राजनीतिमा अपराध घुलेपछि...

अपराध र राजनीति चिनी र पानी घुलेर बनेको सर्बत जस्तो छ। राजनीतिबाट अपराध छुट्याउन कठिन छ। अपराधपूर्ण राजनीतिकै कारण मुलुकको दुर्दशा भएको हो।
नागरिक नेपाली। तर, आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने/पठाउने कार्य गम्भीर अपराध हो। हालसम्मको अनुसन्धानले यो कार्यमा तत्कालीन सरकारकै मन्त्रीहरू र उच्च तहका कर्मचारी पनि सहभागी भएको देखिन्छ। यो प्रकरणले देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाइरहेको छ।
सरकारले नै आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाउनु अन्तर्राष्ट्रिय तहकै अपराध हो। सरकारका उच्च तहबाटै भएका यस्तो कार्य विश्वका अन्य देशमा बिरलै भेटिन्छन्। नेपालको इतिहासमा त पहिलो होला। यो सरकारवादी मुद्दा हो। सरकारले नै लगाउनुपर्छ। प्रहरीको दायित्व अनुसन्धान गर्ने हो। सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिसकेको छ। यो मुद्दामा शीर्ष नेताहरूको संलग्नता देखिन्छ।
अब अमेरिकाले पनि यो मुद्दालाई त्यत्तिकै दबाउन दिँदैन। तर, अपराध गर्ने नेतृत्व तहसम्म अनुसन्धान पुग्छ जस्तो लाग्दैन। सामाजिक सञ्जाल एवं आमनागरिक तहबाट जुन आवाज उठेको छ, त्योअनुसार अनुसन्धान र अभियोजन हुने हो भने शीर्ष नेतृत्व पनि जोगिँदैनन्।
यो प्रकरणलाई हेर्दा देशद्रोहको काम भएको प्रस्ट हुन्छ। यो राज्यविरुद्धको अपराध हो। यसले मुलुकको बदनाम भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालमात्रै संलग्न भएर मुद्दा उजागर भएको होइन। अमेरिकाले पनि निकै ठूलो चासो देखायो। युरोपेली युनियनले पनि चासो राखेका छन्। किनभने अमेरिका र युरोपेलि युनियनले शरणार्थीलाई आश्रय दिएर अन्तर्राष्ट्रिय स्तरमा छवि उच्च बनाएका थिए।
अपराध र राजनीति चिनी र पानी घुलेर बनेको सर्बत जस्तो छ। राजनीतिबाट अपराध छुट्याउन कठिन छ। अपराधपूर्ण राजनीतिकै कारण मुलुकको दुर्दशा भएको हो। अहिले मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको छ। केही समयसम्म हलचल हुन्छ। विगत हेर्दा फागुनदेखि जेठसम्म मात्र नागरिक आन्दोलित हुने इतिहास छ। आन्दोलनमा पनि राजनीतिक कार्यकर्ता बढी चलायमान हुन्छन्। अहिले कार्यकर्ताहरू पार्टी नेतृत्वको विरुद्ध सडकमा आउन सक्ने अवस्था छैन। अन्तिम तहसम्म अनुसन्धान र कानुनी कारबाही होला भन्नेमा ढुक्क हुन सकेको छैन। योभन्दा अघि पनि धेरै भ्रष्टाचारका काण्ड भएका छन्। तर, ठूला–ठूला भ्रष्टाचारमा पनि केही व्यक्ति विशेषमा मात्र सजाय भएको इतिहास छ। यसमा पनि केही व्यक्तिलाई सजाय होला।
राजनीतिक दलहरू विनाशको अवस्थातर्फ उन्मुख छन्। दलहरूबीच पनि विभाजित मनस्थिति छ। यस खालका दलले कसरी सुशासन कायम गर्न सक्लान ? शरणार्थी प्रकरणको गहिरो अनुसन्धानमा दलका शीर्ष नेता नै बाधक छन्। नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलका केही जिम्मेवार र इमान्दार कार्यकर्ताहरू अभियानका रूपमा अघि बढ््नुपर्छ।
(वरिष्ठ अधिवक्ता मैनाली नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन्)
प्रतिक्रिया दिनुहोस !
