फर्किंदैन ३३ किलो सुन !

फर्किंदैन ३३ किलो सुन !

काठमाडौं : मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ। तर कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ। यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ। यसबारे कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भारतीय अधिकारीसँग गत मंगलबार छलफल गरेका थिए।

भारतमा बरामद सुन चूडामणि उप्रेती ‘गोरे’ को समूहले २०७४ माघ ९ गते काठमाडौँ भित्र्याएपछि हराएकै भएको गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समिति बताउँछ। जेलमा रहेका गोरेको पुरानो सेल्टर सिलगुढी क्षेत्र भएकाले त्यहीँबाट यो सुन कोलकाता पुर्‍याइएको दाबी समितिको छ।

‘कोलकातामा बरामद भएको सुनमा पनि ‘दुबइ हलमार्क’ छ। खाडी मुलुक हुँदै त्रिभुवन विमानस्थलबाट पछिल्लो समय सुन नभित्रिएकाले हाम्रो निचोड त्यही सुन हो भन्ने छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘तर भारतीय निकायले बरामद गरेकाले अनुसन्धानमा समस्या छ। भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ।’

आफ्नो भूमिमा बरामद सुन फिर्ता नदिने भारतले जनाएको छ। पक्राउ परेका नेपालीसँग बयान लिन सरकारले कूटनीतिक पहल थालेको छ।

भारतीय पक्षको यस्तो सन्देशपछि गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अनुसन्धानका लागि सहयोग गरिदिन भारतसरकारलाई सरकारलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा पत्र पठाएको छ। छानबिन समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले अनुसन्धानको पहल भइरहेको बताए।

फर्किंदैन सुन

गृह स्रोतका अनुसार भारतमा बरामद भएको सुन नेपाल फर्किने अवस्था छैन। अनुसन्धानका लागि पक्राउ परेका नेपालीलाई ल्याउन पनि समस्या छ। त्यसैले यताबाट टोली पठाएर बयान लिने तयारीमा गृह लागेको छ। गृहमन्त्री रामबहादुर थापाले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन्। समिति पनि समातिएका नेपालीसँग बयान लिन सके सुनकाण्डमा मुछिएका दुई सय ९३ जनाबारे थप विवरण खुल्नेमा विश्वस्त छ।

‘भारतले नेपाललाई सुन दिँदैन तर त्यो नेपालबाटै गएको यकीन गरेर पक्राउ परेकामाथि बयान लिन सके थप तथ्य र तस्करको जालो पनि खुल्थ्यो,’ छानबिन समितिका एक सदस्य भन्छन्, ‘सुन बरामद भएको सुनेर खुसी त भयौँ, तर भारतले सहयोग नगरे तस्कर समात्न सम्भव छैन। सरकारले छिटो पहल गर्न जरुरी छ।’

कहाँबाट भारत पुग्यो सुन ?

छानबिन समिति भन्छ, त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा दुबई सुन भित्रिन छाडेको एक वर्ष हुनलाग्यो। अनामनगरबाट हराएको ३३ किलो सुन धरान वा इटहरीमा लामो समय लुकाएर राखिएको र पूर्वी नाका हुँदै भारत पुर्‍याइएको निचोड समितिको छ। छानबिन समितिले गृहमा प्रतिवेदन बुझाएपछि अनुसन्धान सुस्ताएको छ।

जिल्ला अदालत मोरङले थुनामा पठाएका सुन तस्करीका अभियुक्तलाई उच्च अदालतले धमाधम छोडिरहेको छ। तिनै छुटेकाले सुन भारत पुर्‍याएको समिति स्रोत बताउँछ। ‘त्यो सुन केही समयअघि मात्रै भारत छिराइएको हो। काँकडभिट्टा वा जोगबनी नाकाबाट लगिएको हाम्रो आकलन छ,’ समितिका एक सदस्य भन्छन्, ‘तस्करीमा मुछिएका व्यक्ति धधमाम रिहा भएसँगै तस्करीमा संलग्नहरुले टाउको उठाइरहेका छन्। सरकार निर्मला पन्त प्रकरणमा फसेको समयमा सुन भारत पुर्‍याएको देखिन्छ।’

पक्राउ परेका दुई जना समितिको सूचीमा

कोलकातामा सुनसहित पक्राउ परेका हेमराज शर्मा र राकेश शर्मा इटहरीका सुन व्यापारीका कामदार हुन्। उनीहरु तस्करीमै मुछिएर जेलमा रहेका सुनसरीका मोहन काफ्ले ‘मणि’ र गोरेका भरिया भएको पौडेल संयोजकत्वको छानबिन समितिले जनाएको थियो।

पौडेलको संयोजकत्वको समितिले गृहमन्त्री थापालाई बुझाएको प्रतिवेदनमा पनि यी दुईको नाम थियो। उनीहरुलाई वतन नखुलेका राकेश प्रसाद र हेमकुमार वा हेमप्रसाद नाम प्रतिवेदनमा छ। यी दुवैजनाको नाम सुन तस्करीका नाइके भनिएका गोरेको यातनाबाट मारिएका सनम शाक्यको डायरीमा पनि रहेको छानबिन समितिले जनाएको छ।

उनीहरु भारतीय प्रहरीको हिरासतमा छन्। उनीहरुलाई सनम शाक्य, सानु वन र प्रेमलाल चौधरीको हत्या हत्या, अपहरण र यातनामा पनि मुद्दा चलाउने पहल गृहले गरेको छ।

धमाधम छुट्दै अभियुक्त

गोरेको समूहले मात्रै २०७० यता ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट भित्र्याएको दाबी समितिको छ। जसको मूल्य १७ अर्ब १ करोड ८० लाख रुपैयाँ हुन आउँछ। सनम शाक्य हत्या तथा तस्करीको आरोपमा २०७४ फागुन १९ गते गोरेसहित र अन्य ६३ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो। त्यसपछि पक्राउ परेका थप १५ जनाबिरुद्ध पनि यही प्रकरणमा मुद्दा चलाइयो। तर मुद्दा उच्च अदालत पुगेपछि अभियुक्तहरु धमाधम छुटे।

उच्च अदालत विराटनगरले प्रहरी जवान विष्णुबहादुर खड्कालाई धरौटीमा छाड्यो। अम्बरहादुर थापा, पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसीलाई साधारण तारेखमा छाडिसकिएको छ। उच्च अदालतको आदेशमा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य र अर्का व्यवसायी विमल पोद्दार पनि रिहा भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.