शान्तिभूमिको विकास र बुद्ध

शान्तिभूमिको विकास र बुद्ध

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६२ औं जन्मजयन्ती । नैतिक चरित्र क्रमशः हराउँदै गएको अहिलेको अवस्थामा मानव मात्रमा सकारात्मक परिवर्तन ल्याउन सके उसको विचारमा पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने बुद्धको सन्देशलाई पुनः स्मरण गर्ने दिन पनि हो आज । विश्व उन्नयन र शान्तिको बाटोमा हिँडिरहोस् भन्ने २५ सय वर्षअगाडिको बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । अरू धर्मप्रति विमति नहुनु बुद्ध दर्शनको प्रमुख सम्मानित पक्ष पनि हो ।

बुद्ध दर्शन आजको विश्वले अनुकरण र अनुशरण गर्न सक्छ । विश्व हिंसाबाट ग्रसित छ, शान्तिको मार्गमा एक पाइला अघि सरेको नेपाल पनि त्यसबाट अछुतो छैन । बुद्ध जन्मभूमिको रक्षार्थ पनि विमति, अन्याय र अत्याचारको मार्ग छोडेर उनको सन्देश अनुशरण गर्न सक्यौं भने नेपाल शान्तिको देश भनेर विश्वमा चिनाउने महत्वपूर्ण अवसर हामीसँग सुरक्षित छ ।

आज सबैलाई शान्ति चाहिएको छ । शक्ति, सामथ्र्य, ऐश्वर्य र धन वैभव छ तर सुख र शान्तिको अभाव छ । सम्पन्नता र शक्तिलाई मात्र शान्ति ठान्नेहरूका चिन्तनको उपज आज विश्वमा अशान्ति छ, सुख छैन, व्यक्तिलाई जीवन के हो भन्ने अनुभूति हुन सकेको छैन । किन हामी यी कुरा मनन गर्न चाहँदैनौं ? बुद्धले यस्तै सन्देश छोडेर गएका थिए । उनका उपदेश मनन गर्ने हो भने हामी सम्पन्नताको शिखरमा लम्कने छौं । त्यसका लागि मानसिक सत्यको विकास गरौं, मानव भावनाको वृद्धि होस् । बौद्ध दर्शनले यसको अभाव पूर्ति गर्नेछ । अहिलेको मानव सभ्यताले बौद्ध दर्शनबाट निकै आशा पनि गरेको छ । त्यसैले पनि लुम्बिनीजस्तो पवित्र भूमिको विकासका लागि सबैले हातेमालो गर्न जरुरी छ ।

बुद्ध जन्मस्थलो लुम्बिनी मानव धर्म र मानव जातिकै तीर्थस्थल मात्र नभई मानव सभ्यताको धरोहर पनि हो । विश्व जनसंख्याको एकतिहाइभन्दा बढी मानिस बुद्धको अनुयायी भएको र थप मानिस बौद्ध धर्मप्रति आकर्षित हुँदै गएकाले पनि लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन सकियो भने त्यो हाम्रा लागि संसारमा चिनिने नयाँ परिचय थपिनेछ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकसित गरी विश्वमा परिचित गराउनकै लागि नवलपरासीको रामग्राम स्तुप, बुद्धको मामली रहेको देवदह क्षेत्र र कपिलवस्तुलाई एकीकृत विकासमा लैजाने अभियान थालिएको हो ।

लुम्बिनीमा बौद्ध सम्मेलन गरेर मात्रै विकास गुरुयोजनाले मूर्तरूप लिने होइन, कहिलेसम्म कति काम सक्ने भन्ने लक्ष्यका साथ अघि बढ्न सक्यौं भने मात्र त्यसले सार्थक रूप लिनेछ ।

 अब लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र वा तीर्थस्थल बनाउने अभियानमा जति ढिलाय हुन्छ, हामीलाई त्यत्तिकै नोक्सान हुनेछ । तर पछिल्ला सरकारहरूले यो लुम्बिनी एकीकृत गुरुयोजना अभियानलाई निरन्तर दिन नसक्दा लुम्बिनीवासीको मनमा गहिरो चोट परेको छ । त्यो चोटमा मलम लगाउन पनि विकासको एकीकृत अभियानलाई सार्थक तुल्याउन जरुरी छ । यसका लागि राजनीतिक आग्रह÷पूर्वाग्रहलाई चटक्कै बिर्सेर हातेमालो गर्नु जरुरी छ ।

जापानी भिक्षु प्रोफेसर केन्जु टांगेले तयार पारेको लुम्बिनी विकास गुरुयोजना अझै अधुरो छ । सन् १९९० मा सकिनुपर्ने उक्त योजना अझै अधुरो रहनु सिंगो देशकै लागि लज्जाको विषय हो । यो अवसरमा एक सय २५ भन्दा बढी सभ्यता र संस्कृतिको धरोहर रहेको खुला संग्रहालय कपिलवस्तुस्थित तिलौराकोटको ऐतिहासिकताको सम्बोधन हुने उक्त अधुरो विकास योजना पूरा गर्न सकियो भने मात्र गौतमबुद्धप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

नेपाल सगरमाथा र गौतमबुद्ध जन्मेको देशका रूपमा विश्व विख्यात छ, रहँदै आएको छ । एउटा विदेशीले पनि सगरमाथा र बुद्ध सम्झिएपछि मात्र नेपाल नाम गरेको देश सम्झन्छ । कुनै नेपाली विदेशमा गयो भने पनि उसले विदेशीसँग आफूलाई परिचित गराउन सगरमाथा र बुद्धको देशबाट आएको भनेपछि मात्र नेपालको नाम आउँछ । ‘ओ नेपाल’ भनेपछि बुद्ध र सगरमाथाको देश भनेर संसारमा चिनिने अवस्थाको विकास नहुनु हाम्रा लागि दुर्भाग्यपूर्ण नै मान्नुपर्छ । विदेशी नागरिकलाई नेपाल देशको परिचय आजसम्म दिन सकेका रहेनछौं भन्ने यो ज्वलन्त उदाहरण हो । यस मानेमा हामी चुकेकै छौं ।

सिद्धार्थ गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मिएका र २९ वर्ष आफ्नो कपिलवस्तुको राजदरबार तिलौराकोटमा व्यतीत गरेर राजपथ त्याग गरेको भन्ने इतिहास साक्षी छ । साथसाथै अहिलेसम्म मानस बुद्ध चारवटा भएको जानकारीमा छ । तीमध्ये कक्टुसन बुद्ध, कनकमणि बुद्ध पनि कपिलवस्तुको तिलौराकोट दरबारभन्दा दक्षिण र उत्तरमा जन्मिएको भन्ने सम्राट् अशोकले त्यस बेलामा आएर अशोक स्तम्भ राखेको हुनाले त्यो प्रमाणित छ । महत्वपूर्ण र ऐतिहासिक स्थल त्यहाँं छन् । यी चिनियाँ यात्री फाइ यङ, हु यान साङको यात्रा डायरी र अरू अभिलेखबाट पनि प्रमाणित विषय हुन् । अहिले यी सबै विषय र खास गरेर बुद्ध दर्शनप्रति सम्पूर्ण विश्वका शान्तिकामी जनताको ठूलो आकर्षण छ । त्यसैले पनि बुद्ध जन्मस्थलोलाई विश्वकै बौद्धधर्मावलम्बीको आस्थाको केन्द्र बनाउन ढिलाइ भइसकेको छ ।

इस्लाम धर्मावलम्बीहरू वर्षको एकपटक हज गर्न विश्वकै प्रसिद्ध तीर्थस्थल मक्कामदिना जान्छन्, यहुदीहरू जेरुसेलम जान्छन् त्यसरी नै बुद्ध जन्मिएको थलो लुम्बिनीलाई पनि विश्वका बौद्ध धर्मावलम्बीको तीर्थस्थल बनाउने महान् अवसरलाई हामीले अझै सदुपयोग गर्न सकेका छैनौं । वर्षको एकपटक बौद्ध धर्ममा विश्वास राख्ने व्यक्ति यहाँ आइपुगे भने धार्मिक पर्यटनको माध्यमबाट हामी सम्पन्न हुन सक्नेछौं । लुम्बिनी एकपटक जानैपर्ने ठाउँ हो भन्ने सन्देश विदेशमा पुर्यायउन सक्यौं भने त्यसले पर्यटनको माध्यमबाट राष्ट्रलाई ठूलो योगदान हुनेछ । त्यो सन्देश संसारभर पुर्यापउन हामीले संयुक्त राष्ट्रसंघमा रहेको लुम्बिनीलाई सघाउने संस्थालाई सक्रिय बनाउन राज्यस्तरबाट तत्काल पहल गर्नुपर्छ ।

यसका लागि पूर्वाधारको विकास पहिलो सर्त हुनुपर्छ । बौद्ध परिपथका नाममा रामग्राम स्तुप, रूपन्देहीको देवदह क्षेत्र र कपिलवस्तुको सम्पूर्ण बौद्धकालीन संस्कृति र सभ्यता जोड्ने स्थलको क्षेत्र यकिन गरी त्यसको सम्पूर्ण सुरक्षा र आवतजावतका लागि कालोपत्रे सडक निर्माण पहिलो सर्त हुनुपर्छ । विशेष गरेर युवा नेतृत्व रहेको पर्यटन मन्त्रालयले त्यसको अगुवाइ गरी अधुरा विकास योजना पूरा गर्ने आँट गर्नुपर्छ । पर्यटनमन्त्री रहेका रवीन्द्र अधिकारीले दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा साढे दुई वर्षभित्र लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने उद्घोष गरेका छन्, यसलाई सकारात्मक मान्नुपर्छ । लुम्बिनी, तिलौराकोट र रामग्रामको समग्र विकासमा सरकार लागिपर्ने मन्त्रीको उद्घोष पूरा गर्ने दिशामा हामी लुम्बिनीवासीको साथ र सहयोग हुनेछ । त्यसका लागि पार्टी र व्यक्तिविशेषप्रतिका आग्रह÷पूर्वाग्रह त्यागेर सबैको साथ लिने प्रण पनि आवश्यक छ ।

अर्को महत्वपूर्ण कार्य संसारलाई बुद्ध जन्मस्थलोसँग जोड्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैको ध्यान जानुपर्छ । यसलाई समयमै सम्पन्न गर्न सक्यौं भने लुम्बिनीलाई शान्तिको सहरका रूपमा हेर्ने संसारकै बौद्ध धर्मावलम्बीको आशाले साकार रूप लिनेछ । यसको माध्यमबाट बौद्ध धर्मप्रति विश्वास राख्ने हरेक व्यक्ति एकपटक लुम्बिनीमा आउने वातावरण बन्यो भने त्यसले देशलाई आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याएउनेछ । यो विमानस्थल बन्नासाथ नेपालको पर्यटन क्षेत्रले अकल्पनीय फड्को मार्नेछ । त्यसैले पनि दुई वर्षभित्र सरकारी खर्चमै यो विमानस्थल पूरा गर्ने अठोट गर्नैपर्छ । त्यसबीचमा आउने अड्चन हटाउन लुम्बिनीवासी आफैं अग्रसर हुनेछन् । पंक्तिकार यसै क्षेत्रका राजनीतिक कार्यकर्ता भएकाले त्यो अभियान सार्थक तुल्याउने अभियानमा सघाउन तयार छ ।

हामीले चाह्यौं र इच्छाशक्ति भयो भने प्रोफेसर टांगेको गुरुयोजना पूरा गर्न सक्छौं । राष्ट्रसंघमा रहेको लुम्बिनीलाई सघाउने संस्थालाई सक्रिय बनाउनैपर्छ । संसारका शान्तिकामी जनताको आशाको त्यान्द्रोलाई चुँडिन नदिन पनि पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले गम्भीर पहल गर्नुपर्छ । अब लुम्बिनी विकासमा नाममा विगतमा भएको राजनीतीकरण रोकिनुपर्छ । विकासमा कसैको स्वार्थ हावी हुनु हुँदैन । लुम्बिनी विकासका लागि भनी छुट्ट्याइएका जमिनमा भएका गुरुयोजनाविपरीतका संरचनाको उचित व्यवस्थापन तत्काल गरिनुपर्छ ।

करिब दुई दशकभित्र सम्पन्न गर्ने भनिएको गुरुयोजना चारदशक बितिसक्दा पनि अधुरै रहनुमा हाम्रै दोष छ । कसैलाई दोष पन्छाएर उम्कने प्रयास नगरौं । लुम्बिनीमा बौद्ध सम्मेलन गरेर मात्रै विकास गुरुयोजनाले मूर्तरूप लिने होइन, कहिलेसम्म कति काम सक्ने भन्ने लक्ष्यका साथ अघि बढ्न सक्यौं भने मात्र त्यसले सार्थक रूप लिनेछ । अबको पाँच वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने कुरा आइरहेका छन्, कति महिना र वर्षभित्र कुन-कुन काम सम्पन्न गर्ने भन्ने गुरुयोजना पनि सँगसँगै ल्याएर त्यसैअनुसार काम गर्न सक्नुपर्छ । पत्रकार, वकिल, चिकित्सक, नागरिक समाजका प्रतिनिधि र विभिन्न पेसागत संघसंस्थाको एकीकृत तथा जागरुक प्रयास र सहयोगबाट लुम्बिनी गुरुयोजना सफल हुन सक्छ । सबैले यो अभियानलाई सार्थक तुल्याउन आआफ्नो ठाउँबाट सहयोग पुर्या्ऊँ । त्यसले मात्र समृद्ध नेपालको परिकल्पनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.