राष्ट्रपतिमा तीन दलका तीन कुरा

एमाले-कांग्रेसको आफ्नै अडान, सहमति खोज्दै माओवादी

राष्ट्रपतिमा तीन दलका तीन कुरा
सुन्नुहोस्

आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई राष्ट्रपति दिने र विश्वासको मत लिँदा कांग्रेसबाट राष्ट्रपति बनाउने आफू अनुकुलको निर्णयले अहिले प्रचण्डनै अफ्ठ्यारोमा पर्दै आएका छन्। 

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आगामी फागुन २८ गते समाप्त हुँदैछ। नयाँ राष्ट्रपति चयन गर्न निर्धारण भएको निर्वाचन मिति आउन १८ दिन बाँकी छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका बनाएर सार्वजनिक गरेको छ। जसअनुसार फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायतका कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

निर्वाचन आयोग नयाँ राष्ट्रपति चयनको तयारीसहित गृहकार्यमा जुटिरहेका बेला राजनीतिक दल भने आफ्नो तर्फबाट राष्ट्रपति बनाउने दौडधुपमा छन्। यतिबेला सत्ता साझेदार दलको प्रमुख घटक नेकपा एमाले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दावी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दल नेपाली कांग्रेस पनि प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसबाटै उम्मेदवार तय भएका व्यक्ति राष्ट्रपति बन्ने दावी गर्दै आएको छ।

आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई राष्ट्रपति दिने र विश्वासको मत लिँदा कांग्रेसबाट राष्ट्रपति बनाउने आफू अनुकुलको निर्णयले अहिले प्रचण्डनै अफ्ठ्यारोमा पर्दै आएका छन्। 

राजनीतिक वृत्तमा यी दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले नै औपचारिक तथा अनौपचारिक रुपमा आफ्नो उम्मेदवार राष्ट्रपति बन्ने दावी गरिरहेका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र भने राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने भन्दै छलफलमा जुटेको छ। तीन दलका तीन कुरा भए पनि राजनीतिक भेटवार्ता बाक्लिएका छन्। सरकारमा रहेका दलले गठबन्धन जोगाउने कसरत भइरहेको दावी गर्दा सत्ता बाहिरका दल राष्ट्रपति निर्वाचनले नै गठबन्धको आयू निर्धारण गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। 

राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार मतदाता नामावली तयार गर्ने, उम्मेदवारी दर्ता गर्ने मिति नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट बाक्लिएको छ। कांग्रेसका दोस्रोस्तरका नेताहरू र माओवादी नेताबीचको भेट पनि दिन प्रतिदिन बढिरहेको छ।

नेताको आआफ्नै दावी

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गर्दै आएका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै  ओलीले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’ 

एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माणका क्रममानै यो सहमति भइसकेको ओलीले प्रष्ट्याए। ओलीले गत पुस १० गते प्रधानमन्त्रीमा प्रचण्ड, राष्ट्रपति र सभामुखमा एमालेलाई सहयोग गर्ने भद्र सहमति भएकाले त्यो कार्यान्वयन हुने दावी गरे। एमाले अध्यक्ष ओलीमात्र होइन्, एमालेको दोस्रो तहका नेताले पनि पुस १०मा भएको सहमतिबाट प्रधानमन्त्री प्रचण्ड हट्न नमिल्ने भएकाले एमालेबाटै राष्ट्रपति बन्ने दावी गर्दै आएका छन्।

एमालेको जस्तो दावी कांग्रेसको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने बताए। उनले भने, ‘निर्वाचनका समयमा रहेको गठबन्धन बमोजिमकै दलबीच राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुन्छ। संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा कांग्रेस नै अग्रसर हुनु स्वभाविक हो।’

गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्ने गरी भएपनि कांग्रेसले सहमति जनाउन सक्ने बताए। उनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मासहितको चर्चा भइरहेको बताए।

कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि राष्ट्रपति कांग्रेसबाटै हुने बताउँदै आएका छन्। माघ २५ गते नेपाल प्रज्ञा भवनमा भएको कार्यक्रममा थापाले राष्ट्रपति कांग्रेसबाटै हुने बताउँदै एमालेले उठाएको उम्मेदवारलाई हराएरै छाड्ने बताए। उनले हिजोका विभिन्न घटना हेर्दा फेरि एमालेकै उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको बताए। 

सहमति खोज्दै माओवादी केन्द्र
एमाले कांग्रेसले राष्ट्रपतिमा आआफ्नै अडान राखेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र भने सहमति जुटाउने प्रयासमा छ। प्रधानमन्त्री प्रचण्ड आफैँले पनि अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक बताउँदै आएका छन्। प्रधानमन्त्रीले राष्ट्रिय सहमति राष्ट्रपति निर्वाचनबाट खोज्ने प्रयास थालेको देखिन्छ।

यता नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि राष्ट्रपति साझा व्यक्ति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्ने बताए। 

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति नहुने कारणै हुँदैन भन्दै गुरुङले प्रधानमन्त्री प्रचण्डलाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको बताए। 

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा अहिलेको सत्ता गठबन्धनसँग यो विषय जोड्न नमिल्ने गुरुङको भनाइ छ। संविधान, गणतन्त्रको रक्षा गर्ने र परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए।

गठबन्धनको आयूको शंका
राष्ट्रपति निर्वाचनले वर्तमान सत्ता समीकरणको आयू नै निर्धारण हुने सत्ता बाहिरका दलको तर्क छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता साझेदार दलको गठबन्धन अब धेरै नटिक्ने बताए।

आइतबार पार्टी निकट विद्यार्थी संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन कुन दिन भत्किन्छ भन्ने टुंगोनै नभएको बताए। उनले भने, ‘राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुगों लाग्छ। एक हप्ताभित्रै गठबन्धनको भविष्य प्रष्ट हुन्छ।’ उनले वर्तमान सत्ता गठबन्धन जनताको पक्षमा नभएको बताउँदै यसको आयू राष्ट्रपतिको उम्मेदवार चयनले तय गर्ने नेपालले बताए। नेपालले भने, ‘यो गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने, संघीयता विरोधी, संविधान विरोधी र बामपन्थी पनि छन्। त्यसैले मुलुकको राजनीतिक कोर्ष राष्ट्रपति निर्वाचनले फेर्न सक्छ।’ 

नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङग वा समुदायको प्रतिनिधित्व हुने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.