तराईमा मरुभूमीकरणको खतरा

तराईमा मरुभूमीकरणको खतरा
सुन्नुहोस्

नेपालको तराई भूभाग खेतीयोग्य भूभाग हो । यसैको उत्पादनले देशको भोक मेटाउँछ । चुरे र महाभारत पर्वतमालाभन्दा दक्षिणको भाग उर्वर छ । त्यही देशको मुख्य बाली धान फल्छ, गहुँ फल्छ । 

तरकारी र फलफूल होस् या मरमसला सबैथोक फलाएर तराई मधेसले देशभरि पु¥याउँछ । 

तर, तराईको जमिन अचेल सुक्खा हुँदै छ । सिमसारहरू सुकिरहेका छन् । पानीका स्रोत ओभाना भएका छन् । यी परिणामको कारण भनेको चुरे, भावर क्षेत्रमै पानीका स्रोत सुक्नु हो । त्यहाँ पानीको स्रोत सुक्नुको कारणचाहिँ अत्यधिक दोहन हो । तराई मधेसमा नदी तथा चुरे भावर क्षेत्रमा ढुंगा, गिटी र बालुवा उत्खनन अत्यधिक भयो । त्यसले भूक्षय निम्त्यायो । अन्ततः पानीका मुहान सुकायो ।

भूमिगत पानीको तह पनि झन्–झन् तलतल हुँदै गएको छ तराई मधेसमा । हिजोका दिनमा थोरै खन्दा पनि पानी आउँथ्यो । अचेल मेसिनै गाडेर निकै गहिरोसम्म जाँदा पनि पानी भेट्न मुस्किल छ । चुरे भावर क्षेत्रको दोहनले निम्त्याएको रुखोपना र संकट रोक्नै सरकारले चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको छ । 

त्यसको संरक्षण निम्ति २०७२ यतामात्रै १२ अर्ब रुपैयाँ भएको छ । तर, सरकारले तयार गरिरहेको निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) ऐनको एउटा बुँदा यस्तो छ, जसले तराईलाई झन् मरुभूमीकरण गर्ने निश्चित छ । दफा ४२ ले निर्माणमुखी सामग्री विदेश निर्यात गर्ने भन्छ । त्यो भनेको भारत निर्यात गर्ने नै भनेको हो । यसै त स्वदेशकै लागि पनि नदीनाला छेउछाउका क्रसर उद्योग र अवैध दोहनले चुरेलाई चोटमाथि चोट दिएका छन् । भारत निकासी गर्ने भन्ने हो भने दिनरात दोहन उत्पात बढ्ने छ भन्नेमा कुनै शंका छैन । 

कुनै बेला भारतमा रेलको लिक बनाउन नेपालको वन विनाश भएको थियो । राणाहरूले आफ्नो वन नासेर व्यक्तिगत आम्दानी त गरे तर मुलुकको हरियाली खोसे । अहिले फेरि निर्यातका नाममा कमलो र बलौटे पहाडमाथि धावा बोल्न खोजिँदै छ । निर्माण सामग्री निर्यात गर्न सकिने व्यवस्था सहितको कानुन बन्यो भने शंका छैन चुरे पहाड रित्तिन्छ । तराई मधेस सुख्खा मात्रै होइन, मरुभूमि बन्छ । त्यो भनेको पूरै देशलाई भोकमरीलगायत संकटमा जाक्नु हो । सरकार संवेदनशील हुनुपर्छ । देश र पर्यावरणलाई नोक्सानी गर्ने र नेपालीको जीवन संकटमा पार्ने खतरा रोक्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.