चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन : १२ बुँदे घोषणापत्र जारी
काठमाडौं :‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ बाह्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ।
त्यस्तै, घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मूर्तरूप दिने कुरा उल्लेख छ।
लघुवित्तमा देखिएका विकृति, विसंगतिलाई अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ।
लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउनका लागि युवा परिचालन गर्ने, वातावरण अनुकूलता प्रवद्र्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउनेलगायत घोषणापत्रमा समेटिएको छ। समापन समारोहमा प्रतिनिधिसभासदस्य लीलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकाले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए। प्रतिनिधिसभाका सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झन्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन्।
कार्यक्रममा इनरुवा नगर पालिकाकी उपप्रमुख विनिता मेहताले लघुवित्तले महिलाको आर्थिक हैसियतदेखि नेतृत्व विकासमा समेतमा सहयोग गर्ने बताइन्। कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुराहरूलाई समुदायस्तरमा गएर लागू गर्न जोड दिए। कार्यक्रममा उत्कृष्ट लघुवित्तकर्मी तथा लघुवित्त संस्थालाई पुरस्कार वितरण गरिएको थियो।
यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था पुरस्कृत भएको छ। जीवन विकासले एक लाख रुपैयाँ प्राप्त गर्यो। सम्मेलन फागुन ५ र ६ गते दुई दिनसम्म चलेको थियो। प्रत्येक दुई—दुई वर्षमा सम्मेलन हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !