अन्नपूर्णकर्मीलाई कुट्ने प्रहरीलाई कारबाही गर्न सरकारी वकिलको सिफारिस

अन्नपूर्णकर्मीलाई कुट्ने प्रहरीलाई कारबाही गर्न सरकारी वकिलको सिफारिस

राजविराज : अन्नपूर्ण पोस्ट् दैनिकका संवाददाता मनोहर पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाही गर्न जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले बिहीबार सिफारिस गरेको छ। 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ (२) बमोजिम जिल्ला प्रहरी कार्यालय सप्तरीले दर्ता गर्न इन्कार गरेको उजुरी आवश्यक कारबाहीका लागि पठाउने निर्णय भएको जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बताए।

संहिताको दफा ५ (१) मा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दरखास्त दर्ता नगरेमा सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको कार्यालयमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ। यस्तै दफा ५ (३) मा 'जाहेरी दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा (३) बमोजिम दर्ता गरी कारबाही गर्नु पर्नेछ' उल्लेख छ।

समाचार संकलन गरेर फर्किँदै गरेका बेला अन्नपूर्णकर्मी पोखरेललाई जिल्ला प्रहरी कार्यालयको परिसरमा साउन १५ गते असई राजेश्वर महतोले कुटपिट गरेका थिए। उनीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगे पनि एसपी नरेन्द्रकुमार कार्कीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पोखरेल जिल्ला सरकारी वकिलको कार्यालय गएका हुन्।

कुटपिट घटनाको साढे एक महिना बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न वा दरपिठ गर्न नमानेपछि सरकारी वकिलको कार्यालय जानु परेको महासंघ सप्तरीका निवर्तमान अध्यक्ष जितेन्द्र खड्काले बताए। 

प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ सप्तरी शाखाका कार्यसमिति सदस्य दिनानाथ यादव, इन्सेक प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका अधिवक्ताहरू राजकुमार महासेठ र कुमारप्रसाद थपलियासहित पीडित पोखरेल जिल्ला प्रहरी कार्यालय गएका थिए।

कुटपिट गरेको स्वयम् आरोपितले घटना लगत्तै स्विकार गरेको, प्रहरी कार्यालयमा रहेको सीसीटीभीमा समेत प्रमाण रहेको र पोखरेलमाथि दुर्व्यवहार/हातपातमा संलग्न भन्दै असई महतोलाई साउन १६ गतेदेखि नै प्रहरीले निलम्बन गरेको अवस्थामा प्रहरीले आन्तरिक कारबाहीको निर्णय समेत गरेको छैन। 

जिल्ला प्रहरी कार्यालय समेत भएको गर्भपतन मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट २०८० जेठ २६ गते भएको परमादेश अनुसारको पत्र बुझे पनि उजुरी दर्ता नभएकोमा निवेदकको आग्रहमा साउन १५ गते प्रहरी कार्यालय जाँदा पोखरेलमाथि असई महतोले मुक्का र बुटले आक्रमण गरेका थिए। पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको थियो। 

प्रहरीबाट भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले एक सातासम्म आन्दोलन गरेपछि साउन ३० गते दोषी असई महतोलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने प्रहरी, प्रशासनले प्रतिबद्धता गरेको थियो। 

कुटपिट घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, फोरम एसिया, इन्सेक, नेपाल पत्रकार महासंघ सप्तरी, मधेस प्रदेश, केन्द्रीय कार्यालय, आमसञ्चार प्राधिकरण जनकपुरधाम, पत्रकार तथा मानव अधिकार सम्बद्ध विभिन्न संघ–संगठन, सप्तरी जिल्ला वार इकाई, राजविराज उच्च अदालत वार एशोसिएशन, गैसस महासंघ सप्तरी, सामुदायिक सेवा केन्द्र, सप्तरी र सप्तरीमा क्रियाशील ६ राजनीतिक दल लगायतले दोषी प्रहरीलाई कारबाही गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.