ससाना कुरा, असामान्य प्रभाव
शिक्षा, सम्पत्ति, सम्मान, सहभागिता, स्वास्थ्य, स्वावलम्बन, समाजीकरण, सचेतना, संवेदना, सहअस्तित्व आदि शब्दहरू ‘स’ बाट सुरु भएका छन्। समाजभित्रका ससाना कुरा जबसम्म उच्च महत्वका साथ सम्बोधन गरिने संस्कार बसाउन सकिँदैन तबसम्म जतिसुकै विकास निर्माणमा अगाडि बढे पनि समाज निर्माणमा हामी पछाडि नै हुन्छौं र समाज रूपान्तरणका लागि चाहिने आधार निर्माण हुन सक्दैन। समृद्ध नेपाल र सुखी नेपालीको सपनामा समाजका बहुसंख्यक सर्वसाधारण नागरिकलाई जोड्न सकिँदैन भने ती समृद्धि कसका लागि ? सुखी को हुने ?
राज्यका विभिन्न विकास नीति तथा विषयहरूका बारेमा भएका छलफलमा सामाजिक संरचनाप्रतिको बुझाइलाई त्यति महत्व दिएको देखिँदैन। सामाजिक समस्या राम्रोसँग बुझ्न विश्वका विभिन्न मुलुक चहारेर फर्केकाहरूलाई मिडियामार्फत हाम्रो नेपाली समाजको संरचनाबारे व्याख्या र विश्लेषण गराइएको देखिन्छ। विश्वका नामी विश्वविद्यालयमा नेपाली समाजबारे अध्ययन गर्नु एउटा कुरा हो भने नेपाली समाज बुझ्न सक्नु अर्को कुरा। जस्तो– गाडी कसरी चलाउने भन्ने कुरा अध्ययन पुस्तकमा गर्नु र साँच्चिकै सडकमा गाडी चलाउन सक्नुबीचको पृथकता। समाजको पूर्ण र वास्तविक बुझाइ कुनै पनि पुस्तक र सिद्धान्तले मात्रै समेट्न सक्दैन। किनकि हरेक समाज विविधताले भरिपूर्ण हुन्छ। हुबहु समान केही पनि हुन्न। तिनका चुनौती, अवसर, समस्याका पृष्ठभूमि पनि समान हुन्न। समाज बुझाइ कुनै प्राविधिक विषय होइन। त्यसैले विश्वका अनेक सामाजिक भ्रमणले नेपाली समाजको बुझाइलाई पूर्णता दिन सक्दैन।
नेपालको सन्दर्भमा सरकार स्वयंले जन्मेदेखि सेवाहरूलाई तहगत बनाई जनतालाई विभाजित हुन सिकाएको छ चाहे त्यो सामथ्र्यअनुसारको स्वास्थ्य सेवा रोज्ने कुरा होस् वा विद्यालय। यस्तोमा समाजका ससाना कुरालाई हरेक क्षेत्रले बेवास्ता गर्नु स्वाभाविक हो।
हामीलाई पाल्ने किसानले कृषि विकास बैंकमा जान असहज महसुस गर्नु, किसानका खेतमा उखु सुक्नु। बेचेको उखुको पैसा समयमा नपाउँदा त्यसले उब्जाएको समस्याले तिनलाई बिचल्ली बनाउनु। अनि रगतपसिना बगाएर उब्जाएका गोलभेंडा, काँक्रा, खुर्सानी, बन्दा आदि हरिया तरकारी अति सस्तो मूल्यमा बिचौलियालाई बेच्न बाध्य हुनुपर्ने अवस्था हाम्रो वरिपरि छ भने अर्कोतिर सरकारको कृषि क्रान्तिका कुरा। कुनै तालमेल नै छैन यी दुई कुरामा।
एउटा किसानको दिनरातको मेहनतको उत्पादन अवमूल्यन गरिँदै खेतबाट बिचौलियामार्फत किनिनु र आकासिएको मूल्यमा उपभोक्तासम्म पुग्नु, कक्षाकोठामा विद्यार्थीले प्रश्न सोध्न डराउनु, सर्वसाधारणले न्याय पाउन सडकमा उत्रन बाध्य हुनुजस्ता केही यस्ता सामान्य कुरा हुन्, जुन हरेक क्षेत्रका लागि विशेष महत्वको विषय बनाइनुपर्ने हो। त्यसको संवेदनशीलता सबै पक्षलाई महसुस गराइनुपर्ने हो।
हिजोआज सर्वसाधारण किन अन्याय, पीडा हुँदा प्रहरीकहाँ जानुभन्दा पत्रकार रवि लामिछानेलाई पहिला सम्झिन्छ जबकि सरकारका विभिन्न निकाय त्योभन्दा नजिक वरिपरि नै रहेका हुन्छन्। यसले के देखाउँछ भने सामान्य कुराको संवेदनशीलता जसले बुझेको छ उसले आम नागरिकको विश्वास पनि जितेको छ। यो कुरा सरकारका सबै पक्षले मनन गर्न जरुरी छ। आम नागरिकको विश्वास जोगाउन जरुरी छ।
कृषि क्रान्तिको सुरुवात किसानका खेतखेतमा घुम्ती सरकारी गाडीबाट किन गर्न सकिन्न ? जसमा किसानले आफ्ना उत्पादन उचित मूल्यमा बेच्न सक्थे।
सामान्य ठानिने ससाना उद्यमहरूलाई प्रोत्साहित गर्न नसक्दा असामान्य अवस्थाको भोगाइ हाम्रोसामु छ। हामी आफ्नो संस्कृति जोगाउन बर्सेनि माघेसंक्रान्तिमा अर्बौंको तरुल र सक्खरखण्ड भारतबाट र जनैपूर्णिमामा लगाइने अर्बौं रुपैयाँ पर्ने जनै चीनबाट आयात गर्छौं। त्यस्तै तिहारका टीका, लक्ष्मी माताका फोटा, बत्ती, फूलमालासमेत छिमेकी देशबाट आयात गर्छौं। प्राकृतिक जडीबुटी बोरामा खाँदेर बेच्छौं र महँगो मूल्यमा ट्याब्लेट किन्छौं। हाम्रा बलिया पाखुरा अरूको देश बनाउन खटाउँछौं र आफू दिनानुदिन आयातमा निर्भरता बढाउँछौं। यी अवस्था तबसम्म रहन्छ जबसम्म समाजका ससाना कुरामा संवेदनशील भइँदैन।
जसरी नैतिकताविहीन शिक्षाले समाजमा धूर्त दानवहरूको संख्या थपिदिन्छ त्यस्तै संस्कारविहीन राजनीतिले पनि समाजलाई विनाशतिर धकेल्छ। समाजका यस्ता ससाना कुरालाई विशेष महत्वका साथ राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सबैको विश्लेषण केन्द्रमा राखिने हो भने मात्रै वास्तविक रूपले समाज बुझेर त्यसका दृष्टिकोणका आधारमा नीतिनिर्माण गरिँदा सर्वसाधारणले महसुस गर्न सक्ने ससाना सकारात्मक परिवर्तनले समाज निर्माण हुन सक्छ। यसले के पनि स्पष्ट पार्छ भने कुनै पनि नीतिनिर्माण कार्यान्वयनका लागि सर्वप्रथम समाज नै बुझ्न आवश्यक हुन्छ र समाज बुझ्न उक्त समाजमा बस्ने एक सामान्य व्यक्तिको दैनिक भोगाइले भन्दा अन्य कुनै पनि विद्यावारिधिले प्रस्ट्याउन सक्दैन।
त्यसैले पत्रपत्रिका जसमा सामान्य व्यक्ति र सामान्य विषयविशेष महत्वका साथ समावेश गरिनुपर्छ, सामान्य आवाज भएका पात्रहरू जसभित्र जीवनका वास्तविक भोगाइका चित्र प्रस्टै हुन्छ तिनलाई समेटिनुपर्छ, अन्यथा त्यस्ता पत्रपत्रिका वा पुस्तक अध्ययनले सामाजिक बुझाइ खुम्च्याइदिन्छ अर्थात् यी आधारले समाजको पूर्ण अध्ययन हुन सक्दैन। जब अध्ययन पूर्ण हुँदैन भने त्यसबाट निस्किने बुझाइ कसरी पूर्ण हुन्छ ? जब बुझाइ अधुरो रहन्छ भने त्यसका आधारमा निर्माण गरिने कार्ययोजना कसरी वास्तविक र पूर्ण हुन सक्छ ? अनि अधुरो प्रयासले पूर्ण सफलताको ग्यारेन्टी गर्न मिल्छ ? कुनै पनि सकारात्मक परिवर्तन जबसम्म जीवनमा महसुस गर्न सकिँदैन तबसम्म त्यसलाई विकास भन्न मिल्ला ?
हाम्रो इतिहास हेर्ने हो भने प्रायः सरकार असफल भएका छन्। यसको कारण अक्षम जमातको बाक्लो घेराभित्र बसी सरकारले गर्ने कार्यशैली हो। उक्त बाक्लो घेरामा रहेकाहरू साँच्चैको देशप्रेमी, समाज बुझेका, त्यसमा रुझेका शिक्षक, कृषक, व्यापारी, मिडियाकर्मी, राजनीतिज्ञको हुँदो हो भने सुनमा सुगन्ध नै हुन्थ्यो। तर त्यसो नहुने हाम्रो परम्परागत शैली जहाँ विशेषज्ञताको सट्टा नातागोताका आधारमा सल्लाहकार नियुक्ति गरिन्छ, यसले सरकारलाई कसरी सफल बनाउला र ?
ठूलाठूला कृषि क्रान्तिको सुरुवात किसानका खेतखेतमा घुम्ती सरकारी गाडीबाट किन गर्न सकिन्न ? जसमा किसानले आफ्ना उत्पादन उचित मूल्यमा बेच्न सक्थे भने अर्कोतिर सर्वसाधारणले पनि विषादिरहित उत्पादन उचित मूल्यमा पाउन सक्थे। सरकारका कतिपय लथालिंग बनेका ट्रेडिङ कर्पोरेसनहरूका कर्मचारी र संरचना पुनः प्रयोगमा ल्याउन सकिन्थ्यो। यसले वास्तविक किसानलाई आर्थिक सशक्तीकरण पनि गर्न सकिन्थ्यो।
—झा समाजशास्त्री हुन्।
प्रतिक्रिया दिनुहोस !