाउँदैन भन्ने चिन्ता नै छैन। उत्पादन अझै बढाउने सोच गरेको छु, घरबाटै तरकारी बिक्री हुन्छ।’

  •     स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि कृषकहरूलाई राहत
  •     विद्यालयमा दिवा खाजाका लागि जिम्मेवारी लिएकाले कृषकको घरघरै पुगेर अन्न र तरकारी खरिद गर्दै 

साँफेबगरकै जयसरा कुँवर पनि विगत १७ वर्षदेखि तरकारी खेती गर्दै आइरहेकी छिन्। दुई छोराछोरीको पढाइ खर्च यसैबाट चलेको छ। उनले फलाएको तरकारी साफे बजारको प्रत्येक पसलमा पुग्छ। जयसराले पनि पसल गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। उनी आजभोलि तरकारी बोकेर सीधै हातेमालो सहकारी पुग्छिन्। विद्यालयमा दिवा खाजाका लागि जिम्मेवारी पाएका सहकारी संस्थाहरू कृषकहरूको घरघरमै पुगेर कृषि उपजहरू खरिद गर्छन्। स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि कृषकलाई राहत भएको छ। 

कृषि उपजहरूले उचित मूल्य पाउनुका साथै बजार डुल्नुपर्ने अवस्थाको अन्त्य भएपछि कृषकहरू हौसिएका छन्। साँफेबगर नगरपालिका– ४ मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले साँफेबगर नगरपालिकाभित्रका २० विद्यालयमा दिवाखाजा आपूर्ति गर्दै आइरहेको छ। हातेमालोले कृषकहरूबाट उत्पादित कृषि उपजहरू खरिद गर्ने गरेको छ।

हातेमालो सहकारीले कृषकहरूबाट तरकारी, धान, भटमास, कोदो खरिद गर्ने गरेको अध्यक्ष सुरत भुलले बताए। उनले भने, अहिले साँफेबगरका सबै कृषकहरूले यही सहकारीका ल्याउने गरेका छन्। अन्य पालिकाको समेत खरिद गर्छन्। कृषकलाई त्यतिबेलै हातमा पैसा दिने गरेको छौं।’ सहकारीसँग ७ टनको कोल्डस्टोर पनि छ। हातेमालो सहकारीले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएको भुलले बताए। 

चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमले किसानहरूलाई ऊर्जा थपेको बताए। गाउँपालिकाले स्थानीय रैथाने बाली संरक्षण प्रवद्र्धन अभियानमा लागेको सुनाए। पालिकाले विगत वर्षदेखि नै कृषिमा प्राथमिकमा पार्दै आएको अध्यक्ष साउदले बताए। उनले भने, ‘अन्य पालिकामा समेत हामीले आपूर्ति गर्दै आएका छौं, किसानहरूको घरघरमा सहकारी पुगेर खरिद गर्दा झनै सहज भएको छ। कोदो, भटमास, सिमी, कागुनो बेथे, स्थानीय जातको मकै संरक्षणमा जुटेका छौं।’ 

अछामका ५ सय १७ विद्यालयमा ५७ सहकारीमार्फत ३३ हजार ५ सय ३१ विद्यार्थीले दिवा खाजा पाइरहेका छन्। यस आर्थिक वर्षमा जिल्लामा दिवा खाजा कार्यक्रमका लागि १३ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.