बिग्रँदो पर्यावरणमा जीडीपी

बिग्रँदो पर्यावरणमा जीडीपी

प्रकृतिलाई पुग्नसम्म नोक्सान पुगिसकेको छ। अब बढ्दो तापक्रमलाई कसैले रोक्छु भनेर रोक्न सकिँदैन।


प्रकृतिलाई अनेक रूपमा देख्दा सौन्दर्य त भान हुन्छ। तर आजको यो स्थितिलाई केलाउने हो भने पृथ्वीलाई मानिसले गरेको शोषणको फल खडेरीको रूपमा रहेको प्रस्ट हुन्छ। यसको मुख्य कारण वायुमण्डलमा कार्बनडाई अक्साइड (सीओटू) धेरै ठूलो मात्रामा छ, जसले पृथ्वीको तापक्रम बढाउन ठूलो भूमिका खेलेको छ। वैज्ञानिकहरूको भनाइ र संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार यदि समयमै सजग भएनौं भने

वातावरणमा सीओटूको प्रतिस्थापनले यस शताब्दीभित्र पृथ्वीको तापक्रम ३ देखि ४ डिग्री सेल्सियसको दरले बढ्नेछ बढ्दो तापक्रमले एकातर्फ हिमाललाई पगालेर कालो पहाडमा परिणत गरिरहेको छ र विश्वमा पानीको हाहाकार बढ्दो छ। उता आर्टिकको हिउँ पग्लेर समुद्रको आयतन बढ्दै गएको छ। तापमानमा वृद्धि र आर्टिकको हिउँ पग्लनाको कारण समुद्रको सतह बढेर नजिक भविष्यमै सबैजसो तटीय देशलाई समुद्रले डुबाउनेछ। अबको विश्वमा कति सामुद्रिक आँधी, कति टर्नाडो झेल्नुपर्नेछ भने कतै अति वर्षा कतै खडेरी, कतै नियन्त्रणभन्दा बाहिरको हिमपात अनि कतै पिउने पानीको हाहाकार। यसको सबैभन्दा ठूलो श्रेय विकसित मुलुकहरू जी–२० लाई जान्छ। हाल आएर देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने होडमा भारत र चीनले पनि वातावरणमा धेरै नै ठूलो मात्रामा सीओटू प्रतिस्थापन गर्दै आएका छन्।

जुन विचार शक्तिको मानव गर्व गर्छ र जसले मानिसलाई पृथ्वीको अन्य जन्तु र चराचर जगत्सँग भिन्न गरायो। मानव सभ्यताको यस स्थितिमा ल्यायो। त्यही विचारले र अन्धो विकासले निकट भविष्यमै बढ्दो तापक्रमको रूपमा मानव जातिको अस्तित्व खतरामा परेको छ। प्रगति अपरिहार्य छ, तर अन्धो प्रगति कसको कामका लागि हुन्न। यस प्रकार पर्यावरण बिग्रिँदै जानुको पछाडिको मूल जड देश–देशको आर्थिक विकासको मुख्य मापदण्ड कुल गार्हस्थ्य उत्पादन हो। हो, पश्चिमेली मुलुकहरूले प्रविधि विकासमा विश्वमा ठूलो योगदान पुर्‍याएका छन्। औद्योगिक क्रान्ति र कुल गार्हस्थ्य उत्पादनलाई देश विकासको मुख्य मापदण्ड बनाएर जलवायु परिवर्तनमा ठूलो योगदान पुर्‍याएका छन्।

हालको उत्पादन पद्धतिअन्तर्गत विश्वको कुल गार्हस्थ्य उत्पादन जति वृद्धि हुँदै जान्छ, त्यति नै पर्यावरणमा नकारात्मक असर पर्दै जान्छ। जस्तो हामी कृषिमा उत्पादन बढाउन रासायनिक मलको प्रयोग गर्छौं। यसले कृषि उत्पादन बढाउन मद्दत त पुग्छ तर यसले माटोमा रहेको जैविक तत्त्व नाश गर्छ। आगामी वर्षहरूमा माटोको उत्पादकत्वमा ह्रास हुँदै जान्छ। यस प्रकार हामी झन्झन् रासायनिक मलमा भर पर्नुपर्ने हुन्छ। उता हाम्रो पर्यावरण खस्किँदै गएको अन्दाज पाउँदैनौं। प्रतिव्यक्ति आय बढाउन प्राकृतिक स्रोतहरू, जस्तै जिंक, म्याग्नेसियमजस्ता धेरै प्रकारका धातुहरू, कोइला खानी, पेट्रोल खानी, फलाम खानी, वनजंगल आदिको अत्यधिक उपयोग गरिरहेका छौं।

अर्कोतर्फ यिनै धातुजन्य र अन्य प्राकृतिक साधनलाई प्रशोधन गर्ने उद्योगहरूले कोइला र पेट्रोलियम पदार्थहरूको इन्धनको रूपमा प्रयोग गर्छन्। यसै सन्दर्भमा वल्र्ड कोल स्टाटिस्टिकस् २०२० को तथ्यांकअनुसार सन् २०१६ मा विश्वमा ८ अर्ब ५६ करोड १८ लाख ५२ हजार १ सय ७६ मेट्रिकटन कोइला प्रयोगमा आयो। यस्तै, सन् २०२० मा विश्वमा ३५ अर्ब ४४ करोड २९ लाख १३ हजार ९० ब्यारल पेट्रोलियम पदार्थ प्रयोग भयो। एफएओको सन् २०१९ को तथ्यांकअनुसार विश्वमा बर्सेनि ४३.९ करोड क्युबिक मिटर काठ प्रयोग हुँदै आएको छ। जसको कारणबाट विश्व सम्पदा ‘रेन फरेस्ट’ विस्तारै नाश हुँदैछ। उद्योगबाट निस्कने सीओटुले वायुमण्डलमा कुल सीओटुको ५० प्रतिशत भाग ओगटेको छ। उद्योगबाट निस्किएका रासायनिक पदार्थ समुद्रमा फ्याँकिँदा, समुद्रमा तेल पोखिँदा र प्लास्टिकको आक्रमणले कतिपय सामुद्रिक जीव र जनावरहरू लोप हुँदै गएका छन्। समुद्रको कतिपय पकेट क्षेत्रहरूमा अक्सिजन नपुग्नाले जैविक पदार्थ मृत अवस्थामा पुगेका छन्।

पूर्वेली मुलुकलाई पश्चिमा मुलुकहरूद्वारा प्रतिपादित विकासको सिद्धान्त र परिभाषालाई सर्वस्वीकार्य छ। यदि केलाएर हेर्ने हो भने यसरी परिभाषित विकासका सिद्धान्तहरूले मानव जातिलाई आज यो विनाशको संघारमा ल्याएर उभ्याइदिएको छ। हाल आएर चीनले युरोप र अमेरिकाको दाँजोमा औद्योगिक विकासलाई एक उचाइमा पुर्‍याएको छ भन्दै गौरव गरिरहेको छ। सन् २०१५ को नेचुरल रिसोर्स युज इन् द ग्रुप अफ २० एम स्टाटस, ट्रेन्डस् एन्ड सोलुसन्स्, यूएन २०२० को प्रतिवेदनअनुसार चीनले ९ प्रतिशतको कुल गार्हस्थ्य उत्पादनलाई निरन्तरता दिन कुल विश्व प्राकृतिक सम्पदा उपयोगको ३३ प्रतिशत उपयोग गरिरहेको छ।
चीनमा श्रमको मूल्य युरोप अमेरिकाभन्दा धेरै सस्तो छ। यसबाट उत्पादन हुने सस्तो मूल्यको वस्तु पश्चिमा मुलुकहरूमा निर्यात हुन्छ। यसको अर्थ चीनलगायत भारत र अन्य विकासिल मुलुकहरूले पश्चिमा मुलुकहरूको उपभोक्ताको हितमा आफ्नो देशको बहुमूल्य धातुहरू र श्रमको उपयोग गरिरहेका छन्। उता युरोपेली र अमेरिकी मुलुकहरूले आफ्नो प्राकृतिक सम्पदा १० देखि १५ प्रतिशतसम्म मात्र प्रयोग गरेर एसियाली र अफ्रिकी देशहरूले अन्धो हिसाबले उपयोग गरिरहेका प्राकृतिक सम्पदाको सित्तै जस्तो भाउमा उपयोग गर्न पाएका छन्।

सन् २०१८ मा संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमअन्तर्गत इन्टरनेसनल रिसोर्स प्यानलले गरेको सन् १९७०–२०१० सम्मको प्राकृतिक स्रोत उपभोगको भएको एक अध्ययन प्रतिवेदनमा छ। जसमा युरोपेली मुलुकहरूले र अमेरिकाले वार्षिक प्रतिव्यक्ति २५ देखि ३० मेट्रिकटनसम्म प्राकृतिक स्रोतको प्रयोग पर्छन्। यसको तुलनामा एसिया प्यासिफिक, दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरूले वार्षिक प्रतिव्यक्ति ९–१० मेट्रिकटन प्राकृतिक स्रोतको प्रयोग गर्छन्। तिनै मुलुकहरूमा विश्वको ७५ प्रतिशतभन्दा बढी मानिस बसोबास गर्छन्। साइन्टिफिक अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययन ‘युज इट एन्ड लुज आईटीएम, द आउटसाइज इफेक्ट अफ यूएस कन्जम्सन अन् द इन्भाइरोमेन्टअनुसार एक औसत अमेरिकन नागरिकले ३५ भारतीय नागरिक र ५३ चिनियाँ नागरिकबराबरको प्राकृतिक स्रोतको उपयोग गर्छ। औसत अमेरिकीहरूले ४० प्रतिशत खाद्यवस्तु बर्सेनि खेर फाल्छन्।

कुल गार्हस्थ्य उत्पादनमा वृद्धि ल्याउन उपभोग्य वस्तुको खपतमा वृद्धि आउन जरुरी छ। जसका लागि आम्दानीमा वृद्धि हुन अति आवश्यक हुन्छ। आम्दानीमा वृद्धि हुन प्राकृतिक स्रोतसाधनको उपयोग आवश्यक छ। सन्तुलित उपयोग त ठीकै हुन्थ्यो तर आज पैसा कमाउने अर्थात् प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढाउने होडमा देशको सम्पत्तिको अपूर्व शोषण भइरहेको छ। प्रकृतिलाई पुग्नसम्म नोक्सान पुगिसकेको छ, अब बढ्दो तापक्रमलाई कसैले रोक्छु भनेर रोक्न सकिँदैन। अब हिमाल पग्लने र समुद्र उचालिने दिनहरू आएका छन्। नदीनाला सुकेर ढुंगेबगरमा परिणत हुने दिन आएका छन्। या त अति मनसुन या फेरि मनसुन ठीक समयमा नआउने दिन आएका छन्। अफ्रिकादेखि लिएर एसिया महाद्वीपमै खडेरीको सुरुआत भएको छ। खेतीयोग्य जमिनहरू मरुभूमिमा परिणत हुँदैछन्।

मानवका लागि सबैभन्दा ठूलो अभिसाप नै हाल आएर औद्योगिक क्रान्ति हुन पुगेको छ। जसले कार्बनडाई अक्साइड जलवायुमा प्रतिस्थापन गर्न मूल भूमिका खेलेको छ।

हामी सभ्यताको कुन चुलीमा आइपुगेका छौं। हामी मानव जाति जहाँबाट हेर्दा मानवको भविष्य अन्धकार मात्र देखिन्छ। के मानव जातिले खोजेको विकास यही हो त ? जसको फल मानव जातिको नै विनाश हो। मानवका लागि सबैभन्दा ठूलो अभिशाप नै हाल आएर औद्योगिक क्रान्ति हुन पुगेको छ। जसले सीओटू जलवायुमा प्रतिस्थापन गर्न मूल भूमिका खेलेको छ। चन्द्रमामा टेकेर मानिसले गौरवमय इतिहास त बनायो तर विनाशको यस स्थितिमा इतिहास कसका लागि ? मानव जातिले नबुझेको कुरो ऊ पनि प्रकृतिको एक हिस्सा हो भनेर। अहिले पनि टेलिभिजन च्यानलमा मेन अगेन्स्ट नेचर भनेर कार्यक्रम प्रसारण हुन्छ। के मनुष्य भनेको पनि प्रकृतिको एक हिस्सा होइन र ? प्रकृतिको विनाश भन्नु नै मानवको विनाश होइन र ? प्रकृतिलाई जित्ने धोकोले नै आज मानिसले यो अवस्था भोग्न बाध्य हुनु परेको छ। अझै पनि विकासलाई दीर्घकालीन बनाउनुको साटो औद्योगिक देशहरूले वातावरणमा सीओटू प्रसारण गर्न छोडेका छैनन्। कस्तो सभ्यताबाट गुज्रिरहेका छौं। हामी जहाँ आफ्नै सन्ततिको भविष्यप्रति खेलाँची हुँदैछ। 

यहाँ आएर विकासलाई परिभाषित गर्नु जरुरी देखिन्छ। हालसम्मको विकासले भौतिक सुखलाई जोड दिँदै आएको छ। जसले संसारमा भौतिक वस्तुको संग्रहलाई बढी महत्त्व दिएको छ। संसारभर नै आर्थिक उन्नतिलाई नै विकासको मुख्य मापदण्डको रूपमा लिइएको छ। आर्थिक उन्नति भए भने मानव सुखी भएर बाँच्छ भन्ने धारणा छ। जबकि सुख भनेको सन्तुष्टिसँग गाँसिएको हुन्छ। जहाँ अर्बपतिलाई राति निद्रा लाग्न औषधिको जरुरत पर्छ। एक गरिब तर सन्तुष्ट मानव ढुंगाको सिरानीमा पनि अगाध निद्रामा सुत्छ। त्यसैले अबको विकासले लोभ र संग्रहभन्दा पनि सन्तुष्टिलाई प्रेरणा दिनुपर्छ। प्रकृतिको विपक्षमा होइन, प्रकृतिसँग सामञ्जस्यमा पाइला चाल्नुपर्छ। आर्थिक उन्नति मात्र नहेरेर मानव सभ्यताको समग्र पक्ष पर्यावरणीय सन्तुलनलाई ध्यान दिनुपर्छ। न्युजिल्यान्डले अब आएर आर्थिक विकाससँगै पर्यावरण र मानव स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ।

एक हेक्टरबाट कति आम्दानी हुन्छ भन्नुको साटो कति पौष्टिक तत्त्व लिन सक्छौं भन्ने मापदण्ड किन प्रयोगमा नल्याउने ? जब हामी जमिनको उपयोगबाट अधिकतम आम्दानीको सट्टा अधिकतम पौष्टिक तत्त्वको उत्पादनमा जोड दिन्छौं। तब पर्यावरणमा केही सन्तुलन हुन सक्छ। स्वास्थ्य स्थितिमा सुधार हुन्छ र स्वास्थ्यमा खर्च हुने पैसा बचत हुन्छ। हामीले नासिने स्रोतको अत्यधिक उपयोग र सीओटु वातावरणमा अत्यधिक प्रतिस्थापित हुने ऊर्जाको प्रयोगलाई हटाएर सफा र ननासिने ऊर्जाको प्रयोगलाई किन जोड नदिने ? प्लास्टिकजस्ता नाश नहुने वस्तुहरूलाई एक पटक प्रयोग गरिसकेपछि फेरि पनि प्रयोगमा ल्याउन सक्ने प्रविधिलाई घरघर, गाउँगाउँ र सहरहरूमा किन प्रोत्साहन नगर्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.