क्राइस्टको करुणा

क्राइस्टको करुणा

इश्वीको पहिलो शताब्दीका यहुदी उपदेशक एवं धार्मिक नेता नाजारेथका जिसस क्राइस्टको जस्तो प्रभाव विश्व इतिहासमा सायदै कसैको होला। पृथ्वीमा टेकी सकेपछि कुनै पनि व्यक्तिलाई देवत्वकरण गर्न जरुरी ठानिनु हुन्न। जिससलाई कुमारी मेरीले जन्म दिएको देवपुत्र ‘सन अफ गड’का कथाहरूमा मेरो विश्वास छैन। पश्चिमी आध्यात्मिक परम्पराको एउटा महत्त्वपूर्ण पात्र ‘ह्युमन जिसस’ र उनको सन्देश भने मानव जातिको कल्याणका लागि महत्त्वपूर्ण घटना थियो। जिससलाई हेर्ने ऐतिहासिक दृष्टिकोणहरू फरक–फरक होलान् तर एउटा कुरा पक्कै पनि के हो भने उनी पनि बुद्धजस्तै आफ्नो समयका ‘विद्रोही’ थिए।

संसारभरका विद्रोहीमाझ ‘ह्युमन जिसस’प्रतिको श्रद्धा र सम्मानको मुख्य कारण नै उनको त्यही करुणायुक्त क्रान्तिकारी व्यक्तित्व र दृढ अडानहरू थिए। जसका कारण उनी यहुदी र रोमनहरूको तारो बनेका थिए। लुम्बिनीमा सिद्धार्थ गौतम (बुद्ध)को जन्म हुनुभन्दा करिब ५०० वर्षपछि प्यालेस्टाइनको बेथलहेममा जन्मिएका थिए जिसस क्राइस्ट। यी दुई आध्यात्मिक व्यक्तित्वका समानताका बारेमा सूक्ष्म ढंगले व्याख्या गर्नेमध्ये भियतनामका बौद्ध भिक्षु थिक नाथ हान मानिन्छन्। सन् १९६० को दशकमा भियतनाम युद्धको विपक्षमा उभिँदै शान्ति अभियानमार्फत विश्वभर युद्धविरोधी जनमत तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए हानले। उनले आफ्नो पुस्तक ‘लिभिङ बुद्ध, लिभिङ क्राइस्ट’मा अरबौं मानिसको आध्यात्मिक परम्परा र जीवनमा प्रभाव पार्न सफल भए बुद्ध र जिसस। दुवैले ‘प्रेम र करुणा’मार्फत मानवतालाई सन्देश दिएको र बुद्ध र जिससमा धेरै भिन्नता नभएको भनी लेखेका छन्।

इश्वी साठी दशकमा अमेरिकामा अश्वेतहरूलाई समान नागरिक अधिकार दिलाउने आन्दोलनको नेतृत्व नोबेल शान्ति पुरस्कारले प्रदान गरेको छ। सोही पुरस्कारले विभूषित मार्टिन लुथर किङ जुनियरलगायत पनि भियतनाम युद्धविरोधी विश्वव्यापी आन्दोलनमा बौद्ध भिक्षु हानको अहिंसात्मक अभियानमा सामेल भएका थिए। सत्य र अहिंसामार्फत संसार परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता जिससले प्रयोगमा ल्याएका थिए। यही विषयलाई रुसी साहित्यकार लियो टोल्स्टायले जीवनको उत्तराद्र्धमा लेखेका कृतिमार्फत सार्वजनिक गरे। जसमा टोल्स्टायले जिससका दृष्टिकोणहरूमा पूर्वीय दर्शन र विशेषगरी बौद्ध शिक्षाहरूको प्रभाव थियो भनेर लेखेका छन्।

हुनत ‘ह्युमन बुद्ध र ह्युमन जिसस’ दुवैले मानवतालाई जोड्न करुणालाई महत्त्व दिए। धार्मिक परम्पराका दृष्टिकोणले भने क्राइस्टले स्थापना गरेको इसाई धर्मले एकेश्वरवादी मान्यतालाई अंगीकार गर्‍यो। बौद्ध धर्मले सृष्टिकर्ता ईश्वरको धारणालाई नै अस्वीकार गर्‍यो। जिसस क्राइस्टको जन्म र उनको क्रुसिफिक्सन (सुलीमा चढाइएको घटना)लाई इसाई धार्मिक परम्परा र इतिहासमा बढी महत्त्व दिइयो। केही दशकयता क्राइस्टको जीवनका ‘लस्ट इएर्स’ अर्थात् कतै अभिलेख नभेटाइएका उनको जन्म र क्रुसिफिक्सनबीच जीवनीका बारेमा खोज अनुसन्धान गर्ने क्रम बढेर गएको छ।

जिससको जीवनको १३ देखि २७ वर्षसम्मको उमेरका घटना र ‘लस्ट इएर्स’का अध्येता लगभग सबै पश्चिमा इतिहासकारहरूले क्राइस्टले जवानीको समय भारतवर्ष अर्थात् भारत, नेपाल, तिब्बत र हिमालय क्षेत्रमा बौद्ध भिक्षु र योगीका रूपमा बिताएको भनेर ठोकुवा गर्न थालेका छन्। हुनत समयक्रमसँगै जिसस क्राइस्टमा बुद्धको र यो क्षेत्रमा रहँदा पूर्वीय दर्शन र आध्यात्मिक परम्पराको प्रभावबारे ऐतिहासिक तथ्यहरू भेटाइन्छ नै होला। अंग्रेजी शब्द ‘क्रुसेड’को सटीक उल्था ‘आफ्नो वा आफ्नो विचारधाराको वर्चस्व कायम गराउन रचिएको अभियान’ हुन्छ।

हिन्दू धर्मशास्त्र ‘भागवत गीता’जस्तै सम्भवत इसाई र गैर–इसाई दुवैलाई आकर्षण गरेको ‘सर्मन अन द माउन्ट’लाई रुसी साहित्यकार लियो टोल्स्टायले आध्यात्मिक मार्ग–निर्देशक मानेका थिए। भारतीय स्वतन्त्रता आन्दोलनमा अहिंसाको प्रयोग गरेका महात्मा गान्धीले ‘सर्मन अन द माउन्ट’लाई गीताजत्तिकै महत्त्वपूर्ण शिक्षक भनेर स्विकारेका थिए। महात्मा गान्धीले श्रेय पाउने गरेको ‘कसैले एउटा गालामा थप्पड हान्दा अर्को गाला थाप्ने’ गैरआक्रामकताको नीति खासमा जिससले अनुयायीलाई ‘सर्मन अन द माउन्ट’मा दिएको उपदेश थियो। शान्तिवादी यहुदी उपदेशकका अनुयायीहरू कसरी एकाएक ह्रिंसक वर्चस्ववादी ‘क्रुसेडर’का रूपमा विस्तारवादी र उपनिवेशवादी हुन पुगे ?

कट्टरपन्थी इसाईहरूले करिब २०० वर्षसम्म अब्राहामिक मुलजरामा जोडिएका र मुहम्मदलाई ईश्वरदूत मान्ने इस्लाम धर्ममा आस्था राख्नेमाथि आक्रमण जारी राखे। १५औं शताब्दीमा सुरु भएको आधुनिक उपनिवेशवादको गहिरो सम्बन्ध ‘क्रुसेड’सित थियो। जसको मूल उद्देश्य युरोप बाहिरका सभ्यताहरूको खोज गर्नु साथै त्यहाँ हैकम र वर्चस्व कायम गर्नु थियो। जुन केही दशकअघिसम्म कायम थियो। अफ्रिका, दक्षिण अमेरिकी र एसियाली मुलुकमा वर्चस्व कायम गर्न इसाई धर्मलाई प्रमुख हतियार बनाएका यूरोपेली उपनिवेशवादी मुलुकहरू र क्राइस्टको सन्देश दुई विपरीत थिए। क्राइस्टले सन्देश बोकेरै मानव कल्याणका निम्ति शुली चढेका थिए। उनको मान्यताहरूविपरीत पश्चिमा देशहरू कुनै कालखण्डमा क्रुसेड भए।

कालान्तरमा औपनिवेशिकवादको बर्बरता र दमनको खुलेर पैरवी गर्ने अग्रपंक्तिमा जिससको फोटो र बाइबल बोकेका तिनै मिसनहरू निस्किए। क्राइस्टले विपन्न र पिछडिएकाहरूका पक्षमा करुणा दर्शाए। औपनिवेशवादीहरूले भने अफ्रिकालगायत आफ्ना उपनिवेशहरूमा तिनै भुइँमान्छेलाई धर्महीनको आरोप लगाउँदै अवहेलना गरे। क्राइस्टले जस्तो बुद्धले आफूलाई ईश्वर वा ईश्वरको अवतार त दाबी गरेनन्। पाँच सय वर्ष र हजारौंं माइलको भिन्नताको ऐतिहासिक तथ्यका बावजुद दुवैका उपदेशमा समानता भने थिए।

बुद्ध र क्राइस्ट दुवैले भौतिक वैभवलाई गौंण ठाने र करुणालाई अंगाले। अफ्रिका महादेशमा तिनै सन्त जिससको सन्देश बोकेर आएका उपनिवेशवादीबारे कथन बन्यो। ‘जब पश्चिमाहरू हामीकहाँ आए, उनीहरूसँग बाइबल थियो। हामीसँग जमिन अनि पाहुनाका रूपमा आएका उनीहरूले हामीलाई सँगै आँखा चिम्लेर प्रार्थना गर्न लगाए। हामीले मान्यौं। जब प्रार्थना सकियो, पश्चिमाहरूको हातमा हाम्रो जमिन थियो। हाम्रो हातमा भने उनीहरूले थमाइदिएको बाइबल थियो।’ उपनिवेश र धार्मिक मिसनरीहरूको विषयमा सम्भवत यस्तो सटिक ऐतिहासिक कथन र यथार्थको चित्रण कमै भेटाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.