कामी-सार्कीमाथि चौगुना कर

कामी-सार्कीमाथि चौगुना कर

उसबेला माझकिरातमा बस्ने भोटे, राई, किराती याक्खा र तामाङहरूले राज्यले छाला दिन नसके दुई आना रकम बुझाउँदा हुन्थ्यो भने कामी र सार्कीले चाहिँ त्यहीबापत प्रत्येक घरले आठ–आठ आना कर राज्यलाई बुझाउनुपर्थ्यो। 


धनुकाँड, खुँडा, खुकुरी, तरबार, भाला, बर्छाजस्ता परम्परागत हातहतियारको भरमा लडाइँ हुने गथ्र्यो, त्यो समयमा। तर, बन्दुकजस्तो आधुनिक हतियार प्रयोग भयो भने युद्ध जित्न कठिन हुने छैन भन्ने गोरखाली राजा पृथ्वीनारायण शाहलाई राम्रो ज्ञान थियो।

मल्ल राजाहरूले लडाइँका बेला फाट्टफुट्ट बन्दुक चलाउने गरेका विषयमा पृथ्वीनारायण शाहले मीतबुवा भादगाउँले राजा रणजित मल्लका दरबारमा पाहुना भएर बस्दा थाहा पाएका थिए भनी अनुमान गर्न सकिन्छ। इतिहासशिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाहले राज्याभिषेकको ५० वर्ष अघिदेखि नै मल्लहरूले हिन्दुस्तानी व्यापारीहरूबाट किनिएका बन्दुक चलाउने गरेको भन्ने

‘ श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’

(२०६१:११७) उल्लेख गरेको आधारमा यस्तो अनुमान गरिएको हो।

आचार्य (२०६१:११२) अनुसार नै पृथ्वीनारायण शाह १ अप्रिल १७४३ मा गोरखाका राजा भए। उनको राज्याभिषेक पनि चाँडै भयो। राज्याभिषेकलगत्तै उनी तीर्थयात्राका नाममा भारतको बनारस भ्रमणमा निस्किए। त्यो बेला बनारसमा ६० रुपैयाँमा बन्दुक किन्न पाइन्थ्यो। युरोपेली व्यापारीहरूले बेच्ने बन्दुकलगायत युद्धका सामग्री खरिद गरी बन्दुकसम्बन्धी उस्ताद वा कालीगढका रूपमा एक मुसलमानलाई पनि साथै लिई पृथ्वीनारायण शाह बनारसबाट गोरखा फर्केको आचार्य (२०६१:११७–११८)ले उल्लेख गरेका छन्। यसबाट लडाइँमा बन्दुकको प्रभावकारिताबारे राम्ररी सुझबुझ राख्ने पृथ्वीनारायण शाहले नै उनको समयको लडाइँमा सबैभन्दा धेरै बन्दुक प्रयोग गरेका थिए भन्न सकिन्छ।

राजा हुँदै काजी, सेनापति, सेनानायक हुँदै क्रमशः स्थानीय शासक प्रशासकको हातमा पनि बन्दुक प्रयोगको पहुँच विस्तारित हुँदै गयो। राज्यविस्तार अभियान सफल हुँदै जाँदा आफ्ना पक्षमा आएका राज्य वा स्थानका अगुवा, जिम्मावाल तथा प्रशासकहरूलाई राज्यको रक्षार्थ भनी पृथ्वीनारायण शाहका सन्ततिले बन्दुक वितरण गरेको पाइन्छ। १८३१ साउनमा गोरखालीहरूसँग सम्झौता गर्नेतिरका लिम्बू सुब्बाहरूलाई रणबहादुर शाहले काठमाडौं झिकाई राज्यको रक्षाका नाममा एक सय दुई नाल बन्दुक बाँडेको एउटा उदाहरणका रूपमा यस प्रसंगमा उल्लेख गर्न सकिन्छ।

रणबहादुर शाहबाट चारजना लिम्बू सुब्बाहरूको नाममा विक्रम संवत् १८४० जेठ सुदी १२ मा जारी एक रुक्का यसको प्रमाण हो। रुक्काअनुसार रैनसिंह रायले ३२, श्रीदेव रायले ३०, आतहाङ रायले २० र शुभवन्त रायले २० वटा बन्दुक पाएका थिए भन्ने प्रमाण जुट्ने रुक्का इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरात इतिहास’ (सन् १९५२:६२–६३)मा छापेबाट नेपालमा बन्दुकको प्रयोगको ब्यापकता बढ्दै गएको बझ्न सकिन्छ।

कामी र सार्कीको सीप र पसिना

नेपालमा सबैभन्दा पहिले पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा सैनिकहरू संगठित गर्न थालेका हुन्। उनले सबैभन्दा पहिले विक्रम संवत् १८१९ मा ‘ श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे। आधुनिक नेपालको सैनिक इतिहास विक्रम संवत् १८१९ बाट थालनी भएको हो। विक्रम संवत् १८१९ मै ‘ श्रीनाथ’ र ‘कालीबक्स’का साथै ‘बर्दबहादुर’, ‘सबुज’ तथा ‘पुरानो गोरख’ सहित पाँच पल्टन गठन भइसकेको थियो। यिनै पाँच पल्टनलाई पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानमा सरिक गराएका थिए भनी इतिहासकार भवेश्वर पंगेनीले आफ्नो पुस्तक ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जंगी मेगेजिन अड्डा’ (२०६८:१८–२१) मा उल्लेख गरेका छन्।

यसरी आधुनिक सैन्य संगठन र बन्दुकजस्ता आधुनिक हतियारको प्रयोगका क्रममा हतियार र यसका लागि आवश्यक सामग्रीको निर्माण मर्मतसम्भार आदिका लागि राज्यले एउटा छुट्टै अड्डाको व्यवस्था गर्‍यो। त्यो ‘सुन्दरीजल मेगेजिन अड्डा’ हो।

पंगेनी (२०६८:६५–६९) अनुसार मेगेजिन अड्डामा आरन, रेतान, ढलान, साफी, सिकर्मी र सार्की फाँट थिए।

आरनमा कामीहरूले र छालामा सार्कीहरूले काम गर्थे। मेगेजिन अड्डामा फलाम र गोलाबारुदको मात्र होइन, छालाको काम पनि हुन्थ्यो। बन्दुक भिर्ने फित्ता, पेटी, खुकुरी, संगीन आदिका दाप, जुत्ता छालाबाट बन्ने हुँदा यस कामको जिम्मा सार्कीहरूको थियो।

यस अर्थमा नेपालको आधुनिक सैन्य इतिहासमा कामी र सार्कीहरूको प्रशस्तै पसिना बगेको छ। उनीहरूको सीपको भरपूर उपयोग भएको छ।

श्रम गर्नेमाथि नै शोषण

कामी, सार्की र दमाईहरूको सीप र पसिना देशका विभिन्न स्थानमा उपयोग हुँदै गयो। उनीहरूका बारेमा उल्लेख गरिएका लालमोहरहरू प्रशस्तै पाइएका छन्। खासगरी राज्यका विभिन्न ठाउँका स्थानीय जिम्मावालहरूलाई राजामहाराजाहरूबाट विभिन्न जग्गाको जिम्मा दिई कर उठाई बुझाउन आदेश जारी गरिएका लालमोहरहरूमा छिपोछापो, कामी, सार्की र दमाईका विषय पनि उल्लेख भएको पाइन्छ।

उसबेला सर्वसाधारणले सादा कपडामा छिपा लगाएर मात्र लगाउनुपर्ने नियम भएकोले छिपाको काम गर्न नेवारहरू राज्यका विभिन्न ठाउँमा पुगेका थिए। यस्तै फलामको काम गर्न कामीहरू, छालाको काम गर्न सार्कीहरू कपडा सिलाउन दमाईहरू देशमा विभिन्न ठाउँमा छरिँदा लिम्बुवानमा पनि पुगे। लिम्बुवानका लिम्बू सुब्बाहरूका नाममा जारी भएका लालमोहरहरूमा छिपोछापो, कामीको ताल, सार्कीको पलेटी र दमाईको सुजेरो भन्ने उल्लेख भएको पाइन्छ। राजा राजेन्द्रबाट विक्रम संवत् १८८४ चैत वदीमा जारी यस्तो उल्लेख गरिएको एक लालमोहर यो लेखकसँग पनि सुरक्षित छ। कामीको ताल भन्नाले उनीहरूले फलाम पिट्दा आउने आवाज, सार्कीको पलेटी भन्नाले उनीहरूले पलेटी कसेर गर्ने छालाको काम भन्ने बुझिन्छ। यस्तै दमाईको सुजेरो भनेको चाहिँ सिलाईमा आवश्यक सियो, धागो र टुक्रा कपडाहरू राख्ने झोला हो।

लालमोहरको आशय कपडामा छिपा हाल्ने, फलाम, छालाको काम गर्ने तथा लुगा सिलाउनेहरूको कामको रेखदेख गर्दै उनीहरूबाट समेत कर उठाउनु रहेको बुझिन्छ।

पुख्र्यौली नासोका रूपमा यस लेखकसँग सुरक्षित रहेको लालमोहरमा ती शिल्पी श्रमिकहरूबाट कति कर असुलिन्थ्यो, त्यो खुल्दैन। तर माझकिरातमा जारी भएको राजा राजेन्द्रकै पालाको एउटा रुक्कामा भने उनीहरूमाथि डरलाग्दो करको भार लगाउने गरिएको थियो भन्ने सहजै बुझ्न सकिन्छ।

पहिले ‘मेगेजिन कर’ भनी आधुनिक बन्दुक, तोपगोला, बारुदजस्ता हातहतियार बनाउने सैन्य कारखानाका लागि विभिन्न ठाउँबाट कर उठाइन्थ्यो। यस लेखकसँग सुरक्षित रहेको लालमोहरमा पनि मेगेजिन शब्द उल्लेख छ। मेगेजिन अड्डाका लागि नगदका साथै जिन्सी पनि उठाइन्थ्यो। यसका लागि सैनिकहरू विभिन्न ठाउँमा खट्थे। मेगेजिन अड्डाका लागि उठाइने जिन्सीमध्ये जनावरको छाला महत्वपूर्ण थियो। जनावरको छाला संकलनका लागि माझकिरातका विभिन्न अगुवा तथा जिम्मावाल व्यक्तिहरूको नाममा जारी गरिएको एक रुक्कामा उनै फलामको काम गर्ने कामी र छालाको काम गर्ने सार्कीहरूबाट अन्य जातिको तुलनामा चार गुणा बढी दस्तुर उठाउन उर्दी जारी गरिएको छ।

‘हिमाल’ खबरपत्रिका (१६–३० असोज २०६९)मा ‘विगत बुझ्ने प्रयास’ शीर्षकको लेखमा किरात राईहरूको इतिहास सन्दर्भमा डा. रमेश ढुंगेलले प्रयोग गरिसक्नुभएको रुक्कालाई यो लेखमा त्यहाँ उल्लेख गरिएको कामी र सार्कीका सन्दर्भलाई लिएर यस लेखकले उपयोग गरेको छ।

विक्रम संवत् १८८८ कात्तिक सुदी १४ रोज ६ मा जारी भएको यो रुक्का दूधकोसी र बहादुरा खोलादेखि पूर्व र अरुण नदीदेखि पश्चिममा रहेका पुरोहित, भैयाद, चौतारिया, काजी आदिका नाममा जारी गरिएको रुक्कामा त्यस ठाउँमा बस्ने विभिन्न जातजातिका घरबाट मेगेजिन अड्डाका लागि प्रत्येक घरबाट हरेक वर्ष एकएकवटा जनावरका छाला संकलन गर्न र छाला दिन नसक्नेबाट नगद उठाउनका लागि पहल गर्न आदेश दिइएको छ। यस्तो कर तिर्नुपर्नेहरू भार बाक्नेचाहिँ त्यस क्षेत्रका आदिवासी जनजाति र दलितहरू छन्।

प्रत्येक घरबाट डिगा (मरेको गाई वा गोरु), भैंसी, बाघ, भालु, मृग, जरायो आदिको छाला उठाउन आदेश जारी गरिएको छ। यसका लागि माझकिरातमा बसोबास गर्ने जाति नै तोकिएको छ। सिकार खेल्ने र सिनोसमेत खाने भनी तोकिएका जातिमा भोट्या, राई, मझिया, किराती मुर्मी भनी उल्लेख गरिएको छ। उनीहरूले छाला दिन नसके प्रत्येक घरबाट दुई आनाका दरले रकम उठाउन भनिएको छ।

तर यस रुक्कामा उल्लेख भएको भाकाबाट त्यो बेला कामी र सार्कीजस्ता शिल्पी श्रमिकहरूले राज्यबाट जातीय छोइछिटो मात्र होइन, ठूलो आर्थिक शोषण पनि सहन गर्नु परेको प्रमाणित हुन आउँछ।

त्यो बेला माझकिरातमा बस्ने भोटे, राई, किराती याक्खा र तामाङहरूले राज्यले छाला दिन नसके दुई आना रकम बुझाउँदा हुने थियो भने कामी र सार्कीले चाहिँ त्यहीबापत प्रत्येक घरले आठआठ आना कर राज्यलाई बुझाउनुपथ्र्यो। छाला र नगद उठाउन सरकारी कर्मचारी र सैनिकहरूलाई खटाइन्थ्यो। कतिसम्म भने त्यहीँ क्षेत्रका मानिसलाई नै झारा बनाई यस्ता छाला र उठेका नगद बोकाई हुलाकी बनाएर मेगेजिन अड्डामा पुर्‍याउन बाध्य गराइन्थ्यो।

रुक्काको बेहोरा यस्तो छ :

स्वस्ति श्री मन्महाराजधिराज कस्य रुक्का–––––––

आगे दुदकोसी बाहादुरा पुर्व अरुन पश्चिम माझ किरात भरअम्बलका प्रोहित. भैयाद गोतिया चौतारिया काजी कपर्दार सुबा सुबेदार नजीकी जेठा बुढा विर्तबार वितलप्पा मोहरीया छाप छप्पाली अमालीदार गैह्रप्रती आफना आफ्ना अम्बरभरको भोट्या राई मझिया किराती मुर्मि सिकार षेलन्या सिनु षान्या येतिका घरहि एक एक डीगा भैसी वाघ भालु मृग जरायाका छाला तहसिल गरिदिनु. छाला दिन नसकन्याका घरहि दुई दुई आना दामा तहसी ल गरिदिनु. सार्कि कामीका घरहि आठ आठ आना दाम साविक बमोजीम तहसी ल गरिदिनु. तहसील गर्न आउन्या कंपुका बहिदार जिम्मादार हुद्दा सीपाहि मार्फत साल बसाल तहसील गरिदिन. तहसील गर्न आउन्याले अम्बलभरका प्रजा झारा गरि हुलाकमा बोकाई दाम र छाला षसोषस मेजजिन दाषील गर साल बसाल मेगजीनका सुबेदारका रसिद ली जानु इती संवत् १८८८ साल मीती कार्तिक सुदि १४ रोज ६ शुभम् ––––


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.