राजनीतिमा इमान खोइ ?

राजनीतिमा इमान खोइ ?

राजनीतिक दलका नेता कार्यकर्तालाई बेस्सरी प्रशिक्षण दिएर फलामे अनुशासनमा राख्नुपर्छ।


उच्च आदर्श, महान् आदर्श आजको द्रव्य युगमा र स्वार्थको युगमा कल्पना गर्नसम्म सकिएला। तर, यथार्थमा त्यो सम्भव छैन। यद्यपि आधारभूत रूपमा केही मान्यताहरू, केही विश्वसनीय व्यवहारहरू, सामान्य मानवीय आचरणहरू, समायोचित आदर्शहरू समाजको चेत र विश्वासअनुसार आवश्यक हुन्छन्। अहिले नैतिकता, इमान र विश्वासको चरम खडेरीमा नेपाली समाज गुज्रिरहेको छ।

केही अपवादस्वरूप राष्ट्रको सार्वजनिक जीवनमा चिनिएका नैतिक इमान र निष्ठामा बाँच्नेहरू पनि समयसँग हिँड्न नजान्ने, समयको मेसो नबुझ्ने अबुझ करार भएका छन्। नैतिकता इमान र अवसरवादी नहुने चरित्र सामाजिक रूपमा अनफिटको दर्जामा पर्छन्। सम्पत्ति शक्ति र सत्ताको नाजायज आयआर्जन इज्जत र प्रतिष्ठाको मानक बनेका छन्। नाजायज हर्कत नगरी जीवनयापन गर्ने नैतिकता र नीतिको वकालत गरेर आधा पेट इमानको मानो खाएर बाँच्नेहरू, नैतिकतामा पेसा र व्यवसाय गर्नेहरू असान्दर्भिक र समाजका बाउँठे चरित्रको नाममा बदनाम गरिन्छन्। 

हृदयका आवाज बोल्नेहरू संविधान नियम, ऐन र कानुनबाट व्यक्ति, समाज र देश निर्देशित हुनुपर्छ भन्नेहरू अराजक लाग्छन्। शिक्षा, स्वास्थ्य र मानवताको व्यापार गर्नेहरू महान् र गर्विला ठानिन्छ। निःशुल्क शिक्षा स्वास्थ्य संविधान प्रदत्त हक हो भन्नेहरूको हुर्मत लुटिएको छ। 

बृहत् स्वार्थको लागि लविङ गर्नेलाई व्यक्तिगत र सानो समूहको व्यापारिक स्वार्थको लागि काम गर्नेले अराजक, अनैतिक र दुष्ट करार गर्दा समाज उल्टो उसैको वाहवाह गर्छ। सज्जन र नैतिक मान्छेलाई यथेष्ट बदनाम गरिन्छ र दुर्जनको अनाधिकृत धन र अनैतिक आर्जनको ख्याति चुल्याइन्छ। धनको आडमा त्यस्तै व्यक्तिहरू विभिन्न अवसर लिएर पदमा पुग्छन् र तिनीहरूकै हालिमुहाली चल्छ।

समाजको प्रचलित कहावत चोरलाई चौतारो र साधुलाई सुली आज पनि कायम नै छ। मान्छेको छद्मभेषी रूपको प्रतिष्ठा र पूजा हुन्छ तर तीतो लाग्ने सत्यलाई, असत्य प्रमाणित गर्ने लाख कोसिस गरिन्छ र सत्यको गला निर्मम ढंगले निमोठ्ने अभ्यास हुन्छ। कुनै पनि संस्था बन्नु ठूलो कुरा होइन, कुनै पनि पार्टीले चुनाव जित्नु ठुलो कुरा होइन। तर हरेक विषय संस्थागत हुनु, निर्णय प्रक्रिया पारदर्शी हुनु एवं विगत र वर्तमान सफा हुनु अनि भविष्य उज्यालो हुनु आवश्यक योग्यता हो। बहुदलीय व्यवस्थामा पार्टीहरू बन्नु चुनावमा भाग लिनु र चुनाव जित्नु अनौठो होइन। तर, राजनीतिमा विश्वसनीय छवि बनाएर राजनीति र समाजलाई जिताउनु महत्त्वपूर्ण कुरा हो। 

राजनीतिमा सबैभन्दा खाँचो न्यूनतम र आधारभूत इमान, नैतिकता, आचरण र प्रणालीगत प्रक्रियाको हो।

कहिलेकाहीँ दृष्टिकोणहरू बदलिन्छन्। भ्रम निवारण हुन्छ। वास्तविकताको बोध हुन्छ त्यसैले हिजो गरेको दाबी झुट र आज अर्कै नयाँ सत्यमा उद्बोधन हुन्छ। बेलुका र बिहानको दृष्टिकोण र दृष्टिबोधमा ठूलो अन्तराल देखिन्छ। त्यतिबेला विगतको दृष्टिकोण र वर्तमानको दृष्टिकोणमा आएको बदलावले एउटा भ्याकुम र अन्योल सिर्जना गर्छ। त्यस्तो बेला विगतको त्रुटिप्रति क्षमायाचना र इमान्दार सच्चाइको प्रयास सार्वजनिक रूपमा भन्नु र जानकारी गराउनु पर्छ। लिखित दस्तावेज निर्माण गर्नुपर्छ। तर हामीकोमा त्यस्तो प्रयास पाइन्न। कुनै विषय र विमतिप्रति सार्वजनिक खेद र अफसोच गरेको पनि पाइन्न। जबकि बेलुकी नकारात्मक टिप्पणी गरेर सुनेर सुतेको मान्छे बिहान झिसमिसेमा सकारात्मक अँगालोमा बाँधिएको पाइन्छ। जसले गर्दा नेताहरू, सार्वजनिक व्यक्ति, बुद्धिजीवी, पत्रकार एवं लेखकहरूको विश्वसनीयता संकटमा परेको छ। यसर्थ इमानको पाठशाला आजको खाँचो हो। 

राजनीतिमा कलाबाजी हावी भएपछि सामाजिक तहमा नै एक किसिमको विकृति, वितृष्णा र वितराग पैदा हुन्छ। कुनै पनि व्यक्ति संस्थाको अप्रत्याशित उदय अनपेक्षित अन्त्य पनि नहोला भन्न सकिन्न। इतिहासले यस्ता घटनाको पुष्टि विश्व परिप्रेक्ष्यमा पटकपटक गरिसकेको छ। तासको घर जस्तै गल्र्याम्म ढलेका थुप्रै सत्ताका दृष्टान्तहरू छन्। 

पार्टीहरूको सत्तारोहणलाई २०४६ पछि हेरौं। २०४८ सालमा नेपाली कांग्रेसको एकलौटी सरकार थियो, २०४९ को स्थानीय चुनावमा कांग्रेसको विजय इतिहासकै नमुना थियो। तर कांग्रेसले त्यो स्थति समहाल्न सकेन र आफ्नै आन्तरिक घर झगडाको कारण सरकार गिरायो। नातावाद, कृपावाद, भ्रष्टाचार आदि बेथिति र विसंगति कांग्रेसले भित्र्यायो र सत्ताको निर्लज्ज प्रयोग गर्यो‍।

२०६४ पछि माओवादीले सत्ता प्रवेश गर्दा नगर्दै आफ्नो आधारभूत चरित्र गुमाएर सुखभोग, सत्ताभोग र अवसरवादको भुलभुलैयामा हजारौं नेताकार्यकर्तालाई भसायो। २०६४ ताका माओवादी को थिएन ? माओवादीले नगर्न सक्ने कुरा के थियो ?

माओवादीले देखाउन बाँकी सपना कुन थियो र ? पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईको को देवत्वकरण गर्र्द छुटेका कुनै बिम्ब, प्रतीक, मानक र प्रतिमानहरू थिएनन्। चमत्कारको भाष्य सिर्जना गर्न कुनै कसर छोडिएको थिएन। १० वर्षमा एसियाको सबैभन्दा उन्नत राष्ट्र बनाउने उद्घोष थियो। रिजल्ट कस्तो आयो र आउँदै गयो जगजाहेर छ।

२०७४ को चुनाव पछिको ओली क्रेज र ओलीले नदेखाएको कुनै सपना थिएन। रेल गुडाउने पानीजहाज चलाउने, घरघरमा ग्याँसको पाइप जोडिदिने नयाँ युगको सुरुवात भनियो र सहरका भित्तामा नयाँ युगको ओली चित्र राखियो। दुर्भाग्य दुई तिहाइ आफ्नै भारले थिचियो र थचारियो। दुई तिहाइको सरकारको सामथ्र्य पनि परीक्षण गरियो।

यसर्थ, लहड, लहर, बेग र आक्रोश, भावना र परिस्थितिजन्य अनपेक्षित उत्पादनको मत थाम्न नयाँ पार्टीले थुप्रै ढुंगा चपाउने र पचाउने, बज्रवाण छल्ने र थाम्ने क्षमतासहित राजनीतिको रथ हाँक्नुपर्छ। पार्टी नेता कार्यकर्तालाई बेस्सरी प्रशिक्षण दिएर फलामे अनुशासनमा राख्नुपर्छ। सबैको घर, व्यवहार र अनुहारमा पारदर्शी ऐना राख्नुपर्छ। अन्यथा ऋतुहरू परिवर्तन भई रहन्छन्। राप र तापलाई इनर्जी बनाएर राजनीतिको फ्रेममा हाल्न सकिएन, वैचारिक पाइन लाउन सकिएन भने राजनीति दुर्घटनाग्रस्त हुनेछ। पार्टीहरू संकटमा फस्ने छन्। 

अरूले गर्न नसकेको, आजसम्म नगरेको काम कुनै अमुक व्यक्ति र पार्टीले गर्न सक्दैन भन्ने होइन, तर जादुको छडी कसैसँग छैन। व्यक्तिभन्दा प्रणाली बलियो बनाएर जानु सबैभन्दा उत्तम विकल्प हो। एउटा व्यक्तिलाई देश र जनताका अतृप्त सपनाका सबै भारी उठाउन लगाइयो भने सही निष्कर्ष ननिस्कने सम्भावना धेरै हुन्छ। राजनीतिमा नीतिगत स्पष्टताको पनि उत्तिकै जरुरी हुन्छ। जति इमान र आचरणको। आजको राजनीतिमा सबैभन्दा खाँचो न्यूनतम र आधारभूत इमान, नैतिकता, आचरण र प्रणालीगत प्रक्रियाको हो। 
- कार्की, अनुसन्धाता हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.