कलात्मक काव्यकारिता

समीक्षा

कलात्मक काव्यकारिता

‘धोबीघाट मेलोडी’मा ‘क्षणिकीहरू’, ‘अनुभूतिहरू’ र ‘अन्तर्दृष्टिहरू’ शीर्षकमा समाविष्ट आठ–आठ गरी जम्मा २८ निजात्मक निबन्धहरू छन्।

समकालीन नेपाली निबन्धमा ‘शब्दशिविर’ (२०७९) को प्रकाशनपछि निकै ख्याति कमाएका निबन्धकार मुकुन्दराज शर्माको दोस्रो निबन्धकृति ‘धोबीघाट मेलोडी’ (२०८१) को प्रकाशन निबन्ध साहित्यका पाठकका निम्ति खुसीको विषय हो। नेपाली सांगीतिक क्षेत्रमा संवेदनशील गीतकारका रूपमा स्थापित शर्माले निजको कठोर, कोमल भावानुभूतिलाई शक्तिशाली रूपमा प्रक्षेपण गर्ने प्रतिभाकै कारण निजात्मक निबन्ध लेखनमा गद्यशिल्पीका रूपमा पृथक् पहिचान स्थापना गर्न सफल भएका हुन्।

‘धोबीघाट मेलोडी’मा ‘क्षणिकीहरू’, ‘अनुभूतिहरू’ र ‘अन्तर्दृष्टिहरू’ शीर्षकमा समाविष्ट आठ–आठ गरी जम्मा २८ निजात्मक निबन्धहरू छन्। नेपाली निबन्धका पाठकले आफ्नो मनमस्तिष्कले साहित्यिक आस्वादका रूपमा अवश्य स्विकार्नेछन्। क्षणहरू खण्डमा समाविष्ट आठ निबन्धमध्ये एक ‘क्षणिकी विमर्श’ले निबन्ध विधाका क्षेत्रमा मौलिक दृष्टिकोणको उपस्थापन गर्न खोजेको छ। उनको विचारमा क्षणिकी निबन्ध विधाकै अकाट्य सदस्य हो तापनि यसमा केही शैलीगत र संरचनागत पृथक् विशेषता प्राप्त हुन्छन्। कुनै विशिष्ट घटनाले स्रष्टाका मनमा पारेको गहिरो प्रभावका कारण उत्पन्न शक्तशाली अनुभूति एवं चेतन तङ्खवलाई पृथक्–पृथक् वा संश्लेषित रूपमा प्रस्तुत गर्ने क्रममा क्षणिकीको जन्म हुन्छ। 

क्षणविशेषको आन्तरिक आघात वा गहिरो प्रभाव यसको प्रस्थान बिन्दु हो भने त्यसले उत्पन्न गरेको संवेदना, अनुभव र चेतनक्रमको विस्तार क्षणिकीको आयाम हो। क्षणविशेषका विकीर्ण चिन्तनलाई समाउने कार्य चेतनप्रवाह शैलीले पनि गर्छ तर विशिष्ट घटनाले उत्पन्न गरेका आन्तरिक प्रभाव त्यसको विस्तार, अनुभवको संयोजन र विचार निर्माणको प्रयत्न भने क्षणिकी लेखनमा सहजतापूर्वक हुन्छ।

यसको कथ्य संरचना एवं शैलीगत विशेषतालाई स्थापित गर्न उनका क्षणिकीहरूको विश्लेषण आवश्यक हुन्छ। यस खण्डमा समाविष्ट ‘मेरो ठेगाना के हो ?   ’, ‘डस्टिङ डट कम’, ‘मेरो रेडियो फुट्यो’, ‘होर्ता’, ‘भाषण गर्न जानु छ’, ‘जीवन ः एक मास्टरपिस रचना’ र ‘अनि हामीले भोज खायौं’ क्षणिकीहरू हुन् र क्षणिकी सिद्धान्तको व्यापक विमर्शपश्चात् स्थापित मान्यताका आधारमा मात्र तिनको पृथक् पहिचानको विश्लेषण सम्भव हुने देखिन्छ।

‘अनुभूतिहरू’ नामक दोस्रो खण्डमा ‘एउटा प्रेमपत्र’, ‘आइज न यार ः बात मारौं’, ‘भाग्यमानी रैछस् भुक्दै गरेस्’, ‘छ बाट छोडे’, ‘कलम चोर’, ‘मनभरि फुल्छ रहको तोरीबारी’, ‘म यस्तो गीत लेख्न सकूँ’ र ‘अल्जाइमर्सले निलेको शताब्दी’ शीर्षकका आठ निबन्ध छन्। जीवन भोगाइका अनेकानेक घटनालाई इमान्दारीका साथ संयोजन गर्दै तिनलाई अनुभूतिमय, तरल एवं भावावेगमय रूपमा प्रस्तुत गर्ने जमर्को यी निबन्धमा भएको हुँदा यिनलाई ‘अनुभूतिहरू’ शीर्षक खण्डमा क्रमबद्ध गरेको देखिन्छ। अर्थात् उल्लिखित निबन्ध अनुभूति प्रधान निजात्मक निबन्ध हुन्। तिनमा बाल्यकालीन, युवाकालीन र प्रौढ जीवनका विभिन्न सन्दर्भ जोडिएको हुँदा निजत्वको बहुआयामिकस्वरूप दृष्टिगोचर हुन्छ। ‘एउटा प्रेमपत्र’मा युवाकालीन प्रणयमूलक रंगीन अनुभूतिको कोलाज प्रणय दर्शनका साथ संश्लेषित भएको छ भने ‘अल्जाइमर्सले निलेको शताब्दी’मा वाद्र्धक्य एवं मृत्यु सन्दर्भित तीव्र मानवीय अनुभूति शक्तिशाली रूपमा प्रकट भएको पाइन्छ।

विसंगतिमूलक अनुभूति, विद्रोह र अस्तित्व खोजका दृष्टिले समेत पछिल्लो निबन्ध शक्तिशाली छ। पिताको मृत्युका कारण उत्पन्न आन्तरिक आघात, त्यसका प्रकम्पन, छटपटी र विद्रोहका स्वरहरूको संश्लेषणले यस निबन्धलाई शक्तिशाली तुल्याएको छ। ‘आइज न यार, बात मारौं’ शीर्षक निबन्धले बाल्यकालीन जीवनका रमणीय क्षणहरूको स्मरणका साथै तात्कालिक अनुभूतिहरूको रसास्वादन गराई प्रचुर मनोरञ्जनसमेत प्रदान गर्छ। आत्मकमजोरीहरूको उत्खनन र त्यसबाट मुक्त हुन मानिसले गरेका प्रयत्नलाई हास्यव्यंग्यात्मक रूपमा प्रस्तुति गरिएको हुँदा ‘छ बाट छोडें’ 
निबन्ध आकर्षक बनेको छ। 

‘अन्तर्दृष्टिहरू’ शीर्षक खण्डमा समाविष्ट ‘चम्चा पुराण’, ‘अस्पतालभित्रको सानो मन्दिर’, ‘ढाका टोपीको अमेरिका भ्रमण’, ‘एक थान टेलिभिजन बिक्रीमा छ’, ‘हरहर महादेव’, ‘पात्रो बाजे’, ‘हल्ला सुन्दै छु सरकार फेरिँदै छ रे’ र ‘नाता चुँडिएको पुस्ता’ शीर्षक निबन्धमा जीवन जगत्को सूक्ष्म अवलोकन, विविध अनुभवको संयोजन, व्यावहारिक चिन्तनको स्थापनाका साथै ध्वन्यात्मक रूपमा सामाजिक, सांस्कृतिक दिग्दर्शनसमेत गरिएको छ। यस खण्डका निबन्धहरू अनुभूतिमूलकभन्दा ज्यादा चिन्तनमूलक निबन्धहरूको खण्ड बनेकाले वैचारिक धरातलको विश्लेषणका निम्ति महŒवपूर्ण आधार सामग्री बन्न पुगेका छन्। यी निबन्ध अनुभूतिशून्य नै छन् त ?  त्योचाहिँ पटक्कै होइन। उनका सबै निबन्धमा निजत्वको प्रतिपादन भएको हुँदा अनुभूति र चिन्तन कतै पृथक् तथा कतै संश्लेषित रूपमा प्रस्तुत भएका छन्। तर तेस्रो खण्डका निबन्धहरूमा अनुभूतिको तुलनामा चिन्तनको आधिक्य रहेको हुँदा निबन्धको वैचारिक धरातलको विश्लेषणका निम्ति यी रचना महत्वपूर्ण छन्।

विचारप्रधान निबन्धका रूपमा रहेको क्षणिकी विमर्शमा समेत निजत्वको विशेषता प्राप्त हुन्छ। देशको सामाजिक, आर्थिक राजनीतिक आदि क्षेत्रमा व्याप्त चाकडी, चाप्लुसी प्रवृत्तिप्रतिको शिष्ट र मर्यादित व्यंग्य ‘चम्चा पुराण’मा प्राप्त हुन्छ भने ‘हरहर महादेव’मा हास्य र व्यंग्य झन्डै समानान्तर रूपमा प्रस्तुत भएको पाइन्छ। ‘अस्पतालभित्रको सानो मन्दिर’ निबन्ध भौतिकवादी र आध्यात्मिक चेतनाको चरम द्वन्द्व प्रतिपादनका साथै मानवीय पीडा उत्खनन गर्न समर्थ छ भने ‘हल्ला सुन्दै छु सरकार फेरिँदै छ रे’मा राजनीतिक चरम स्वार्थ, गैरजिम्मेवारीपन र त्यसले उत्पन्न गरेका निराशालाई मूर्तरूप दिइएको छ। जीवनप्रति सचेत हुँदाहुँदै पनि सम्भ्रममा बाँचेका सहिद पिताहरूको कारुणिक कथा बोकेको निबन्ध हो, ‘पात्रो बाजे’। खिया लाग्दै र खिइँदै गएको पुरानो पुस्ताको आशा एवं अपेक्षाको प्रतिपादनका दृष्टिले यो निबन्ध औधी मार्मिक र हृदयस्पर्शी छ। यसरी उनको तेस्रो खण्डका निबन्ध समसामयिक चेतनालाई मूर्त तुल्याउन प्रवृत्त देखिन्छन्।

‘धोबीघाट मेलोडी’को निबन्धको चर्चाका क्रममा त्यसमाथि लेखिएका भूमिकाको उल्लेख नगर्ने हो भने त्यो अपूर्ण नै हुन्छ। प्रा.डा. दयाराम    श्रेष्ठको ‘... सात–सात फन्को बस् !’ शीर्षकको भूमिका समग्र कृतिका अन्तरंग–बहिरंग पक्षको विश्लेषणपश्चात् यस्तो निष्कर्षमा पुगेको देखिन्छ– ‘शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, चिमोट्नुको मीठो ताल, जीवन–दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त निजी गीतको नाद सौन्दर्य पाइन्छ। ‘शब्दशिविर’ पछिको यो ‘धोबीघाट मेलोडी’ कम तेजिलो, वेगिलो र जोसिलो छैन। उनको गद्यशैलीले मलाई पागलै बनायो।” उनको यो भूमिका निसमालोचना लेख्न चाहनेका लागि राम्रो नमुना बन्न सक्ने देखिन्छ।

सी.के.    श्रेष्ठद्वारा लिखित ‘जोगीको कमण्डलुजस्तै’ शीर्षकको भूमिकामा शर्माका निबन्धगत प्रवृत्ति विषयमा यस्तो निष्कर्ष प्रस्तुत भएको छ– ‘शर्माका निबन्धमा निजात्मकता, समसामयिक व्यंग्य चेतना, गद्यशैलीगत विविधता, काव्यात्मकता, दार्शनिक चेतनाको स्पर्श, अनुभूतिको तीव्रता, भावको सघनता, वैचारिक स्पष्टता तथा शिल्पगत नवीनता छ। यो नै उनको गुणात्मक लेखकीय कौशल हो।’ ‘नमस्तुभ्यम’ शीर्षकको भूमिका निबन्धकारको छ र यसमा उनले निबन्ध सिर्जनाको पृष्ठभूमि र निबन्ध विधासम्बन्धी मान्यता स्पष्ट गरेका छन्, जुन उनका शोधार्थीका लागि निकै उपयोगी सामग्री बन्न सक्ने देखिन्छ। दिरेकलाल    श्रेष्ठद्वारा लिखित ‘धोबीघाट मेलोडी’ : ‘गणित साहित्य’ शीर्षकको प्रकाशकीयमा आफ्ना गुरुसँगको अन्तरंग सन्दर्भ प्रस्तुत भएको छ। कलाकार रवीन्द्र मानन्धरद्वारा सिर्जित कृतिको मुखपृष्ठमा रहेको चित्र निबन्धको मूल भावभूमि प्रकट गर्न समर्थ छ। कामना पब्लिकेसनद्वारा प्रकाशित २०२ पृष्ठको यस कृतिको मूल्य पाँच सय रुपैयाँ छ।

समग्रमा, कथ्यवस्तुको आन्तरिक अन्वय तथा भाषिक प्रवाहको निर्वाहका दृष्टिले उनका निबन्ध समृद्ध छन्। गद्यलेखनका सामान्य एवं साहित्यिक आयामभित्र उनको गद्यशिल्पको विशिष्ट स्वरूप दृष्टिगोचर हुन्छ। निबन्धलाई जोगीको कमण्डलु ठान्ने शर्माका निबन्धमा समाजका विविध पक्ष कथ्यवस्तुका रूपमा प्रस्तुत भएका छन् भने सम्बद्ध कथ्यवस्तुसँगको भोगाइ, अनुभव, अनुभूति र चिन्तन आदिको अन्वयका कारण पाठकसँगको तादात्म्य स्थापित भएको देखिन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.