अत्यासलाग्दो व्यापार घाटा

अत्यासलाग्दो व्यापार घाटा

नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था अत्यन्त दयनीय बन्दैछ। यो नकारात्मक अवस्था प्रतिवर्ष तीव्र गतिमा बढिराखेको छ। विकास निर्माणका लागि आवश्यक वस्तुहरू र उपभोग्य सामग्रीहरूको माग बढ्दै गएको छ। आन्तरिक उत्पादन न्यून छ। यसमा खासै प्रगति हुने स्थिति छैन। उत्पादनहरूको निर्यात बढ्ने सम्भावना देखिँदैन। यसैले देशको आर्थिक अवस्थामा सुधार ल्याउन आयात र निर्यातका लागि विशेष योजना र रणनीतिहरू बनाई कुशल व्यवस्थापनमा जोड दिनुपर्ने अवस्था छ। व्यवस्थापनको उद्देश्य आयातलाई नियन्त्रण गर्ने होइन। आयात र निर्यात दुवै वृद्धि गरी यी दुईका बीच सन्तुलन कायम गर्नु हो।

हालसम्म देखिएको व्यापार घाटालाई न्यून बिन्दुमा कायम गर्नुपर्छ। अन्तर्राष्ट्रिय व्यापारबाट देशले आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ। आयातको मात्रा भन्दा निर्यातमा वृद्धि गर्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने अवस्था छ। राष्ट्रको विकासका नीतिहरू र उद्देश्य अनुरूप वैदेशिक व्यापारमा सुधार हुनु जरुरी छ। अन्तर्राष्ट्रिय व्यापारका लागि पर्याप्त हुने गरी वैदेशिक मुद्राको सञ्चितिमा उल्लेखनीय वृद्धि गर्दै मजबुद अवस्था बनाउने गरी कार्यक्रमहरू तय गरिनुपर्छ। अत्यावश्यक दैनिक आवश्यकताका वस्तु र सेवाहरूको आन्तरिक उत्पादनबाट र आयातबाट निर्वाध रूपमा नागरिकहरूलाई उपलब्ध गराउने व्यवस्था हुनुपर्छ।

आयात नीतिको उद्देश्य कुल गार्हस्थ्य उत्पादनलाई वृद्धि गर्ने, आर्थिक क्षमताको प्रवद्र्धन गर्ने र निर्यात प्रवद्र्धन गर्ने गरी योजना र व्यवस्थापन गर्नु हो। यसका लागि यसअघि भएका कामकारबाहीहरूको समीक्षा हुनु जरुरी छ। सबैभन्दा पहिले आन्तरिक उत्पादन वृद्धि गर्ने रणनीति तय हुनु जरुरी हुन्छ। स्थानीय कच्चा पदार्थका आधारमा सञ्चालनमा आउने र आयात प्रतिस्थापन गर्ने प्रकारका उद्योगहरूलाई प्रोत्साहन प्रदान गर्नुपर्छ। उदाहरणका लागि सिमेन्ट उद्योगलाई प्राथमिकतामा राख्दा यसले आयात कम गर्न सक्छ। देशको माग पूरा गरी निकासी गर्न समेत सम्भव भई आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ। निर्यात प्रवद्र्धन गर्ने प्रकारका उद्योगहरूलाई सरकारी नीतिले सुविधा प्रदान गर्ने र सहजीकरण गर्नुपर्छ। अन्तर्राष्ट्रिय बजारको अध्ययन गरी प्रतिस्पर्धामा आन्तरिक उत्पादनहरू सहजै बजार पाउने गरी उत्पादन बढाउँदै लैजान प्रयास हुनु जरुरी छ।

नेपालका वस्तु तथा सेवाहरू निर्यात गर्ने वातावरण तयार पार्न निर्णायक भूमिका प्रदान गर्नुपर्छ।

उपयुक्त प्रकारको बृहत् आर्थिक नीतिको तर्जुमा गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा जाँदामात्र यस्ता उद्योगहरूले अपेक्षित उपलब्धि दिन सक्छन्। यस्ता नीतिहरूमा उपयुक्त आकारमा मुद्राको विनिमय गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ। मूल्य स्थिरता कायम हुनुपर्छ। उद्योगहरूलाई प्रोत्साहन प्रदान गर्ने प्रकारले मौद्रिक नीति निर्धारण हुनुपर्छ। कर्जा प्रदान प्रक्रियालाई सहजीकरण गर्नुपर्छ। यसै आर्थिक वर्षको चार महिनाको अवधिमा देशको व्यापार घाटा ५६८ अर्ब पुगिसकेको छ।

भन्सार विभागबाट प्राप्त जानकारीअनुसार आन्तरिक उत्पादन भएका समान र सेवाहरूको पनि ठूलो मात्रामा आयात हुँदा व्यापार घाटा बढ्दै गएको छ। गत आर्थिक वर्षको अवधिमा भएको व्यापार घाटालाई विश्लेषण गर्दा यस आर्थिक वर्षमा यो ६१ दशमलव ५७ प्रतिशतले बढेको छ। प्रथम चौमासिक अवधिमा सामानको निर्यात गत आर्थिक वर्षमा ४० दशमलव २० अर्ब भएकोमा यस वर्ष ८२ दशमलव १२ अर्ब भई १०४ प्रतिशतले वृद्धि भएको छ। तर निर्यातको मात्रा न्यून भई यसको व्यापार घाटामा परेको प्रभावको अनूभूति गर्न सकिएको छैन। निर्यात वृद्धि भएको कच्चा पाम आयल र भटमासको तेलको निर्यातमा सुधार आएकाले हो। व्यापार घाटा र विदेशी मुद्राको सञ्चितिको अवस्थालाई सन्तुलनमा ल्याउन आयातलाई कम गर्नुपर्ने स्थिति छ। विकास निर्माणका लागि आवश्यक सामग्री र दैनिक उपभोग्य सामग्रीको निर्भरता प्रायः आयातमा मात्र छ। त्यसैले देशमा यो अवस्था देखिएको हो। उत्पादन, आधारशिला र बजार व्यवस्थाले आपूर्तिलाई निश्चित बिन्दुमा राख्न सक्नुपर्छ। नेपालका वस्तु तथा सेवाहरू निर्यात गर्ने वातावरण तयार पार्न निर्णायक भूमिका प्रदान गर्नुपर्छ। सरकारले उत्पादनलाई उल्लेखनीय हिसाबले वृद्धि गर्ने कार्यक्रम तयार पारी कार्यान्वयनमा जानुपर्ने अवस्था छ।

देश आर्थिक समृद्धिको दिशामा अघि बढिराखेको दाबी सरकारले गरिरहँदा वैदेशिक मुद्रा आर्जन गर्ने गरी निर्यातको मात्रा वृद्धि गर्न सकिराखेको छैन। देशको निर्यातको अवस्था अत्यन्त सुस्त छ। सरकार र यसका अन्य सम्बन्धित निकायले उपयुक्त लक्ष्य निर्धारण गर्न सकेका छैनन्। निर्यातको लक्ष्य प्राप्त गर्न सरकारका तर्फबाट अनुकूल वातावरणसम्म पनि छैन। नयाँ र उपयुक्त नीति बन्न सकेका छैनन्। सरकारले के कस्ता उपायहरूको अवलम्बन गरेर निर्यातको मात्रा वृद्धि गर्न सक्छ, पर्याप्त गृहकार्य भएको देखिन्न। निर्यात र व्यापार प्रवद्र्धन केन्द्र पनि प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। यसले पर्याप्त जनशक्ति र स्रोतसाधन प्राप्त गर्न सकेको छैन। आयातको व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको भूमिका प्रभावकारी हुन सकेको छैन। कोभिड– १९ को  संक्रमणबाट विश्व अर्थ व्यवस्थामा पर्न गएको नकारात्मक प्रभावका कारण वैदेशिक व्यापारको प्रवद्र्धन हुन सकेको छैन। प्रतिस्पर्धाको अवस्थामा आएको तीव्रतामा नेपालले आफ्ना वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याई खपत गराउने सामथ्र्यको अभाव छ। आधारशिलाहरूको अपर्याप्तता र कर्मचारीतन्त्रको जटिलताका कारण यस अवस्था सिर्जना भएको अभिव्यक्ति दिएर सरकारले उन्मुक्ति लिन खोजेको प्रतीत हुन्छ।  तर राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको सन्दर्भलाई सहजै गौण आकलन गरिनु हुन्न।

अदृश्य आम्दानीमा संकुचन हुँदै आएको छ। सहुलियतपूर्ण ऋण सुविधालाई प्राथमिकतामा राखिएको छैन। थोक बिक्रीका लागि आयातित सामानहरूको मात्रा बढ्दै जानुका कारण पनि यो स्थिति बनेको हो। अत्यावश्यक वस्तुबाहेक उपभोग्य सामानका कारण पनि आयातका लागि दबाब परेको छ। अन्तर्राष्ट्रिय व्यापारबाट विदेशी ऋणको मात्रा घटाउन सक्नुपर्छ। अल्प अवधिका लागि प्राप्त हुने ऋण र असहज सर्तसहितका ऋण रकमहरू स्वीकार गर्ने प्रवृत्तिमा सुधार हुनुपर्छ। सम्बन्धित अधिकारीलाई पर्याप्त स्वविवेक प्रयोग गर्न दिने व्यवस्था गर्नुपर्छ। वैदेशिक सहयोगको राशिलाई प्रभावकारी प्रकारले उपयोग गर्नु जरुरी हुन्छ। उदारीकरणको उपयोग गर्दा प्रविधिको विकासका लागि र कार्य सम्पादनमा दक्षता हासिल गर्ने प्रकारले सुधार उन्मुख हुनुपर्छ। आन्तरिक उत्पादनका लागि हुने खर्चमा मितव्ययिता कायम गरी अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा समेत सहज खपत हुन सक्ने परिस्थिति निर्माण गर्नु जरुरी छ। यसका लागि गृहकार्य गरी स्वावलम्बनको दिशामा अभिमुख हुनुपर्छ।

नेपालले बहुपक्षीय र क्षेत्रीय व्यापार व्यवस्थापनमा क्रियाशीलता दिइराखेको छ। भुटान, बंगलादेश, भारत र नेपाल चार राष्ट्रहरूले आपसी व्यापार प्रवद्र्धन गर्न सहयोग आदानप्रदान गर्ने काम भइराखेको छ। यी राष्ट्रहरू नेपालबाट आयात भएका सामान तथा सेवाहरूलाई आआफ्ना बजारमा सहजीकरण गर्न तत्पर छन्। निर्यात प्रवद्र्धनका लागि सहयोग पुग्ने गरी उद्योगहरूका लागि ठूलाठूला आधारशिलाहरूको निर्माण नेपालले गर्नुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिराखेका छन्।

  • व्यवस्थापनको उद्देश्य आयातलाई नियन्त्रण होइन। आयात र निर्यातबीच सन्तुलन कायम गर्नु हो।
  • हालसम्म आर्थिक कूटनीतिजस्तो महत्त्वपूर्ण पक्षलाई देशले प्राथमिकतामा राखेको छैन।

जबसम्म कृषिजन्य उद्योगहरूको विस्तार र विकास हँुदैन नेपालले उल्लेख्य रूपमा निर्यात वृद्धिको अवसर प्राप्त गर्न सक्दैन। कृषि  क्षेत्रमै आधारित व्यापार व्यवसायलाई सर्वोपरी प्रथामिकता प्रदान गर्नुपर्ने हुन्छ। त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण गरी कृषि उत्पादन वृद्धि गर्ने सम्बन्धमा हरसम्भव उपायको अवलम्बन गर्नुपर्छ। कृषि उत्पादनको प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकता प्रदान गर्नेलगायत दिशामा युद्धस्तरमा लाग्नुपर्ने आवश्यकता छ।

वैदेशिक व्यापारको वृद्धि गर्न आर्थिक कूटनीतिलाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्छ। क्षेत्रगत मन्त्रालयहरूलाई यसमा क्रियाशील बनाउनुपर्छ। वैदेशिक नियोगहरूले सहजीकरण गर्दै पहलकदमी लिनु अत्यावश्यक छ। क्षेत्रगत मन्त्रालयहरू र परराष्ट्र मन्त्रालयबीचको प्रभावकारी समन्वयबाट मात्र यसको विकास सम्भव हुन्छ। हालसम्म आर्थिक कूटनीतिजस्तो महत्त्वपूर्ण पक्षलाई देशले प्राथमिकतामा राखेको छैन। परिणामस्वरूप वैदेशिक व्यापारको क्षेत्रबाट देशले उल्लेखनीय फाइदा प्राप्त गर्न सकेको छैन। नीति निर्माताहरू र निर्णय तहमा रहनेहरूको ध्यान शीघ्र जानु अत्यावश्यक छ। यसका लागि देशले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन मार्ग चित्र तयार पारी प्रभावकारी कार्यान्वयनमा जुट्दा वैदेशिक व्यापारबाट अपेक्षित फाइदा लिन सकिन्छ।

वर्तमान समयमा सेवा क्षेत्रको व्यापारसमेतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थिति देखिएको छ। पर्यटन व्यवसायको भविष्य नेपालमा अत्यन्त ज्यादा देखिएको छ। विश्वमै जनसंख्या र आर्थिक क्षेत्रमा अग्रणी स्थानमा सुरक्षित रहन प्रायः सफल भएको चीन र छिमेकी देश भारतबाट नेपालमा आउने पर्यटकहरूको सम्भावना अत्यधिक छ।

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर हामीसँगै छ। हिन्दु धर्मावलम्बीहरूका लागि आराध्यदेव भगवान् पशुपतिनाथ नेपालमै रहेकाले यो देशको धार्मिक महत्त्व बढेको छ। सीता माताको माइती जनकपुर नेपालमा रहनुको कारण हिन्दुस्तानको अयोध्यासँग धार्मिक सम्बन्ध स्थापित छ। विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि आकर्षक धार्मिकस्थल भगवान् बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहनु हामी नेपालीहरूको अहोभाग्य हो। एकपटक बुद्ध धर्मावलम्बीहरू लुम्बिनी आउन चाहन्छन्। त्यस क्षेत्रमा विभिन्न देशहरूले लगानीसमेत गरिराखेका छन्। प्राकृतिक मनोरम दृश्यले धनी देशका रूपमा नेपालले विश्वभर आफ्नो पहिचान बनाएको छ।

विश्वभरका धार्मिकलगायत पर्यटकहरूका लागि आकर्षक र जीवनमा एकपटक यात्रा गर्नुपर्ने गन्तव्यका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना नेपालसँग छ। नेपालले पर्यटकहरूलाई नेपालको बसाइ आरामदायी र मनोरञ्जनपूर्ण बनाउन अर्थपूर्ण प्रयास गर्नु जरुरी हुन्छ। यस उद्योगलाई प्रवद्र्धन गर्न सक्दा वैदेशिक मुद्रा सञ्चितिमा सुधार आउने निश्चित छ। संक्रमणपश्चात् यस सेवा प्रदान गर्ने सम्भावनामा वृद्धि भइराखेको छ। यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन प्रदान गर्ने नीति सरकारको हुनु जरुरी छ। राष्ट्रले पर्यटन व्यवसायका लागि सबै प्रकारले सहजीकरण गर्नुपर्छ। उपभोक्ताहरू र वातावरणीय संरक्षणमा विशेष पहलकदमी गर्नुपर्छ। यसका लागि बृहत् विकासका रणनीतिहरू कार्यान्वयनमा लैजानुपर्ने र आवश्यक आधारशिलाहरूको निर्माणमा सरकार गम्भीरतापूर्वक लाग्नु अत्यावश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.