संसदीय समितिमा देशको सुरक्षाबारे छलफल

‘गृह प्रशासन बेवारिसेजस्तो भयो, दलाल र बिचौलीयाले सीडीओ फेर्छन्’

‘गृह प्रशासन बेवारिसेजस्तो भयो, दलाल र बिचौलीयाले सीडीओ फेर्छन्’
तस्बिर : अन्नपूर्ण

काठमाडौं : प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई कम्तीमा दुई वर्षसम्म एउटै जिल्लामा राख्नुपर्ने माग उठेको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आइतबार सुरक्षा विज्ञहरूले प्रमुख जिल्ला अधिकारीलाई भूगोल बुझ्न नै कम्तिमा दुईदेखि तीन महिना लाग्ने भएकाले छिटोछिटो परिवर्तन हुने परिपाटीको अन्त्य हुनुपर्ने बताएका हुन् । पूर्वगृहसचिव खेमराज रेग्मीले अहिले दलाल र बिचौलीयाले सीडीओ फेर्ने गरेको बताए ।

रेग्मीले भने,‘४/६ महिनापनि जिल्लामा सीडीओ बस्न नपाउने अवस्था छ । प्रशासन संयन्त्र अस्थिर छ । नेताहरूमा आफ्नो मान्छेलाई सीडीओ बनायो भने चुनाव जितिन्छ भन्ने प्रवृत्ति हावी छ ।’त्यसैले पनि सीडीओ कुनै जिल्लामा सरुवा भए दुई वर्ष बस्ने प्रणालीको विकास गर्न जरुरी रहेको उनले बताए।  उनले सीडीओ पठाउँदा भूगोल बुझेकालाई प्राथमिकता दिनुपर्ने बताए । रेग्मीले भने,‘अहिले चेन अफ कमाण्ड बिग्रिएको छ। भोलि नेपाल प्रहरीको प्रमुख(आईजीपी) को हुने भन्ने सुनिश्चितता छैन । त्यसले गर्दा वरिष्ठ पछि पर्ने र कनिष्ठ अघि बढ्ने हुन्छ । र, प्रहरीभित्र गुटबन्दीको सृजना हुन्छ । ’ 

एकजना सीडीओको एक वर्षमा आठ पटक सरुवा हुने गरेको अधिकांश सुरक्षा विज्ञहरू बताउँछन् । पूर्वसचिव बामनप्रसाद न्यौपानेले भूगोल,जनसंख्या,राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता राष्ट्रिय सुरक्षाका आधारहरू भएको उल्लेख गर्दै अहिले राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताए । 

सीमा क्षेत्रमा बढ्दै गएको संगठित अपराध नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सुरक्षा विज्ञ केशरबहादुर भण्डारीले संविधानको सुरक्षा पनि राष्ट्रिय सुरक्षासँग जोडिएको बताए । ‘राष्ट्रिय सुरक्षा नीति सार्वजनिक भएको छैन,लुकाइएको छ । राष्ट्रिय सुरक्षा नीति सार्वजनिक चासोको विषय भएकाले पनि सार्वजनिक हुन जरुरी छ ,' भण्डारीले भने।'

राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्तिकरण गर्नुपर्ने बताए । भण्डारीले भने,‘दरिलो राष्ट्रिय सुरक्षा नीति बनाऔं । अहिले त राष्ट्रिय सुरक्षा परिषद् काम नपाएर कर्मचारी थन्काउने ठाउँजस्तो भयो । ’ नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहले नेपाल प्रहरी ऐन कार्यान्वयन गर्न सकिएमात्रै आन्तरिक सुरक्षा सुदृढ हुन सक्ने बताए । सिंहले भने, ‘राजनीतिक अस्थिरता हुँदा प्रहरी प्रशासन कमजोर भयो । प्रहरीमा अहिले पनि संघीयता लागू हुन सकेको छैन ।’

सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक रविराज थापाले प्रहरीभित्र उमेरहद हटाउनुपर्ने बताए । प्रहरीभित्रको उमेरहद हटाउन सकिए प्रहरीभित्र देखिएको नैराश्यता धेरै हदसम्म अन्त्य हुने थापाको भनाइ छ । उनले राष्ट्रिय अनुसन्धान विभाग अहिले निकै कमजोर भएको बताए ।

पूर्वरक्षासचिव आत्मराज पाण्डेले अहिले सुरक्षा प्रणाली कमजोर भएको बताए । पाण्डेले भने,‘सरकार परिवर्तन हुनासाथ पार्टीबाट आफ्नो मान्छेलाई सीडीओ बनाइदिनुपर्‍यो भनेर नाम आउँछ । गृह प्रशासन बेवारिसे जस्तो भयो । गृह प्रशासनको छुट्टै समूह बनाउनुपर्‍यो । सुरक्षा प्रणाली द्रूत बनाउन वृत्ति विकासमा पनि सरकारले जोड दिनुपर्ने देखिन्छ । ’

पूर्वगृहसचिव रेग्मीले राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत हुनुपर्ने बताए । रेग्मीले भने,‘राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट प्रधानमन्त्री कहाँ गइहाल्छ । अर्को कुरा सुरक्षा निकायका नेतृत्वले प्रत्येक साता एकपटक प्रधानमन्त्रीलाई सुरक्षाबारे ब्रिफिङ गराउने चलन पनि छ । अनि किन फेरि विभागलाई प्रधानमन्त्री मातहत राख्नुपर्ने ? शान्ति सुरक्षाको अभिन्न अंग राष्ट्रिय अनुसन्धान विभाग भएकाले पनि यसलाई गृह मन्त्रालय मातहत राख्नुपर्छ । ’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती)ले राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, संस्थागत संरचनालगायतका विषयमा अब गृह र रक्षा मन्त्रालयका अधिकारीसँग छलफल गरेर निष्कर्षमा पुगिने बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.