आफैंलाई केरकार

आफैंलाई केरकार

अक्षरमार्फत ‘म’ स्वयंलाई लेख्न खोज्दैछु। के स्वयंलाई लेख्न शब्दद्वारा सकिन्छ ? अन्यौलमै छु। जे देख्छु–जे बुझ्छु, स्वयंलाई अर्कोले नदेख्न सक्छ। उसैगरी नबुझ्न सक्छ। तर, जोकोहीलाई कतै स्वयंले झैं अर्कोले देखोस्, अर्कोले उसैगरी बुझोस् भन्ने चाहना हृदयभित्र हुनसक्छ, नहुन पनि सक्छ। जोकोहीले अर्को व्यक्तिको ‘भावना’ उसकै मनले देखे–बुझेझैं नपढ्न सक्छ। के कुनै मान्छेका कथ्य अक्षरमै कसैले उतार्न सक्ला ? मान्छेको ‘मन’ बहुआयामिक छ। ‘अनुभूति’लाई सकेसम्म निफन्दै मष्तिष्कले केलाउन खोज्दैछु। स्वयंलाई कसरी हेर्दैछु–देख्दैछु भन्ने कुराको अर्थ छ, पक्कै ! आफैंलाई नदेख्नेले अर्कोलाई कसरी देख्ला ? झन् कसरी बुझ्ला ? यसको पनि अर्थ छ कतै, पक्कै ! 

प्रबुद्धजी भने औंलो तेर्साउँदै थर्काउनुहुन्छ, ‘तिम्ले समाज लेख्नुपर्छ। समाजको अन्तर्यमा पुगेर यथार्थका कथ्य उप्काउनुपर्छ।’ तर, म ठान्छु, मैले मै नबुझी ‘समाज’का कथ्य कसरी बुझँुला–देखुँला ? त्यसपछिका समग्र मानवीय तथा सामाजिक बुझाइहरूमा मेरो दृष्टि प्रधानता होला वा केवल आँखा। स्पष्ट हुन चाहन्छु। खैर, पढेर ‘खबरदार’ गर्नु भो भने तपाईले अझै ‘स्पष्ट’ हुनसक्छु।

१.

यतिबेला खुसी अस्पतालमा छु। मसँगै ‘खुसी’ व्यक्त गर्ने छेउमै कोही छ। नर्सले भिडियो स्क्रिन फर्काउँदै पाठेघरभित्र चलमलाउँदै गरेको सानो लार्भा देखाउनु भो। तर, यतिबेला उसका लपक्क भिजेका आँखा भने मतिर, मेरा भने स्क्रिनतिर। छिनमै प्रिन्ट पेपर ‘कालोसेतो’ धब्बाको लार्भा टाँसेर हातमै आइपुग्यो।

प्रिन्ट हेर्दै उसको उत्सुक अनुहार पढ्दै थें। ऊ यतिबेला के सोच्दै छे। एउटा मान्छेभित्र अर्को मान्छे हुर्कदैछ भन्ने कुराले त्यो मान्छेभित्र कस्तो कुरा आउँदो हो ? अझ नारीको हृदयमा यतिबेला कुन धुन बज्दो हो ? कुन स्वर गुनगुनाउँदो हो। कुन जीवनको गीत सुसेल्दो हो ? प्लाष्टिकको प्रिन्ट पेपर छाम्दै कोमल स्वरमा ‘आब्बुई’ को उसको स्वरले जोकोहीको मनमुटु निचथ्र्यो। मानौं, त्यो ‘खुसी’ को पोको हो। एकदिन त्यै पोकोबाट खुसी जन्मनेछ।

ऊ त्यो ‘खुसी’ महसुस गर्दैछे। केवल त्यो क्षणको साक्षी थिएँ, ‘शब्दमा अव्यक्त दृश्यको केवल एक सार्थक भाव !’

यहाँ प्रत्येक ‘खुट्टा’ ‘यात्रा’ र प्रत्येक ‘आँखा’ ‘दृश्य’ बुझ्दैनन्। अर्थात्, यहाँ सबैका खुट्टा ‘लुला’ छन्। आँखा दृष्टिविहीन। म हिँडेको अभिनय गर्छु, ‘गन्तव्य’ पत्ताो छैन। म देखेको अभिनय गर्छु, ‘दृश्य’कै अर्थ था’पत्ताो छैन।

त्यसदिन मेरा कैयौं भ्रम हटे। मेरो ठम्याइ थियो, ‘ज्ञानमा निर्भर छ मान्छेको बुझाइ।’ बुझाइ उसको बुद्धिमा। बुद्धि ऊसको चिन्तन। मनन र विवेकमा। त्यसदिन त्यो भन्दा पनि ठूलो ‘प्रल्हादित’ महसुस भो। तर्क र अक्षरभन्दा टाढाको एक सार्थक दृश्यको स्वादन। केवल एक द्रष्टाको साक्षी।

२.
मनको डर ! म हच्किएँ। मानिसहरू हच्किए। ‘आश’सँगै मान्छेहरू ‘डर’ पनि बोकेर बाँचेका छन्। र, त्यो ‘डर’ कहाँ–कसरी देखापर्छ भन्ने हेक्का स्वयंलाई था’छैन। 

‘मनकै दास न हो मष्तिष्क।’ ‘मष्तिष्कलाई कज्याएर मन लुसुक्क बिलाउँछ कतै।’ त्यसैले, मान्छेले कैयौं मानवीय भाव खप्न सक्दैन। जस्तै : सरकार नागरिकका आलोचना खप्न सक्दैन। निर्वाचित जन खबरदारी खप्न सक्दैन। कवि समालोचकको कठोरता खप्न सक्दैन। उपन्यासकार समीक्षाको बोझ खप्न सक्दैन। कथा ‘कथ्य’कै भार खप्न सक्दैन। लेखक औंलाको चलमलावटमा भाँचिएको नीबको भाष्य खप्न सक्दैन। 

यहाँ त सबैसबै ‘मृदु स्पर्श’ मै तर्सिने भए। एकअर्कालाई सक्दो तर्साइरहने भए।  ‘अर्कोलाई थर्काउनुअघि आफ्नै मुटु बुझ’, कसैले केरकार गर्दैन।  ‘अर्कोसँग प्याराप्यारा बहस गर्नुअघि आफैंलाई प्रश्न गर’, कसैले मष्तिष्क चिमोट्दैन। 

‘अर्काको कानेखुसी यात्रा गर्नुअघि आफ्नै हृदयको यात्रा गर’, कसैले गोडा ठटाउँदैन। ‘अर्कोलाई दपेट्नुअघि आफ्नै विचारमा मदानी मथ’, कोही घोत्लिँदैन।

अब, मुस्लो प्रश्न छ, ‘उसोभए स्वयंलाई बुझेको छस् ?’

फेरि मुस्लै प्रश्न छ, ‘स्वयंलाई बुझ्दैमा हुन्छ के ?’  जस्तै : जुन देशमा पत्रकार ‘सत्य’ बुझ्दैन। सरकार ‘नागरिक’ बुझ्दैन। समाजसेवी ‘भावना’ बुझ्दैन। युवा ‘कर्म’ बुझ्दैन। उच्च ओहोदाका प्रतिष्ठित ‘सेवा’ बुझ्दैन। नागरिक ‘कर्तव्य’ बुझ्दैन। एजेन्सी दाहित्य बुझ्दैन। बुझोस् पनि कसरी एकअर्काको भाषा ? जहाँ भेषभूषामै विभेद छ। रहनसहनको सहसम्झौता छैन। संस्कृतिको आदान–प्रदान छैन। जीवनशैली र सम्बन्धमा प्रल्हाद छैन।

यहाँ प्रत्येक ‘खुट्टा’ ‘यात्रा’ र प्रत्येक ‘आँखा’ ‘दृश्य’ बुझ्दैनन्। अर्थात्, यहाँ सबैका खुट्टा ‘लुला’ छन्। आँखा दृष्टिविहीन। म हिँडेको अभिनय गर्छु, ‘गन्तव्य’ पत्तो छैन। म देखेको अभिनय गर्छु, ‘दृश्य’कै अर्थ था’पत्तो छैन। 

कतै बकवास जीवनशैली बाँचिरहेको त छैन ? जस्तो मनोवैज्ञानिक एफडब्ल्यूएच मायर्सले भनेका छन्, ‘हाम्रो गहिरो अन्तरमा कसिँगरको थुप्रो पनि छ र साथै बहुमूल्य खजानाघर पनि। मानिसको प्रकृतिमा अन्तस्चेतनालाई आधार बनाएर गरिएको अनुसन्धानको विपरीत अतीन्द्रियको नयाँ मनोविज्ञानले खजानाघरमाथि ध्यान केन्द्रित गरेको छ जुन क्षेत्रले मात्र मानिसका महान् नि:स्वार्थ वीरतापूर्ण कार्यहरूको व्याख्या गर्न सक्नेछ।

अब, म नाथेले के व्याख्या गर्न सकुँला आफैंलाई...!

३.
राजनीतिक दाउपेचबीच यतिबेला सबैको मनमा प्रश्न छ, ‘नेता के हुन् ?’ नेता के हुन् ? को उत्तर त मसँग छैन तर घटना छ : 

गाउँकै एक निर्वाचित नेता छन्। मन्त्री हुन् क्यार ! ऊनी गाउँका आदर्श नेता मानिन्छन् तर केही (बौद्धिक) का नजरमा नांगो। उनले सहर पस्ने गाउँकै बाटो कालोपत्र गर्न बजेट पुर्‍याए। कालो पत्र पनि गरे। तर, एक महिना नबित्दै त्यो बाटो जीर्ण भो। भत्कियो। उनले बाटो जीर्ण हुन नपाउँदै लगत्तै गरिब बस्तीमा भूकम्पको एकीकृत बस्ती पनि बसाए। त्यो बस्ती अन्तत: ‘काम न काज’ को भो। खैर, यी हाम्रा निर्वाचित नेता हुन्। यी–यस्तै माननीयको कर्म–धर्म हो। तथापि, उनी राजनीतिका ठूल्ठूला नारा फलाक्छन् । बिचरा ती ‘गाउँले’ के बुझ्थे ? कति बुझ्थे ? गाउँले घरी बुझेरै हाँसिरहेझैं देखिन्थे। तिनका आँखामा गहिरिएर हेर्‍यो भने नबुझेरै हाँसेझैं पनि देखिन्थे।

श्रीयुक्तेश्वर महाराजको भनाइ याद आउँछ, ‘योग्य नेतामा स्वच्छ र इमानको सेवा गर्ने भाव हुन्छ, हैकमको कुकृत कार्य होइन।’ सोच्दैछु, हैकम कुकृत राजनीति प्रवृत्तिको अन्त्य गर्न ‘म नेता, म सेवक’ भन्ने कुरा बुझ्ने नेता कैले पाइएला ?

४.
‘को होस् तँ ?’, अपरिचितले थर्कायो। ‘म मान्छे हुँ ?’, सगर्व जवाफ फर्काएँ। ‘मान्छे रे...!’, ऊ फिस्स हाँस्यो। ‘म पुरुष हुँ’, स्पष्टोक्ति दिएँ। ‘पुरुष रे...!’, गलल हाँस्दै आँखा तर्न थाल्यो। ‘म सन्तोष हुँ’, गर्वका साथ नाम फर्माएँ। ‘सन्तोष रे...!’ ऊ झन् हाँस्यो। यसरी हाँस्यो मानौं उसले मेरो अस्तित्वमाथि नै मजाक गरिरहेको छ। 

‘के म सन्तोष हैन ?’, नपत्याए यिनीहरूलाई सोध। तिनीहरूलाई सोध। यी तमाम् मान्छेलाई सोध। म क्षणमै आक्रोशित भएँ। अपरिचत मेरो छेऊ आयो। ऊसले सुस्तरी मेरो हत्केला स्पर्श गर्‍यो। मेरा आँखा नियालिरह्यो, निकैबेर। केही क्षण मौन बस्यो र बोल्न सुरु गर्‍यो। 

‘निदाएको बेला तँ मान्छे, पुरुष, सन्तोष के होस्’ प्रश्नको सिर्कनाले स्याप्प सुम्लो उठ्ने गरी हिर्कायो। म रन्थनिएँ एकछिन, फेरि उसले मेरो निधार सुम्सुम्यायो र भन्यो, ‘तँ त्यो मात्र होस् जुन कुरा तँलाई था’छैन।’ तँ अर्थात् मान्छे ‘अव्यक्त छस्’, ‘अव्याख्या छस्’, ‘अपार छस्’।

‘म ट्वाँ परें’, सुन्दैछु अपरिचितको ध्वनि तर बुझ्दैछु ? तेरो मुटुको धड्कनलाई मैले कसरी व्याख्या गरौं। जो चलिरहेको छ, निरन्तर। सुन्दैछु तर के बुझ्दैछु ? जो चलिरहेकै छ, निरन्तर। प्रत्येक क्रिया गर्छस्, निरन्तर। अर्थात् तँ जीवित छस्। जीवित भनेकै हुनुको ‘एक अस्तित्व’ न हो। तर, जुन दिन ती कर्ता बन्द हुनेछन् । कहाँ छ मान्छे ? कहाँ छ पुरुष ? कहाँ छ सन्तोष ? साँच्ची कहाँ छु म ? अनुहार छाम्छु। औंला चल्मलाउँछु। गोडा ठटाउँछु। यही छु, जीवित तर एक भ्रम।

ऊ फेरि हकार्छ, ‘तँ जेसुकै होस्। आत्मा एक छ, अपरिवर्तित। त्यो एक निर्विकार र बिनासर्तको प्रतिमा हो। त्यसैले आफैं चैं को होस् तँ ? प्रश्न गर आफैंलाई। साँच्ची, को हुँ म ? आफैंलाई सोध्छु। सोधिरहन्छु। अझै चिच्याउँदै सोध्छु। सबैले सुन्ने गरी सोध्छु। धेरै वर्षपछि अचानक झल्यास्स हुन्छु। चीर निद्राबाट ब्यूँझिएझैं। त्यो एक सपना हो या यथार्थ ? बेलाबेला खुट्याउँदैछु, महोदय !

५. 
तँ अर्थात् ‘म’ को कुरा न हो यो। इमर्सनले लेखेका छन्, ‘जति हाम्रो भित्र छ त्यति हामी बाहिर देख्छौं।’ तँ अर्थात् मलाई लाग्छ, मैले बाहिर सबै देखे, भोगे, बुझे र बटुलेको छु।

इमर्सनकै कुराझैं भित्र देखेको छैन। भित्री मानवीय संवेदनाका रंग चिनेकै छैन। मैले आफ्नै हृदय बुझेको छैन। तर, अनन्त ब्रह्माण्ड बुझ्न खोज्दैछु। मैले म बुझ्नै परेन। तँ बुझेकै छु। बाहिरी ‘सब’ बुझेकै छु। साँच्चै बुझेको छु, मन भन्दैछ, ‘सम्हाल आफैंलाई।’

तँ अर्थात् म भन्छ, धनी अनि सम्पन्न छु। कुनै कुराको कमी छैन। तर थाहा छैन कि तँ निकृष्ट छस्, अभागी छस्, गरिब छस् र दृष्टिविहीन छस्। तँ अर्थात् मान्छे। सुकरातले उसै भनेका होइनन्, ‘जहाँसम्म तेरो कुरा छ, तँलाई थाहा छ तँलाई केही पनि थाहा छैन।’ अर्थात् ‘मलाई थाहा छ, मलाई केही पनि थाहा छैन।’ र, मलाई थाहा छैन भन्ने कुरा तँ स्वयंलाई थाहा छैन।

किनकि संसार त एउटा पुल न हो, यसबाट हिँड मात्र। घर नबना भन्दैछु। तर, तँ घर बनाउँछस्, आफैंलाई भत्काएर। पर्खाल खडा गर्छस् सानो क्षेत्रफलमा र घेर्छस् आफैंलाई चौघेराभित्र। बिचरो तँ अब कसरी उम्कन सक्छस् जिन्दगीभर !  अनि, कोकोहोलो मचाउँछस्, ‘स्वतन्त्रता मेरो अधिकार हो। म स्वतन्त्र हुन चाहन्छु।’ कठै !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.