संविधान दिवसमा इलामले ‘मिस’ गरेका सुवास

इलाम : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका बाल्यकालका साथी नेपाली कांग्रेसका नेता वेनुपराज प्रसाईले संविधान दिवसको दिन आफ्नो प्रिय साथीलाई दिनभरी ‘मिस’गरे। उनले जस्तै इलामेहरुले उनलाई सझिए र भक्कानिए। प्रसाई भन्दै थिए ‘संविधानसँगै अम्बर भएर गयो।’
नेपाली जनताले नेपालको संविधानसँगै नेम्वाङलाई सम्झिरहने प्रसाईको भनाई छ। प्रसाईका साथीभाईले सम्झने अरु धेरै कारण होला तर संविधान निर्माणका लागि उनले खेलेको भूमिकाका लागि देशले सम्झने प्रसाईको भनाई छ। नेम्वाङका अर्का साथी मानबहादुर खड्गीले बाल्यकालदेखि नै सबैसँग मिल्ने र समन्वय गर्ने नेम्वाङले संविधान निर्माणको कठिन काममा पनि त्यही समन्वय गर्ने क्षमता प्रयोग गरेर नेपाली जनताको सपना साकार पारेको बताए।
नेम्वाङले इलामको सूर्योदय नगरपालिकाको फिक्कल चोक बजारमा एमालेको नगर कमिटीले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै नेम्वाङसँग लामो संगत गरेका एमाले नेता काजीमान कागतेले नेम्वाङको अनुपस्थतिमा संविधान दिवस पनि खल्लो भएको बताए।
नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराईले नेम्वाङ पार्टीको नेताभन्दा पनि संविधानका निर्माता र इलामेको अभिभावक भएको बताइन्। नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’को बुझाईमा नेम्वाङ वर्तमान संविधानका निर्माता हुन्। उनले संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेको उपाध्यक्ष थापाले बताए।
नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले संविधान मिच्ने कतिपय कदमले स्वर्गीय पितालाई चिन्तित बनाउने गरेको बताए। उनले संविधानको रक्षा र समृद्धिले मात्रै नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। उनले आफू पिताको छत्रछाँयामा हुर्केपनि राजनीतिमा सक्रिय नभएको बताए। उनले राजनीतिक परिवारमा जन्मैकै कारण कसैले अवसर पाउनुपर्छ भन्ने नठानेको बताए। इलाममा नेम्वाङको निधनपछि उनका कान्छा छोरालाई इलाम- २ मा हुने उप-निर्वाचनमा उम्मेदवार बनाउन सक्ने सम्भावनामा चर्चा भइरहेको समयमा उनको यस्तो अभिव्यक्ति आएको हो।
सालिन छवि बनाएका नेम्वाङ २०५६ सालमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएका थिए। इलाम बजारनजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए। २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल परेका थिए, उनी। २०४८ र २०५२ सालमा राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका उनी २०५६ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए।
२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए। २०७४ र २०७९ मा समेत उनले इलाम–२ बाट निर्वाचन जितेका हुन्। संघीय सांसद एवं नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीले इलाम नगरपालिका सातमा रहेको नेम्वाङको घर भएको क्षेत्रलाई नेम्वाङको प्रतिमासहितको उद्यान निर्माण गर्ने निर्णय गरेको बताए।
इलामको सूर्योदय नगरपालिकामा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको नेम्वाङको श्रद्धाञ्जली सभा।
प्रतिक्रिया दिनुहोस !
