सुधार केन्द्रमा कसरी पुगिन् रसियाली महिला ?

सुधार केन्द्रमा कसरी पुगिन् रसियाली महिला ?

काठमाडौं : जिल्ला प्रशासन र महानगरीय प्रहरी परिसरको टोलीले बिहीबार साँझ बूढानीलकण्ठस्थित ‘कृपा घर’मा छापा मार्‍यो। अवैध रूपमा सञ्चालित उक्त सुधार केन्द्रमा २८ वर्षीया रसियाली महिला, उनका ३ वर्षीय छोरा र ८ महिनाकी छोरी पनि फेला परे।

लिया उनका श्रीमानसहित अवैध रूपमा नेपालमा बस्दै आएको खुलेको छ। उनी कसरी सुधार केन्द्रमा पुगिन् भनेर छानबिन थालिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले सुनाए। ‘सुधार केन्द्रबाट उद्धार गरेपछि उनलाई छोराछोरीसहित माइती नेपालमा जिम्मा लगाएका छौं’, प्रवक्ता बोगटीले भने, ‘त्यहाँबाट रसियाली दूतावासलाई बुझाइनेछ।’

सुधार केन्द्रमा दुर्व्यसनमा फसेका महिलालाई मात्र राख्ने गरिएको थियो। तर, लियासहित उनका छोरा इल्भिलियर र छोरी बर्टन पनि भेटिए। लिया र उनका श्रीमान् दिमित्री खाम्भो जमोभ ६ वर्षदेखि अवैध रूपमा नेपालमा बस्दै आएका हुन्। भिजिट भिसामा नेपाल आएका उनीहरू अवधि सकिए पनि लामो समयदेखि ‘ओभर स्टे’ भए। उनीहरू पछिल्लो समय पोखरामा थिए। पोखरामै रहँदा उनीहरूका छोरीको जन्म भयो।

पोखरास्थित पर्यटन प्रहरीले एक महिनाअघि उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पर्यटन प्रहरीले छोराछोरीसहित दुवै जनालाई पोखरास्थित अध्यागमन कार्यालयलाई बुझाएको थियो। भिजिट भिसामा १ सय ५० दिन बस्न पाउने प्रावधान छ। तर, यो जोडीले दुवै सन्तान नेपालमै जन्माएको खुलेको छ।

‘हामीले नेपाल बस्न चाहिने उनीहरूका कागजपत्र खोज्दा भेटिएन, भारत जाने भिसाका लागि राहदानी मस्को पठाएको भनेर ढाँटे’, पोखरा पर्यटन प्रहरीका टीकाराम पौडेलले भने, ‘तर, उनीहरू त ६–७ वर्षदेखि ओभर स्टे भएका रहेछन्। त्यसपछि पक्राउ गरी उनीहरूलाई हामीले अध्यागमन विभागमा बुझाएका हौं।’

पर्यटन प्रहरीले सोधपुछ गर्दा उनीहरूले आफू बस्ने ठाउँसमेत ढाँटेका थिए। ‘नेपाल आएर ओभर स्टे भएका धेरै रसियाली हामीले भेटेका छौं’, उनले भने, ‘बिहीबार मात्र एक जना रसियाली नागरिक र अर्का नेदरल्यान्ड्सका नागरिकलाई हामीले अध्यागमनलाई बुझाएका छौं। उनीहरूसँग पनि नेपालमा रहने कुनै कागजपत्र भेटिएन, लामो समयदेखि ओभर स्टे देखियो।’

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले छोराछोरीसहित रसियाली महिलालाई तारेखमा राखेर हिरासतबाट छाडिएको जानकारी दिए। ‘उनी अहिले पनि हाम्रो तारेखमा छिन्’, महानिर्देशक पौडेलले भने, ‘पति हिरासतमै छन्, उनले ओभर स्टेबापतको सजाय भोग्नुपर्ने हुन्छ। जरिवाना नतिरेको अवस्थामा हामीले डिपोर्ट गर्न सक्ने अवस्था छैन।’

उनका अनुसार काठमाडौंस्थित रसियाली दूतावासले आफ्ना नागरिकको गैरकानुनी बसाइको भिसा र विलम्ब शुल्क तथा ओभर स्टेको जरिवाना मिनाहा गरिदिन पत्र पठाएको छ। ‘अध्यागमनको नियन्त्रणमा रहेका आफ्ना नागरिकको आर्थिक अवस्था नाजुक रहेकाले जरिवाना मिनाहा गर्न आग्रह गर्दै दूतावासले पत्र पठाएको छ’, उनले भने, ‘तर, अध्यागमनसँग यो अधिकार नभएकाले हामीले परराष्ट्र मन्त्रालयमार्फत आउन भनेका छौं।’

सरकारले शुल्क मिनाहा नगरेको अवस्थामा दुवै जनाले जेल सजाय भोग्नुपर्ने हुन्छ। ‘सजाय मिनाहाको निर्णय सरकारबाट भएन भने अध्यागमनले जरिवाना भुक्तानका लागि दुवै जनालाई जेल पठाउँछ’, उनले भने, ‘जेलमा जरिवानाबापतको सजाय कटाएपछि उनीहरूलाई देश फर्काउने बाटो खुल्छ।’

अध्यागमनले महिलालाई भने छोराछोरीको स्याहारका लागि राहदानी नियन्त्रणमा लिएर बाहिर बस्न अनुमति दिएको पाइएको छ। ‘हामीले केही दिन स्थान हदमा राखेपछि उनीहरूका छोराछोरी बिरामी हुन थाले। उनीहरू रुन–कराउन थालेपछि मानवीय हिसाबले आमा र बच्चालाई छाडिदियौं’, महानिर्देशक पौडेलले भने, ‘तर, कसरी सुधार केन्द्रमा पुगे भन्ने हामीले थाहा पाउने कुरा भएन।’

ती महिला होटलमा बस्ने भन्दै बाहिरिएकी थिइन्। ‘उनी सुधार केन्द्रमा कसरी पुगिन् ? हामीले छानबिन गरिरहेका छौं। कुलतमा फसेका महिला सुधार्न खोलिएको स्थानमा आ श्रय दिनेमाथि पनि छानबिन भइरहेको छ’, परिसर प्रवक्ता बोगटीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.