पहिलो महिला राष्ट्रपति बन्छिन् या, ट्रम्प दोहोरिएलान् ?

अमेरिकामा राष्ट्रपति निर्वाचन

पहिलो महिला राष्ट्रपति बन्छिन् या, ट्रम्प दोहोरिएलान् ?
फाइल तस्बिर ।

अमेरिका : विकासको छलाङ मारेर विश्वशक्ति केन्द्र बनेको अमेरिकामा राष्ट्रपति चुन्नका लागि भोटिङ भइरहेको छ। निर्धारित मितिपूर्व नै भोट हाल्न पाउने संवैधानिक व्यवस्थाअनुसार हाल ‘अर्ली इलेक्सन’ भइरहेको छ। राष्ट्रपतीय निर्वाचनका कारण संसारकै ध्यान अमेरिकामा छ। अमेरिकाले इतिहासमा पहिलो महिला राष्ट्रपति पाउँछ या पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको नेतृत्व लिने सौभाग्य प्राप्त गर्ने छन् ? त्यसका लागि केही समय 

कुर्नै पर्ने हुन्छ। 

आजको अमेरिका विकासका हिसाबले विश्वको सर्वोच्च देश हो। अमेरिकामा मुख्य गरी दुईवटा मुद्दामा चुनाव भइरहेको छ, भन्दा सायद फरक नपर्ला। पहिलो हो, उग्रराष्ट्रवादको मुद्दा त्यसको नेतृत्व पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेका छन्। 

दोस्रो हो, निम्नमध्यम वर्गीय तथा मध्यमवर्गीय परिवारको उत्थान। जसको नेतृत्व कमला ह्यारिसले गरिरहेकी छन्। दुवैले आआफ्ना दाबी जनता सामु प्रस्तुत गरिसकेका छन्। दुवैका दाबी देश विकासको चरणलाई उपल्लो स्तरमा पु¥याउनु हो। यिनै मुद्दा लिएर राष्ट्रपतिका उम्मेदवार महिनौंदेखि देश दौडाहामा छन्। 

विशेषगरी ‘स्विङ स्टेट’हरूको भ्रमणमा उनीहरूले समय खर्चिरहेका छन्। स्विङ स्टेट अर्थात् परिवर्तनशील नागरिक बस्ने राज्य। अमेरिकालाई हेर्दा विकासको परिभाषा आजका मितिमा फरक छ, विकास भनेको बाटो घाटो, बिजुली, पुल, कुल कुलेसामात्रै होइनन्। विकास भनेको नियम कानुन परिमार्जनदेखि जनताको दैनिक जीवनस्तर उन्नति मुख्य हो। 

राष्ट्रपतिका दुवै उम्मेदवारले अमेरिकालाई अब्बल बनाउने प्रतिबद्धता सार्वजनिक गरिसकेका छन्। पूर्वराष्ट्रपति ट्रम्पले ‘मेक ग्रेट अमेरिका अगेन’ अर्थात् आजको अमेरिका र अमेरिकनहरूको भविष्य माथिल्लो स्तरको बनाउने नारा घन्काइरहेका छन्, भने अर्का उम्मेदवार ह्यारिसले अमेरिकाको सामाजिक, आर्थिक तथा विश्व नेतृत्वको धरातललाई थप बलियो बनाउँदै जनजीविका सुधार गर्ने नाराको नेतृत्व गरिहेकी छन्। 

यस पटकको निर्वाचनले अमेरिकामा विभेदको घृणा थप थपिन्छ या अमेरिकाले पूर्ण प्रजातन्त्रको अभ्यासलाई थप गिज्याउँछ त्यो पनि रोचक विषय छ, भन्दा हुन्छ। संसारभरका मानिसहरूको तन, मन, धन र बुद्धिले बनेको हो, आजको अब्बल अमेरिका। तिनै आप्रवासीहरूले भोग्दै आएको लाञ्छना, हेपाहा थप खेप्नु पर्ने हो साथै अमेरिकामा थप घृणा, गाली गलौजको थप बहस हुन्छ, त्यो यसै भन्न सकिन्न्। पूर्वराष्ट्रपति ट्रम्पले आप्रवासीहरूलाई फोहोरको थुप्रो, कुकुर बिराला खाने मनुष्य, आतंककारीलगायतका आक्षेप लगाउँदै आएका छन्। 

अर्को तर्फ कमला ह्यारिसले अमेरिका र अमेरिकी राष्ट्रपतिको विश्वभरको हैसियत अझै उचो बनाउने, बन्दुक आतंक नियन्त्रण गर्ने, विश्वभर मानवअधिकार, पूर्ण प्रजातन्त्रलगायतका पक्षमा जसरी वकालत गर्दै आएको छ, त्यसैगरी नेतृत्व लिने बताएकी छन्। पछिल्लो सम्बोधनका क्रममा पनि ह्यारिसले युक्रेनजस्ता देशहरूको सार्वभौम अधिकारका पक्षमा उभिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकी छन्। 

सोलोडोलो हेर्दा अमेरिकामा मानिसहरूले भटाभट अधिकार प्राप्त भएको जस्तो देखिन्छ तर अमेरिकामा अश्वेत र श्वेतको लडाइँ आज पनि उस्तै देखिन्छ। महिलाले सामान्य भोट खसाल्ने अधिकार अमेरिका स्वतन्त्र भएको १ सय ४४ वर्षपछि अर्थात् सन् १९२० मा प्राप्त भएको हो। अमेरिका सन् १७७६ मा स्वतन्त्र भएको थियो। संविधानको १९औं संशोधनपछि मात्रै महिलाले भोट हाल्ने अधिकार पाएका थिए। 

यो त भयो महिला र पुरुषबीचको विभेद। त्योभन्दा पहिले पुरुष पुरुषहरूका बीचमा पनि छालाको रंगमा विभेद थियो। अर्थात् अश्वेतहरूले १८६५ पछिमात्रै मतदानको अधिकार प्राप्त गरेका थिए। त्यो पनि ठूलै युद्ध जितेर। आज पनि अमेरिकामा श्वेत, अश्वेत, महिला, पुरुष, आप्रवासी, आदिवासी भन्ने विषयमा मन युद्ध छ।  

संसारलाई चुनाव, प्रजातन्त्र, मानवअधिकार, महिला अधिकार समान हुनुपर्ने चर्को नारा धन्काइरहेको अमेरिकाले आजसम्म महिला राष्ट्रपति निर्वाचित गर्न सकेको छैन। बल्ल तल्ल उपराष्ट्रपति बनेकी कमला ह्यारिसले श्वेतहरूको चर्को हेपाहा प्रवृत्ति खेप्नु परेकै कारण चुनाव पेचिलो बनेको हो। 

यदि अमेरिकनहरूले २१औं शताब्दीमा महिला राष्ट्रपति बनाउने अवसरका रूपमा लिएको भए, एक पटक परीक्षण भइसकेका पूर्वराष्ट्रपति ट्रम्पका लागि यो चुनाव केही असहज हुने थियो। तर आजका मितिमा चुनाव एक प्रतिशतमा मात्रै फरकमा छ। त्यो भनेको सार्वजनिक भएका पोलहरूलाई आधार मान्ने हो भने दुवैको अंकमा झिनो मतान्तर छ। 

कसरी हुन्छ अमेरिकामा राष्ट्रपतीय निर्वाचन, इलेक्टोरल भनेको के हो ?    

अमेरिकामा राष्ट्रपतिको चुनाव प्रत्यक्ष नभई अप्रत्यक्ष रूपमा हुन्छ। त्यो भनेको मतदाताले सीधै राष्ट्रपतिलाई भोट हाल्ने होइनन्। पहिले इलेक्टोरल कजेज भनिने प्रतिनिधिहरूलाई चुनिन्छ। जसले अन्ततः राष्ट्रपति छनोट गर्नेछन्। यो प्रणाली प्रत्येक राज्यको जनसंख्याका आधारमा निश्चित संख्यामा इलेक्टोरल कलेज सदस्य छानिन्छन्। प्रत्येक राज्यका इलेक्टोरलहरूको संख्या त्यस राज्यका दुई सिनेटर र तिनका जनप्रतिनिधिहरूको संख्या मिलाएर तोकिन्छ। ठूला राज्यहरू क्यालिर्फोनिया र टेक्ससजस्ता राज्यहरूमा धेरै इलेक्टोरल हुन्छन्, भने साना राज्यहरूमा थोरै।  

अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरहरू हुन्छन्। त्यो भनेको राष्ट्रपतिका उम्मेदवारले कम्तीमा २ सय ७० मत पाउनुपर्ने हुन्छ। यो प्रणालीमा पनि मत खेर जाने कि नजाने भन्ने कुरा राज्यको चुनावी प्रणालीमा भर पर्दछ। यदि यो संख्या कुनै उम्मेदवारले पु¥याउन नसकेमा अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपतिको छनोट गर्दछ। 

अमेरिकामा अधिकांश राज्यहरूले ‘विनर टेक्स अल’ नामक नियम प्रयोग गर्दछन्। जसको अर्थ हुन्छ चुनाव जित्ने उम्मेदवारले त्यो राज्यका सबै इलेक्टोरल भोट प्राप्त गर्छन्। यसो गर्दा अन्य उम्मेदवारलाई दिइएको मत भने खेर जान्छ। यसमध्येमा पनि मेन र नेब्रास्कामा फरक छ। त्यो भनेको प्राप्त इलेक्टोरल मतहरू कंग्रेस डिस्ट्रिकअनुसार बाँडफाँट गरिन्छ। जनताले मतदान गरेर यसरी इलेक्टोरल प्रतिनिधि छनोट गर्छन्, भने यसरी छनोट भएका प्रतिनिधिले अन्ततः राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन्। 

जुन उम्मेदवारले राज्यमा जित्दैन्, उसका लागि खसाइएका मत भने खेर जान्छ। त्यो भनेको प्राप्त मतका आधारमा यदी इलेक्टोरलले जितेन भने त्यो मत खेर गयो। यसो हुँदा राष्ट्रपति या समर्थक पार्टीका उम्मेदवारलाई दिइएका भोटहरू खेर गए। 

स्विङ स्टेट भनेको के हो ?     

जुन राज्यमा डेमोक्र्याट र रिपब्लिकनको स्थिर बहुमत हुँदैन्, ती राज्यहरूलाई स्विङ राज्य भनिन्छ। हालसम्मको नतिजालाई हेर्दा त्यस्ता राज्यहरूनै चुनावी नतिजाका लागि निर्णायक हुने गरेका छन्। राष्ट्रपतिका उम्मेदवारहरू तीनै राज्यमा दौडधुप बढाइरहेका छन्। किनकि त्यहाँको मत परिणाम परिर्वतनशील हुन्छ। 

अमेरिकामा स्विङ राज्य भन्नाले फलोरिडा, पेन्सलभेनिया, ओहायो, मिसिगन, विस्सकन्सिन, एरिजोना, जर्जिया र नर्थ क्यारोलिनालाई चिनिन्छ। अमेरिकामा चुनावी प्रणालीको पनि चर्को अलोचना हुने गरेको छ। यस अघि पूर्वराष्ट्रपति ट्रम्पसँग चुनावमा भिडेकी हिलरी क्लिन्टनले लोकप्रिय मत धेरै प्राप्त गरेकी थिइन्। यस्तो चुनावी प्रणालीले जनमतको सही कदर नभएको भन्दै आलोचना हुने गरेको छ भने यस्तो चुनावी प्रणालीले साना राज्यहरूको प्रभाव पनि सुनिश्चित गर्ने र अमेरिकाको संघीय संरचनालाई समर्थन गर्छ भनेर भनिन्छ। नोभेम्बरमा हुने अन्तिम निर्वाचनमार्फत अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ, या पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन पाउँछन्, त्यो भने केही साता कुर्नै पर्ने हुन्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.