आफैंलाई नियाल्दा... !

आफैंलाई नियाल्दा... !

यो अफबिट अक्षरहरूको स्केच हो। यहाँ मैले आफैंलाई नियाल्दा भेटिएका छरप्रष्ट दर्शन छ। तपाईहरूले ग्रहण गर्नुभयो भने ‘आफ्नै संवेदना’को प्रसाद स्वीकारेको सम्झिने छु।

अज्ञातले भनेका थिए। एउटा रूख बाँचुन्जेल पातहरू खस्छन्, निरन्तर। नयाँ मुना पलाउँछ, निरन्तर। फ्याट्फ्याट् पातका धुन कानले टिप्दा झङ्कृत हुने मन। भनौं, हावा र पातको सांगीतिक कोलाज। अनि, हावाले हरदम हल्लाइरहने– ‘हाँगा, पात, सुकेको ठुटो र चरीको गुँड’।
के कुनै क्षण हावाको झोक्कामा हल्लिरहेको रूख हेर्ने गर्नु भएको छ ?
मैले भनें–
एउटा रूख बाँचुञ्जेल
हाँगाबाट पातहरू खस्छन्, निरन्तर...
नयाँ मुना पलाउँछ, निरन्तर...
फ्याट्फ्याट् पातका धुन कानले टिप्दा झङ्कृत हुने मन
हावा र पातको सांगितिक कोलाज
अनि, हावाले हल्लाइरहने– ‘हाँगा, पात, सुकेको ठुटो र चरीको गुँड’।

हावाले रूख हल्लाउनु। हावाको लयसँगै हाँगा र पातले हल्लिएर लय मिलाउनु। फ्याट्फ्याट्को धुन गुन्जिनु आफैंमा एक प्राकृत कर्म हो। प्राकृत कर्म आफंैमा एक जीवन हो। घरको झ्यालबाट यतिबेला हल्लिरहेको रूख, हाँगा, पात, ठूटा र चरीको गँुड हेरिरहेको छु। कानले टिपेको छ– हाँगा र पातको सांगीतिक धुन। धुनको मुग्धतामा मौन छ मन। आँखाले दृश्यपान गरिरहेको छ— रूखको समग्र नृत्य। मैले यस अघि कहिल्यै यसरी रूख नाँचेको (हल्लिएको) दृश्य हेरेकै थिइनँ। पहिलोपटक रूखको नृत्य देखेपछि लाग्यो– रूख जीवन्तताको दस्तावेज हो। साक्षी हो हावाको। प्राणको। रूख नृत्यको घण्टौं दृश्यपान पश्चात् अचानक मनमा एउटा प्रश्न जन्मियो। रूखका बोक्रामा टाँसिएका अनेकौं कणकस हावाले हल्लाएरै खसाल्छ।
वर्षात्ले पखाल्छ। घामले सेकाउँछ। स्वच्छ। स्निग्ध। तर मान्छे ! ऊसको शरीर। ऊसको मन। मान्छेले लगाएको बोक्रा (कपडा) हप्तैपिच्छे पखाल्छ पानीले। शरीर पनि। तर, मन ! भित्रैबाट के ऊ प्राकृत रूपमा पखालिन्छ ? भित्री कस। मनमा जमेका अनेकौं कसिङ्गार। मैले कुनै दिन स्वयंलाई हल्लाएर हेरे भने– के खस्ला देहबाट ? मनबाट। स्वयंसँग एउटा प्रश्न कतै छ। के खस्ला ? म अनुत्तरित छु किनकि प्रश्नको उत्तर हुन मैले प्रश्नको भावातीत बोध गरेको हुनुपर्नेछ तर गरेकै छैन। मैले कहिल्यै आफैंलाई नियालेको छु ?

एकाग्र भई अन्तहृदयको यात्रा गरेको छु। दुईचार थान पुस्तकका ज्ञानरस पिए हुँला ? आँखाले होइन हृदयले हेर्ने यत्न गरेको छु यो संसार ? यो समाज ? समाजका मान्छे ? सामाजिक गतिविधि ? नढाँटी भन्नुपर्दा आफैंलाई हेर्ने रहर भित्र कतै छ ? अझ भनौं शरीर झक्झकाएर हेर्न। आफ्नै सजगता हेर्न। सजकताको सन्देश प्रवाह गर्ने मनमष्तिष्क बुझ्न। आफ्नै देह झक्झकाउँदै अन्तरहृदय छाम्न। हाडछाला मात्र शरीर हो या शरीर अरूथोक पनि हो, जान्न। चिन्तन्मनन् गर्न। बुझ्न।

मैले सोच्न थालेकै समय मष्तिष्कबाट अनेकौं विचार आइरहे। विलाइरहे। म केलाउँदैछु आफ्नै विचार। कति कू–विचार ! छिः घृणा जाग्यो आफैसँग। आफ्नै विचारसँग। कति सू–विचार, वाऊ ! पुलकित भएँ। चकित भएँ आफ्नै विचारसँग। आफैसँग। ओहो ! आफैंलाई सिध्याउने विचार। गम्दैछु– स्वयंलाई सिध्याउने विचार आफ्नै मष्तिष्कले कसरी सोच्न सक्छ ? केही तितरवितरका विचार छन् जसले मनमा खिया जमाएको छ। म खिइँदैछु दिनदिनै। व्यक्तिगत स्वभावले खुइलेको हुँ वा विचारको प्रभावले। वर्षौंअघि र पछि बाँचिरहेको एउटै जीवन तर फरक।
वर्षौंपछि पनि त्यो मान्छे हुनुपर्ने हो तर भएकै छुइनँ। जुन मान्छे नहुनुपर्ने हो त्यही मान्छे भएको छु। अहं मनमष्तिष्कमा चुईगमझैं टाँसिएको छ। भित्र कतै जकडिएको छ। अहंको भारले थिचिएको छु। निसासिन्छु घरिघरि। उम्कन खोज्छु, सक्दिनँ। तँ–तेरो, म–मेरो। एउटा विराट रेखा कतै अन्तहृदयमा छ। त्यसले खडा गर्दिएको छ अहंको पर्खाल। न उक्लिन सक्छु। न नाँघ्न। घेरिएको छु, एउटा विराट परिवेशको लयमा। पटक–पटक आफैंलाई नियाल्न खोज्छु। मजस्तै कोही आफैंलाई नियाल्न खोज्दै होला। आफ्नै हर्कत। आफ्नै मन।

वर्षौंपछि पनि त्यो मान्छे हुनुपर्ने हो तर भएकै छुइनँ। जुन मान्छे नहुनुपर्ने हो त्यही मान्छे भएको छु। अहं मनमष्तिष्कमा चुईगमझैं टाँसिएको छ। भित्र कतै जकडिएको छ। अहंको भारले थिचिएको छु। निसासिन्छु घरिघरि। उम्कन खोज्छु, सक्दिनँ।

मन एउटा विशिष्ट संयन्त्र हो– सबै ज्ञानेन्द्रीयलाई चलाउने। यो मनलाई चलाउने संयन्त्र के होला ? घोत्लिन्छु। ‘मन’ भन्ने अदृश्य जिनिसमा विचार टक्क अडिएको छ। मनको आवेगमा मान्छेले त्यो गर्छ, जुन ऊ होइन। जेजस्ता हर्कत गर्छ, जुन त्यो ऊ कहिल्यै हुँदै होइन। तैपनि, किन मनकै उद्वेगमा भइजान्छ ती यावत अनिच्छुक हर्कत। आवेगको जड के हो ? कसरी थाहा पाउने ? सायद थाहा हुँदो हो त आफैंलाई सम्हाल्न सकेको दिन मान्छे बृहत् खुसी हुन्थ्यो कि ? तर, स्वयंलाई सम्हाल्न नसक्ने जिन्दगी के जिन्दगी, के मान्छे ? स्वयंलाई सम्हाल्नु नै मानवीय संवेदनाहरू मसिने गरी बुझ्नु पो हो कि, त्यसको गति समात्नु होला सायद। जो व्यक्ति त्यो गतिमा जीवनको बाह्य लय मिलाउँछ, जीवन प्रल्हादमा परिणत हुँदो हो।

असिम खुसी। क्षणहरूको खुसी। सोच्नुस् त ! रिस दबाउनु भो भने... ? खुसी व्यक्त गर्नु भएन भने... ? एकअर्कासँगका सम्बन्धहरूबीच आत्मीयता साटासाट भएन भने... ? कस्तो जीवन बाँच्छ मान्छे। निरस ! कुण्ठैकुण्ठाले भरिएको। विकृत विचारले घेरिएको। झन् डिप्रेसन वा मानसिक रोगको सिकार। आफ्नै मन आफैंलाई अनेक कुरा सुनाइरहन्छ भने मान्छे मानवीय संवेदनाहरूले थिचिएर होइन खुला रूपमा व्यक्त भई बाँचिरहेको बुझिनुपर्छ। बुझिनुपर्छ युद्ध गरिरहेको सिपाहीजस्तै कठिन परिस्थितिबाट उम्कने यत्न।

त्यसैले त ‘आश’ मान्छेको बाँच्ने औषधि भएको छ। ‘आश’ले वर्तमानका कठिन वा सहज क्षणलाई भोलितिर सारेको छ। ऊ भोलि सम्झेर बाँच्छ। तर, कैहिलेकाँही ‘आश’ घातक पनि हुनसक्छ, नहुन पनि सक्छ तर शशांक रिडेम्सन सिनेमामा एक पात्रले भनेको छ– ‘होप इज दि डेन्जरस थिङ्स।’ आशैआशाको भ्रममा बाँच्नु पनि खतरनाक हो। ऊ आश गर्छ तर वर्तमानको यथार्थताले थिचिएर उकुसमुकुस भइरहेको हुनसक्छ, नहुन पनि सक्छ तर एउटा मान्छे उम्कन खोन्छ आशैआश बोकेर परिस्थितिको चौघेराबाट। के ऊ साँच्चै उम्कन सक्छ ? के मान्छे साँच्चै उम्कन सक्ला यस्तो भ्रमित भुमरीबाट ? अचेल यस्तै कुराहरूको भुमरीमा फनफनिँदै यताउती नाँचिरहेको छु। सायद तमाम मान्छे जसरी हावाको झोक्कामा नाँचिरहेका छन् रूखहरू।

रूखको नृत्यले मलाई जीवनदर्शनको रहस्य बताउँदैछ...।
आकाश छानो हो। जमिन भुँईमाटो। मान्छे आकाश हो। माटो हो। पाताल हो। धरातल हो।
हावा प्राण हो। प्राण प्राणीको आत्मा हो। ‘म’ हो। ‘अहम्’ हो।
बादल सिरक हो। थोपाथोपाको भुँवा। जब वर्षात् भएर झर्रझर्र झर्छ। निद्रापछिको आँखा हो बादल। खुल्ला।
सुखदुःख मानवीय संवेदना हो। हृदयनिहीत। त्यसैले मान्छेसँग कमिलाले चिलेझैं चस् चस् दुःखिरहने सानो मनमुटु।
ढुकढुकको ‘धुन’ जुन छातीमा ढुक्ढुकिन्छ। सुन्छ कान। गुन्गनाउँछ मुख जीवनको गीत।
मैले फेर्ने प्रत्येक श्वास हावा मात्र हो वा अरू केही हो ?

हेर्ने दुई जोर आँखाको ‘स्वीच अन’ कसले गर्छ ? को खिच्छ रेटिनाभित्र अझै भित्र भित्रभित्रैबाट म अगाडिका तमाम फोटाहरू। कसरी स्टोर गर्छ यतिबिघ्न कुराहरू यो एक पाउको मष्तिष्कले ?

अनि एउटा विराट रहस्यमाथि मान्छेहरू आफैं मजाक गरिरहेको छ– ‘म मान्छे हुँ भन्ने अहं’ !
के म साँच्चै मान्छे हुँ ? के मैले मान्छेभित्रका कैयौं अवयवहरूको संयुक्त तर विशिष्ट संयोजन बुझेको छु ? इगोको लेपनमा बेलाबेला मान्छेका सबै पाटपुर्जा बिर्सिन्छु। सबैभन्दा महत्त्वपूर्ण त मान्छेहरूकै संवेदना बिर्सन्छु।

‘ओ भाइ ! प्याच्च थुक्ने ? झ्यालबाट मान्छे छ–छैन नियाल्नु पर्दैन ?’, अपरिचित कराउँछ सडकपेटीबाट।
‘कोही हकार्छ’, झसंग हुन्छु। ठिंग उभिएर हकार्ने व्यक्ति बस कुरिरहेको छ। नियालिरहेको छु हावाको झोक्कामा हल्लिरहेको रूख। त्यो मलाई हकार्ने मान्छे पनि बस चढ्नै लाग्दा पिच्च सहकमै थुक्छ र चढ्छ खटारो।
छक्क पर्छु। जो हकार्छ। ज्ञानगुन खकार्छ। ऊ आफैं नकार्छ आफ्नै लयको जिन्दगी ! बाँचिरहेको जिन्दगी... !


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.