आन्दोलनकारीले लुकाएको सञ्चार सेट बरामद

आन्दोलनकारीले लुकाएको सञ्चार सेट बरामद
प्रहरीले बरामद गरेको संचार सेट (वाकीटाकी) ।

विराटनगर : कोसी प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधरले लुकाएर राखेको सञ्चार सेट (वाकीटाकी) विराटनगरबाट बरामद भएको छ ।

सुरक्षा निकायले मात्रै प्रयोग गर्न मिल्ने संचार सेट विराटनगरको संगम पार्टी प्यालेसबाट प्रहरीले शुक्रबार बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पार्टी प्यालेसभित्र लुकाएर राखेको अवस्थामा ४ वटा सेट बरामद गरिएको जानकारी दिए । कोसी प्रदेशको राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका पहिचानवादीले संगम पार्टी प्यालेसमा ‘युवा दस्ता’ घोषणा कार्यक्रमको आयोजना गरेका थिए । ‘पहिचानका लागि युवा दस्ता’ नाम दिएर कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमस्थलबाट संचार सेट बरामद भएपछि थप अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बरामद गरेको सेट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

‘लुकाएर राखेको ठाउँबाट संचार सेट बरामद भएको हो । पहिचान पक्षधरले नै प्रयोग गर्नका लागि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी दाहालले भने, ‘यस्तो सेट सुरक्षा निकायबाहेक अरुले प्रयोग गर्न मिल्दैन । आवश्यकता परेमा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ ।’ उनका अनुसार विशेष गरेर यस्तो सेट स्वीकृति लिएर सेक्युरिटी कम्पनीले र हाइड्रोपावर निर्माणस्थलमा प्रयोग गर्ने गरिएको छ । 

सम्बन्धित निकायसँग अनुमति लिएर आन्तरिक संचारका लागि सुरक्षा गार्ड तथा पहाडी जिल्लातिर निर्माण गरिने हाइड्रोपावरभित्र यस्तो सेटको प्रयोग गर्ने गरिएको हो । प्रहरीका अनुसार पहिचान पक्षधरले आफूआफू कुरा गर्नका लागि यो सेटको प्रयोग गरिएको बताएका छन् । तर, बिना अनुमति प्रयोग गर्न नमिल्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने र कोसी नाम खारेज हुनुपर्ने मागसहित आन्दोलनलाई जारी राखिएको बताए । ‘हामीले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ । आन्दोलनलाई सफल बनाउन ‘युवा दस्ता’ तयार पारिएको छ,’ उनले भने, ‘हाम्रो मागको सुनुवाइ नभएका कारण निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको हो । राज्यसँग भिड्ने तयारीसहित आन्दोलन गर्ने तयारी छ ।’

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । पहिचानलाई नसमेटिकन प्रदेशको नामकरण गरिएको भन्दै पहिचान पक्षधर असन्तुष्ट बनेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.