सडक र सदनको दुबै मोर्चालाई अगाडि बढाइने छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक र सदनको दुवै मोर्चालाई अघि बढाइने बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुई वटै मोर्चालाई प्रभावकारी बनाएर अघि बढ्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘सडक संघर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ । हामीले धक्का खाएका छौं । धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढेको हुँदैन । धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो । धक्काबाट उठेर अघि बढ्नु पर्छ ।’ उनले सडक संघर्ष र संसदीय संघर्ष एकअर्काका पूरक भएको बताएका छन् ।
अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बनेको टिप्पणी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन् । हिंसा, आगजनी, तोडफोड, जबरजस्ती, कब्जा, असंवैधानिक यस्ता कुराहरू हुँदैनन्। राज्य पूर्ण अनुपस्थित छ र अराजकता देखा पर्दैछ ।’
अध्यक्ष ओलीले भने, ‘समाजमा एउटा भयानक विकृति पैदा गर्ने काम हुँदैछ । विकृति फैलाउने स्वस्थ बहस होइन, सामाजिक सञ्जालबाट बहस हुन सक्छ, स्वस्थ बहस हुन सक्छ । तर कोही उत्तरदायी नहुने, दर्ता गर्न नपर्ने, जवाफदेही लिनु नपर्ने, प्रतिनिधि तोक्नु नपर्ने र निराधार असत्य कुराहरू प्रचार गरिरहने काम हुँदैछ ।’
प्रतिक्रिया दिनुहोस !