एमाले फुटाएर एस बनाएका नेपाल भन्छन् : धेरै पार्टीको पसल खुल्यो भन्ने कुरा छ, एउटै कम्युनिष्ट पार्टी बनाउन लागौं
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग जोडबल नभएकाले एकता हुन नसकेको बताएका छन्। शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा एकीकृत समाजवादी र माओवादी केन्द्रको एकअर्काबाट जोडबल नभएकाले एउटै पार्टी बन्न नसककेको धारणा राखे।
एकीकृत समाजवादी पार्टी स्थापनाका पृष्ठभूमीको दस्तावेज आउन लागेको जानकारी दिँदै उनले भने,‘अलिकति कोर्स लिएको भए तपाईं, हामी एउटै ठाउँमा, एउटै संगठनमा एउटै भएर लाग्थ्यौं होला। यहाँ अलिकति जोडबल पुगेन कि क्या हो ? अलिकति हाम्रो पनि ध्यान १० तिर छरिएका थिए क्या हो। अतिकति लामो समय लिएर कुरा गएको भए एक हुन्थ्यो कि। इतिहासले बेग्लै कोर्स लिने थियो। ’
नेपाली समाजलाई समाजवादी बाटोको दिशामा लानुपर्ने धारणा नेपालले राखे। उनले कम्युनिस्ट पार्टीको पसल एउटै भएको भए उपयुक्त हुन्थ्यो भन्ने सबैलाई लागेको टिप्पणी गरे। ‘धेरै पार्टी हुँदा कति धेरै पसल खुलेको भन्ने कुरा छ। पसल अलग-अलग नभएको भए एउटै भए, एउटा विशाल भण्डारण त्यहिँ हुन्थ्यो।’ उनले भने,‘त्यसका लागि हामी सबैको प्रयास आवश्यक छ। अहिलेको अवस्थाबाट नै हामी आत्तिनु हुँदैन।’
उनले वामपन्थी/ कम्युनिष्टहरुको एकता नयाँ उचाईमा पुगोस् भन्ने कामनासमेत गरे।