जोडी बाँधेर सामाजिक सञ्जालबाट ठगी
काठमाडौं : प्रहरीले शनिबार पेप्सिकोलास्थित एक घरको फ्ल्याटमा छापा मार्यो । जहाँ काभ्रेकी २३ वर्षीया कुसुम कायस्थ विदेशी युवकसँग तीन वर्षदेखि बस्दै आएकी थिइन् । कुसुमले पतिका रूपमा चिनाएका युवा आइभोरी कोस्टका ३२ वर्षीय ओवोतार अलकाग्नी हुन्।
‘उनीहरूले आफूहरूलाई दम्पती भनेर चिनाउँदा पत्याउने अवस्था थिएन’, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने, ‘उनीहरूले त्यही फ्ल्याटमा बसेर ठगी धन्दा चलाएको खुलेको छ ।’
आइभोरी कोस्टबाट नेपालमा फुटबल खेल्न आएका युवा पनि छन् । अलकाग्नीले भने कुसुमसँग मिलेर ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । यो जोडीले ठगीका लागि सामाजिक सञ्जालको दुरुपयोग गरेको खुलेको छ । प्रहरीका अनुसार दुवै जनाले फेसबुक, भाइबर, इमो र ह्वाट्स एपलाई माध्यम बनाएका थिए । उनीहरूले पार्सल आएको बहानामा आठ जनाबाट १४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
‘उनीहरूले फेसबुकसहितका सञ्जालबाट धनी व्यक्ति पहिचान गरी पार्सल आएको बहानामा ठगेको खुलेको छ’, महाशाखाका प्रवक्ता एपपी नरेन्द्र उप्रेतीले भने, ‘दुवैले महँगो पार्सल विदेशबाट आएको भन्दै लिन भाइबर, इमो, ह्वाट्स एप र फेसबुकबाट फोन गरी रकम ठगेको भेटियो ।’
आइभोरी कोस्टका युवक र काभ्रेकी युवतीले पार्सल आएको भन्दै आठ जनाबाट १४ लाख ठगेको प्रहरी भनाइ ।
ठगी गरेको रकम उनीहरूले काठमाडौंका महँगा डान्सबार र पबमा सिध्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले काठमाडौंका धनाढ्य र चर्चित व्यक्तिलाई सामाजिक सञ्जालबाट साथी बनाउँदै जालोमा पार्थे । कुसुमको फेसबुकलाई मुख्य हतियार बनाएको महाशाखाले जनाएको छ । कुसुमले पतिसहितका तस्बिर फेसबुकमा अपलोड गरेकी छन् । ठगीको पैसा लिएर दैनिकजसो पब र डान्स बार पुग्ने गरेको उनीहरूले बयान दिएका छन् ।
विदेशीविरुद्ध छुट्टै छानबिन
आइभोरी कोस्टका नागरिक अलकाग्नीका विषयमा प्रहरीले छुट्टै छानबिन थालेको छ । राहदानीसहितका कागजपत्र नियन्त्रणमा लिई उनको नेपाल बसाइबारे प्रहरीले अध्यागमन विभागलाई सोधेको हो ।
‘हामीले आइभोरी कोस्टका ती युवाको नेपाल बसाइको वैधताबारे अध्यागमनलाई सोधेका छौं’, महाशाखा प्रमुख सिंहले भने, ‘लामो समय ओभर स्टे भएको खुल्यो भने उनी थप कारबाहीमा पर्छन् ।’
विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीको पत्र प्राप्त हुनासाथ छानबिन अघि बढ्ने बताए । ‘पत्र आएपछि हामी उसको वास्तविकता पत्ता लगाउँछौं’, उनले भने, ‘अवैधानिक रूपमा बसेको रहेछ भने अध्यागमन कानुनअनुसार कारबाही अघि बढ्छ ।’