परमात्मासँग आत्माको मिलन जस्तो सुखद उपलब्धि अर्को के होला ? मानिसहरू बित्थामा मृत्युसँग भयभीत हुन्छन्।
जे प्राप्त छ, त्यो पर्याप्त छ। जे भोगेको छु, अद्वितीय छ। जीवनयात्राका सिलसिलामा सामना गर्नु परेका कतिपय घटना सुनाउन लायक र केही आफैंमा सीमित राख्ने खालका हुँदा रहेछन्। कतिपय सहन गर्न कठिन भएका मानसिक घाउहरू समयरूपी मलमको उपचारबाट आफैं निस्तेज हुँदै जाँदा रहेछन्। हर्ष पनि, शोक पनि, ईष्र्या पनि र द्वेष पनि अस्थायी नै हुँदा रहेछन्। जीवनमा गुमाएको अवसरभन्दा प्राप्तिको वजन धेरै छ। यात्राका विभिन्न बिसौनीमा पाएको अपहेलनाभन्दा प्रेमको पल्ला भारी छ।
यात्राका सिलसिलामा कोही समान विचार राख्नेहरू भेट्टिए भने कोही भिन्न विचारका। ‘मुण्डे मुण्डे मतिर्भिन्ना’ भन्ने आर्ष वचनलाई मनन् गर्न सकियो भने सबै किसिमका अभिमत सहज लाग्दा रहेछन्। अनुभव गर्दै जाँदा वयोवृद्धको हकमा पनि आफ्नै किसिमको आनन्दभूमि फेला पर्दो रहेछ। यता पनि ठट्टा, मस्करी र मोजमज्जाका विषय रहेछन्। जसरी बालबालिकाको मनोरञ्जनको क्षेत्र उनीहरू सुहाउँदो र ‘युनिक’ हुन्छ, त्यसैगरी पाकाहरूको मनोरञ्जक भावभूमि पनि विशिष्ट हुँदो रहेछ।
व्यक्तिको सोचअनुसार प्रेमको परिभाषा भिन्न हुन्छ। ईश्वर उपासनाको विधि भिन्न हुन्छ। जीवनलाई हेर्ने दृष्टिकोण भिन्न हुन्छ। अध्ययन, मनन् र चिन्तनको प्रविधि र परिधि भिन्न हुन्छ। जीवनपथका पाइलाहरूको चाल भिन्न हुन्छ। जीवनका कठोर र मृदुल दुवै सच्चाइलाई मनन् गर्ने ढंग भिन्न हुन्छ। आफ्नो अस्तित्वको औचित्य जान्ने र आत्मपहिचान गर्ने शैली भिन्न हुन्छ। समाजलाई हेर्ने, बुझ्ने र अनुभव गर्ने रीति पनि भिन्न हुन्छ। परन्तु यात्राका विवशता, विवर्णता र भारी बिसाउने बिसौनी भने सबैका करिबकरिब उस्तै हुँदा रहेछन्।
जीवनपथको प्रारम्भिक पाइला चाल्दै गरेका युवा पत्रकारले पाका नागरिकलाई सोधेछन्, ‘तपाईंंको विचारमा जीवन के हो ?’ पाका नागरिकले उत्तर दिए ’, यात्रा रहेछ जीवन।’ पत्रकारले फेरि सोधे, ‘कस्तो यात्रा ?’ जीवनपथका अनेकौं बिसौनीमा तितामिठा अनुभव सँगालेका जानिफकार नागरिकले जवाफ दिए, ‘बालापनबाट किशोर वयतर्फ पदार्पण गर्दै जाँदा जीवनप्रतिको जिज्ञासा बढ्दै गयो। युवावस्थामा पुगेपछि समान उमेरका साथीहरूको विवाहमा जन्त जाँदा शरीरमा रोमाञ्च पैदा भएको थियो। लाग्थ्यो, अब मेरो पालो पनि छिट्टै आए हुन्थ्यो। अन्ततः मेरो पनि पालो आयो।
पिताले निर्माण गरेको घरको माया त लाग्थ्यो, किन्तु त्यसले मेरो महत्त्वाकांक्षा पूरा गर्न सकेन। मैले ‘म सुहाउँदो’ नयाँ घर निर्माण गरें। समयक्रममा छोराछोरी जन्मे। उनीहरूलाई बढाउँदै, पढाउँदै र सम्हाल्दै गर्दा आफैंलाई सम्हाल्ने र सम्भार गर्ने समय घर्केर गएको पत्तै भएन। एक दिन अकस्मात अन्तस्करणमा चैतन्य जागे झैं भयो। मैले ‘मेरो म’लाई ऐनामा मिहिन तरिकाले नियालेर हेरें।
कपाल आधा पाकेर तिलचामले भएछ। अनुहारमा थकान, परिपक्वता र अनुभवका धर्साहरू बसेछन्। जीवनपथमा खाएका अनेकौं ठक्कर र हन्डरले दुनियाँको रीतलाई चिन्ने क्षमता बढे झैं लाग्यो। अनि प्राप्त भएका प्रेम, सम्मान र सहयोगले सन्तोष मान्ने बहाना पाए झैं अनुभूति भयो। जीवनमा धेरैपटक जन्त गएँ। कहिले आफ्नै र कहिले अरूका लागि अस्पताल पनि धाएँ। अनि कुटुम्ब, छिमेकी र मित्रहरूको देहावसान हुँदा शोकाकुल हुँदै
मलाम पनि जानु पर्यो।’
जीवनपथका नवीन यात्री पत्रकारले भने, ‘कस्तो दुर्भाग्य है !’ वरिष्ठ महानुभावले सहज भावमा भने, ‘न यो दुर्भाग्य हो, न त सौभाग्य नै। यो त बस जीवनपथ हो।’
कुनै बिहानीमा शरीर फुर्तिलो महसुस हुँदा मनै चंगा हुन्छ। कुनै रातमा भने अतीतका दुःखद् पल र अनारोग्यले चिमोटेर सुत्न नदिने हुँदा आगामी बिहानभरि ज्यानै गरुंगो भएर दिग्दार लाग्छ। कतिले भन्छन्, ‘दिग्दारी लिनै हुँदैन।’ जसरी चंगापन जीवनपथको एउटा अंग हो, त्यसैगरी दिग्दारी पनि। यो मत्र्यलोक सुखदुःखको संगम हो। दिग्दारीसँग लड्न थाल्ने हो भने त त्यसले छाड्दै छाड्दैन। स्वीकार गर्ने हो भने बरु केही समयपछि आफैं बिदा लिएर जान्छ। यहाँ केही पनि चिरन्तन र अविनाशी छैन। आजको दिग्दारी भोलिको उमंगको पूर्वसूचना हुन सक्छ। यिनै फूल र काँडामाझको
यात्रा रहेछ जिन्दगी।
एक दिन सबैले यो मरणशील जीवनको भारी बिसाउनै पर्छ। प्रत्येक मनुष्यले पूर्वसूचना बेगर यो जगत्लाई सदाका लागि त्यागेर चरम गन्तव्यको यात्रामा निस्कनै पर्छ। जीवन अस्तित्वले प्रदान गरेको अतुल्य उपहार हो। हामी प्राप्त उपहारलाई बदल्न सक्दैनौं। जीवनपथ केही आनन्द, केही अन्योल केही खटास र केही मिठासको मध्यबिन्दु हो। विकसित देशकी एकजना वयोवृद्ध महिलाले सामाजिक सञ्जालमा लेखेको विवरण पढेको थिएँ। ‘म बिहान ज्यानले साथ नदिएका दिन यथार्थलाई स्वीकार गर्दै पल्टिरहन्छु। सकेको दिनमा सबेरै उठेर फूल र सब्जी रोप्छु। लामो जीवन पाएकोमा म आफैंलाई शौभाग्यशाली सम्झन्छु, रमाइलो लाग्छ। हरेक आइतबार नातिनातिना भेट्न आउँछन् र साँझ अबेर ‘डिनर’ गरेर जान्छन्। यदाकदा छोरो आएर हालखबर सोध्छ। मेरा पतिले आफू बितेर जाने समयमा भनेका थिए, ‘जे प्राप्त छ त्यसैलाई उपलब्धि मानेर बाँच्नू। यो संसारमा तिमीले जति पनि नपाएकाको संख्या ठूलो छ।’
जीवनपथ एउटा अविरल प्रतीक्षाको खेला र लीला रहेछ। बालकलाई ठूलो हुने प्रतीक्षा। किशोर किशोरीलाई पढाइ, प्रेम, विवाह र विलासिताको प्रतीक्षा। युवालाई जीवनलाई बेस र उत्तम बनाउने प्रतीक्षा। सन्तानवती भएपछि तिनैलाई लेखाउने, पढाउने र अरूभन्दा उम्दा बनाउने प्रतीक्षा। जीवनपथ भनेको कर्मबन्धनको भागदौड त रहेछ। त्यसैले लाग्दछ, सबैभन्दा फलदायी प्रतीक्षा त बरु वृद्धवृद्धाले पो गरिरहेका हुँदा रहेछन्। अविनाशी ब्रह्ममा लीन भएर एकाकार हुने प्रतीक्षाभन्दा उत्तम के होला ? परमात्मासँग आत्माको मिलन जस्तो सुखद उपलब्धि अर्को के होला ? मानिसहरू बित्थामा मृत्युसँग भयभीत हुन्छन्।
जीवन एक अविच्छिन्न उत्तराधिकारवाला यात्रा हो। एउटा पुरानो डुंगाले सधैं पुराना मान्छे मात्र बोक्दैन। उसले त दिनानुदिन नयाँ यात्री बोकिरहन्छ। एक दिन हजारौं यात्री बोकेको डुंगाको जीवन पनि समाप्त हुन्छ। केही दिनअघि बुद्ध एअरले एउटा पुरानो हवाईजहाजलाई ताजा जलले स्नान गराएर सधैंका लागि वि श्राममा पठायो। जीवनको अन्तिम दिनमा पनि उसले अनेकौं उडान भरेको थियो। कतिपय ऊभन्दा कान्छा विमान उमेर नपुग्दै पछारिए, परन्तु उसले आफ्नो परम आयुको आनन्द लियो। दीर्घजीवन वरदान हो। यात्राका सिलसिलामा ठक्कर लाग्नु, दाग लाग्नु, भाग पाउनु र भाग खोसिनु त जीवनपथका स्वाभाविक घटना मात्र हुन्।
आफूले परिश्रम गरेर उब्जाएको कुरा खान पाइएला या नपाइएला, चिन्ताको विषय होइन। आज म जुन फूलबारीमा काम गर्दैछु, त्यसलाई कुनै दिन अरू कसैले सजाएको थियो। मैले ‘मेरो’ भनेर अभिमान गर्ने गरेको यो उपवनमा आज म छु, भोलि अर्कै हुनेछ। म जुन वृक्षमा फलेको आँप खाइरहेको छु, त्यसलाई रोप्ने मान्छे आज जीवित छैन।
आज म जुन वायुयानमा चढेर देशदेशावरमा घुम्छु, त्यस विमानको पूर्वजलाई आविष्कार गर्ने राइटबन्धु आज यो दुनियाँमा छैनन्। आज म जुन बत्ती बाल्छु, त्यसको आविष्कार गर्ने एडिसन आज हामीमाझ छैनन्। आज म एउटा नेपाली हुनुको नाताले जुन महात्मा बुद्धमा गौरव गर्छु, उनी पनि उसै बखत यस जगत्लाई छाडेर गएका थिए। मेरो जीवन र मेरा तमाम सम्पदा र सामग्री नासोका रूपमा प्राप्त गरेका धरौट मात्र हुन्।