दुःखीरामको दुःख

दुःखीरामको दुःख

कुनापट्टि रहेको खाटमा टुक्रुक्क बस्दै ऊ सुकेको फोक्सोले लामो सुस्केरा तान्छ। लोलाएका हातले झ्यालको चुकुल खोल्छ। उसको कोठाभित्र यही हावा मात्र हो खबर सोध्न चौबिसै घन्टा आइरहने। सरकार कहिले आइपुग्ने हो ? ऊ स्वयंलाई थाहा छैन।


फेरि कोरोना कहर। वर्ष दिन नबित्दै उही संकट। उस्तै कष्ट। उस्तै काल।

एक अदृश्य भाइरसले वर्षदिनदेखि मानवजातिको घित्रो न्याँकिरहेको छ। यो समय त्रासमा बाँचिरहेका छन् मान्छे। चरम उन्नतिपथका शक्तिशाली शासकका खुट्टा ‘थरथर’ काप्दैछ। वैज्ञानिक ‘ज्ञानको तातो बाफ’बाट बाहिर निस्कँदैछ। बह्माण्डको गोलाद्र्धमा पुछ्दैछ ‘पृथ्वीको नापनक्सा’। हेर्दैछ ‘पृथ्वीकै मानवजातिको मानचित्र’। पुँजीवाद’ र ‘पुँजीपति’ मौका छोप्दै ठुल्ठसलो मुख उघार्दैछ। ‘माक्र्सवाद’, ‘समाजवाद’, ‘लोकतन्त्र’, ‘गणतन्त्र’ शब्दार्थको असली अभ्यास शब्दकोशको अर्थमा सीमित छ।

यतिबेला हरेक देशका शासकहरूको टाउको ‘पट्पट्’ भइरहँदा प्रणालीले अर्को वैकल्पिक प्रणाली खोज्दैछ। आर्थिक अवयवले अर्कै परिभाषा बुन्दैछ। मान्छेहरूले बाँचिरहेका जीवनपद्धति वा अँगालिरहेको जीवनशैलीको पुनर्परिभाषा हुँदैछ। यस्तो समयमा ‘कोरोना’ भाइरस कुनै देशको नागरिक हुँदो हो त शासकले उहिल्यै झुन्ड्याइसक्थ्यो होला। लडाकु समूह हुँदो हो त उसको टाउको माथि बमवर्षा हुन्थ्यो होला। सायद, गोलाद्र्धबाटै निकाला हुनसक्थ्यो। तर, यो त अदृश्य भाइरस न प¥यो। दृश्य जीवमाथिको अत्याचार त ‘संकट’ होस् वा ‘सहज’ मान्छेले दासकै अदृश्य ‘कष्ट’ सदैव भोग्नुपरेकै छ। यो यै कोरोनाकालीन समयको अदृश्य ‘कष्ट’को कथाव्यथा हो।

...फेरि निषेधाज्ञा। उही त्रास। दुःखीरामको दुःख उस्तै। यसपटक ऊ झन् दुःखी छ। खुसी हुन त न उसँग मनग्गे पैसा छ, न सरकार। त्यसैले ऊ झन् बढी दुःखी छ। कुनापट्टि रहेको खाटमा टुक्रुक्क बस्दै ऊ सुकेको फोक्सोले लामो सुस्केरा तान्छ। लोलाएका हातले झ्यालको चुकुल खोल्छ। उसको कोठाभित्र यही हावा मात्र हो खबर सोध्न चौबिसै घन्टा आइरहने। सरकार कहिले आइपुग्ने हो ? ऊ स्वयंलाई थाहा छैन। उसलाई बरु संकटको समयमा सत्ताकै दाउपेचमा व्यस्त रहेको सरकारको जानकार छ। यस्तै जानकारीका लागि उसले भारी बोकेरै भए पनि जोहो गरेको छ एकथान मोबाइल सेट। यसैले सरकारको व्यस्तताको जानकारी बेलाबखत गराइरहन्छ। ऊ फेसबुक चलाउँछ।
नयाँ खबर क्षणभरमै दुःखीरामको आँखासम्म आइपुग्छ, 

‘महामारीले आक्रान्त छ देश। विकराल समय आउँदैछ...!’ घरभित्रै रहन शासक अनुरोध गर्दै स्कुले नानीबाबुझैं दुवै हात उठाउँदै विज्ञप्ति निकान्छ। निषेधाज्ञाले अरू केही नदिए पनि दुःखीरामलाई जीवनको दुःख मथ्न प्रशस्तै समय दिएको छ। दुर्भाग्य ! ऊ जीवन मथ्न पनि सकिरहेको छैन किनकि ‘कोरोनाको डर’ भन्दा ‘भोकको डर’मा बाँचिरहेको छ।
बाँचिरहेको छ के भन्नु दिन काटिरहेको छ। उसँग अर्थोक गर्ने अर्को थोक नभएकाले फेसबुक स्क्रोल गर्छ। हेर्छ विविध विषय। देख्छ फरकफरक मान्छे। फरकफरक विचार। फरकफरक जीवन। फरकफरक कथा–व्यथा। तर, आफ्नै जस्ता...!
(१)
ऊ फेसबुक हेर्दैछ, देख्छ अरुण स्वामीको ज्ञान–
‘असी प्रतिशत मान्छे ‘सेक्स’ र ‘ब्रेड’को सोच भन्दामाथि उठ्न सकेका छैनन्। मानव जातिमात्र पृथ्वीको यस्तो एउटा प्राणी हो जसलाई चौबिसै घन्टा ‘सेक्स’ र ‘ब्रेड’ चाहिन्छ। अन्य जीवजन्तुलाई नियाल्नुस् त एकपटक। चौबिसै घन्टा जीवजनावरले ‘सेक्स’बारे सोच्छ ? चौबिसै घन्टा जीवजनावर त ‘मुख’ चपाइरहन्छ। जीवजनावरको ‘सेक्स’ सिजनल छ। ‘ब्रेड’ भोकपछिको भोजन। तर, ‘सेक्स’ र ‘ब्रेड’को मामिलामा मान्छेको चरित्र हेर्नुस्। त्यसैले मान्छे आजको दिनमा अत्यधिक दुःखी छ।’

दुःखीरामले के बुझ्यो कुन्नि ? स्वास्नीको पेटीकोटमा एकफेर नजर डुलाउँछ। स्वास्नीले छाडेको पनि वर्ष दिन बितेछ। गरिबलाई के फुर्सद हुँदो हो ‘सेक्स’बारे सोच्न ? ऊ मनमनै गम्छ। उसलाई स्वामीजीको ‘सेक्स’बारेको विचार पटक्कै चित्त बुझ्दैन क्यार ! नाक खुम्चाउँछ। तर, गरिबले चौबिसै घन्टा सोच्ने भनेकै ‘ब्रेड’ चै हो है ! खुम्चेको नाक उसको फेरि पुरानै लयमा फर्किन्छ।
(२)
...र, फेरि ऊ फेसबुक स्क्रोल गर्न थाल्छ। कुनै सिनेविज्ञको पोष्टमा टक्क रोकिन्छ–
‘ओस्कर विजेता सिनेमा नोम्याडल्यान्ड हेरिसकेपछि निकैबेर म रन्थनिएँ। लामो समयपछि दृश्यहरूले रन्थनाएको यो दसौं सिनेमा हो। निषेधाज्ञाले यो अवसर जुरायो। अझ भनौं कोरोना कहरले। छक्क यस मानेमा छु कि स्वयंले भोगेको जस्तै अनुभूति गराउने चित्रले ठ्याम्मै हृदयलाई भने कसरी उकुसमुकुस बनाउँछ ? कसरी आफ्नै वेदना पोखिएजस्तो संवेदनाहरूको एकाकार गराउँछ, म छक्क छु। मस्ट रिकमेन्ड टु अल...! 

दुःखीरामले पछिल्लो लाइन पढ्न जानेन। त्यो वाक्यलाई पूरै बेवास्ता गर्दै ऊ अगाडि बढ्छ– ...एउटा सिनेमाले कुनै कालखण्डको कथा उधिन्छ तर यति शक्तिशाली तहबाट उधिइन्छ भन्ने मैले कल्पना गरेकै थिइनँ। म भने पृथ्वीको अर्को कुनोबाट पात्रहरूले भोगेको ‘त्यो जीवन संघर्ष’ को प्रस्तुति मसिनो गरी छाम्दैछु। हेर्दैछु छुटेर जाने सपना, जीवनजगत्, समय, दुःखकष्ट, इच्छाआकांक्षाको सम्रग पोको।’
दुःखीरामले यो स्टाटस केही बुझेन। त्यसैले ऊ खिन्न छ। एउटै भूगोल। एउटै देश। एउटै सहर। एउटै गाऊँ। त्यसमा पनि एउटै समाज। एउटै टोलमा यस्तो कठिनतम् परिस्थितिमा ‘भोक’ले रन्थनिँदै दिन काटिरहेका दुःखीरामजस्तै हजारौं दुःखीराम नदेख्ने आँखाले अर्कै भूगोलको संवेदनाहरूमा अनुभूतिका एकाकार गराइरहेको छ। गाँठे चलचित्र हेरेर समवेदना एकाकार भो रे ! हैन, ‘आस्कार’ भन्या क्या र’छ ? ऊ जान्न उत्सुक हुन्छ। तर, यति नै बेला उसको पेट कटक्क हुन्छ। पेटले ‘अन्नपानी’ खोज्दैछ। कुन्नि के सोच्छ दुःखीराम, ‘ओस्कर’ छाडेर दालमोड चिउरा मोल्न थाल्छ।
(३) 
देशकै प्रतिष्ठित बौद्धिकले भर्खरै राखेको ‘ज्ञानज्ञुनका शब्द’ देखापर्छ। हाई काड्दै दुःखीराम दालमोडसँग चिउरा चपाउँदै हेर्छ–
‘जनताहरू संकटको पीडाबाट गुज्रिरहेका छन्। शासक भने देशमा सरकार छ है भन्ने गन्ध ‘निषेधाज्ञा’ जारी गरेर सुँघाइरहेको छ। एउटा गरिब चिसो कोठाभित्रबाट काम्दै छामिरहेको छ शासकको नाडी। प्रणालीको नाडी। यो कष्टकर जीवनको नाडी। विश्वकै शक्तिकेन्द्र बन्ने दौडमा रहेका छिमेकी देशका नरेन्द्र मोदीसमेत यतिबेला ‘ख्यास्स’ परेका छन्। हाम्रा शासक ‘ख्यास्स’ पर्नु कुनै नौलो कुरै भएन तर जनताको सेवा गर्ने समयमा शासक ‘ख्यास्स’ परेको मलाई पटक्कै मन पर्र्दैन। सायद, तपाईहरूलाई पनि मन नपर्दो हो।’
दुःखीरामले स्टोभतिर पुलुक्क आँखा खसाल्छ। भरे पुग्ने ‘चामल–सागसब्जी’ छ–छैन निक्र्यौल गर्छ। ऊ ढुक्क हुँदै चलाइरहेको मोबाइल खाटतिर मिल्काउँछ। सुस्तरी हातले सर्टको ‘गोजी’ छामछुम पार्छ। त्यही गोजीमा केही दिनको ‘जोहो’ छ। केही दिनको ‘ढुक्क’। त्यसपछिका दिन कस्ता रहने हुन् ? सम्झेरै ऊ अवाक् हुन्छ। ‘ख्यास्स’ पर्दै उसको अनुहार चाउरिन्छ।
(४)
उसले फेरि खाटमा पल्टेको मोबाइल उठाउँछ। स्वीच अफ गर्छ। र, झ्यालबाट बाहिरी दुनियाँ चियाउन थाल्छ। बँचेखुचेका टुक्रे पाटाहरूमा झुलिरहेका गहुँ–जौका बाली। ती बाली देखेर ऊ गाउँकै आफ्नो गैरीखेत सम्झिन्छ। बाँझो बारी सम्झिन्छ। गाउँ सम्झिन्छ। गाउँले सम्झिन्छ। गाउँमै भ’को भे भोकको चिन्ता चै गर्नुपर्दैनथ्यो कि ? के कमाउन पसें सहर ? गम्न थाल्छ। कमाइहालें भने गाउँ फिर्दा के लग्छु ? यै जीर्ण शरीर ? कतै सहर पसेर गल्ती त गरिनँ ? पन्ध्र दिन त हो नि ! निषेधाज्ञा सकिएपछि फेरि बोक्छु भारी। उही कर्म। एक छाक भोजनका लागि पुरानै जीवनको संघर्ष।

एक्कासि ‘गाला चिरिक्क हुन्छ, लामखुट्टेले चुसेछ क्यार !’, जोडले गालामा हात बजार्छ। लामखुट्टे उडेर कता भाग्छ। गालामात्र ‘रनन’ हुन्छ। उसका आँखाले देखेका कैयौं सपना क्षणभरमै लामखुट्टे झै बिलाउँछ। जिन्दगीमा बाँकी रहने भनेको त उही पुरानै हकिकत त हो। ऊ एकछिन रनभुल्लमा पर्छ। झ्यालबाट फेरि घित्रो तन्काउँदै नियाल्न थाल्छ ओहोदोहोर गरिरहेका किसान। टिप्दै गरेका धनियाका बोट। उखेल्दै गरेको प्याज। चिमोट्दै गरेको लसुन। पाछपुछ गरेका सागका मुठ्ठा।

दृश्य हेर्दादेर्है दुःखीराम फेरि दुःखी हुन्छ किनकि उसले बल्ल बुझ्छ, कहिल्यै ‘ख्यास्स’ नहुने त किसान मात्र रैछ। सबैभन्दा शक्तिशाली। ऊ फलाउँछ अन्न। पठाउँछ जहिँतहिँ। पाल्छ अर्को मान्छे। न पानी परेन भन्दै लत्रिन्छ। न मल पाइएन भन्दै कोकोहोलो मच्चाउँछ। समयको एउटै गतिमा चलाइरहन्छ जीवनको पाइडल। कुदाइरहन्छ आफ्नै लयमा जीवनको पाङ्ग्रो। न कुनै सुर्ता छ न भोक। न कुनै दउपेचको खेल। ‘अन्नदाता’को महारथी भएर स्वयंलाई थाछैन उसको कर्मको शक्ति। जसरी बादललाई थाछैन उभित्रको चट्याङको शक्ति। सायद किसान बादल हो। बादलभित्र लुकेको चट्याङ।
(५)
ग्लानिको झोकमा ‘स्वीच अफ’ गरेको मोबाइल ‘अन’ गर्छ र फेरि उही फेसबुक स्क्रोल गर्न थाल्छ। भर्खरै कसैले अपलोड गरेको देख्छ–
‘कोरोनाले मानव जातिलाई पुनः मान्छेको समग्रतामाथि पुनर्विचार गर्नुपर्ने सन्देश दिएको छ। मान्छेले स्वयंभित्रका मानवीय संवेदनामाथि प्रश्न गर्नुपर्ने समय आएको छ। अदृश्य भाइरससँग डराउनुपर्ने मान्छेको नियति हो वा उसैले निम्त्याएको कष्ट। ‘विवेकपूर्ण’ प्राणी घरको पर्खालभित्र आफैं थुनिएको छ। संसारकै शक्तिशाली शासकको मथिंगल हल्लिएको छ। स्थापित राज्यका संरचनाहरूमाथि प्रश्न उठेको छ। विज्ञानको प्रगति। सूचना–प्रविधिको विकास। मानव जातिको भविष्यमाथि नै यतिबेला एउटा प्रश्न खडा भएको छ तर यो समय प्रश्न मन्थन भन्दा पनि महामारीमा मान्छेहरूको जीवन बचाउने उपाय अवलम्बनको समय हो। जीवन रक्षाको समय हो।’
यो स्टाटस हजारौंले सेयर गरेका छन्। लाइक उत्तिकै। खै ! किन हो कुन्नि दुःखीरामलाई भने यो स्टाटसले खासै ध्यान  खिच्दैन। सायद उसको ‘भोक’को कथा नअटाएकाले हो वा अर्कै  कारण छ। उसलाई छटपटी हुन्छ। तंग्रिन बाहिर निस्कन्छ।
(६)  
महामारीमा पनि मान्छे कता दौडेका ? यी दौडिने मान्छे को हुन् ? 
ठुला भनाउँदा होलान्। बुद्धि भ’का ठुल्ठुला मान्छेलाई छ हतार यो दुनियाँमा। ऊ भुतभुताउँछ। कसैका लागि त यो सुवर्ण अवसर नै हो नि ! चाडबाड जस्तै ! अघि फेसबुकमा पढेथें निषेधाज्ञामा व्यापारीको कालोबजारी। व्यापारीले व्यापार होइन, मौकाको झ्याप गर्ने भन्या यै होला। कोरोनाको त्रासमा ‘जीवनभन्दा ठुलो अर्थोक केही छैन’ भन्दै नुनचामलमा ¥याल चुहाउँछ। सामान होइन, बेइमान बेच्छ व्यापारी। उसले के सम्झेर हो ख्वाक्क गर्छ र खुलिरहेको पसलपटि फर्केर पिच्च थुक्दै सरासर अघि बढ्छ।

एकसुरले हिँड्दै जाँदा अलिक पर च्यादोकान छेवैको बाटोमा चारपाँच जनाको झुन्डमा एक अज्ञातको कुराले दुःखीरामको मन च्वास्स् हुन्छ। त्यो अज्ञात भन्दैछ, ‘जनावरले अर्को जीवको हत्या गरी मासु किनबेच गर्र्दैन ?’ ऊ प्राकृत भोजनका लागि सिकार गर्छ तर मान्छे जीव ‘हत्या’ गरी मासुको व्यापार गर्छ। मान्छेले चमेरो खाने हो ? मुसा खाने हो ? के खाँदैन मान्छे ? प्राकृत भोकले भन्दा विलासी भोजनले निम्त्याएको सुनामी हो यो कोरोना। अज्ञात ठुल्ठुलो स्वरमा आफ्नो दाबी ठोक्छ विज्ञझैं। मान्छेले प्राकृत नियम तोड्ने हो। अज्ञात झन् चर्किन्छ। प्राकृत नियमभन्दा निकै टाढाको जीवन कल्पना गर्छ। मान्छे जुन कैयौं अवयवहरूमा लागू हुँदैन। त्यसैले यसले विनाश मात्र जन्माउने छ एकदिन।

अहिले कोरोनाको महामारी त्यै विनाशको दिन हो। अचानक अज्ञात र दुःखीरामको आँखा जुध्छ। दुःखीराम उसको विचारमा एकैछिन पौडिन पुग्छ। विचार मथ्न मात्र के लाग्छ उसलाई आफू अनपढ भएको ज्ञात भएकाले अज्ञातको विचारलाई बेवास्ता गर्ने निर्णय गर्छ। अँ, साँच्ची यी पाँचैजनाले माक्स चै किन नसिउरिएका ? अब भने दुःखीरामलाई असह्य हुन्छ र जोडजोडले चिच्याउन थाल्छ, ‘हो–हो, मान्छेहरू नियमको चौघेरामा बाँधिन चाहँदैन। ऊ नियम तोडेर बाँच्न चाहन्छ’ जुन कुरा सत्य हो। दुःखीराम पाँचैजनाको मुखतिर पुलुक्क हेर्दै त्यहाँबाट फटाफट कोठातिर लम्किन्छ।
एउटाले फोटोसहित स्टाटस राखेछ। दुःखीराम खाटमा पल्टेर 
पढ्न थाल्छ–
‘अघिल्लो वर्षझैं निषेधाज्ञाको अदृश्य त्रासमा बितिरहेको छ जीवन। म बाँचिरहेको छु भन्ने यो देशको शासकलाई थाहा नहुनसक्छ तर मलाई यस्तो कठिनतम् परिस्थितिमा शासकले हरदिन के गरिरहेको छ भन्ने कुराको हेक्का छ। मसँग एउटा शक्तिशाली भोट छ जुन भोट मैले निर्वाचनको समयमा तिनै नेताविरुद्ध अवश्य विवेकपूर्ण तहबाट प्रयोग गर्न सक्नेछु। म नागरिक हुँ। निश्चित भूगोलको। देशको। नेपालको। म अनागरिक हुँ। गरिबीको। जटिलतम् परिस्थितिले निम्त्याउने अवस्थाको। प्रणालीको। अभावको। रोगको। दुःखकष्टको। महाशय, तपाईहरूले देख्नुभो गाऊँ फर्कन लामबद्ध सडकका मान्छे। एउटा अनिश्चित यात्रा कुरिरहेका अँध्यारा अनुहार। ती अनुहारले यात्रा होइन आफ्नै भोकको, त्रासको र एक अनिश्चित जीवन कुरिरहेका छन्। त्यसैले बुझ्नुस् महाशय ! सहरको अर्थ यहाँ कंक्रिटका घर मात्र बुझियो। सहर कहिल्यै सहर भएन ती मान्छेहरूका लागि जो एकछाक भोक र सुनौलो भविष्यको खोजीमा वर्षौंदेखि जीवन बँचाउँदै आएका थिए। २१औं शताब्दीमा ‘मान्छे भएर’ मान्छे स्वयं बाँच्न सकिरहेको छैन। प्रविधिको विकासले कोल्टे फेरेको जीवनशैली। विश्वलाई एउटै सञ्जालमा बुनेको देश–देशावर। आर्थिक, वैज्ञानिक, सामाजिक र राजनीतिक दृष्टिकोणमा देखा परेका नवीनतम् आयाम। स्वास्थ्यमा भएको प्रगति। तर आज एक अदृश्य भाइरसको चपेटामा रोइलो जीवन बाँचिरहेको मान्छे। सत्ताका दाउपेचमा अल्झिएको शासक। र, एउटा अदृश्य उत्पीडनमा बाँचिरहेका प्रत्येक भूगोलका जनजीवन।’
यस्ले भने दुःखीरामको मनकै कुरा लेखेछ। दुःखीराम छैठौं दिनको निषेधाज्ञामा पहिलोपटक मज्जाले हाँस्छ। निकै प्रफुल्ल छ दुःखीराम आज। खुसी मिसाउँदै गोजी खोतल्छ, गोजी त रित्तिसकेछ !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.