जीवन बेकार कहाँ छ र ?

सन्दर्भ

जीवन बेकार कहाँ छ र ?

जन्म होस् वा मृत्यु, हाम्रो हातमा त छैन। हामीले अमृत पिएर पनि आएका त होइनौं। बाँच्न आधारहरू धेरै छन्। खोज्न जरुरी छ। सबैले नखोज्लान्, खोज्नेहरूले अरूलाई भन्न, बुझाउन जरुरी छ। त्यसो त केही भए वा नभए अनि केही गरे वा नगरे पनि जीवन त चलिरहन्छ।

सबै कुराले सम्पन्न उनले किन त्यसो गरे ? अर्थात् केही महिनाअघि मेरा एकजना आफन्तले कोठामै आत्महत्या गरे, किन ? लक्का जवान छोरा यसरी गुमाउनु पर्दा परिवारमात्र होइन, पूरै समाज खल्बलियो। किन उनले आफूलाई यो संसारमा राखेनन् ? सबैका तर्क–बितर्क आआफ्नै ढंगबाट आदानप्रदान भए। कारण केही देखिएन या भनौं– न जानेले नै भनेर गए। उनीसँगै उनको घटनाको यथार्थ पनि गयो।

त्यो घटना घटेकै केही दिनपछि कोटेश्वरमा ९ कक्षामा पढ्ने विद्यार्थीले कोठामै पासो लगाएर आफैंलाई संसारबाट बिदा गरे। फेरि परिवारसँगै सबै विचलित बनायो। सुन्दा र देख्दा पनि अचम्म। घरनजिकै छिमेकीको घरमा लगभग २३÷२४ वर्षका अर्का युवकले विष पिएछन्। छिमेकीले अस्पताल लगेर उपाचार गरिदिए। उनी अहिले ठीक छन्। तर उनले किन विष पिएर आत्महत्या गर्न खोजे ? कुरा प्रस्ट भएको छैन न उनले पारे। यति राम्रो मान्छेले किन विष रोजे ? के उनलाई परिवारको याद आएन ? धन्य, छरछिमेकीले देखे नत्र... ? आज उनी यो दुनियाँमा हुन्थेनन्। जीवनको सबै सम्पत्ति सिध्याएर खाइनखाई काठमाडौं पढ्न पठाएको छोराको यस्तो चर्तिकलाले आमाबाको के हालत भयो होला ?

मान्छेलाई मरुँमरुँ किन लाग्छ ? मर्ने वातावरण कसरी पैदा हुन्छ ? सबै कुरा सम्पन्न भए पनि मान्छेको मनमा अभाव र छटपटी किन र कसरी आउँछ ? भौतिक रूपमा सम्पन्नले पनि मानसिक रूपमा आफूलाई किन विपन्न बनाउँछन् ? सम्भवतः यस्ता प्रश्नले सबैजसोलाई बिथोलेको हुनुपर्छ। सबैलाई थाहा छ कि एकदिन त सबैले संसारबाट बिदा हुनु नै छ तर आधा बाटोमै जीवनलाई किन ब्रेक गर्छन् ती जानेहरू ? गरिबीले, काममा असफल भएपछि अनि जीवनमा हार खाएपछि वा जिन्दगीमा आफूले चाहे जति सफलता नपाएपछि मन भाँचिनु स्वाभाविकै हो मान्छेमा। तर यहाँ सबै कुराले सम्पन्न हुनेहरू पनि जीवनमा नराम्ररी फसेका छन्। सोच्दछु– घाँटीमा डोरी लगाउने हिम्मत कसरी आउँछ मान्छेलाई ? विष खाने साहस कसरी जुट्छ मान्छेलाई ? अरूको त सकिन्न, आफ्नै शरीरमा आगो लगाउने आँट कसरी आउँछ मान्छेलाई ? जबकि तरकारी काट्दा चुलेसी वा चक्कुले हात रेट्छ र त सामना गर्न कठिन हुन्छ। हिँड्दा खुट्टामा ठेस लाग्छ र त पीडा खेप्न भारी हुन्छ। आफ्नै जीवनलाई तड्पाएर बिदा गर्नेले त्यो सम्भावित पीडा किन अन्दाज गर्न सक्दैनन् ?

मारेको र मरेको खबरहरू धेरै सुनिन्छन् अचेल। जसले समाजमा नकारात्मक सन्देश पनि फैलाएको छ। सोच्छु– यो धरतीमा जन्मन पाउनु हामीलाई चिट्ठा परेको हो। जन्म होस् वा मृत्यु, हाम्रो हातमा त छैन। हामीले अमृत पिएर पनि आएका त होइनौं। समय आएपछि जानु त सबैलाई छ तर चाँडै किन निमोठ्छन् आफूलाई मान्छेहरू ?

बाँच्न आधारहरू धेरै छन्। खोज्न जरुरी छ। सबैले नखोज्लान्, खोज्नेहरूले अरूलाई भन्न, बुझाउन जरुरी छ। त्यसो त जीवन चलिरहन्छ। केही नगरी जीवन बिताइदिनेहरू पनि हामीसँगै छन्। अनि समाज र राष्ट्रका लागि अतुलनीय योगदान गर्नेहरू पनि यहीँ छन्। नाममात्र कमाउनेहरू छन्, दाममात्र पनि कमाएकाहरू पनि छन्। नाम र दाम दुवै कमाउनेहरू पनि छन्। कसैले कुन क्षेत्रमा त कसैले कुन क्षेत्रमा, फरक यत्ति हो जहाँ जहाँ गरे पनि परिणाम पाउने हामी सबैले हो। जीवन जिउनुको अर्थ बुझ्न नसक्नेहरूले यसमा पनि प्रश्न गर्लान् त्यो फरक कुरा हो। जन्मन पाउनु र जीवनलाई सार्थक बनाउन सक्नुको अर्थ बुझ्नेले यसलाई फरक धारबाट सोच्लान्।

नायिका सञ्चिता लुइँटेलले अन्तर्वार्तामा भनेकी थिइन्– मैले मर्ने धेरै प्रयास गरें जीवनदेखि दिक्क लागेर। आज बाँचेर हेर्दा जीवन सुन्दर रहेछ। कस्तो अचम्म ! जीवनको बाटो देखाउने एक पत्रकार भने आफ्नो हत्या आफैंले गरे। जीवनलाई जितेर बाँच्नेहरू आज सुन्दर जीवन जिएर रमाएका छन्। केही दिनअघि यो वर्षको अन्तिम दिन सबै साथीभाइ खाजा खाँदै थियौं। एक मित्रले भने– ‘सानिमाको छोरा बानेश्वरस्थित आफ्नै घरको कोठामा तुन्द्रुंग भएछन्। प्रेमिकाले धोका दिएको भन्दै आत्महत्या गरेको तथ्य खुल्यो।’

कोही बैंकको ऋण तिर्न नसकेर त कोही घरव्यवहार मिलाउन नसकेर जीवनबाट बिदा भएका भेटिन्छन्। डिप्रेसन भएपछि संसार छोडेका छन्। एक्लो भएपछि अनि घृणाले चिथोरेपछि मान्छेमा नकारात्मक सोच पलाउँछ सायद। सृष्टिको लीला अपार छ। मान्छे हरेक कुरामा धेरै खोज्छ र अन्त्यमा भएको पनि उपभोग नगरी आफूलाई बिदा गर्छ। कस्तो अचम्म छ सोच ? कति धेरै कारण होलान् कि यति सुन्दर संसार पनि कुरूप लाग्ने ?

यत्ति सुन्दर संसार र जीवनलाई कुरूप ठानेर भागेर विलीन हुनु कायरता हो। शास्त्रले पनि आत्महत्या गर्नेलाई महापापी भनेको छ। संसारबाट विलीन हुनुअघि पाएको दुःख समाजले देख्दैन। अथवा हेर्न र स्याहार्न चाहँदैन। गरिब वा असहाय भयो भने साथमा कोही हुँदैनन्। पदमा हुने र हुनेखानेका पछि सबै हुन्छन्। केही नहुनेसँग अरू त के आफन्त नै बोल्दैनन्। रोग लाग्यो वा जीवनमा असफल भयो भने सबैले लखेट्छन्। के यो अवस्था बदल्न सकिन्न ? आम मानिसलाई गम्भीर भएर सोच्न आग्रह हो मेरो। किनकि सानो माया र सहयोगले कसैको जीवन बाँच्छ।

जीवनलाई अर्थपूर्ण बनाउनुमा जित छ सबैको। जीवनलाई सप्तरंगी इन्द्रेणी बनाउनुमा संसार मुठ्ठीमा छ हामी सबैको। ईष्र्या, डाह र जलनले उसलाई होइन, आफैंलाई खरानी बनाउने हो। त्यसलाई पछार्न खोज्नु मुख्र्यांइँ हो। बरु आफू उजस्तै वा अझ माथि पुग्ने प्रयास गर्नु सार्थक जीवन हो। यति गर्न सके हरेक मानिसको जीवन भव्य छ। हो त, जीवन बेकार कहाँ छ र ?


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.